भारत पाँचौंपटक साफ वुमेन्स च्याम्पियन, नेपाल फेरि पराजित

खेल संवाददाता 

विराटनगर,  ८ चैत  ।

अन्तर्राष्ट्रिय फुटबलको ३३ वर्षे यात्रामा पहिलोपल्ट च्याम्पियन बन्ने नेपाली महिला टिमको सपनालाई विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा आएर भारतले फेरि तुहाइदिएको छ ।

पहिलो हाफमा नेपालले दबाबमा राखेको भारतले दोस्रो हाफमा लय समात्दै ३-१ को जितसहित लगातार पाँचौंपल्ट दक्षिण एसियाली महिला फुटबलको सर्वोच्च प्रतियोगिताको उपाधि कब्जा गर्‍यो ।

समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बंगलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

समूह चरणको खेलमा नेपालले बङ्गलादेश, भूटान र श्रीलङ्कालाई पराजित गरेको थियो।

पहिलोपल्ट घरेलु भूमिमा प्रतियोगिता खेल्ने अवसर पाएको नेपालले उपविजेताको छवि पाँचौं साफमा आएर बदल्ने अपेक्षा गरिएको थियो । सुरुका तीन खेलमा सुधारिएको प्रदर्शन पनि गर्‍यो । तर फाइनलमा आएर फेरि कथा दोहोरियो । नेपाली महिला टिमले फाइनलमा हार बेहोरेको यो सातौंपल्ट हो । यो भारतविरुद्ध उपाधि होडमा छैटौं हार हो । नेपालको दुईपल्ट दक्षिण एसियाली खेलकुद (साग २०१०, २०१६), चारपल्ट साफ वुमेन्स च्याम्पियनसिप (२०१०, २०१२, २०१४, २०१६) को उपाधि होडमा भारत बाधक बन्यो । हिरो वुमेन्स गोल्डकप २०१९ को फाइनलमा नेपाललाई म्यानमारले सिकार बनाएको थियो ।

सन् १९८६ मा हङकङमा भएको एएफसी एसियन कपदेखि अन्तर्राष्ट्रिय फुटबलको यात्रा थालेको नेपाली महिला टिमले १२ प्रतियोगिता (एसियन कप ३, साफ ५, साग २, हिरो गोल्डकप १, ओलम्पिक छनोट १) खेलेको छ । ओलम्पिक छनोटमा दोस्रो चरण प्रवेश गरेको नेपालले त्यसमा फेरि भारत रहेकै समूहमा अपि्रल, २०१९ मा प्रतिस्पर्धा गर्दै छ ।

saaf women footbal-nepal

गत महिना भुवनेश्वरमा भएको हिरो गोल्डकपको समूह चरणमा नेपालले भारतलाई २-१ ले हराएको थियो । त्यसमा दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् । उनले यो साफको फाइनलमा पनि एक गोल गरिन् । त्यसले नेपाललाई ऐतिहासिक उपाधि दिलाउन सकेन । भुवनेश्वरको सफलता भारतविरुद्ध दसौं खेलमा आएर बल्ल नेपालको हात पारेको पहिलो जित थियो । त्यसलाई नेपालले विराटनगरमा निरन्तरता दिन सकेन । यी दुईको ११ भेटमा नेपालले एक खेलमात्र जितेको छ । दुई खेल बराबरी थियो । यो साफको फाइनलसहित भारतले ८ खेल जित्यो । हरेक साफमा नेपालको बाधक भारत नै बनेको छ ।

१० हजार दर्शक क्षमताको प्यारापिट खचाखच भरिएको रंगशालामा पहिलो हाफमा नेपाली टिम हाबी भयो ।

नेपाल र भारत खेलको पहिलो हाफमा १-१ बराबरीमा थिए। तर, दोस्रो हाफमा भारत २ गोल थप्दै अगाडि आएको हो। भारतका तर्फबाट ग्रेस डाङमी, डालिमा चिबर, अञ्जु तामाङले गोल गरेका थिए भने नेपालका तर्फबाट सावित्रा भण्डारीले गोल गरिन्।

नेपाली महिला टिमका लागि घरेलु भूमिमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

नोभम्बर, २०१९ मा यांगुनमा भएको ओलम्पिक छनोटको प्रारम्भिक चरणमा नेपालले भारतविरुद्ध १–१ को बराबरी गरेको थियो । गत महिना हिरो वुमेन्स गोल्डकपको समूह चरणमा भारतलाई उसैको घरेलु मैदान (भुवनेश्वर) मा २–१ ले हरायो । त्यो नै भारतविरुद्ध नेपालको पहिलो जित थियो । त्यसअघि भारतसँग ७ हार र २ बराबरी नतिजा बेहोरेको थियो ।

कसले के अवार्ड जिते ?

saaf women football

प्रतियोगितामा फाइनल खेलको मोस्ट भ्यालुएभल प्लेयरको अवार्ड भारतकी डालिमा छिब्बरले पाइन् । उनले फाइनलमा पहिलो गोल गरेकी थिइन् ।

यस्तै बंगलादेशले ‘फेयर प्ले टिम अवार्ड’ जितेको छ । समूह चरणमा भुटानलाई जितेको बंगलादेश समूह चरणमै नेपालसँग र सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।

उच्च गोलकर्ताको अवार्ड नेपालकी सावित्रा भण्डारीसँगै भारतकी इन्दुमतिले पाइन् । प्रतियोगितामा दुवैले चार/चार गोल गरेका थिए ।

…………………………………………………………………………………………

                    भारतविरुद्ध नेपाली महिला फुटबल

साफ महिला च्याम्पियनसीप
सन् २०१० : ०-१ ले पराजित (फाइनल)

सन् २०१२ : १-३ ले पराजित (फाइनल)

सन् २०१४ : ०-६ ले पराजित (फाइनल)

सन् २०१६ : १-३ ले पराजित (सेमिफाइनल)

सन् २०१९ : ३-१ गोलले पराजित (फाइनल)

साग महिला फुटबल
सन् २०१० : ०-५ ले पराजित (लिग चरण)

१-३ (फाइनल)

सन् २०१६ : ०-० बराबरी (लिग चरण)

०-४ (फाइनल)

……………………………………………………………………..

शुक्रबार, चैत ८, २०७५ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*