महिनावारी बन्द हुने अवस्था ः रजोनिवृत्ति

डा. अरुणा उप्रेती 

नेपाली महिलाको औसत आयु ६८ वर्ष पुगेको एक तथ्यांकले देखाएको छ । महिनावारी हुन बन्द भएपछि अर्थात् रजोनिवृत्ति भएपछि पनि अहिले महिलाहरू लामो समय बाँच्छन् । महिला स्वास्थ्यका बारेमा कुरा गर्दा प्रजनन स्वास्थ्य, आमा बन्दाको समस्या, परिवार नियोजनका समस्या आदिबारे छलफल गरिन्छ तर जब आमा बन्ने उमेर अर्थात् प्रजनन गर्ने उमेर सिद्दिन्छ (प्रायः ५० वर्षको उमेरपछि), त्यसपछि उनको स्वास्थ्यका बारेमा केही छलफल हुँदैन । महिनावारी सुकेपछि धेरैजसो महिलालाई भने केही समस्या पर्दैन । कतिपय महिलालाई केही समस्या पर्न सक्छन्, रजनोवृत्ति (अर्थात्, महिनावारी सुकेपछि) कसरी स्वास्थ्यको ख्याल राख्ने र के के समस्या हुन सक्छ भनेर र कसरी स्वस्थ भएर कसरी जिउने भन्ने कुरा प्रत्येक महिलाले युवावस्थादेखि नै जानिरहनु पर्छ ।

छयालीस वर्षीया कवितालाई झर्को लाग्ने, सानो कुरामा पनि रिस उठ्ने, निद्रा नलाग्ने, कहिले तातो भएर आउने, फेरि चिसो भएर आउने, कहिले जाडो त कहिले गर्मी हुने समस्या भएपछि आफूलाई कुनै रोग लागेको हो कि भनेर उनी डाक्टरकहाँ गइन् । डाक्टरले उनको समस्या सुनेपछि महिनावारीको विषयमा सोधे ।

उनले आफ्नोे महिनावारी कहिले डेढ महिना त कहिले दुई महिनामा हुने बताइन् । उनका कुरा सुनेपछि डाक्टरले रजोनिवृत्ति हुने बेलामा यस्ता केही साधारण समस्या देखिन सक्ने बताए । केही समयपछि महिनावारी बन्द हुन्छ तर यसले जीवनमा कुनै नकारात्मक प्रभाव नपार्ने डाक्टरले बुझाए । साथै उनलाई यस्ता साधारण समस्या रोक्न के गर्न सकिन्छ भनेर सल्लाह पनि दिए । डाक्टरले भनेअनुसार गरेपछि उनलाई हुने समस्या पूर्ण रूपमा नहराए पनि धेरै कम भयो । त्यसको दुई वर्षपछि त उनको महिनावारी पूर्ण रूपमा बन्द (रजोनिवृत्ति) भयो । उनका समस्याहरू पनि बिस्तारै एक दुई वर्षपछि हराएर गए ।

रजोनिवृत्ति कुनै रोग होइन । समस्या पनि होइन । यो त बरु उमेर बढ्दै जाँदा हुने साधारण प्राकृतिक प्रक्रिया मात्र हो तापनि रजोनिवृत्तिको बेलामा हुने वा हुन सक्ने समस्यालाई युवावस्थादेखि नै जानकारी राखेर त्यसैअनुरूप खानपान, व्यवहार र आराम गरियो भने धेरै समस्याहरू आफै कम भएर जान्छन् ।

नेपालमा रजोनिवृत्तिका बारेमा अनुसन्धान अध्ययन भएका छैनन् भने यसका बारेमा महिलाहरूको खासै चासो पनि रहँदैन । यद्यपि, महिला जीवनको यो पाटोका विषयमा काम र अध्ययन हुनु जरुरी छ । महिलाहरूको महिनावारी ४५–५० वर्षको उमेर पुगेपछि बन्द हुन्छ । जसरी किशोरी उमेरमा महिनावारी सुरु हुनु एक प्राकृतिक प्रक्रिया हो, त्यसरी नै ४५–५० वर्षको उमेर भएपछि महिनावारी बन्द हुनु पनि एउटा प्राकृतिक प्रक्रिया नै हो ।

डा. कान्ति गिरीले १०० जना महिलामा आधारित भई गरेको एक अनुसन्धानमा के देखियो भने महिनावारीको सुरुआत हुँदा कतिपय किशोरीहरूलाई केही साधारण समस्या आइपरेझैं महिनावारी बन्द हुने बेलामा पनि कसैकसैलाई केही साधारण समस्या आउन सक्छन् । यस बेला शरीरमा रहेका हार्मोनहरू बिस्तारै कम हुँदै जान्छन् । अल्छी लाग्ने, राती निद्रा नलाग्ने, रिस उठ्ने, खान मन नलाग्ने पनि हुन्छ । कसै–कसैलाई महिनावारी बन्द हुने समयमा योनी चिलाउने पनि हुन सक्छ । साथै कुनै–कुनै महिलाको स्तनको आकार सानो हुँदै जान सक्छ । जीउ तातो हुने, अनुहार रातो हुने, खलखली पसिना आउने, गर्धन तातो हुनेजस्ता समस्या पनि आउन सक्छन् । यस्तो अवस्था एक मिनेटदेखि पाँच मिनेटसम्म रहन्छ ।

त्यसो त धेरैजसो महिलालाई यीमध्ये कुनै पनि समस्या देखा पर्दैनन् तर कतिपय महिलामा भने राती निद्रा नलाग्ने वा पातलो निद्रा हुनेजस्ता समस्या देखा पर्छन.् । कसै–कसैलाई हाँस्दा, हाच्छयुँ गर्दा वा खोक्दा पिसाब चुहिने पनि हुन सक्छ । यसले गर्दा कतिपय महिलाहरू जमघटमा नजाने वा लामो यात्रा गर्न नरुचाउने पनि हुन्छन् । कसै–कसैले ‘मैले केही बिर्सन थालें, सोचिराखेको बिर्सन्छु’ आदि भनेको पनि सुनिन्छ ।

यस्तो समस्या हुनुकोे कारण, महिनावारी सुक्नुभन्दा केही वर्ष अगाडिदेखि नै शरीरमा रहेको हार्मोन ‘एस्ट्रोजेन’को मात्रा कम हुने प्रक्रिया सुरु हुन्छ । त्यसैले यस्तो बेलामा कसै–कसैलाई मनमा चिन्ता लागिरहने, निद्रा नलाग्ने र यौनइच्छामा कमी हुने हुन्छ । चुरोट र सुर्ती प्रयोग गर्ने महिलालाई यस्तो समस्या बढी हुने गरेको देखिएको छ । महिनावारी बन्द हुने प्रक्रिया एकै पटकमा हुँदैन– सुरुआतमा कहिले हुने, कहिले नहुने वा दुई–तीन महिना बिराएर हुने गर्छ । यसरी महिनावारी अनियमित हुँदा अन्य कुनै शारीरिक समस्या छैन भने महिनावारी सुक्ने भयो भनेर बुभ्mन सकिन्छ । यसरी अनियमित भएर पनि जब एक वर्षसम्म महिनावारी हुँदैन, त्यस्तो अवस्थामा महिनावारी सुक्यो भनेर बुझे हुन्छ । रजोनिवृत्ति भइसकेपछि केही महिलाको तौल बढ्न सक्छ । तौल बढेकाले महिलाहरूलाई चिन्ता पनि लाग्न सक्छ । तौललाई नियन्त्रणमा राख्न महिलाहरूले योग तथा साधारण व्यायाम गर्न सुरु गर्नु बेस हुन्छ ।

वास्तवमा युवा अवस्थादेखि नै योगासान गरियो भने उत्तम हुन्छ । त्यसैगरी युवावस्थामा नै खाना र जीवनशैलीमा ध्यान दिनुपर्छ । हरियो तरकारी, नफलेको चामल, आटा, कोदो, मकै, फापर आदि खाने गर्नु बेस हुन्छ । विभिन्न किसिमका चिसो पेयपदार्थ, बट्टामा हालेका जुुस र बजारमा पाइने खाने कुराहरू सकेसम्म कम खानु उपयुक्त हुन्छ । तौल घटाउने खालका अनेक किसिमका औषधिहरूको विज्ञापन देखेर फन्दामा नपर्नुहोस् किनभने त्यस्ता औषधिहरूको प्रयोग गर्नु ठीक हुँदैन । तौल घटाउने औषधिले शरीरमा नकारात्मक असर हुन्छ भन्ने निष्कर्ष विभिन्न अध्ययनले देखाएका छन् ।

विभिन्न वैज्ञानिक अनुसन्धानले देखाएका छन्– महिनावारी सुक्ने बेलामा आउने समस्यालाई महिलाहरूको भोजन, शारीरिक व्यायाम, जीवनप्रतिको दृष्टिकोण, मानसिक तनाव आदि कुराले धेरै फरक पार्छ । पश्चिमी देशका महिलाहरूले यौनइच्छालाई बढी महत्व दिन्छन् । रजोनिवृत्तिपछि यौनइच्छा घट्न जान्छ भनेर त्यहाँका महिलाहरूले हार्मोनको प्रयोग गर्छन् । तर, हार्मोेनको प्रयोग गरेपछि विभिन्न किसिमका स्वास्थ्य समस्या पर्न सक्ने अनेक अध्ययनले देखाएका छन् । कतिपय पूर्वीय देशमा रजोनिवृत्तिको अवस्थालाई महिलाहरू पारिवारिक जिम्मेवारीबाट मुक्त हुने समय ठानेर धर्म–कर्म र अध्यात्मतर्फ लाग्ने समयका रूपमा पनि लिने गर्छन् ।

गाउँका रजोनिवृत्ति भएका केही महिलाहरूको अनुभवमा, उनीहरूले आफूलाई केही पनि समस्या नपरेको तर शल्यक्रिया गरी पाठेघर निकालेका कतिपय सहरी महिलाले भने आफूलाई कहिले जाडो कहिले एकदम गर्मी भएर उकुसमुकुस भएर समस्या परेको बताएका थिए ।

वैज्ञानिक अनुसन्धान अनुसार, अमेरिकी महिलाहरूमा रजोनिवृत्तिका समस्याहरू बढी देखिन्छन् । सायद त्यहाँ साना–साना समस्यामै पनि औषधि खानुपर्ने मानिसकताले त्यसो भएको होला । जापानी महिलाहरूमा भने यसको समस्या कम देखिन्छ । जापानी महिलाहरूको जीवन–शैली र भोजनले पनि यसमा प्रभाव पारेको हुन सक्छ । यसो हुनुको कारण यसको सम्बन्ध परम्परा र संस्कृतिसँग रहनु हो । अमेरिकामा प्रत्येक महिलालाई सधैं जवान र राम्री देखिनै पर्छ । उनीहरू वृद्ध हुने प्रक्रियाका बारेमा कुरा गर्न त्यति रुचाउँदैनन् । उनीहरूलाई रजोनिवृत्ति भएपछि वृद्ध हुन थालियो भन्ने डरले सताँउछ ।

जापानमा भौतिक विकास तीव्र छ, त्यसैले त्यहाँका मानिसहरू बुढ्यौलीलाई अभिशाप ठान्दैनन् । नेपाली महिलाहरूले पनि यसलाई प्रायः उमेरअनुसारको स्वाभाविक प्रक्रिया ठानेको पाइन्छ । ‘महिनावारी बन्द भएपछि अब जवान छैन, अब जीवनमा केही छैन’ भन्ने भावना यहाँका महिलाहरूमा देखिएको छैन ।

यसै प्रसंगमा ७० वर्षीया माधुरी श्रेष्ठ भन्छिन्, ‘महिनावारी बन्द हुँदा मलाई केही समस्या परेन । ठ्याम्मै रोकिनुभन्दा केही अघिदेखि नै महिनावारी अनियमित भने भएको थियो । ४४ वर्षको उमेरमा अन्तिमपटक महिनावारी भयो । मेरी आमाको पनि ४२ वर्षको उमेरमै महिनावारी रोकिएको थियो तर उहाँलाई पनि केही समस्या थिएन रे ।’

धेरैजसो अवस्थामा महिनावारी बिस्तारै रोकिन्छ । हार्मोन उत्पादनमा परिवर्तन हुने भएकाले कुनै महिना महिनावारी हुने अनि कुनै महिनामा हुने बेला नभइकन महिनावारी हुने अथवा कहिले चाहिँ अत्यधिक रगत बहनेजस्ता कुरा हुन सक्छन् । एकदमै कम महिलाको मात्र अचानक महिनावारी रोकिन्छ ।

प्रजनन उमेरका महिलाहरूलाई उनीहरूको शरीरमा भएका विशेष हार्मोनहरूले प्राकृतिक रूपमा धेरै समस्याबाट बचाएका हुन्छन् । ती समस्यामध्ये मुटुको रोग र हाडको समस्या प्रमुख हुन् । महिलाहरू प्रजनन उमेरमा रहुञ्जेल उनीहरूको शरीरमा रहेको हार्मोनले हाडको घनत्व ठीक राख्न मद्दत गरेको हुन्छ तर जब महिनावारी सुक्ने समय नजिक आउँदै जान्छ, उनीहरूको शरीरमा हार्मोनहरू कम हुँदै जान्छन् । त्यस्तो बेलामा हाडको घनत्व पनि कम हुँदै जान्छ ।
यस्तो अवस्थामा बाहिरबाट हेर्दा कुनै खास समस्या देखिँदैन । महिलाको शरीरमा हाडको घनत्व कमी हुँदा कतै ठक्कर लाग्दा पनि हाड भाँचिन सक्ने सम्भावना बढी हुन्छ । हाडको घनत्व कम भएर लााग्ने यस समस्याका सम्बन्धमा युरोपेली र अमेरिकी महिलाहरूमा थुप्रै अध्ययन–अनुसन्धान भएका छन् । त्यसैगरी भारतमा भएको एक अनुसन्धानमा झण्डै ६ करोड जनता यस रोगबाट पीडित भएको तथ्य अगाडि आएको थियो । त्यसमा ७० प्रतिशत महिला थिए । महिला र पुरुष दुवैलाई हुने भए पनि महिलामा यो रोग बढी देखिएको छ । यसको प्रमुख कारण महिलाहरूको शरीरको प्राकृतिक बनावट हो । महिलाहरूको हाडको घनत्व पुरुषहरूको भन्दा कम हुन्छ ।
यसरी हाडको घनत्व कम हुँदै जाने समस्यालाई ‘अस्टिओपोरोसिस’ भन्छन् । हाडको यो रोग लागेको बेलामा प्रायः नाडी, पुठ्ठा र मेरुदण्डका हाडहरू भाँचिने सम्भावना बढी हुन्छ । हाडको घनत्व कम हुँदै हात कमजोर हुने तथा यो रोग लागिसकेपछि पनि लामो समयसम्म थाहा नहुने भएकाले यसलाई ‘मौन रोग’ (साइलेन्ट डिजिज) पनि भनिन्छ किनभने धेरैजसो कतै लडेर हाड भाँचिएपछि एक्सरे गराउँदा मात्र यो रोग लागेको भनेर थाहा हुन्छ । चिकित्सा विज्ञानका अनुसार, मानिसको हाड बन्ने प्रक्रियामा क्याल्सियम र भिटामिन डीको ठूलो भूमिका हुन्छ । रगतमा भएको क्याल्सियमले हाड बन्ने र हाडको जिर्णोद्वार गर्ने प्रक्रियामा लगातार मद्दत पु¥याइरहेको हुन्छ । रगतमा क्याल्सियम कम भयो भने हाडमा भएको क्याल्सियम पनि कम हुन्छ र हाड कमजोर हुन जान्छ ।
हाड पातलो हुँदै जाने समस्याबाट बचावट गर्न क्याल्सियमयुक्त खाना भोजनमा बढाउनुपर्छ । ज्वानो, दही, राजमा, पालुंगो, दूध, तोफु, तिल आदि क्याल्सिमयुक्त वस्तुहरू खानुपर्छ । महंगा क्याल्सियम चक्कीहरू किनेर खानुपर्ने जरुरत पर्दैन । हाड पातलो हुँदा खास कुनै लक्षण पहिले नै देखा नपरे पनि कहिलेकाहिँ चिप्लियो भने लड्ने बेलामा हाड भाँचिने र उपचार गरेपछि पनि जोडिन निकै समय लाग्ने हुन्छ ।
‘मौन रोग’बाट बच्न क्याल्सियमका साथै हामीले अत्यन्तै ध्यान दिनुपर्ने अर्को तत्व पनि छ– त्यो हो भिटामिन डी । यसले हाम्रो शरीरको हाडका लागि अत्यन्त महत्व राख्छ । भिटामिन डी सूर्यको किरणमा पाइन्छ । भिटामिन डीले शरीरमा क्याल्सियमको शोषण राम्रोसँग गर्नमा मद्दत गर्दछ । रजोनिवृत्तिको अवस्थामा पुगेपछि स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ किनभने महिनावारी बन्द हुने बेलामा हाडको घनत्व कम हुँदै रजोनिवृत्ति हुँदा आइपर्ने समस्यालाई कम गर्न भटमासको प्रयोग गर्नु ठीक हुने वैज्ञानिकहरूले बताएका छन् । भटमासले प्रोटिन र लौहतत्व प्रदान गर्नुका साथै यसमा रहेको विशेष तत्वले शरीरमा एस्ट्रोजेन हार्मोनको पनि भूमिका खेल्छ जसले मुटुको रोगबाट बचाउन मद्दत गर्छ । जापानी महिलाहरूमा रजोनिवृत्ति हुँदा हुने समस्या कम हुनुको एउटा कारण उनीहरूको भोजनमा भटमासजस्तो पौष्टिक खाना समावेश हुनु पनि एक हो भन्ने अनुसन्धानबाट पुष्टि भएको छ ।
जीवन–शैलीमा सानातिना परिवर्तन गर्दा पनि कतिपय समस्या कम गर्न सकिन्छ । उदाहरणका लागि, चुरोट पिउनेहरूले यो कुलत छोड्दा उकुस–मुकुस हुने गरी शरीर तातो हुने समस्यालाई कम गर्न सक्छन् । खानपानमा परिवर्तन गर्दा पनि फाइदा हुन सक्छ । उदाहरणका लागि, उकुस–मुकुस हुने गरी शरीर तातो हुने समस्यालाई बढावा दिने कुराहरू जस्तै– रक्सी, क्याफिन, मसालादार वा गुलियो खाने कुरा कम गर्दा वा छोड्दा समस्या कम हुन सक्छ । साथै, सन्तुलित भोजन खानु अपरिहार्य छ ।
महिनावारी रोकिएपछि देखापर्ने लक्षणहरू कम गर्न व्यायाम पनि निकै मद्दतकारी हुन सक्छ । यसले अनिद्रा र मुड बिग्रने समस्यालाई धेरै कम गर्न सक्छ । हड्डी बलियो बनाउन र स्वास्थ्य कायम राख्न पनि मद्दत गर्न सक्छ ।
कतिपय महिलालाई चिल्लो कम भएको खाने कुरा अथवा मासु नभई खानाको स्वाद नै हुँदैन भन्छन् तर खानाको स्वादले गर्दा स्वास्थ्यमा नराम्रो असर पर्ने र विषेशगरी रजोनिवृत्तिपछि मोटोपना बढ्ने समस्या हुन्छ भने त्यो खानाको के स्वाद भयो र ? पछि उच्च रक्तचाप, मुटुको समस्या, ढाड दुख्ने समस्या आदि भयो भने एकछिनको जिब्राको स्वादले के फइदा ? खाना स्वादिलो पार्ने त अनेक तरिका छन् नि– गोलभेंडाको टिमुर हालेको अचार, कागती हालेको सलाद आदि जसले स्वाद र स्वास्थ्य दुवै कायम राख्दछन् ।
रजोनिवृत्तिका बेला कमैलाई केही समस्या हुँदैन । कसलाई हुन्छ वा कसलाई हुँदैन भनेर जाँच्ने यन्त्र छैन, हुँदैन तर भोजन, आराम, सकारात्मक विचारले चाहिँ पक्कै सकारात्मक स्वास्थ्य दिन्छन्– समस्या हुनेलाई पनि र समस्या नहुनेलाई पनि । युवावस्थामा शरीरलाई मोटो बनाएर, जे मन लाग्यो त्यही खाएर, व्यायाम नगरेर अनि सबै कुरा उमेर ढलेपछि गरौंला भनेर भनियो भने पछि गएर त्यही बढी समस्या हुन्छन् । पहिले नै होस पु¥याए राम्रो होइन र ?

परिवार नियोजनका साधन
कतिपय महिलाले डिपो प्रोभेरा वा नरप्लान्ट (परिवार नियोजनका अस्थायी साधन) प्रयोग गर्दा महिनावारी नै नहुने हुन्छ । उनीहरू ४५–५० वर्षको उमेरसम्म पनि यी साधन प्रयोग गरिरहन्छन् । महिनावारी सुकेको हो अथवा ती साधनको प्रभावले त्यसो भएको देखिएको हो भन्ने छुट्याउन सकिन्न । यसका बारेमा प्रायः स्वास्थ्यकर्मीले पनि जानकारी दिएको पाइन्न । त्यसैले, ४० वर्षको उमेर पुगेपछि परिवार नियोजनका साधन प्रयोग गर्दा बढी होसियार हुनुपर्छ । रजोनिवृत्तिपछि पुनः योनीबाट रक्तस्राव हुन थाल्यो भने यसले कुनै गम्भीर समस्या रहेको संकेत दिएको हुन्छ । यस्तो बेलामा तुरुन्तै अस्पताल गएर जँचाइ हाल्नुपर्छ ।

        जेठ १२, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*