महिला उद्यमीको सफलता : फूल बेचेर एकैदिनमा डेढ लाखसम्म आम्दानी

बेँसीशहर (लमजुङ), २३ कात्तिक ।

ढकमक्क फूलबारी । बिहानैदैखि कोही न कोही ग्राहक फूलबारीमा आउँछन् । ग्राहकलाई फूल देखाउँदा, बिक्री गर्दा व्यवसायी हुमा गुरुङलाई फुर्सद नै छैन ।

बेँसीशहर नगरपालिका–३, बोहोरावेसीमा तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा लागेकी गुरुङको जीवनशैली नै परिवर्तन भएको छ । पुख्र्यौली घर घनपोखराबाट १५ वर्षअघि बेँसीशहर झरेकी हुमा शुरुमा एउटा निजी विद्यालयमा पढाउने गर्थिन । केही वर्ष पढाएर गुरुङले एउटा गैरसरकारी सस्थामा काम गरिन् । त्यहाँको जागिर पनि छोडेर गुरुङले तीन वर्षअघिबाट पुष्प व्यावसाय शुरु गरेकी हुन् ।

पुष्प व्यवसाय शुरु गरेकी गुरुङ जिल्लामै एक्लो हो । उनले यसलाई सम्भावनाको पेशाका रुपमा चिनाएकी छन् । शुरुमा फूल व्यवसाय पनि हुन्छ र रु भनेर गुरुङको खिल्ली उडाउनेहरु अहिले उनकै नर्सरीमा फूल किन्न पुग्ने गर्दछन् ।

“फूलको पनि खेती हुन्छ र भन्नेहरु अहिले सबैभन्दा महँगो फूल किन्न आउने गरेका छन्,” गुरुङ भन्छिन् ।

पुष्प व्यवसायबाट नैै मासिक रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्न सकेको उनले बताइन् । फूल, बिरुवा, दुवो र बगैँचा सजावटबाट नै मनग्य आम्दानी हुने गरेको गुरुङको भनाइ छ । “एकै दिनमा डेढलाख रुपैयाँसम्मको फूल बिक्री गरेकी छु”, उनले भनिन्, “अरु बेला सामान्यतया दैनिक रु पाँच हजारदेखि रु दश हजारसम्म बिक्री हुन्छ ।”

करिब आठ रोपनी जमिनमा उनले मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गर्दै आएकी छन् । उनले पछिल्लो समय दुबोको समेत व्यवसाय शुरु गरेकी छन् । तिहार लक्षित गरेर गुरुङले तीन रोपनी जग्गामा सयपत्री जातको फूल खेती गरेकी थिइन् । तर तिहार अगावै सबै फूल बिक्री भयो । त्यो बाहेक धूपी, अशोका, क्रिसमस ट्री, सप्लेरिया लगायतका आकर्षक बिरुवा नर्सरीमा उमारेकी छन् । उनले आफ्नो नर्सरीबाट फिटोनिया, असर्पी, केलनडुला, डेन्थ सिनेरिया, प्रिमुला, जारबेरा, कार्मेसन, सनफ्लावर, बटरफ्लाई जस्ता मौसमी पmूलका बिरुवा र एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार फूलका बिरुवा बिक्री गर्दै आएकी छन् ।

फूलको प्रजाति, विशेषता आदिका बारेमा प्रशिक्षण लिँदै अर्को मौसमका लागि बिरुवा उमार्ने तयारीमा गुरुङ छिन् । फूलका बिरुवा खरिद तथा संरचना निर्माणका लागि उनले झण्डै रु ५० लाख लगानी भएको बताइन् । “मैले अपेक्षा गरेको भन्दा निकै राम्रो व्यापार भएको छ”, गुरुङ भन्छिन्, “ग्राहकको मागलाई थेग्न निकै मुस्किल परेको छ ।”

व्यावसायिक फूल खेतीका लागि जिल्लाकै एक मात्र व्यवसायी भए पनि सरकारी निकायबाट सहयोग नपाएको उनको गुनासो छ । सरकारी निकायमा सहयोग माग्दा निकै झन्झट बेहोर्नु परेको गुरुङले बताइन् । “शुरु–शुरुमा सरकारी निकायमा सहयोग माग्न गएँ”, गुरुङले भनिन्, “ आश्वासन पाएँ तर कहिल्यै सहयोग पाइनँ ।”

बिहानदेखि साँझसम्म आफैँ बारीमा खट्ने गुरुङले अहिले दुईजनालाई रोजगारीसमेत दिएकी छन् । त्यो बाहेक फूल रोप्ने बेला ज्यालामा खेताला समेत लगाउने गरेको उनले बताइन् । नर्सरीमा उत्पादन भएको फूलले बजार पाउँदा आफुलाई निकै खुशी लागेको गुरुङ बताउँछिन् । “फूल र मालाको माग बढ्दा झन उत्साहित भएकी छु”, उनले भनिन्, “आगामी वर्ष अझै विस्तार गर्ने योजनामा छु ।” – सन्देश पौडेल/रासस

बिहीबार, कात्तिक २३, २०७४ मा प्रकशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*