भेल बनेर नजाउन् उपलब्धिहरू !

नेपालको राष्ट्रिय राजनीतिमा क्रियाशील धेरै नेताहरूको राजनीतिक यात्राको सुरुआत् विद्यार्थी राजनीतिबाट भएको तथ्य विभिन्न अध्ययनहरूले स्पष्ट पारेका छन् । राजनीतिक महिला नेताहरूको उदय र विकासमा पनि राजनीतिक विद्यार्थी आन्दोलनको ठूलो योगदान रहेको छ । तर विभिन्न समयमा राजनीतिक विद्यार्थी संगठन र आन्दोलनमा दिलोज्यानले समर्पित धेरै महिला कार्यकर्ता र नेताहरूले राजनीतिक जीवनको यात्रालाई बिचैमा छाडेर अर्को पेसामा पनि लागेका छन् । यसका पछाडि एउटा नभई अनेकन कारण छन् । त्यस्तै एउटा व्यक्तित्व हुन् लक्ष्मी मानन्धर जसले पञ्चायतका निरंकुश दिनहरूमा महिला मुक्ति र न्यायपूर्ण समाजको स्थापनाको ध्येय राखेर आफूलाई पञ्चायत इतर राजनीतिक विद्यार्थी आन्दोलनमा पुरै होमेकी थिइन् । तर आज उनको पहिचान राजनीतिक जीवनमा गुमनाम जस्तै रहेको छ । विद्यार्थी संगठन अनेरास्ववियु (पाँचौं) को पाँचौं केन्द्रीय कमिटीमा निर्वाचित कोषाध्यक्ष भएर तत्कालीन निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध र तत्कालीन प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको (माक्र्सवादी लेनिनवादी) को विचारसहित वामपन्थी विद्यार्थी राजनीतिको प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनी जीवनको पछिल्लो कालखण्डमा राजनीतिबाट ओझेलिएकी एक ज्वलन्त पात्र हुन् । विद्यार्थी राजनीतिमा लाग्दा हिरासत र पटकपटक जेलसजाय समेत भोगिसकेकी लक्ष्मी अहिले राजनीतिबाट पृथक्, निजी स्कुलको संस्थापक र सञ्चालकका रूपमा जीवन बिताउँदै आइरहेकी छन् ।

आजभन्दा साढे तीन दशकअगाडि महिलाका लागि राजनीतिक माहोल कस्तो थियो र अहिलेको परिवर्तनलाई ती अग्रज महिलाले कसरी मूल्यांकन गर्छन् भन्ने सन्दर्भको सेरोफेरोमा रहेर पूर्व विद्यार्थी नेता लक्ष्मी मानन्धरसंग उहाँकै कोटेश्वरस्थित निवासमा मञ्जु थापाले गरेको अन्तर्वार्ता ।

लक्ष्मीजी तपाईको पारिवारीक पृष्ठभूमिबारे भनिदिनुहोस् न ।
म काठमाडौं झोंछेको एउटा साधारण मध्यमवर्गिय परिवारमा जन्मिएँ तर मेरो हुर्काइ फरक परिवारमा भयो । म २०१६ सालमा ठूलो परिवारको पहिलो छोरीको रुपमा जन्मिएँ । मामाघरमा पनि करिब एक सयजना भएको परिवारमा पनि म एक्ली भान्जी भएकोले दुवैतिर लाडप्यार पाएर हुर्किने मौका पाएँ । म सानोमा यट्खामा मामाघरमा हुर्किएकी हुँ जुन अलि सम्पन्न परिवार थियो र सँगसँगै समानताको हिमायती परिवार पनि थियो । बौद्ध संस्कार भएको हुनाले सबैलाई समान रुपमा हेर्नुपर्छ भन्ने सोच थियो । यसले गर्दा म सानैदेखि समानताको पक्षमा बोल्ने, लड्ने, उभिने स्वभावकी भएँ । चाडबाड र अन्य अवसरमा घर जाने र अघिपछि मामाघर बसेर पढ्ने गर्थें । मामाघर आर्थिक–सामाजिक–सांस्कृतिक सबै किसिमबाट सम्पन्न परिवार थियो र बुद्ध धर्मावलम्बी भएकाले त्यहाँ समानताको सस्ंकार थियो, मानिस–मानिसबीच असमानता र भेदभाव त्यहाँ थिएन । यस्तो परिवारमा जन्मेर हुर्केकी म अहिले मेरा दुइ छोरीहरूसहित श्रीमानसँग बस्छु र आफैले स्थापना गरेको विद्यालय सञ्चालन गरिरहेकी छु ।

तपाईको राजनीतिक सम्पर्क र संगत कसरी सुरु भयो त ?
मेरो शिक्षा गुरुकुलबाट सुरु भयो । पछि विद्यालयमा भर्ना भएर पढें । मेरो हाइस्कुलको पढाइ विश्वनिकेतनमा भयो । टोलमै एकजना गुरुबाले टोलछिमेकका केटाकेटी भेला गरी बाह्रखरी पढाउने गर्नुहुन्थ्यो । मैले सानो कक्षामा पढ्दै गर्दा मेरा गुरुबा डा. महेशमानले हामीलाई विचारको बीउ दिनुभयो । हामीले सानैमा पनि कोर्सबाहिरका किताबहरू पनि निकै पढ्थ्यौं । । स्कुल आउने–जाने गर्दा राजनीतिक संगठनमा सम्बन्ध भएका अनेक साथीहरूसित सम्पर्क भयो र एउटा सर्कल नै बन्यो । डा. महेशमान गुरुबाले हामीलाई सही–गलत कुरा र सद्विचारसमेत राम्रो कुराको बीउ रोप्ने काम गर्नुभयो । त्यही क्रममा मैले चीन, कोरिया, कम्बोडिया र सोभियत क्रान्तिका पुस्तक र पत्रपत्रिका पढ्न थाले । ल्यु हुलान, याङ काइ हुई जस्ता चिनियाँ क्रान्तिकारी पात्रबारे सत्य घटना पढ्दा आफू पनि त्यस्तै हुन पाए हुन्थ्यो भन्ने भाव आफूमा जन्मन्थ्यो । यस्ता थुप्रै किताब र कथाहरू मैले कक्षा ५–६ मै हुँदा पढिसकेकी थिएँ

एसएलसी दिँदासम्म मेरो साथी सर्कल राजनीतिक रुपमा सचेत साथीहरूसँग बन्न पुग्यो । नजिकै वसन्तपुरमा चिनियाँ पुस्तकालय थियो जहाँबाट हामीले किताब ल्याउने पढ्ने गर्न थाल्यौं । त्यतिबेलाका सिनियर साथीहरूमा सुलोचना मानन्धर, अष्टलक्ष्मी शाक्य आदि हुनुहुन्थ्यो । उहाँहरूले हामीलाई सिकाउनुहुन्थ्यो । एक समय त चिनियाँ पुस्तकालय जानेहरूमा ७० जना जति किशोरी÷युवतीहरू थियौं । त्यहाँ हामीले एउटा अध्ययन मण्डल नै बनाएका थियौं । त्यहाँ नियमित भेटघाट, छलफल र अध्ययन गर्ने काम हुन्थ्यो । कविता–कथा–निबन्ध आदि लेख्ने र हस्तलिखित पत्रिका निकाल्ने काम हुन्थ्यो । लेख्न नसक्नेहरूले राम्रो अक्षरले सारेर भए पनि तयार पार्नुपर्ने हुन्थ्यो । अनि त्यो पत्रिका हामीले बाड्थ्यौं । माओका रेडबुकहरू पनि कार्बन राखी हातैले सारेर बाँड्ने गरिन्थ्यो ।
म बामपन्थी साथीहरूको नजिक भए पनि मेरो बुवा साथीको कारणले कांग्रेस समर्थक हुनुहुन्थ्यो । नेपाली कांग्रेसका एक संस्थापक नेता गणेशमान सिंहका धर्मपुत्र पीएल सिंहका बाल्यकालदेखिकै दौंतरी भएकाले पिता नेकाको मतदाता हुनुुहुन्छ । मामाघरमा लगभग सबैजना राजनीति सचेत भए पनि पार्टी विशेषको समर्थक भन्दा पनि समानताको भावनाको कुरा मात्र गर्ने प्रचलन थियो ।

कमिटीमा बसेर कहिलेदेखि काम गर्न थाल्नुभयो ?
साथीहरूको संगत र देखासिकीमा मैले पनि स्कूल पढ्दा नै विभिन्न भूमिगत नेताहरूका पत्र ओहोर–दोहोर गर्ने, खबर लैजाने ल्याउने गर्न थालेकी थिएँ । कक्षा आठमा पढ्दै गर्दा म कम्युनिस्ट पार्टीमा ‘कमिटेड’ भएँ । तिनताका खासगरी वीरगञ्ज र काठमाडौं उपत्यकामा सक्रिय साहित्यकार श्यामप्रसाद शर्मा नेतृत्वको नेकपा (अति गोप्यतावादी) पार्टीको स्थानीय कमिटीमा म चयन भएकी थिएँ । त्यतिबेला आफू कुन कमिटीमा छु, सँगै बसेको साथीलाई थाहा हुँदैनथ्यो । एसएलसी परीक्षा दिँदासम्मै म त्यही पार्टीमा प्रतिबद्धतासाथ काम गरिरहेँ । यसरी मेरो राजनीतिक जीवन शुरु भयो ।

तर त्यस सँगसँगै स्कुले जीवनमा म अतिरिक्त क्रियाकलापमा पनि निकै भाग लिन्थेंं । म ब्याडमिन्टन खेल्ने गर्थँे र एथलेटिक्समा पनि राम्रै खेलाडी थिएँ । म रंगशालामै गएर जुनियर क्याटेगोरीको ब्याडमिन्टन खेल्ने गर्थें । स्कुलमा हुने हाजिरी जवाफ, हिज्जे प्रतियोगिता सबैमा म सहभागी हुने गर्थें । तर एसएलसीको तयारी र त्यसपछि ती खेल र ती सबै कुरा छुटे । स्कुल पढ्दा स्कुलको पढाइ सकेपछि हामी सधैं वामपन्थी सैद्धान्तिक पुस्तक र पत्रपत्रिका पढ्ने गथ्र्यौं । त्यसकै आधारमा अर्को दिन साथीहरूसँग छलफल हुन्थ्यो । हामी कम्युनिष्ट नैतिकताको विषयमा धेरै नै छलफल गथ्र्यौं । त्यतिबेलाका ती साथीहरूसँग अहिले पनि त्यो आत्मियता छ ।

एसएलसीपछि आफनो विद्यार्थी राजनीतिक यात्रालाई कसरी अगाडि बढाउनुभयो त ?

एसएलसी उत्तीर्ण भएपछि मलाई परिवारबाट मानविकी पढाउन चाहनुहुन्थ्यो तर मलाई कानुन विषय पढ्न रुचि थियो । मैले आफनो स्वाभिमानी स्वभाव छोडिन र नेपाल ल क्याम्पसमा आई.एल.मा भर्ना भएँ । अब नयाँ परिवेश बन्यो, नयाँ साथीहरू, नयाँ कुराकानी हुन थाले । हिजोका ‘अति गोप्यतावादी’ साथीहरू छिन्नभिन्न भइसकेका थिए, मार्गनिर्देशन गर्ने व्यक्तिहरू नै लाखापाखा लागिसकेका थिए । तर मभित्र केही गरुँ भन्ने हुटहुटी थियो, नदीले निकास खोजेजस्तै म पनि अगाडि बढ्न चाहन्थेँ । त्यस्तैमा क्याम्पसमा भेट भएका नयाँ साथीमा धेरैजसो झापातिरका थिए । यही क्रममा म तत्कालिन नेकपा (माले) –जसलाई तिनताका ‘टाउको काटुवा’ समूह भन्ने गर्थे– विद्यार्थी मोर्चा अनेरास्ववियुको निकट सम्पर्कमा आएँ ।

मैले बीएल पढ्न थाल्दा ०३५–०३६ सालको विद्यार्थी आन्दोलनको आगो भित्रभित्रै धिपधिपाउँदै थियो । त्यसैबेला अखिलको पाँचौं राष्ट्रिय सम्मेलन तयारी समिति बन्यो जसमा टंक कार्की, विद्या थापा, भीमु रिमालसमेतका साथीहरू हुनुहुन्थ्यो । म अखिलको तल्ला कमिटीहरूमा बसेर काम गरेको नभए पनि बर्षौदेखि बाम राजनीतिक पृष्ठभूमिमा रहेर क्रियाशील रहेको हुनाले २०३६ मा ‘एकताको पाँचौं राष्ट्रिय सम्मेलन’ हुँदा मलाइ पनि प्रतिनिधि चयन गरियो । सँगसँगै त्यहीँबाट अखिलको पाँचौं केन्द्रीय कमिटीमा कोषाध्यक्ष समेत चयन गरी जिम्मेवारी दिइयो ।

तपाइँ कमिटीमा बसेर राजनीतिक गतिविधीमा सक्रिय हुन थालेपछि परिवारको प्रतिक्रिया कस्तो रह्यो त ?
सुरुसुरुमा त म विद्यार्थी राजनीतिमा लागेको परिवारमा थाहा थिएन । त्यसमा पनि ठूलो परिवार भएकाले घरमा खासै समय दिनु पर्दैन थियो । केही सोध्ने कुरै भएन । तर पछि, जब झापा आन्दोलनबाट उठेको ‘टाउको काटुवा’ ग्रुपमा लागेको थाहा पाएपछि भने घर परिवारमा समस्या हुन थाल्यो । राजनीतिमा लाग्न नदिन कहिले कपडा लुकाइदिने, कहिले ढोका नै नखोल्ने त कहिले के कहिले के गर्न थाले । तर म पनि निडर एवं स्वाभिमानी स्वभावकी भएकीले भन्ने गर्थें ‘ढोका नखोल्ने हो भने म साथीहरूकोमा सुत्न जान्छु । नराम्रो काम गरेकी छैन । अनि के को डर ? के को पीर ?’ अरुभन्दा पनि आमा र परिवारका अरुहरूलाई मेरो ज्यान जाला भन्ने पीर बढी थियो ।

यस्तैमा २०३६ सालको आन्दोलनको समयमा अनेरास्ववियुले मुलुकमै पहिलोपटक नेपाल बन्द कार्यक्रम आयोजना गर्यो । यसमा अखिल पाँचौबाट त्रिविवि प्रारम्भिक कमिटी सदस्य भीमु रिमाल र जानुका पोखरेलसँगै म पनि पक्राउ परें । त्यो बेला करिब डेढ दुइ महिना जेल बसेपछि मात्र रिहा भएकी थिएँ । म जेल पर्दा मलाई भन्दा परिवारलाई सारै गाहारो भयो । सामाजिकरुपमा बहिष्कृत हुनुपर्यो । आमा मलाई भेट्न जेलमा आउनुहुन्थ्यो, अनि किन यस्तो काम गरेकी भनेर रुनुहुन्थ्यो । तर म आफू भने मानसिक रुपमा दरो थिएँ । आमालाई सम्झाएर पठाउँथे ।

दोस्रोपटक पुनः अखिलको राष्ट्रिय सम्मेलनको तयारी क्रममा पुल्चोक इन्जिनियरिङ कलेजबाट पक्राउ परेँ । त्यहाँबाट हामीलाई हनुमान ढोका चौकी लगियो जहाँ भीम रावल, विद्यानाथ कोइराला र अन्य साथीहरू पहिले नै पक्राउ परी लगिएका थिए । त्यो बेला विभिन्न स्थानबाट गरी ३५–३६ जना महिला राजनीतिकर्मी पक्राउ परेका थिए । त्यही बेला तत्कालीन हनुमानढोका डिएसपी डिबी लामाले १९ वर्षीय मलाई आफ्नो अफिस कक्षमा राखी ‘यस्तो पञ्चायतविरोधी काममा नलाग्न, टाउको काटुवाहरूको संगत नगर्न, राम्रो जागिर खान र योग्य वर पनि जुटाइदिने’ प्रलोभन देखाएका थिए । तर मैले दृढतापूर्वक ती सबै कुरा ठाडै अस्वीकार गरेँ । त्यसैदिन साँझ मलाई कारागार चलान गरियो जहाँ सावित्रा भुसाल, शशी श्रेष्ठ, पम्फा भूसाल, पवित्रा बोहरासमेत अन्य सातजना महिला राजबन्दीहरू पनि थिए । त्यतिबेला निकै मानसिक यातना र पीडाको अनुभव पनि गरेँ । समयक्रममा करिब साढे दुई महिना बितेपछि र अखिलको छैटौं राष्ट्रिय सम्मेलन सम्पन्न भइसकेपछि बल्ल मलाई निःशर्त रिहा गरियो ।

तपाइँहरूले काम गर्दा संगठनको वातावरण कस्तो थियो ?
मैले काम गर्ने समयमा कमिटीमा जया घिमिरे र सञ्जीता गिरी पनि सँगै हुनुहुन्थ्यो । त्यतिबेला साथीहरूबाट एकदमै सहयोग र माया थियो । त्यो बेला एक अर्कामा एकदमै हार्दिकता र सम्मान प्रशस्त थियो । असुरक्षाको भावना खासै हुँदैनथ्यो, असहजता थिएन । रातविरात वैठक हुन्थ्यो, हिँड्नुपथ्र्यो तर मलाई कहिले म एक्लै पुरुषहरूको विचमा छु भन्ने असहजता महसुस भएन, असुरक्षाको त कुरै छाडौं । सबैमा अपनत्व र हार्दिकता थियो । संगठन भनेको एउटै परिवार जस्तो लाग्थ्यो । महिला कार्यकर्ताहरूले सुरक्षाको पुरै अनुभूति पाउथे । तर हामीले त्यतिबेला परिवारलाई सुझबुझका साथ सम्झाउनुपर्नेमा त्यसो गरिएन बरु परिवार भनेको त प्रतिक्रियावादी हो भन्ने स्कुलिङले बढी काम गर्यो । त्यो हाम्रो कमी थियोे । परिवारलाई पनि सम्झाएर साथै लिएर काम गरेको भए अझै सजिलो हुँदो रहेछ ।

तपाईले विद्यार्थी संगठन छाडेपछि अन्य मोर्चामा बसेर काम गर्ने सोच्नुभएन त ?
त्यसपछि मैले आफू संगठनको कमिटी वा कुनै पदमा बसेर सक्रिय राजनीतिमा नलाग्ने बरु पार्टीकै ‘महिला सेल’ मा बसेर विद्यार्थीबीच काम गर्नेे निर्णय गरेँ । मसँगैको महिला सेलमा पूर्णशोभा चित्रकार, शारदा कोइराला, स्वस्तीप्रभा बज्राचार्य समेतका साथीहरू हुनुहुन्थ्यो । महिला सेलमा रहेकाहरूमध्ये कसैले विद्यार्थी, कसैले दलित, कसैले महिला त कसैले के हेर्नुपर्ने हुन्थ्यो । मैले विद्यार्थी क्षेत्र हेर्दथेँ । तर पार्टीभित्र दुइ लाइनको संघर्ष चल्दै गर्दा अस्वस्थ कुराहरू बढ्दै गए । व्यक्तिको क्षमता र समर्पण भन्दा पनि लाइनलाई हेर्न थालियो । मलाई लाग्छ, व्यक्ति विशेषलाई समर्थन गरेको भए म आज अर्कै कुनै माथिल्लो तहमा हुन्थेँ होला किनभने म बसेको महिला सेलमा फलानो व्यक्तिलाई समर्थन गर्नु पर्यो भनेर ठाडो आदेश नै आयो । व्यक्तिलाई नभएर विचारलाई समर्थन गर्नुपर्छ भनेर हामीले अडान लिँदा पार्टीबाट हाम्रो महिला सेल नै विघटन गरियो ! त्यसपछि जिम्मेवारी दिने र अगाडी बढाउने काम भएन । यो घटनापछि मलाई पार्टीको संकीर्ण सोचाइले दिक्दार बनायो । वास्तवमा आफूले पार्टीगत राजनीति छोडेको भन्दा पनि यस किसिमको परिस्थिति सिर्जना भयो जसले गर्दा मैले पार्टी कमिटीमा बस्ने अवस्था नै रहेन ।

मलाई २०४६ सालको परिवर्तनपछि केही नेताहरूले फेरि पार्टीमा सक्रियतासाथ लाग्न आग्रह गरेका थिए । अष्टलक्ष्मी शाक्य, राधा ज्ञवाली आदिले फेरि काम गरौं भनेर बोलाउन पनि पठाउनुभएको थियो तर मैले हिजोको जस्तै संकीर्णता र पूर्वाग्रह दोहोरिन्छ भन्ने आशंकाले त्यो प्रस्ताव स्वीकार गर्न सकिन । हामी श्रीमान श्रीमतिले सल्लाह गर्यौ र आफूले आफैलाई आफ्नै स्कुले दुनिया स्वर्णिम शिक्षा सदन हाइस्कुलमा क्रियाशील हुने विचार गर्यौं । मेरा श्रीमान मोहन श्रेष्ठ पनि लेखक एवं जनपक्षीय कलाकार हुनुहुन्छ । उहाँले विगतमा लामो समयसम्म भूमिगत राजनीति गरेर खासगरी प्रगतिशील लेखक कलाकार संघमा लागेर काम गर्दै आउनु भएको हो । तर पार्टी स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको दुई लाइन संघर्षले गर्दा आज हामी दुवैजना राजनीतिक क्षेत्रमा नरहने स्थिति उत्पन्न भएको हो ।

परिवारसंग विद्रोह र झगडा गर्दै विद्यार्थी राजनीतिमा लाग्नुभयो, परिस्थितिले नचाहँदा नचाहँदै छोड्नुपर्यो । अहिले कस्तो लाग्छ ?
हामीले जे जति त्याग गर्यौँ, खेर गएन । त्यसकै फलस्वरुप त अहिले हाम्रो मुलुक यस्तो अवस्थामा छ । सामुहिक हिसाबले उपलब्धि भएको छ । तर कहिलेकहिँ मेरो जिन्दगी देशको लागि लगाउँछु भनेर जुन उत्साहले लागिएको थियो, त्यसै रुपमा अगाडि बढ्न नपाएको सम्झिँदा अलि दुख लाग्छ, जिन्दगीमा केही गर्न सकिएनछ कि जस्तो पनि लाग्छ । तर एउटा आत्मसन्तुष्टी मेरा कारणले एउटै मान्छेलाई पनि असल मान्छे बनाउन सकेको छु भने त्यो ठिक छ जस्तो लाग्छ । हामीले स्कुलमा पढाएका बच्चाहरू असल भएर निस्किएका छन् त्यो पनि असल योगदान हो भन्ने ठान्दछु । राजनीतिक संस्कारले मलाई दिएको सबैभन्दा ठूलो कुरा राम्रो काम गर्न सक्छु भन्ने आत्मबल हो ।

अहिले मुलुक लोकतान्त्रिक गणतन्त्रमा फेरिएको छ । राजनीतिमा महिला उपस्थिति पनि ह्वात्तै बढेको छ । जम्मा कुरा के हो भने कसैले पनि स्वार्थ लिएर राजनीति गर्नु हुँदैन । शायद यसो नभएकैले होला, समयले यति धेरै परिवर्तन ल्याइसक्दा पनि सोचेजस्तो अझै हुन सकेको छैन । महिलाले महिलाको महिलाका लागि मात्र भन्ने होइन, बरु पुरुषलाई पनि सँगै लिएर अगाडि बढ्न सक्नु पर्दछ, त्यो काम भइरहेको छैन । मेरो अनुभवमा अहिले राजनीतिक काम गर्नुको उद्देश्य नै फरक भएको छ । काम नाम र प्रचारमुखी हुँदै गइरहेको छ । पहिलेको जस्तो समर्पण र प्रतिबद्धता पाउन गाहारो छ । भेल बनेर धेरै कुरा आएजस्तो लाग्छ । सम्हाल्न सकेन भने भेल जस्तो आएका उपलब्धिहरू सबै भेल बनेरै जान्छन् । यसमा सचेत हुन जरुरी छ ।

(स्रोत : अस्मिता हाम्रो, जेठ-असार अंक , २०७२)

जेठ १५, २०७४ मा प्रकाशित ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*