महालक्ष्मी नगरपालिका ललितपुरको निर्वाचन पर्यवेक्षणमा जे देखियो

शान्ता भण्डारी : अनुभव र अनुभूति

स्थानीय निर्वाचन २०७४ (पहिलो चरण) को पर्यवेक्षणका लागि म नेपाल मतदाता अधिकार मञ्चका तर्फबाट खटिएकी थिएँ । मैले पर्यवेक्षण गर्ने मुख्य मतदान स्थल ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाको वडा नं २, इमाडोल स्थित देशविकास पुस्तकालय (भगवानस्थान) रहेको थियो भने मैले यसै नगरपालिका अन्तर्गत वडा नं ३ को बोजेपोखरी तथा वडा नं ४ को महेन्द्र आदर्श विद्यालयमा रहेका मतदान स्थलहरूको पनि पर्यवेक्षण गरेकी थिएँ । निर्वाचनको अघिल्लो दिन २०७४ वैशाख ३० गते बेलुकी मैले उल्लेखित सबै मतदान स्थल पुगेर त्यहाँ भइरहेको तयारीको अवलोकन गरेकी थिएँ । सबै मतदान स्थलको तयारी राम्रो थियो र स्थानीय वासिन्दाले पनि स्वस्फूर्त रूपमा मतदान केन्द्रहरूको व्यवस्था गर्न सहयोग गरेको देखिन्थ्यो । सबै मतदान केन्द्रमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनहरू बनाइएको थियो।
निर्वाचनका दिन सवारी साधनको प्रयोग गर्न नपाइने भएकाले सबै मतदान स्थलको सम्पूर्ण मतदान प्रक्रियाको अवलोकन गर्न सम्भव नभए पनि म सबै मतदान स्थलमा पटक पटक पुगेर मतदानमा खटिएका कर्मचारीहरू, राजनैतिक दल तथा उमेद्वारका प्रतिनिधिहरू एव आम मतदाताहरूसँग कुराकानी गरेर त्यहाँको प्रक्रियाबारे अद्यावधिक भएकी थिएँ ।

अवलोकन गरिएका सबै मतदान स्थलहरूमा अत्यन्तै शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको थियो । मतदान अधिकृत, मतदान कर्मचारीहरू एव सुरक्षाकर्मीहरूले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेको पाइयो भने सबैतिरका मतदाताहरूले पनि संयमित भएर मतदान गरेको देखियो । यसैगरी उमेद्वारहरूको आपसी व्यवहार पनि राम्रो रहेको पाइयो । प्रत्येक मतदान स्थलको अवलोकन गर्दा पाइएका उल्लेखनीय पक्षहरू निम्नानुसार छन् ।

१. देशविकास पुस्तकालय (भगवानस्थान) मतदान स्थल, महालक्ष्मी नगरपालिका वडा नं- २, इमाडोल :  निर्वाचनका दिन म यस मतदान स्थलमा बिहान ६ बजे नै पुगेकी थिएँ । २० वर्षपछि हुन लागेको निर्वाचन धेरैका लागि नौलो थियो । यसैले म पुग्दा केही मतदाताहरू लाइनमा बस्न थालिसकेका थिए । मतदान अधिकृतले निर्वाचनका सबै प्रक्रिया पुर्‌याएर ठीक ७ बजे मतदान प्रारम्भ गराउनु भयो  यस मतदान स्थलमा १६२७ मतदाता रहेका थिए भने यहाँ क र ख गरी दुई वटा मतदान केन्द्र रहेका थिए । मतदान केन्द्र क अन्तर्गत ८४० मतदाताहरू रहेका थिए भने यहाँबाट ‌६६१ जनाले मतदान गरेका थिए, जसमध्ये महिला ३५० पुरुष ३११ जना थिए । यसैगरी मतदान केन्द्र ख अन्तर्गत ७८७ मतदाताहरू रहेका थिए भने यहाँबाट ६०२ जनाले मतदान गरेका थिए, जसमध्ये महिला ३०९ र पुरुष २९३ जना थिए । यसरी यस मतदान स्थलबाट कुल १२६३ अर्थात् ७७।६ प्रतिशत मतदान भएको थियो ।

यो मतदान केन्द्र स्थानीय मन्दिरमा रहेको थियो । मन्दिर खुला ठाउँ भएकाले त्रिपाल हालेर छानोको व्यवस्था गरिएको थियो । मतदान केन्द्रमा सिंढी चढेर् जानु पर्ने भएकाले ह्वील चेयरको सहारामा आउने मतदाताहरूलाई असजिलो हुने देखिएको थियो । तर यस्ता मतदाता आइहालेको खण्डमा उनीहरूलाई सुरक्षाकर्मीहरूले बोकेर ल्याउने र वृद्ध वृद्धा, अशक्त, बिरामी र अपाङ्गहरूलाई लाइनमा बस्नु नपर्ने व्यवस्था गरिएकाले यस्ता मतदाताहरूका लागि ठाउँ अनुकुल नभए पनि त्यहाँको वातावरण भने अनुकुल बनाइएको थियो । यस मतदान स्थलमा धेरैजसो मत बिहान १० बजेभित्रैमा खसिसकेको थियो । दिउसो फाट्टफुट्ट मतदाताहरू आएकाले कसैले लाइनमा धेरै समय बिताउनु परेको थिएन । यस मतदान स्थलमा नियमित रूपमा जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट निरीक्षण भइरहेको थियो । यहाँको वातावरण दिनभर नै तनावमुक्त रह्यो । यहाँका मतदाता र उमेद्वारहरू बीच राम्रो सम्बन्ध रहेको देखिन्थ्यो । सबै दलका उमेद्वारहरूले संयुक्त फोटो खिचाएबाट पनि यो कुरा पुष्टी हुन्थ्यो। मतदान अधिकृतले समय सकिन लागेको सूचना जारी गर्दा मतदान गर्न बाँकी तीन जना मतदाता मात्र देखिए । ५ बजेपछि मतदान प्रक्रियाको अन्त्य भएको घोषणा गर्दा उपस्थित सबैले ताली बजाएका थिए भने सबै प्रक्रिया पश्चात मतपेटिककाहरू मत गणनास्थलमा लैजाने क्रममा पनि ताली पिटेर खुशी साथ विदाई गरेका थिए ।

२. बोजेपोखरी मतदान स्थल, महालक्ष्मी नगरपालिका वडा नं- ३, इमाडोल : यो मतदान स्थल बोजेपोखरीको शिव मन्दिर परिसरमा बनाइएको थियो । त्यहाँ स्थायी संरचनाहरू नभएकाले सबै मतदान केन्द्रहरू त्रिपाल हालेर बनाइएको थियो । मतदान कर्मचारीहरू पानी परेको खण्डमा धेरै असजिलो हुने हो कि भनेर चिन्तित हुनुहुन्थ्यो । तर मतदानका क्रममा ठूलो पानी नपरेकाले कुनै असजिलो व्यहोर्नु परेन । यस मतदान स्थलमा क, ख र ग गरी तीन वटा मतदान केन्द्र थिए । त्यसैले मतदान गर्ने ठाउँ केही साँघुरो देखिन्थ्यो । तर सबै जना संयमित भएर मतदान गरेकाले कुनै पनि समयमा अनावश्यक भीडभाड हुन पाएन । यस मतदान स्थलमा कुल २२०६ जना मतदाता रहेका थिए । जसमध्ये केन्द्र क मा ६१८, केन्द्र ख मा ६०१ र केन्द्र ग मा ५६६ मत गरी कुल १७८५ अर्थात् ८१ प्रतिशत मत खसेको थियो । यहाँ पनि ठीक ७ बजे नै मतदान शुरु भएको थियो । शुरुमा ९० वर्षीया महिलाले मत खसाउनु भएको थियो।
मैले निर्वाचन प्रक्रियाको प्रारम्भ र अन्त्यको अवलोकन देश विकास पुस्तकालय स्थित मतदान स्थलको गरेको हुँदा यस केन्द्रको प्रारम्भ र अन्त्यको प्रत्यक्ष अवलोकन गर्न नपाए पनि त्यतिखेर भएका प्रक्रियाहरूका बारेमा मतदाता, उमेद्वारका प्रतिनिधिहरू तथा मतदानमा खटिएका कर्मचारीहरूसित सोधेर अद्यावधिक भएकी थिएँ जस अनुसार मतदान अधिकृत र कर्मचारीहरूले सबै प्रक्रिया पूरा गरेको पाइयो । यहाँ पनि सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको थियो। मतदाता विष्णू कुमारी केसीका अनुसार यहाँ सबैले अन्त्यन्त सजिलो किसिमले मतदान गरेका थिए । मतदाताहरूले कुनै डर, त्रास, लोभलालच तथा तनावको अनुभूति गर्नु परेको थिएन।

३. महेन्द्र आदर्श विद्यालय मतदान स्थल, महालक्ष्मी नगरपालिका वडा नं- ४, इमाडोल : यो मतदान स्थल विद्यालय परिसरमा भएकाले यहाँ अरुतिरभन्दा फराकिलो र पानी परेको खण्डमा ओतको राम्रो प्रबन्ध थियो । यहाँ कुल १६८५ मतदाता रहेका थिए, जसमध्ये केन्द्र क मा ६६७ र केन्द्र ख मा ६४३ गरी कुल १३१० अर्थात् करिव ७८ प्रतिशत मत खसेको थियो । यस केन्द्रमा अपरान्ह ३:३० बजे भित्रै नै सम्पूर्ण मत खसिसकेको थियो ।
यस मतदान स्थलमा ९६ वर्षीय वयोवृद्ध गणेश बहादुर थापाले बिहान ठीक ७ बजे मत खसालेर मतदान प्रक्रियाको थालनी गर्नु भएको थियो । यहाँ पनि मैले अवलोकन गरेका अन्य मतदान स्थलहरूमा जस्तै सम्पूर्ण निर्वाचन प्रक्रिया सम्मत र शान्तिपूर्ण तरीकाले सम्पन्न भएको थियो । यहाँ खटिएका जनपद प्रहरीका एक जना सब इन्सपेक्टर संविधानसभाको दोस्रो निर्वाचनका बेलामा सिन्धुपाल्चोक जिल्लाको एउटा मतदान स्थलमा व्यहोर्नु परेको तनाव र हालको अवस्थाको तुलना गरेर भन्दैथिए  “यहाँ त स्वर्गै रहेछ नि, दिनभर कसैलाई ठूलो स्वरले कराउनु नै परेन ” ।

अन्त्यमा, मैले अवलोकलन गरेका मतदान स्थलमा निर्वाचन प्रयोजनका लागि खटिएका सम्पूर्ण कर्मचारीहरू, सुरक्षाकर्मीहरू एवं मतदाताहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।

जेठ १२, २०७४ मा प्रकाशित

1 Comment on महालक्ष्मी नगरपालिका ललितपुरको निर्वाचन पर्यवेक्षणमा जे देखियो

Leave a Reply

Your email address will not be published.


*