महिला हिंसाको माध्यम र समाधान

विचार–लेख/कोमल पौडेल

महिला हिंसा भनेको मानसिक, शारीरिक, सामाजिक, आर्थिक, राजनीतिक, भौतिक, सांस्कृतिक, धार्मिक जे पनि हुनसक्छ । महिला जहाँ एक परिवारको, समाजको र देशको सम्मानित सदस्य र नागरिक भएर बाँच्ने अवस्था रहँदैन त्यो पक्षपात, अपमान र हिंसा हो । किन हरेक तहमा, क्षेत्रमा, समाजमा र धर्ममा नारीको स्थानलाई कम महत्व दिइयो ? नारीलाई अधीनमा राख्न र दास बनाउन डरलाग्दा धार्मिक मान्यताको विकास गरियो । इस्लाम, हिन्दू, कृश्चियन सबै धार्मिक मान्यतामा महिलाको निम्ति र पुरुषको निम्ति भूमिका फरक ढङ्गले व्याख्या र विकास गर्ने काम भयो । मानिसको उत्पत्ति पहिला भयो कि धर्मको ?

मानिसको उत्पत्तिपछि हजारौं वर्ष लागेको छ भाषाको विकास हुन । अनि भाषाको विकासपछि यसलाई प्रतिबिम्बित गर्ने लिपिको विकास हुन पनि त लामो समय लागेको छ मानव इतिहासमा । प्राकृतिक रूपमा सृष्टिले दुवैको महत्व समान राख्दछ । त्यो लिपिको विकास भैसकेपछि धार्मिक ग्रन्थहरू लेखिँदा र परम्परागत मान्यताहरू विकास गरिँदा नारीलाई एउटा मात्र बाटोमा हिँड्न र त्यही मात्र गर्न अनुमति दिइयो जुन माध्यमबाट उनीहरू जीवन व्यतीत गर्छन् र त्यसले पुरुषलाई सहज एवं सम्मानित बनाइरहन सकोस् ।

शोषणको क्षेत्र र माध्यम पत्ता लगाएर त्यसमा कानुनी हिसाबले सुधार गर्ने, मानवीय व्यवहारमा परिवर्तन ल्याउन सचेत पार्ने र महिलाको समान अधिकारको सुनिश्चितता गरी सम्मानित जीवन दिने काम प्रत्येक समाजमा अति विलम्बित ढङ्गले अघि बढेको पाइन्छ । आवाज उठ्छन् अनि हराउँछन् । महिलाको समस्यालाई, नारीको अवस्थालाई, अनि पक्षपात र कानुनी असमानतालाई गम्भीर रूपमा लिएको पाइँदैन । एउटा कानुनले पक्षपात गरेको छ भने अर्कोतिर भएका र सुधारिएका कानुन नमान्ने अपराधका सिकार पनि महिला हुन पुगेका छन् ।

महिला हिंसा र महिलाको अधिकार हनन व्यक्तिगत र सामाजिक तहमा भैरहेको पाइन्छ । व्यक्तिगत तहमा विशेष गरी परिवारभित्र गरिने दमन, श्रमको शोषण, अपहेलना, शारीरिक र मानसिक यातना, यौन शोषण र आर्थिक शोषण पर्दछन् । यी शोषण प्रायःगरी आफ्नै जोडाबाट भएको पाइन्छ भने कतै परिवारका अन्य सदस्यबाट अनि घरेलु कामदारका रूपमा रहेका महिलाहरू मालिकबाट हुन्छ । कतै कार्यालयमा काम गर्ने महिला कर्मचारी पनि व्यक्तिगत तहको शोषणको सिकार बनेको भेटिन्छ ।

सामाजिक तहमा हुने महिला हिंसा विभिन्न प्रथा, विश्वास, परम्परा, मान्यता अनि धर्म संस्कृतिको माध्यमबाट हुने गर्दछ । त्यस्ता सामाजिक नियम बनाइएको छ जसले गर्दा उनीहरू समाजको एउटा निम्न तहमा बाँधिएका र लगाइएका कार्य मात्र गर्ने व्यक्ति जस्ता भएका हुन् । मुस्लिम समुदायले महिलालाई अनुहार देखाउनु हुँदैन भनेर पूरै टाउकोदेखि शरीर कालो कपडाले छोपेर हिँड्ने नियम, अविवाहित युवतीको योनीको अपरेसन गर्ने प्रथा, गाडी चलाउन नपाउने कानुन, आफ्नो जीवनसाथी आफै रोज्न नपाउने कडा परम्परा, रोजी हाले सार्वजनिक ठाउमा ढुङ्गै ढुङ्गाले हानेर मार्ने जस्तो डरलाग्दो अभ्यास आज पनि भैरहेको छ !

नेपालका पश्चिमी क्षेत्रमा महिनावारी हुँदा घरबाहिर (छाउपडी गोठमा) ५ दिनसम्म बस्नुपर्ने प्रथा छ । घरको पुरुषले जस्तो व्यवहार गर्दा पनि उनीहरूलाई देवता जस्तो मान्नुपर्ने परम्परा जस्ता यातना दिने र दास बनाउने काम सामाजिक तहमा हुने गरेका छन् । त्यसरी नै मानव बेचबिखनको सिकार हुने पनि महिला र बालिका छन् । समाजमा नारीलाई, कसैको प्यारो छोरीलाई, कसैको प्यारो श्रीमतीलाई चोरेर लगेर अनैतिक कार्यमा जबरजस्ती लगाएको पनि चुपचाप सहेर बसेको र लामो समयदेखि यो नारकीय जीवनको अन्त्य गर्न नसकेको अवस्था छ । यो सम्झँदा पुरुष पशुभन्दा पनि तल्लो तहमा रहेको प्रस्ट हुन्छ । पशुले पनि स्त्री लिङ्गीको चाहना बुझेर मात्र सम्भोग गर्ने गर्दछ तर मानिस त्यो पशुको चेतनाभन्दा तल भएको यी घटनाहरूले र छ महिनाको नाबालिकादेखी नब्बे वर्षसम्मका वृद्ध महिला बलात्कारको सिकार हुनुपरेको घटनाले प्रमाणित गर्दछ ।

सामाजिक तहमा हुने अर्को असमानता आर्थिक असमानता हो । आर्थिक असमानताले महिलालाई धेरै कमजोर हुने परिवेश सिर्जना गरिदिन्छ । जहाँ जन्म लिन्छन्, त्यहाँको सम्पत्तिको अधिकार केही पूर्वीय मुलुकमा छोरीलाई छैन । अनि कतिपय समाजमा छोरीलाई शिक्षा दिन परिवार सक्षम हुँदैन र सक्षम भए पनि मोटिभेसन हुँदैन, अनि महिला शिक्षाबाट वन्चित हुनपुग्छन् । यसले गर्दा उनीहरू कुनै जागिर गरेर कमाउन योग्य हुँदैनन् र कुनै पुर्खौली सम्पत्तीको हकदार पनि हुँदैनन् । आर्थिक रूपमा कमजोर भएकोले सधैँ अरूको आश्रय लिनुपर्ने र जस्तासुकै कठिन अनि असह्य पीडा पनि सहेर दास जस्तो भएर बाँच्ने मनस्थिति तयार गरिदिइन्छ ।

अहिले पनि दक्षिण एसियाका देशहरूमा भारत र नेपालका विशेषगरी तराई क्षेत्रमा विवाह गरेर गएको घरको दाइजोको रूपमा गरिने अर्थको मागको पीडा सहनुका साथै परिपूर्ति गर्न नसक्दा ज्यान समेत लिइएका हजारौं घटना छन् । कति विवश छन् नारी ! एउटा घरले जन्म दियो त्यहाँ केही अधिकार छैन ! अर्को घरमा पुगेर दासी जस्तो भएर सेवा गर्नुपर्ने, उनीहरूले भने जतिको सम्पत्ति ल्याउने आफ्नो औकात छैन, माइतीकोमा छैन वा दिंदैनन् यसको यातना खपेर अन्त्यमा जीवन नै नाश गर्न विवश छन् महिला । कति नानीहरू २५ वर्ष पूरा नहुँदै जल्न परेको छ, कति नानीहरू आफ्ना सपना अधुरै छोडेर झुण्डिन पुगेका छन् । कति छोरीहरू एसिडले पोलेर छटपटिरहेकाछन् र अनुहार कुरुप बनाएर बस्नुपरेको छ । कोही दाइजोको कारण, कोही छोरी पाएको कारण, कोही बोक्सी बनाइएको कारण, कोही अति दास र सेवक बन्न नसकेको कारण अत्याचार खपिरहेका छन् अति पीडादायक यातना पाइरहेका छन् ।

महिलाहरूलाई अर्को सामाजिक विपत पुर्याउने माध्यम युद्ध हो । युद्धमा सबभन्दा बढी पीडित महिला तथा बालबालिका हुने गरेका छन् । विभिन्न उद्देश्यले राष्ट्रभित्र हुने विद्रोही सेना र सरकारी सेनाबीचको युद्ध र राष्ट्रले अन्य राष्ट्रसँग गर्ने युद्ध दुवैमा महिला हिंसा हुने गरेको छ । युद्दमा महिलाले पाएको यातना, दुरुपयोग, डरलाग्दा शोषणका समाचार सुन्दा मानिस नारीको रगतबाट बनेका हुन कि होइनन् ? एउटा आमाले उनीहरूलाई जन्म दिएको हो कि होइन जस्तो हुन्छ । भर्खर सिरियाका, नाइजेरियाका अन्य धेरै मुलुकका महिलाहरूले नारकीय जीवन बिताउन बाध्य भएका छन् ।

विद्रोह गर्ने नाममा संसारमा कहिल्यै नभएको नाइजेरियामा भएको छ । बोको हराम भन्ने अतिवादी विद्रोही संस्थाको नाइकेले ३०० जति कलेज पढ्ने नानीहरूलाई अपहरण गरेर लगेर विवाह गरिदिने, दास बनाएर राख्ने, बेच्ने र युद्धमा प्रयोग गर्ने जस्ता उसका उद्देश्य सन्चार माध्यममा खुला रूपमा आउँदा पनि मानव अधिकारको संरक्षण गर्ने भनेर स्थापना भएका सरकार, गैरसरकारी अन्तर्राष्ट्रीय संस्था र त्यहीँको नाइजेरियन सरकारले सम्म उनीहरूको मुक्तिको निम्ति कडा कदम चाल्न सकेनन् । परिवारको पुरुष बुबा, दाजु, श्रीमान वा भाइ कोही विद्रोही हो भन्ने निहुँमा महिलालाई लगेर शोषण गरेका हजारौं घटना छन् ।

आखिर निहुँ पाएपछि मान्छेको मानवता हराउने रहेछ ।

पशुभन्दा तल्लो व्यवहार मानिसले गर्दो रहेछ भन्ने स्पष्ट हुन्छ । युद्धमा पुगे पनि मानिस हुन्, समाजमा बसे पनि मानिस तर किन यति ठुलो नियतको अन्तर ? एउटा बच्चा पिठ्यँुमा, एउटा बच्चा दाहिने कोखमा उनीहरूलाई बचाउने केही खाना र कपडा देब्रे कोखमा बोकेर भाग्दै गर्दा गोली लागेर ढल्ने युद्धपीडित पनि महिला हुन् । सोधपुछको निम्ति भनेर लगेर सामूहिक यौनहिंसा गरी अचेत हुने र जीवन गुमाउन पुग्ने पनि युद्धपीडित महिला हुन् । ठुला बुद्दिजीवी भनिनेहरू, संसारको रक्षक बन्न खोज्नेहरू सानदार ठाउँमा बसेर युद्धको योजना बनाउँछन् र मानिसलाई भेडा बाख्रा कमिला जस्तो पनि नसोची बस्तीहरूमा गोली बम, र केमिकल आधुनिक हतियारहरू स्थलबाट र आकाशबाट फाल्दछन् ।

बालबालिकाहरू ज्यँुदै पुरिन्छन्, आमाहरू साना बच्चाका अगाडि लाश भएर पल्टन्छन्, वृद्धहरू ध्वस्त पारिएको आवास, मृत र घाइते परिवारका सदस्यका लाश हेरेर आँशु चुहाउँछन् । के यो मानवको जीत हुन सक्छ र ? कुनै देश, सीमा, धर्म, जात सबैभन्दा ठुलो त मानवता हो भन्ने बिर्सेर एक अर्कोको विनाशमा खटाइएका युवाहरू आफ्नो ज्यानको बाजी लगाएर लड्छन् । यो जस्तो मानव समाजको बिडम्बना के हुन सक्छ ? जेहोस्, महिला र बालिकाहरूको मानव अधिकारको चरम हनन र हिंसा हुने माध्यम युद्ध पनि हो ।

महिलाले जन्माएर, हुर्काएर, पढाएर एउटा सक्षम जनशक्ति भएर कोही डाक्टर, कोही इन्जिनियर, कोही कृषक र व्यापारी भएर देशको सेवा गरिरहेका हुन्छन् । त्यो महिलाको सम्पूर्ण जीवन त्यही सन्तानको लागि खर्च भएको हुन्छ । तर जब ऊ सबै कामबाट उम्केर हल्का महसुस गरेको समयमा अनेक बहानामा घरबाट निकाली वृद्धा आश्रममा लैजाने, शोषण गर्ने, मानसिक रूपमा कमजोर बनाउने, सही उपचार गर्न वन्चित पार्ने जस्ता काम हुने गरेका छन् । जबरजस्ती मानसिक रोगका औषधी सेवन गराई मानसिक रोगी बनाएर थन्काउने काम पनि भएको पाइन्छ । अझ श्रीमानसँग छोडपत्र भैसकेको रहेछ र त्यो व्यक्ति शक्तिशाली रहेछ भने छोडेको श्रीमतीलाई कमजोर बनाउने प्रक्रियामा लागेको पाइन्छ । जति भौतिक विकास भए पनि मानवीय भावको विकास हुन बाँकी नै छ । अर्को महिला उही उमेरको उसले बालबालिका नजन्माई आफ्नो पेसागत शिक्षामा सफल भएकोको मूल्याङ्कन फरक हुन्छ तर जसले सन्तानका लागि समय सक्यो उसको अपमान गर्नु समाजको र सामाजिक प्रणालीको ठुलो गल्ती हुन्छ । बाल अवस्थामा, युवा अवस्थामा र वृद्धा अवस्थामा महिलालाई हिंसा गर्ने विभिन्न माध्यम सक्रिय भएको पाइन्छ ।

समाजमा महिला हिंसा रोकिएको छैन । के विकसित के अविकसित त्यसको रूप र तहमा फरक छ तर सबै महिलाले सम्मानित भएर जिउने परिवेशको समाज अहिलेसम्म बनेको छैन । समाजमा कतै खुलेर हिंसा भएको होला र कतै लुकाएर भएको होला, सूचना प्रवाह नगरिएको होला । धेरै महिलाहरूले हिंसा सहेर जानुभयो, धेरै आफ्नो सुुदिन कुर्दाकुर्दै जीवनको अन्तिम सास तानुन्जेल पर्खनुभयो तर त्यो दिन आएन जहाँ उहाँहरूलाई सम्मानित जीवन दिने परिवेश होवोस ।

कहिले परिवारको सदस्यको यातना, कहिले समाजका शक्तिशालीहरूको दबाब र कहिले पूरै प्रणालीकै ज्यादती खपेर, कहिले बेचिएर, कहिले शोषित भएर कतै मानसिक र शारीरिक चरम यातना भोगेर, कतै कतै सामूहिक बलात्कारको सिकार बनेर, कतै जलाइएर, झुण्डाइएर, पानीमा धकेली दिएर, बोक्सीको निहुँमा शारीरिक यातना दिएर, विभिन्न ढङ्गले बाँच्ने समय र रहर हुँदाहुँदै सन्सार छोडेर जान बाध्य पारियो । अब हामी उहाँहरूलाई त्यो जीवन कहिल्यै दिन सक्दैनौ र कहिल्यै भेट्न पनि सक्ने छैनौं । अझै पनि यी सबै पीडा खपेर बाँचिरहेका महिलाहरू हरेक समाजमा भएकोले एउटा मानवीय जीवन दिन सहज र सुरक्षित परिवेश बनाइदिन ढीला भैसकेको छ ।

महिला हिंसा जटिल सामाजिक समस्या हो र यसको समाधानको निम्ति परिवार, समाज र देश सक्रिय र सचेत हुनु जरुरी छ । समाजको आधा जनसंख्यालाई जोखिमपूर्ण अवस्थामा राखेर समाजको विकासको गति एकांगी र अपूरो हुन्छ भन्ने कुरा सबैले स्वीकार गर्नु जरुरी छ ।
अब बाँचेकालाई, जन्मने बच्चीहरूलाई, युवतीहरूलाई र नानीहरूलाई, नारी र आमाहरूलाई मानवीय जीवन ज्युने परिवेश बनाउन के गर्न सकिन्छ, त्यो गर्नु हाम्रो एउटा प्रमुख दायित्व, कर्तव्य र चुनौती हो । कुनै पुरुष हिंस्रक भए पनि आखिर समाज स्वस्थ्य बनाउन लाग्ने पनि उहाँहरू हो । संरक्षण प्रदान गर्न लाग्ने पनि मानवताबादी मन भएका महिला पुरुषहरू नै हो । एउटा मानवतावादी व्यक्ति महिलावादी नहुन सक्दैन । मानव अधिकार हननका माध्यममा महिला अधिकार हननको ब्यापकता हरेक समाजमा पाउन सक्छौ ।

महिला हिंसा समाधानमा यो राष्ट्रिय र अन्तराष्ट्रिय गम्भीर सामाजिक समस्या हो । त्यसैले असमान कानुनहरूको संशोधन र कार्यान्वयनमा प्रतिबद्दता, शिक्षाको व्यापकता, पेसागत तालिम र रोजगारका अवसरमा जोड, महिला परामर्श वा हिंसा हेर्ने विशेष सुरक्षा निकाय र न्यायालयको व्यवस्थापन, धार्मिक ग्रन्थलाई कानुनी रूपमा प्रयोग गर्न प्रतिबन्ध गर्नुपर्दछ । सबै खाले मानसिक वा शारीरिक रुपमा कमजोर बनाउने संस्कृति, प्रथा र परम्पराको अन्त्य गर्न कानुनी आधारको व्यवस्था तथा सचेतन कार्यक्रम, हिंसाको दण्डमा गम्भीरता जस्ता क्षेत्रमा व्यापक सकारात्मक परिवर्तन हुन जरुरी छ ।

युद्धको अन्त्य गर्न सबै क्षेत्रबाट दबाब सिर्जना गर्ने, सेनालाई विनासर्त मानवताको रक्षा गर्न परिचालन गर्ने जहाँ पुरुष र महिला सेना हुन जसले मानव अधिकार हनन र मानव हिंसा भएको क्षेत्र र माध्यमको खोज गरी मुक्ति दिलाउने, बचावट गर्ने, सरकारलाई सुझाव दिने र सघाउने मानव अधिकार रक्षाका निम्ति कार्य गर्ने अत्यावश्यक कदमहरू हुन् । मानिस जन्मेपछि कुनै मानसिक, शारीरिक यातना तथा सामाजिक अपमान सहन गर्न नपरी पूरा आयु बाँच्ने परिवेश सिर्जना गर्न यी सेनाले काम गर्ने गर्नुपर्दछ । मानव बेचबिखनलाई नियन्त्रण गर्न समाज, सुरक्षा निकाय सक्रिय रहने र बेचिएका महिला रहने ठाउँको सम्बन्धित देशको सुरक्षा निकायले निरीक्षण र जाँच नियमित र निरन्तर रूपमा गर्ने र यस्ता डरलाग्दा महिला हिंसाका माध्यम बनेका कोठीहरू बन्द गराउन जरुरी छ ।

यो हिंसालाई सामान्य ढङ्गले नलिने, सबै क्षेत्र र तहबाट यसको घोर विरोध र निन्दा गर्ने, यसमा संलग्न व्यक्तिलाई जागिर नदिने, सामाजिक बहिस्कार गर्ने संस्कारको विकास गर्नुपर्दछ । कुनै ठाउँमा पुरुष हिंसा भए पनि समान रूपमा महिलालाई पनि कानुनको सजाय र सामाजिक बहिस्कार गर्नुपर्दछ । मानव हिंसा गर्नेलाई सामान्य रूपमा लिनु भनेको अर्को हिंसालाई निम्त्याउनु हो । समाज कल्याण गर्ने नाममा महिला अधिकारको हस्तक्षेप गर्न नपाउने कुराको सुनिश्चितता हुनुपर्दछ । कोही वृद्ध महिला आफ्नो घरमा बस्न चाहन्छन् भने जबरजस्ती वृद्धाश्रममा लैजान हुँदैन । बलपूर्वक कसैलाई औषधी सेवन गराउन हुँदैन । अपराध अनुसन्धानमा राख्दा २४ घण्टा भन्दा बढी महिलालाई राख्न नहुने जस्ता कानुनको व्यवस्था गर्न आवश्यक छ ।

जन्मँदा म यस्तो भएर जन्मँु भन्ने रोज्ने अवसर हुँदैन । त्यसो भए महिला हुनुमा के दोष भयो र यो सजाय भोगाइदै छ ? ती पुरुषहरू पनि महिला हुने सम्भावना उत्तिकै थियो । अनि हामी सबै मानव जाति आमाको रगतबाट बनेका हौँ । एउटा नारीलाई अपमान गर्नु भनेको आमाको अपमान गर्नु हो । महिलाहरू पनि अर्को कोही महिलाको हिंसामा सम्लग्न नहुन अनुरोध छ । सबै तह र क्षेत्रबाट सहज, सुरक्षित र एउटा सम्मानित मानव भएर बाँच्न एक हौँ ! जय नारी !!

Komal Poudel

        – कोमल पौडेल (हाल– हेलसिन्की, फिनल्याण्ड)

        मंगलबार, असोज १७, २०७४ मा प्रकाशित

1 Comment on महिला हिंसाको माध्यम र समाधान

Leave a Reply

Your email address will not be published.


*