बाढी पहिरोले ५ वर्षमा १०३७ को मृत्यु, ५३४ बेपत्ता

काठमाडौं, १० भदौ ।

बाढी पहिरोका कारण पछिल्लो पाँच वर्षमा एक हजार ३७ जनाको मृत्यु भएको छ । उक्त अवधिमा बाढी पहिरोका कारण ५३४ बेपत्ता र ५३४ घाइते भएका छन् ।

आर्थिक वर्ष २०६९/७० देखि हालसम्म बाढीबाट ४८० र पहिरोबाट ५५७ जनाको मृत्यु भएको छ । बाढीका कारण बेपत्ता हुनेको सङ्ख्या भने पहिरोको भन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ । बाढीका कारण ३४१ जना र पहिरोका कारण १९३ जना बेपत्ता भएका छन् ।

बाढीका कारण सबैभन्दा बढी मृत्यु हुने जिल्लामा बर्दिया ४५, सुर्खेत ३४, दाङ ३१, मोरङ २३, बाँके २४, सिन्धुली २०, रौतहट १८, सुनसरी १५, सर्लाही र नवलपरासी १३–१३, उदयपुर र सप्तरी १२–१२, मकवानपुर र कालीकोट ११–११, झापा १० र काठमाडौँ नौजना छन् ।

यस्तै बाढीका कारण सुर्खेतमा ९७, बर्दियामा २५, कालीकोटमा १७, मोरङमा र सुनसरीमा १२–१२, झापा र बाँकेमा १०–१०, सिन्धुलीमा नौ र कैलालीमा आठजना बेपत्ता भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

२०७१ साल साउन अन्तिम साता आएको ठूलो बाढीका कारण सुर्खेत, बर्दिया र दाङमा ठूलो मानवीय क्षति भएको थियो । बाढीका कारण सो अवधिमा ९४ घाइते, ५९ हजार ९४ परिवारको आंशिक घर क्षति, ३८ हजार ३६ र नौ हजार ८३८ घर पूर्ण रुपमा क्षति भएको गृह मन्त्रालयले जनाएको छ । सोही अवधिमा बाढीका कारण रु १५ अर्ब दुई करोड ७५ लाख ३६ हजार ७३९ अनुमानित क्षति भएको गृहमन्त्रालयको आँकडा छ ।

यस्तै यो पाँच वर्षको अवधिमा पहिरोको कारण ५५७ को मृत्यु, १९३ बेपत्ता र ४४० जना घाइते भएका छन् । दुई हजार ८३९ परिवार प्रभावित हुँदा ७१६ घर आंशिक क्षति र ९०६ घर पूर्ण क्षति भएका छन् । पहिरोबाट सो अवधिमा रु एक अर्ब चार करोड ६२ लाख २४ हजार ५३७ अनुमानित क्षति भएको गृह मन्त्रालयको तथ्याङ्क छ ।

यस्तै पहिरोको कारण बढी मृत्यु हुने जिल्लामा ताप्लेजुङमा ५३, सिन्धुपाल्चोक ५०, कास्की ४४, गुल्मी २५, बाग्लुङ २३, सङ्खुवासभा १८, पाल्पा १७, गोरखा १३, दोलखा र इलाम १४–१४ र नुवाकोटमा १२ जनाको मृत्यु भएको थियो । पहिरोका कारण यो अवधिमा सिन्धुपाल्चोकमा मात्रै १२३, दोलखामा ११ र सङ्खुवासभामा ६ जना बेपत्ता भएका छन् । २०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा आएको पहिरोको कारण ठूलो मानवीय क्षति भएको थियो ।

पछिल्लो पटक यो वर्ष आएको बाढीपहिरोको क्षतिबाहेक यो पाँच वर्षको अवधिमा बाढी पहिरोका कारण ६१ हजार ९३३ परिवार प्रभावित भएको र जसमध्ये ३९ हजार ९३ घर आंशिक क्षति तथा १० हजार ७४४ घर पूर्ण क्षति भएका छन् । बाढीपहिरोको कारण सो अवधिमा रु १६ अर्ब सात करोड ३७ लाख अनुमानित क्षति भएको गृहमन्त्रालयको आँकडा छ ।

बाढीका कारण भौतिक संरचनामा बढी क्षति भए पनि पहिरोको कारण मानवीय क्षति बढी हुने गरेको पछिल्लो पाँच वर्षको तथ्याङ्कले देखाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी बाढीपहिरोजस्ता विपद्का घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न मन्त्रालयले आवश्यक कदम चालिरहेको बताउँछन् ।

सरकारले जिल्ला, क्षेत्र र केन्द्रस्तरमा गरी तीन तहमा राहत तथा उद्धारका लागि संरचना बनाएको र सोही अनुरुप काम भइरहेको छ, उनले भने, “जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला दैवी प्रकोप उद्धार समिति, क्षेत्रमा क्षेत्रीय प्रशासकको नेतृत्वमा क्षेत्रीय समिति र केन्द्रमा गृहमन्त्रीकै नेतृत्वमा दैवीप्रकोप राहत तथा उद्धार समिति रहेको छ ।” यसले कुनै पनि स्थानमा विपद्का घटना भए आफ्नो तर्फबाट राहत तथा उद्धारका काम शुरु गरिहाल्छ ।

यस्तै प्रमुख नदीमा जडान गरिएको पूर्व बाढी सूचना प्रणालीका कारण मानवीय क्षति कम हुँदै गएको गृह मन्त्रालयको भनाइ छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीभित्र पनि विपद्को समयमा राहत तथा उद्धारलाई केन्द्रमा राखेर छुट्टै गण तथा तालिम दिइराखेको उनले बताए ।

मन्त्रालयले विपद् व्यवस्थापनसम्बन्धी विधेयकको खाका तयार पारिसकेको र छिट्टै मन्त्रिपरिषद् हुँदै संसद् लैजाने तयारी भइरहेको पनि प्रवक्ता सुवेदीले जानकारी दिए ।

विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटाले नेपालको पहाडी क्षेत्र कमजोर भू–धरातल रहेकामा भुइँचालोपछि थप कमजोर बनेको तथा इञ्जिनियरिङ र भूगोलको अध्ययनबिना जथाभावी सडक निर्माणका कारण पहिरोका घटना बढ्दै गएको बताए ।

यस्तै चुरेको अति दोहन, छोटो समयमा अतिवृष्टि र राज्यले प्रभावकारी भूउपयोग नीति बनाउन नसक्दा वर्षेनी बाढीको कारण नेपालमा ठूलो धनजनको क्षति हुने गरेको छ । त्यसैमा भारतीय पक्षले नेपाली सीमामा लगाएका बाँधका कारण थप समस्या परेको छ ।

यो वर्ष बाढीका कारण एक सय सन्ताउन्नको मृत्यु

गृहमन्त्रालयका अनुसार गत साउन २७ गतेपछि केही दिन लगातार परेको वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १५७ र बेपत्ता हुनेका सङ्ख्या २९ पुगेको छ । मृत्यु हुनेमा रौतहट १८, झापा १६, मोरङ १६, सर्लाही १३, सुनसरी १२, महोत्तरी नौ, बाँके आठ, दाङ सात, सिन्धुली र पर्सा ६–६ तथा मकवानपुर र चितवन पाँच–पाँच जना रहेको छ ।

यो वर्ष बाढी पहिरोका कारण ४३ हजार ४०६ घर पूर्ण क्षति र एक लाख ५८ हजार १९४ घर आंशिक क्षति भएको गृह मन्त्रालयले जनाएको छ । एक लाख ४८१ जना बाढी पहिरोका कारण विस्थापित भएका छन् । –किरण भट्टराई/रासस

  शनिबार, भदौ १०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*