भलिबलमा नेपाललाई पहिलोअन्तर्राष्ट्रिय स्वर्ण पदक

नेपाल एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियन

ढाका । नेपालले भलिबलमा पहिलोपटक अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेको छ । यो सफलता नेपाली महिला टोलीले हासिल गरेको हो ।

नेपाली महिला टोलीले बंगलादेशको राजधानी ढाकामा भएको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको हो । पहिलो संस्करणको उक्त प्रतियोगिता जितेसँगै नेपाली महिला खेलाडीहरू स्वर्ण पदकसहित इतिहासमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।

बिहिबार भएको फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको हो । च्याम्पियनसिपमा नेपाल अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्न सफल भएको हो । स्मरणीय छ, लिग चरणमा पनि नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा नै पराजित गरेको  थियो ।

गत शनिबारबाट शुरु भएको च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता थियो । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

२०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजत पदक नै नेपाली भलिबलको सबैभन्दा ठुलो पदक हो । त्यस्तै नेपालले दक्षिण एसियाली खेलकुद प्रथियोगिता (साग) मा तीन कास्य पदक जितेको छ ।

स्मरणीय छ, नेपालले सन् १९९९ यता महिला भलिबलमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको हो।

पुरुष भलिबल टोलीले पनि अहिलेसम्म कास्य पदक मात्रै जित्न सफल भएको छ । पुरुष टोलीले एभीसी सेन्ट्रल जोनकै तेस्रो संस्करणमा कास्य पदक जितेको थियो ।

ढाका मिरपुरस्थित सहिद शूरवार्दी इन्डोर हलमा भएको फाइनलमा पहिलो सेटमा सुरुमै पछि परे पनि नेपालले प्रभावशाली कमब्याक गर्दै २५–१३ को को अन्तरले त्यो सेट जित्न सफल भयोे । सेटमा ४–७ ले पछि परेको नेपालले १२ अंक जोड्दै १६–७ को अग्रता लिदै सहज जित हात पारेको थियो ।

त्यसपछि भने दोस्रो र तेस्रो सेटमा नेपालले दवाव झेल्नु परेन । दोस्रो सेटमा २५–१२ को सहज जितसहित तेस्रो सेटमा पनि प्रभावशाली प्रदर्शनलाई निरन्तर कायम
राख्दै नेपालले २५–८ को एकपक्षीय जित हासिल गरेको हो । यसरी नेपाल प्रतियोगितामा अपराजित च्याम्पियन बन्न सफल रह्यो ।

तेस्रो स्थानका लागि बिहीबारै भएको खेलमा किर्गिस्तानले घरेलु टोली बंगलादेशलाई ३–० को सोझो सेटमा २५–१३, २५–१४ र २५–१२ ले पराजित गरेको थियो ।

बिहीबार, २८ कात्तिक २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*