बितेको वर्ष २०७५ लाई फर्केर हेर्दा

काठमाडौं ।

१. भूकम्प गएको तीन वर्षपछि वैशाख ११ गते राष्ट्रले भूकम्पले ढालेको धरहरा बनाउने प्रण गर्‍यो ।
२. माओवादी जनयुद्धको बेलाको सबैभन्दा चर्चित हत्या रामेछापका उज्जन श्रेष्ठका हत्यारा भनिएका तत्कालीन नेकपा माओवादीका नेता बालकृष्ण ढुंगेल सर्वोच्च अदालतको आदेशमा जेठ १४ गते रिहा भए ।

३. सत्तारूढ नेकपा एमाले र उसको सहयोगी नेकपा माओवादीबीच जेठ २ गते पार्टी एकीकरण भयो । त्यसपछि उक्त पार्टी नेपाल कम्युनिस्ट पार्टीका रूपमा अस्तित्वमा आयो ।

४. पुस १६ गते नेपालले पृथ्वीको बढ्दो तापक्रमका विरुद्ध काम गर्ने संकल्प गर्दै सिन्धुपाल्चोकमा क्षेत्रीय सम्मेलनको आयोजना गरी पर्यावरणीय सन्तुलनका लागि आफ्नो अठोट व्यक्त गर्‍यो ।

५. भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो वर्ष दुई पटक (पहिलो पटक वैशाख २८ गते जनकपुर र मुक्तिनाथ तथा दोस्रो पटक भदौ १५ गते बिम्स्टेक सम्मेलनका लागि) नेपाल भ्रमण गरेर नेपालप्रतिको आफm्नो चासो व्यक्त गरे । यसै त्रममा भारतीय प्रधानमन्त्री मोदीले बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्न पनि भ्याए ।

६. नेपालमा पनि पशुप्रेमीहरू पशु हिंसाविरुद्ध साउन २६ गते सार्वजनिक रूपमा सडक आन्दोलनमा देखापरे ।

७. मंसिर २६ गते काठमाडौंले विवादास्पद एसिया प्यासिफिक सम्मेलन सम्पन्न गर्‍यो ।

८. भदौ १ गते केही प्रदर्शनकारी नग्न रूपमा सडकमा देखा परे ।

९. भदौ १५ गते मुलुकले क्षेत्रीय व्यापारका दृष्टिकोणले महत्वपूर्ण मानिएको विम्स्टेक सम्मेलनको आयोजना गर्‍यो ।

१०. माघको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म मुलुकमा भएको व्यापक हिमपातले दशकौं पुरानो कीर्तिमान भंग गर्‍यो ।

११. ३३ किलो सुन तस्करी काण्डका कथित अभियुक्त चूडामणि उप्रेतीलाई पक्राउ गरेर प्रहरीले जेठ ८ गते सार्वजनिक गर्‍यो ।

१२. पुस १८ गते मुलुकले नयाँ प्रधानन्यायाधीशका रूपमा चोलेन्द्रशमशेर राणालाई पायो ।

१३. सरकारले यातायात क्षेत्रमा कायम एकाधिकार प्रणाली (सिन्डिकेट सिस्टम) लाई गैरकानुनी घोषित गर्दै मुलुकका सडक सबैका लागि समान रूपले उपभोग्य भएको घोषणा गर्‍यो ।

१४. पटक–पटक भोक हड्ताल गरेर चर्चामा आएका डा. गोविन्द केसीले यो वर्ष १६ औं पटक भोक हड्ताल गरे ।

१५. सरकारको नीतिको विरोध गर्दै मुलुकका चिकित्सकहरूले सडकमार्फत आफ्नो असन्तुष्टि जाहेर गरे ।

१६. अघिल्लो वर्ष भूकम्पपीडितका लागि आवास निर्माण गरेर चर्चामा आएका कलाकार दम्पती सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) यो वर्ष वीर अस्पतालको सफाइ र चितवनमा गौतम बुद्ध रंगशाला निर्माणका लागि पहल गरे ।

१७. लामो समयदेखि आफ्ना छोराको हत्याराविरुद्ध कारबाहीको माग गर्दै आएकी र त्यसका लागि भोक हड्ताल गरिरहेकी गंगामाया अधिकारीले आफ्नो भोक हड्ताल टुङ्ग्याइन ।

१८. धुलोको प्रचुरताका लागि संसारभर कुख्यात हुँदै गएको काठमाडौंका सडक बढार्न काठमाडौं महानगरपालिकाले अत्याधुनिक ब्रुमर भित्र्यायो ।

१९. यो वर्ष बलात्कार र बलात्कारपछिको हत्या जस्तो जघन्य अपराधका समाचार देशभरिबाटै आइरहे । त्यस्ता अपराधमा सबैभन्दा चर्चामा महेन्द्रनगर, कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछिको हत्या रह्यो । साउन १० गते घटेको उक्त घटनाको विरोधमा देशैभरि विरोध र्‍याली तथा सभाहरू भए ।

२०. अध्ययनका लागि विदेश पुगेका नेपाली छात्राहरूको सन्दर्भमा आपत्तिजनक टिप्पणी गरेपछि तत्कालीन कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले साउन ८ गते राजीनामा दिनुपर्‍यो ।

२१. विगत ३ दशकदेखि चर्चामा रहेको काठमाडौं उपत्यकाका लागि खानेपानी सुलभ गराउने मेलम्ची खानेपानी आयोजनाले भोलि–भोलि भन्दाभन्दै यो वर्ष पनि उपत्यका बासीलाई खानेपानी उपलब्ध गराउन सकेन । बरु उक्त आयोजनामा कार्यरत इटालियन ठेकेदारले सम्झौता भंग गर्दर् ैकाम नै छाड्यो । उक्त आयोजनाको सुरुङ निर्माण भने यही वर्ष पूरा भएको छ ।

२२. वैदेशिक रोजगारी अहिले नेपालका लागि वैदेशिक मुद्रा र रोजगारी दुवैको गतिलो स्रोत भएको छ । यसक्रममा पुस २५ गते जापानले आफ्नो रोजगार बजार नेपालीहरूका लागि खुला गर्न नेपाल सरकारसँग सम्झौता गर्‍यो ।

२३. नेपाल सरकारले सञ्चालन गर्ने नेपालको अहिले सम्मकै सबैभन्दा ठूलो योगदानमा आधारित श्रमिक सुरक्षा योजना यही वर्ष मंसिर ११ गते सार्वजनिक गरियो ।

२४. असारको तेस्रो साता काठमाडौं उपत्यकाले अभूतपूर्व बाढीको सामना गर्नुपर्‍यो । अवस्थित सहरीकरण तथा नदी क्षेत्रको अनधिकृत दोहनका कारण त्यस्तो बाढीको प्रकोप देखिएको पर्यावरणविदहरूले दावी गरे ।

२५. भदौ ६ गतेदेखि सार्वजनिक यातायातका चालक तथा सहचालकका लागि ड्रेसकोड लागू गरियो ।

२६. नेपालमा औद्योगिक तथा व्यवसायिक क्षेत्रमा लगानी गर्ने वातावरण छ भन्दै सरकारले चैत १५/१६ गते लगानी सम्मेलनको आयोजना गर्‍यो ।

२७. यो वर्ष नेपालमा विदेशका दुई प्रतिष्ठित खेलाडीको आगमनले विशेष चर्चा पायो । तीमध्ये एक थिए विश्व शारीरिक सुगठनका ठूलो नाम रोली विङ्गलार, नेदरल्यान्डका नागरिक विङ्गलार फागुन ६ गते काठमाडौंमा थिए । त्यसैगरी बेलायतका लागि ५ वटा ओलम्पिकमा ५ स्वर्ण पदक जित्ने रोइङकी खेलाडी क्याथरिन ग्रेनगर पनि चैत १९ गते काठमाडौं आइपुगेकी थिइन् ।

२८. चैत १८ गते तराईका दुई जिल्ला बारा र पर्सामा मुलुकले ५० वर्षयता नबेहोरेको हावाहुरी आयो, जसले विनाशकारी बितण्डा मच्चायो ।

२९. त्यसो त यो वर्ष मुलुकमा साना–ठूला हवाइ दुर्घटनाहरू भैरहे । तीमध्ये सबैभन्दा चर्चामा रह्यो फागुन

१५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटना । ७ जनाको मृत्यु भएको उक्त दुर्घटनामा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले समेत ज्यान गुमाउनु पर्‍यो ।

३०. मुलुककी चर्चित चलचित्र नायिका करिश्मा मानन्धरले ४५ वर्षको उमेरमा माध्यमिक शिक्षा परिक्षा (एसईई) मा सहभागिता जनाएर शिक्षाका लागि उमेर बाधक हुदैन भन्ने सन्देश दिइन् ।

३१. यो वर्ष आमाको नाममा सजिलैसँग नागरिकता पाउनुपर्छ भन्ने आन्दोलनले एकपटक फेरि चर्चा पायो । त्यसका लागि सम्बन्धित सरोकारवालाहरूले माघ २५ गते काठमाडौंमा विरोध प्रदर्शन गरे ।

३२. एसईई परीक्षाका लागि तयार गरिएको प्रश्नपत्र प्रदेश नम्बर २ को सप्तरीबाट परीक्षा हुनु अगावै बाहिरिएपछि संवेदनशील विषयको सुरक्षाप्रतिको सरकारी तयारी उदांगियो । स्थिति कतिसम्म भयावह देखियो भने उक्त परिक्षा नै रद्द गरेर नयाँ परीक्षा मिति तोक्नुपर्‍यो भने सम्बन्धित मन्त्री (गिरिराजमणि पोखरेल, शिक्षामन्त्री) ले सार्वजनिक रूपमै सरकारको कमजोरी स्वीकार गर्नुपर्‍यो ।

३३. मुलुकमा चेतनाको स्तर कति हदसम्म विकसित भएको छ भन्ने कुराको सन्देश दिँदै अपाङ्ग नागरिकहरू पनि आफ्नो हक र सुविधाका लागि सडकमा ओर्लिए । उनीहरू काठमाडौं उपत्यकाको सडक अपाङ्गमैत्री नभएको भन्दै सडकमा लगाइएको छेकवार भत्काउन चैत १४ गते आफैं सडकमा देखा परेका थिए ।

३४. मुलुकमा बेरोजगारीको स्थिति भयावह छ भन्ने कुरालाई फागुन १९ गते कोरिया सरकारले नेपाली कामदारका लागि सञ्चालन गरेको इपिएस रोजगार प्रणालीमार्फत कोरिया जान चाहने नेपालीहरूको भीडले एक पटक फेरि प्रमाणित गर्‍यो ।

३५. संसारभर नै यौन हिंसाविरुद्ध मी टु अभियान चलिरहेका बेला त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापक तथा ललितपुर माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध पीडित छात्राहरू न्यायको माग गर्दै सार्वजनिक भए ।

३६. तराईमा लामो समयदेखि पृथक्तावादी आन्दोलनको नेतृत्व गरिरहेका चन्द्रकान्त राउत (सिके राउत) फागुन २४ गते नेपालको संविधान स्वीकार गर्दै मूलधारको राजनीतिमा फर्किए । सिके राउतको राजनैतिक अवतरणपछि मधेसको राजनीतिमा नयाँ तरंग देखापर्‍यो ।

३७. टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीले पुस १९ गते सिंहदरबार पुगेर सांसद पदको शपथ लिए भने वर्षको अन्त्यतिर न्यायालयले उनलाई दोषी ठहर गर्‍यो ।

वर्ष २०७५ का चर्चित खेल अनुहार

प्याराग्लाइडिङ टिम
कप्तान विमल अधिकारीसँगै विशाल थापा, युकेश गुरुङ, सुशील गुरुङ तथा विजय गौतम मूल धारको नेपाली खेलकुदका लागि नयाँ नाम हुन्, तर यिनै खेलाडीको समूहले नेपाललाई एसियाली खेलकुदको टिम इभेन्टको क्रस कन्ट्रीमा रजत पदक दिलाए । नेपाली टिमले कुल ११ हजार ३ सय ६४ अंक ल्याएको थियो र यो स्वर्ण विजेता जापानी टिमको भन्दा २७ अंकले मात्र कम हो । यी खेलाडी फुटबल र क्रिकेटका जस्ता ठूला स्टार हुने छैनन्, तर उनीहरूको उपलब्धिलाई सधैं सम्झिइनेछ ।

सन्दीप लामिछाने, क्रिकेट

वर्ष २०७५ मा नेपाली खेलकुदमा सबैभन्दा चर्चामा रहने खेलाडी हुन्— सन्दीप लामिछाने । मेहनत गरे, नेपाल बाहिर गएर पनि व्यवसायिक रूपमा अब्बल दर्जाको खेल प्रदर्शन गर्न सकिने उदाहरण बने, उनी । अहिले सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सका लागि खेलिरहेका छन् । उनले अस्ट्रेलियाको बिग बासदेखि लिएर अरू लगभग सबै ट्वान्टी–२० लिग खेले र कम समयमै करोडौं कमाउने खेलाडी बने ।

पारस खड्का, क्रिकेट

पारस खड्काले वर्ष २०७५ मा आफूलाई नेपाली क्रिकेटका लागि निर्विवाद नेतृत्वकारीका रूपमा कायम राखे । उनकै नेतृत्वमा नेपालले पहिलो पटक औपचारिक रूपमा मान्यता प्राप्त वान डे क्रिकेट खेल्यो । यही कारणले पनि उनलाई पछिसम्म सम्झिइनेछ । यूएईविरुद्धको वान डे तथा ट्वान्टी–२० सिरिज जित्नमा पनि उनले ठूलै भूमिका खेले, ब्याट र बल दुवैबाट । त्यति मात्र होइन, पारस नेपालका लागि वान डे क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी पनि बने ।

रोहित चन्द, फुटबल

रोहित चन्द फुटबल खेलेर सर्वाधिक कमाउने नेपाली खेलाडी हुन् । उनले पनि यसका लागि विदेशी भूमिनै रोजेका छन् । इन्डोनेसियामा उनी सबैभन्दा ठूला विदेशी स्टार खेलाडी मानिन्छन् । हालै मात्र उनले पर्सिजा जाकार्तासँग नयाँ अनुबन्ध गरेका छन् र त्यस अनुसार उनको एक महिनाको तलब १० लाख रुपैयाँको हाराहारीमा छ । रोहित नेपाली राष्ट्रिय टिमका पनि नियमित सदस्य हुन् र उनलाई भविष्यको कप्तानका रूपमा समेत हेरिएको छ ।

किरण चेम्जोङ, फुटबल

नेपाली फुटबलमा सबैभन्दा बढी कमाउने खेलाडीको सूचीको दोस्रो स्थानमा छन्— किरण चेम्जोङ । उनले पनि विदेशमै खेलेर उक्त उपलब्धि हात पारेका हुन् । यी गोलरक्षक माल्दिभ्सको टीसी स्पोर्टका लागि खेल्छन् । त्यसक्रममा उनले आफ्नो क्लबका लागि उत्कृष्ट खेल प्रदर्शन गरेर धेरैको मन जितेका छन् । किरण लामो समयदेखि नेपाली टिमका नम्बर १ गोलरक्षक हुन् र उनकै प्रदर्शनका कारण नेपालले हालैको मैत्रीपूर्ण खेलमा कुवेतविरुद्ध राम्रो भन्न मिल्ने नतिजा निकालेको थियो ।

सावित्रा भण्डारी, फुटबल

अहिलेको नेपाली महिला फुटबलकी सबैभन्दा ठूलो नाम हुन्— सावित्रा भण्डारी । बलियो शरीरकी धनी सावित्रा दक्षिण एसियाली क्षेत्रकै अब्बल दर्जाकी फरवार्ड हुन् र धेरै हदसम्म उनकै प्रदर्शनमा नेपालको अग्रपंक्ति टिकेको छ । भण्डारीको प्रदर्शनकै मदतले नेपाल वुमेन्स साफ च्याम्पियनसिपको फाइनलसम्म पुग्न सफल भयो । उनी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहिन् । सावित्रा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्ने बाटोमा छिन् ।

हरि खड्का, फुटबल

खेल्ने समयमा नेपालका सर्वाधिक चर्चित खेलाडीमा पर्थे— हरि खड्का । तिनै हरि अचेल प्रशिक्षक भएका छन् र उनको नेतृत्वमा नेपाली महिला टिमले वर्ष २०७५ मा अपेक्षा भन्दा धेरै राम्रो गर्न सक्यो । नेपालले ओलम्पिक छनोटको दोस्रो चरणसम्मको यात्रा त तय गर्‍यो नै, त्यसमाथि नेपाल वुमेन्स साफ च्याम्पियनसिपको फाइनलमा पनि पुग्यो । हरिको आगमनपछि नेपाली महिला टिममा उत्साह थपिएको छ र यसले महिला फुटबललाई चर्चामा समेत ल्याएको छ ।

अजितकुमार यादव, एथलेटिक्स

वर्षको अन्त्यतिर एकाएक चर्चामा आएका खेलाडी हुन्— अजितकुमार यादव । उनको उपलब्धि पनि यस्तै रह्यो । यादवले हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक जितेर तहल्का मच्चाए र त्यो ऐतिहासिक उपलब्धि थियो । यादवले ३ हजार मिटर दौड ८ मिनेट ३० दशमलव ३२ सेकेन्डमा पूरा गरे । उनको यो उपलब्धि विषम परिस्थितिमा प्राप्त भएको थियो । यो सफलता अघिसम्म गुमनाम जस्तै रहेका अजितबाट अबका वर्षमा नेपाली एथलेटिक्सले ठूलो आशा राख्न सक्छ ।

प्रतिमा शेर्पा, गल्फ

नेपाली मिडियामा भन्दा पनि विदेशतिर बढी चर्चामा रहने खेलाडी हुन्— प्रतिमा शेर्पा । उनी नेपालकी नम्बर १ महिला गल्फ खेलाडी हुन् र यसैक्रममा उनी अमेरिकामा व्यवसायिक गल्फ खेल्ने पहिलो नेपाली खेलाडी समेत भएकी छिन् । शेर्पाले सिमेट्रा टुरमा सहभागिता जनाएर इतिहास रचिन् । उनी केही समययता अमेरिकामा छिन् र त्यहाँ खेल तथा अध्ययन दुवैलाई अघि बढाइरहेकी छिन् । उनको यो उडान नेपाली गल्फका लागि सुखद मानिएको छ ।

महेश्वर महर्जन, शारीरिक सुगठन

वर्ष २०७५ मा नेपाली खेलकुदमा छाएका प्रमुख खेलाडीमा पर्छन्, शारीरिक सुगठनका— महेश्वर महर्जन । उनले थाइल्यान्डमा भएको १० औं वर्ल्ड च्याम्पियनसिपमा स्वर्ण जिते, ७५ किलो तौल समूहमा । शारीरिक सुगठनमा नेपालले हात पारेको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि हो । त्यति मात्र होइन, वर्ल्ड च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको पनि यो नै पहिलो अवसर हो । वर्ल्ड बडिबिल्डिङमा संगठनात्मक विवाद रहेको र त्यसको असर नेपालमा पनि परेको हुनाले उनको उपलब्धि भने लगभग कमजोर जस्तै देखियो । (साप्ताहिकबाट)

 
सोमबार, वैशाख २,२०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*