मेरो अनुसन्धान अनुभव

अनुभव र अनुभूति/ डा.मीना आचार्य

अनुसन्धान भनेको के हो ? राम्रो र गुणस्तरीय अनुसन्धानका विशेषता के हुन् ? यही मूलभूत प्रश्नको परिधिभित्रबाट हेर्दा ज्ञात हुन्छ– अनुसन्धान भनेको ज्ञानको खोजी हो । अनुसन्धानको उद्देश्य शुद्ध ज्ञान–निर्माण हुन सक्छ, नीति निर्माण अनि सामाजिक परिवर्तनका लागि पैरवी र कार्ययोजनाको निर्माणका लागि मुद्दाहरूको अध्ययन हुन सक्छ । अनुसन्धानको कार्यक्षेत्र धेरै फराकिलो छ । यो भौतिक अथवा सामाजिक विषय–केन्द्रित हुनसक्छ । त्यसै पनि सामाजशास्त्र भनेको एकदम फराकिलो विषय हो । मेरो अनुभव समाजशास्त्रसँग सम्बन्धित छ, त्यसमा पनि सामाजिक–आर्थिक विषयमा केन्द्रित छ । म व्यवसायिक रूपमा अर्थशास्त्री हुँ तर कामकै सिलसिलामा सामाजिक विषयहरूमा पनि केही दख्खल हासिल गरेकी छु । सबैभन्दा पहिला त म सामाजिक अभियानमा स्वतन्त्रता, लोकतन्त्र, मानवअधिकार एवं महिला अधिकारका लागि लड्ने एक अभियन्ता हुँ । मेरा अनुसन्धान मेरो अभियानबाटै निर्देशित छन् । म कुनै विषयमा पैरवी गर्नु अगाडि त्यो विषयलाई राम्रोसँग बुझ्न चाहन्छु । यसका लागि विस्तृत अनुसन्धान, ज्ञान निर्माण र सैद्धान्तिक तर्क–वितर्क बुझ्ने, तिनलाई व्यवहारको कसीमा जाँच्ने र आवश्यकता अनुसार व्यवहारमा उतार्ने अथवा अवज्ञा गर्न सक्ने क्षमता पनि आवश्यक हुन्छ ।

अनुसन्धानका लागि सर्वप्रथम तपाईंले विषय चयन गर्नुपर्दछ । यो धेरै हदसम्म त तपाईं आफ्नो अनुसन्धानको परिणामलाई के गर्न चाहनुहुन्छ भन्नेमा भर पर्छ । फेरि दोहो¥याऊँ, म अनुसन्धानकर्ता पनि हुँ र अभियन्ता पनि हुँ । मेरो अनुसन्धान निश्चित उद्देश्यका लागि हो र त्यो उद्देश्य हो– जनताको सेवा । पहिले म जनताको सेवा गर्न भनेर विज्ञान पढ्न चाहन्थेँ तर म पढ्ने स्कुलमा गणित विषयको शिक्षण ज्यादै कडा.थियो । त्यसबखतको शिक्षा पद्धति नै घोकाइमा आधारित थियो । अहिले पनि छ नै । मेरो ऐच्छिक गणित विषयका शिक्षक घोक्नमा कति जोड दिनुहुन्थ्यो भने ‘ज्यामितिको पुस्तक टाउकोमा राखेर माथिबाट हथौडाले हिर्काउनु’ भन्नुहुन्थ्यो । त्यसैले दश कक्षाको अन्तिम घडीमा आएर ऐच्छिक गणित छोडेर संस्कृत विषय लिएर पढेँ । मैले प्रवीणता प्रमाणपत्र तहमा आफ्नो विषय छान्दा म १७ वर्षकी भएकी थिएँ । मैले अर्थशास्त्र र नागरिकशास्त्र रोजेँ, जनतालाई जति सकिन्छ त्यति सेवा गरुँ भन्ने उद्देश्य लिएर । मेरो जीवन र अनुसन्धान यही उद्देश्यले निर्देशित छ ।

मैले सन् १९६६ मा मस्को स्टेट युनिभर्सिटीबाट आर्थिक साइबरनेटिक्स विषयमा विशिष्ट श्रेणीसहित स्नातकोत्तर उतीर्ण गरेँ । त्यो बेला मलाई त्यहीँ बसेर छात्रवृत्तिमा पिएचडी गर्न प्रस्ताव राखियो तर मैले त्यो अस्वीकार गरेँ र नेपाल आएँ जबकि त्यसबेलासम्ममा मैले एकजना रसियनसँग बिहे गरेकी थिएँ र उनीबाट म एक छोरीकी आमा पनि बनिसकेको अवस्था थियो । त्यसपछि उनीहरू बरु मसँग बस्न नेपाल आए । त्यसबेला मैले भनेकी थिएँ– अब थप अध्ययन गर्नका लागि कतै निस्कनुभन्दा पहिले म आफ्नै देशबारे अधिकतम ज्ञान हासिल गर्न चाहन्छु । नेपालमा मलाई राष्ट्रिय योजना आयोगमा काम गर्न प्रस्ताव आएको थियो तर मैले आफूभित्र रहेको यस देशको अर्थतन्त्रलाई राम्ररी बुझ्ने जोडदार भोक मेट्ने तिर्सना पूरा गर्न बरु नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागमा नियुक्ति लिएँ । यो अविरल इच्छा, जसबाट मेरा सबै क्रियाकलाप र छनोटहरू प्रभावित हुन्छन्, ले मलाई केही नयाँ कुरा खोज्न र निरन्तर केही नयाँ योगदान पु¥याइरहन असीम ऊर्जा र शक्ति दिन्छ ।
०२२–०२३ सालतिर नेपालमा आर्थिक अनुसन्धानको क्षेत्रमा प्रवेश गरी सूक्ष्म तवरले अगाडि बढ्न महिलालाई सजिलो थिएन । मैले भोगेको पहिलो अवरोध भनेकै यात्रा हो । राष्ट्रबैंकमा, बैंकिङ क्षेत्रमै पहिलो महिला अधिकृत म भएकी थिएँ । त्यसमा पनि म सोभैm दोस्रो तहको अधिकृत भएर प्रवेश गरेकी थिएँ । मेरो समस्या के थियो भने प्रमाणपत्र र स्नातक तहसम्मको मेरोे शिक्षा भारतीय विश्वविद्यालयको पाठ्यक्रम अनुसार भएको थियो । त्यस समयसम्म नेपालमा प्रमाणपत्रदेखि माथिको शिक्षा भारतको पटना विश्वविद्यालयको पाठ्यक्रम अनुसार हुन्थ्यो ।

त्यसपछिको शिक्षा मैले सोभियत संघमा रुसी भाषामा हासिल गरेकी थिएँ । मलाई नेपालको अर्थतन्त्रबारेमा निकै थोरै ज्ञान थियो । त्यहाँ ६ वर्ष पढ्दा अंग्रेजी भाषासँगको मेरो सम्पर्क पनि टुटिसकेको थियो । यी कमजोरीहरू पूरा गर्न मलाई कडा मिहिनेत गर्नु थियो । मलाई राष्ट्र बैंकको परीक्षामा राम्रै गरेँजस्तो लाग्छ । मेरा शैक्षिक प्रमाण–पत्र पनि उच्चस्तरका थिए तर सुरुसुरुमा मेरा सहकर्मीहरूको मैले दोस्रो तहको पदमा मेरो बुबा (टंकप्रसाद आचार्य) को प्रभावले नियुक्ति पाएँ भन्ने विचार व्यापक थियो जबकि यथार्थ के थियो भने म आफैमा पूर्ण सक्षम थिएँ । सहकर्मीहरूको त्यो मान्यतालाई गलत साबित गर्नु मेरा लागि पहिलो चुनौती थियो । र, मैले यसलाई चाँडै नै यो तथ्य प्रमाणित गरेर देखाई पनि दिएँ ।

मेरो पहिलो परीक्षा चाँडै नै आयो । राष्ट्र बैंक आउने बित्तिकै म अनुसन्धान विभागको विकास–वित्त शाखामा प्रमुख बनाइएँ । यस शाखाले अर्थ मन्त्रालय र राष्ट्र बैंकको मौद्रिक नीतिका लागि बजेटपूर्वको परामर्श प्रतिवेदन तयार पार्नुपर्ने थियो । त्यसबेलामा अर्थ मन्त्रालयमा अनुसन्धान गर्ने क्षमता थिएन, आर्थिक सर्वेक्षण गर्ने र त्यसको लिखत तयार पार्ने काम नेपाल राष्ट्र बैंकले सुरु गर्नुपर्ने भएको थियो । केन्द्रीय तथ्यांक विभागले पनि कुल राष्ट्रिय उत्पादन अथवा आम्दानी, लगानी आदिका अनुमानहरू बजेटपूर्व प्रकाशन गर्दैनथ्यो ।

त्यो अवस्था बुझेर मैले तराईका केही मुख्य सहरलाई केन्द्रबिन्दु बनाएर आर्थिक सर्वेक्षणको मिसनमा जाने निर्णय गरेँ । त्यसबेला पूर्व–पश्चिम राजमार्ग बनिसकेको थिएन । त्यसैले बाहिर तराईमा जान पुराना जिपहरूमा पिक र साबेलसमेत साथमा लिएर कहीँ खाल्डो पुर्दै, कहीँ पानीमा हेलिँदै कच्ची बाटो भएर यात्रा गर्नुपथ्र्यो, अथवा, भारतीय रेल भएको ठाउँसम्म पुगेर आफ्नो बाँकी यात्रा पूरा गर्नुपथ्र्यो । त्यसबेलासम्म नेपाल राष्ट्र बैंकले कुनै पनि महिला कर्मचारीलाई काठमाडौं बाहिर काजमा पठाएको थिएन । म जाने कुरा त्यहाँ ठूलै समाचारजस्तो बन्यो भने सम्बन्धित अधिकारीहरू पनि मलाई राजधानी उपत्यकाबाहिर पठाउन तयार थिएनन् । मैले उनीहरू समक्ष आफ्नो तर्क राख्दै भनेँ– यदि मलाई बाहिर पठाइएन भने मैले कसरी पो राम्रो प्रतिवेदन लेख्न सकुँला र पुरुष सहकर्मीहरूसँग प्रतिस्पर्धा गरुँला ? कसरी मैले आफ्नो क्षमता र करिअरको विकास गर्न सक्छु वा पाउँछु त ? मेरो कुरा सुनेपछि अधिकारीहरूमा केही पछुतोभाव त देखा प¥यो तर समस्या के आइलाग्यो भने मसँग यात्रा गर्नका लागि कुनै पनि पुरुष सहकर्मी तयार थिएनन् । धेरै अनुरोध गरेपछि एकजना प्रौढ जुनियर अधिकृत मसँग यात्रा गर्न बल्लतल्ल तयार हुनुभयो ।

तर त्यो भनेको पनि केवल आधा युद्ध जित्नुजस्तो मात्र थियो । घरमा बुबाले सोध्नुभयो– महिला भएर एक्लै कसरी यात्रा गर्न सक्छेस् ? मानिसहरूले के भन्लान् ? त्यसपछि मैले बुबालाई ढाँटें, वीरगञ्जमा अर्को एकजना महिला कर्मचारीलाई सँगै लिएर जाने हो भनेर । यात्रामा हामी सबै खालको ठाउँमा सुत्नुपथ्र्यो– अफिसको टेबुलमा समेत । गुलरियापारि रहेको भारतको कतरनिया घाट भन्ने ठाउँमा त मन्दिरको पिँढीमा उपियैँ उपियाँले भरिएको चारपाइमा सुत्नुपरेको थियो । जसोतसो हामी २० दिनमा काठमाडौंबाट महेन्द्रनगरसम्मको यात्रा पूरा गरी फक्र्याँै । नेपालगञ्जमा मैले एकजना आफन्त पर्ने दाजु भेटेँ जसले मलाई एकजना पुरुष सहकर्मीसँग यात्रा गरिरहेको देखे । घरमा पुग्दा बुबाले मैले उहाँलाई ढाँटेर गएको भन्ने पत्ता पाइहाल्नुभयो । मैले उहाँसित भनें– हो, म एकजना पुरुष साथीसँग मात्र यात्रा गरिरहेको थिएँ तर यो नेपालका बारेमा आफ्नो ज्ञान बढाउन र करिअर विकासका लागि आवश्यक थियो । त्यो सुनेर उहाँले केही भन्नुभएन । त्यसपछि भने उहाँले मेरो फिल्ड जाने कामका बारेमा केही भन्नै छोड्नुभयो ।

हामीले कृषि कार्यालय, कारखानाहरू तथा व्यापारीहरूको रायका आधारमा कृषि र औद्योगिक उत्पादन र व्यापारसम्बन्धी सूचनाहरू ल्यायौँ । अर्को समूह पूर्वतिर गएको थियो । समग्रमा हामीले त्यसवर्ष समग्र राष्ट्रिय उत्पादन, बजार अवस्था र व्यापार सम्बन्धी गतिविधिबारे पर्याप्त सूचना संकलन ग¥यौं । हामीले एउटा राम्रो स्थिति प्रतिवेदन (फ्लाइङ रिपोर्ट) लेख्यौं । अर्को वर्ष फेरि म पूर्वतिर गएँ । यसप्रकार अब नेराबैंमा महिलालाई राजधानी उपत्यकाभन्दा बाहिर कुनै जिल्लामा खटाउनु हुन्न भन्ने धारणा तोडियो ।

अनुसन्धान गर्नु भनेको कठिन कार्य हो । सर्वप्रथम त, आफूले छानेको विषय सम्बन्धी सैद्धान्तिक आधार राम्रोसँग अध्ययन–मनन गर्नुप¥यो र बुझ्नुप¥यो । दोस्रो, यस सम्बन्धमा अरूले के भनेका छन् भनेर त्यो पढ्नुप¥यो । तेस्रो, त्यससँग आफ्नो परिवेश र अनुभवलाई जोड्न सक्नुप¥यो । यसका लागि धेरै श्रम, लगनशीलता र हिम्मत चाहिन्छ ।

मैले अनुसन्धान क्षेत्रमा बिताएको लामो जीवनमा शोधविधिका बारेमा आफूले सिकेका केही कुरा म तपाईंहरू समक्ष राख्न चाहन्छु ।

सर्वप्रथम त व्यवहारिक प्रासंगिकता नभएको सामाजशास्त्रीय सिद्धान्त अर्थहीन हुन्छ । कुनै पनि सिद्धान्त व्यवहारिकताको कसीमा उत्रिएर मात्र त्यसको सान्दर्भिकता हुन सक्तछ । सबै समाजशास्त्रीय अनुसन्धानले व्यवहारसँग सम्बन्ध राख्नुपर्दछ र सामाजिक घटनाक्रम तथा मानव व्यवहारलाई व्याख्या गर्न सक्नुपर्दछ । मेरा अनुसन्धान परिणामहरूले मेरो अभियानलाई बाटो देखाउँदछन् । मैले धेरै दातृनिकायहरूसँग परामर्शको काम गदै आएकी छु । हरेक परामर्शले मलाई त्यस विषयका बारेमा केही ज्ञान वृद्धि गराउँदछ । अर्कोतिर मेरो अभियानले मलाई मेरो अनुसन्धानलाई यथार्थपरक बनाउँछ । यसरी हेर्दा सिद्धान्त र व्यवहारका बीच घनिष्ठ सम्बन्ध छ ।

दोस्रो, सामाजिक अनुसन्धान गर्दा एउटै विषयमा मात्र सीमित हुनुपर्ने बाध्यता भए, यो आफैमा एउटा बाधा हो । मानवीय व्यक्तित्व बहुआयामिक हुन्छ, एक पक्षले अर्को पक्षलाई प्रभाव पारिराखेको हुन्छ । यस्ता सम्बन्धलाई उपेक्षा गरेर गरिएका अनुसन्धानका परिणाम अपूर्ण र कहिलेकाहिँ त अव्यवहारिक पनि हुन्छन् । यो कुरा आर्थिक अनुसन्धानहरूमा स्पष्ट देखिन्छ । हामी ‘अन्य कुराहरू यथावत् रहन्छन्’ भन्ने पूर्वमान्यता राखेर काम सुरु गर्छौं । उदाहरणका लागि, बजार प्रक्रियाबाट नै समाज कल्याणका लक्ष्य हासिल हुन्छन्, सबैसँग समान सम्पत्ति र सूचनाको पहुँच हुन्छ भन्ने मान्यताका आधारमा निष्कर्ष निकाल्छौं ।

मेरो विचारमा, समाजशास्त्रीय अनुसन्धानकर्ताहरूले कार्ल माक्र्सको द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त पढ्नुपर्छ किनभने यसले केही महत्वपूर्ण कुरा स्पष्ट पार्छ । विशेष गरेर द्वन्द्वात्मक भौतिकवादले के देखाउँछ भने १) सबै कुरा परिवर्तनशील छन्, २) समाज भौतिक र सैद्धान्तिक अन्तरक्रियाबाट विकास हुन्छ, ३) हरेक सामाजिक घटनाक्रमको रूप र सारका बीचमा भिन्नता हुन्छ, र ४) सबै सामाजिक घटनाक्रमहरू एकआपसमा सम्बन्धित हुन्छन् ।

तेस्रो, अनुसन्धान खुला दिमागले गर्नुपर्दछ, कुनै पूर्वानुमानित निष्कर्षविना । मेरा लागि खुला दिमागबाट सुरु गर्नु भनेको कुनै हाइपोथेसिसविना नै काम सुरु गर्नु हो । हामी के निष्कर्ष पाउँछौं होला भन्ने एक अस्पष्ट विचारबाट सुरु त गर्नसक्छौं तर अनुसन्धान नै नगरी हाइपोथेसिस बनाउनु भनेको आफ्नो दृष्टिकोणले सूचना संकलनको दायरा सीमित बनाउनु हुन आउँछ ।

यसो भए तापनि हामीले कुनै पनि अनुसन्धान गर्नुअघि, त्यस विषयका उपलब्ध साहित्य र अरूहरूले गरेका व्यवहारिक अनुसन्धानका परिणामहरूको व्यापक अध्ययन गर्नु पर्दछ । पढ्नु मात्र पनि पर्याप्त हुँदैन, ती कुराहरूलाई मनन गरेर कुनै निष्कर्षसहित सहमत वा असहमत हुनु जरुरी छ । यदि त्यसमा असहमत छैनौ भने पहिले गरिएको अनुसन्धानमा नयाँ अनुसन्धानबाट के थप्न सकिन्छ भनेर सोच्नु पर्छ । यदि असहमति छ भने त्यसले निकालेको परिणामलाई प्रतिवाद गर्न यथेष्ट सूचना संकलन गर्नुपर्छ ।

अनुसन्धानले प्राथमिक र द्वितीयक (सेकेन्डरी) सूचना दुबै प्रयोग गर्नुपर्ने हुन्छ । उपलब्ध भएका सूचनाहरू फेरि संकलन गर्नुको कुनै अर्थ रहँदैन । कहिलेकाहिँ अनुसन्धान भनेको प्राप्त सूचनालाई नयाँ ढंगले व्याख्या गर्ने पनि हुन सक्छ । जस्तो– जनगणना, नेपाल जीवनस्तर सर्वेक्षण (एनएलएसएस) नेपाल श्रमसर्वेक्षण (एनएलएफएस) जस्ता प्रकाशनहरू सूचनाका समृद्ध भण्डार हुन् जुन विविध विषयमा अनुसन्धान गर्नका लागि उपयुक्त हुन्छन् । उही सूचना पनि फरक किसिमबाट विश्लेषण गर्न सकिन्छ, यो कुरा विश्लेषणको उद्देश्यमा निर्भर हुन्छ ।

कसरी अनुसन्धानको गुणस्तर उच्च राख्ने ? समाजशास्त्रमा, एउटा राम्रो गुणस्तरीय अनुसन्धान हुनका लागि त्यो परिवेशसँग मिल्ने र समाजसँग सम्बन्धित हुनुपर्छ । यसका निष्कर्षलाई व्यापकता प्रदान (Generalization) गर्न, अनुसन्धान प्रचलित सर्वमान्य विधिमा आधारित हुनु पर्दछ । तपाईं सामान्यबाट विशेषतर्फ वा विशेषबाट सामान्यतर्फ अगाडि बढ्न सक्नुहुन्छ । यसले अनुसन्धानको विषयलाई केही नयाँ कुरा दिएर योगदान गरेको हुनुपर्छ । यस्तो योगदान विधिगत वा विषयगत हुनसक्छ । तपाईंले अनुसन्धान गर्न खोज्नुभएको विषय नवीन हुनैपर्छ तर समाजमा विद्यमान जल्दाबल्दा मुद्दासँग पनि सम्बन्धित हुनु चाहिँ पर्छ नै । यहाँनिर एक किसिमको सन्तुलन आवश्यक पर्दछ । अक्सर मैले देखेको एउटा तथ्य के हो भने थुप्रै मानिस कुनै विषयको अनुसन्धानमा लागेका हुन्छन् किनभने यो विषय फेसनमा छ । यस्तो गर्नु राम्रो होइन किनभने यस्ता विषयमा नयाँ कुरा खोज्नु झन् गाह्रो हुन्छ । यसकारण पनि सम्बन्धित साहित्यको विस्तृत अध्ययन जरुरी छ, त्यो पनि विषय छान्नुभन्दा पहिले भए झन् बेस ।

कुनै कुनै अनुसन्धान कार्य प्रारम्भिक स्थिति अध्ययन (बेसलाइन सर्वे) हुन्छन् । आफूले छानेको विषयमा कुनै सूचना नै उपलब्ध हुँदैन भने त्यस्तो अवस्थामा त्यसको खोजी नै पनि एक अनुसन्धान सरह हुन जान्छ । मलाई लाग्छ, ’७० को दशकको अन्ततिर हामीले ‘नेपालमा महिलाको मर्यादास्तर’ अनुसन्धान र विश्लेषण् यस्तै प्रारम्भिक अध्ययन थियो जसको परिणामहरू त्रिभुवन विश्वविधालय अन्तर्गतको प्रशासनिक तथा आर्थिक विकास केन्द्र (सेडा) ले सन् १९८२ सम्म शृङ्खलाबद्ध रूपमा प्रकाशित गरेको थियो ।

हामीले महिलाको अवस्था सम्बन्धमा अध्ययन गर्न एउटा नितान्त नयाँ बहुआयामिक विधिको विकास गरेका थियौं । विशेषगरी समय सदुपयोगको संकलनलाई घरधुरी उत्पादनको तथ्यांकसँग जोडेर हेरेकोले हामीलाई महिला र पुरुषको काम गर्ने समय मात्र नभएर यसलाई हरेक कार्यकलापले निकाल्ने उत्पादन र आयसँग जोडेर विश्लेषण गर्न समेत सम्भव बनाइदियो । यस गणनाबाट हामी के देखाउन सक्षम भयौं भने महिला र बालिकाहरू पुरुष र बालकहरूभन्दा धेरै घण्टा काम गर्ने मात्र होइन, तिनीहरूले घरको आम्दानीमा समेत उल्लेखनीय योगदान पु¥याउँछन् ।

यस अध्ययनले नेपालको कृषि आमतया महिलाको श्रममा निर्भर गर्दछ भन्ने पनि देखायो जसले महिलाहरूका लागि कृषि तालिम दिन लगाउने नीति समेत बनाउन मद्दत ग¥यो । महिलाहरू काम गर्दैनन् भन्ने धारणा हामीले यथेष्ट सूचना प्रमाणसहित गलत साबित ग¥यौं । घर भित्रका निर्णय(प्रक्रियामा महिला÷पुरुषको भूमिकाको मापन गर्न नयाँ प्रविधिको विकास ग¥यौं । यसले हामीलाई तिब्बती, बर्मेली र हिन्दु आर्य समूहहरूमा महिलाप्रतिको साँस्कृतिक व्यवहारमा हुने भिन्नतामा अनुसन्धान गर्न पनि सक्षम बनायो । यदि हामी पहिले नै अनुमान गरिएका विचारहरूसहित फिल्डमा गएको भए यस्तो राम्रो सूचना ल्याउन सक्ने हुन्थ्यौं भन्ने विषयमा शंका छ ।

हाम्रो अनुसन्धान समूह पनि बहुविषयक थियो जसमा अर्थशास्त्रीहरू, मानवशास्त्रीहरू र समाजशास्त्रीहरू सम्मिलित थिए । अर्थशास्त्रीहरूले परिमाणात्मक विधिबाट विश्लेषण गर्थे भने मानवशास्त्री र समाजशास्त्रीहरू गुणात्मक विधिबाट गर्थे । समूहगत अन्तरक्रिया र सहकार्यबाट अर्थशास्त्रीहरूले गुणात्मक अनुसन्धानको महत्व बुझे भने समाजशास्त्रीहरूले परिमाणात्मक अनुसन्धानको । हामीले हाम्रो अध्ययनमा परिमाणात्मक र गुणात्मक विधिहरूलाई समायोजन ग¥यौं । समयको उपयोग र घरभित्रको उत्पादनको पद्धति र परिमाणबारे भरपर्दो सूचना संकलनका लागि हामीले नेपालका विभिन्न साँस्कृतिक समुदायभित्रका समूहमा महिला÷पुरुषको जीवनपद्धति बुझ्न आठ गाउँको विशेष अध्ययन (केस स्टडीहरू) प्रयोग ग¥यौं । सामाजिक विषयमा स्तरीय अनुसन्धानका लागि दुबै पद्धति बुझ्नु नितान्त आवश्यक हुन्छ । परिमाणात्मक तथ्यांकलाई समाजिक सन्दर्भसँग नगाँसी अर्थपूर्ण ढंगबाट व्याख्या गर्न सकिँदैन ।

जस्तै– विवाह भन्ने कुरा नेपाली महिला र अमेरिकी महिलाका लागि अलग–अलग कुरा हुन् । पहिलो त, नेपाली महिलाहरूलाई “बिहे गरी दिएर पठाइन्छ”। अमेरिकामा भने महिलाहरू “बिहे गर्छन्” । नेपालमा महिलाहरू बिहे गरेपछि आफ्ना आमाबुबाको घर वा माइती छोड्नुपर्छ र सासुसुराहरूसँग बस्न जानुपर्छ । अमेरिकामा नवदम्पती श्रीमान् वा श्रीमतीको घरमा बस्छन् अथवा अन्यत्र कतै नयाँ घर बनाएर बस्छन् । त्यहाँ यही नै गर्नुपर्छ भन्ने कुनै अनिवार्यता हुँदैन । त्यसो हुनाले अमेरिकामा बाल विवाह र नेपालमा बाल विवाहको महिलाका लागि छुट्टै अर्थ हुन्छ । अमेरिकामा बालविवाह उमेर नपुगेका केटाकेटीको गलत कदम हो भने नेपालमा आमाबाबुको लोभ, लालच र छोरी पन्छाउने हतार ।

अध्ययन–अनुसन्धानका लागि सुहाउँदो विधि अपनाउनुका अतिरिक्त आफूले पहिल्याउन खोजेको विषयवस्तुको स्थिति झल्काउने सूचांक पनि पत्ता लगाउनुपर्छ । उदाहरणका लागि, महिला साक्षरताको वृद्धि भनेको एक सकारात्मक सूचना हो तर यसले शिक्षामा पहुँचमा लैङ्गिक विभेद बढ्दै छ अथवा घट्दै छ भन्ने बारेमा केही पनि देखाउँदैन । यो पत्ता लगाउन यहाँ महिलाका साथै पुरुष साक्षरता वृद्धिदरको पनि विश्लेषण गर्नु जरुरी छ । यदि महिला साक्षरता वृद्धिदर पुरुषको भन्दा बढिरहेको छ भने मात्र शिक्षामा पहुँचमा लैङ्गिक विभेद घट्दैछ भन्ने देखाउँछ । सन् १९९१ देखि २००८ सम्मका तथ्यांकले स्नातकोत्तर र त्योभन्दा माथिको शिक्षा हासिल गर्ने महिलाको संख्या बढ्दै गरेको देखाए पनि शिक्षा हासिल गरेका महिला त्यति नै शिक्षा हासिल गरेका हरेक १०० जना पुरुषको तुलनामा करिब उस्तै रहेको देखाएको थियो । यस्तै अवस्था आय आर्जन वा ज्यालाको तुलनामा पनि देखिन्छ । यथार्थमा सन् १९९५÷९६ र २००३÷०४ मा महिला र पुरुष दुबैको ज्याला वृद्धि भएको देखिन्छ (एनएलएसएस, २००४) तर महिला÷पुरुषको ज्यालादरको अनुपात भने घटेको देखिन्छ । विशेषगरी लैङ्गिक विश्लेषण गर्नका लागि महिला÷पुरुषको तुलना गर्नु जरुरी हुन्छ । महिलाहरूको अवस्था भनेर मात्र अध्ययन गर्नु पर्याप्त हुँदैन । मूल कुरा के हो भने तपाईंले प्रयोग गरेका तथ्य–तथ्यांकहरूले तपाईंका निष्कर्षहरूलाई पूर्णतः प्रमाणित गरेको हुनुपर्दछ ।

यहाँनिर म के थप्न चाहन्छु भने सबै खालको सामाजिक अनुसन्धानका लागि र त्यसमा पनि विशेषगरी अर्थशास्त्रको अनुसन्धानका लागि तथ्यांकशास्त्रको आधारभूत ज्ञान एकदम जरुरी हुन्छ । सामाजिक विषयमा स्तरीय अनुसन्धानका लागि गुणात्मक र परिमाणात्मक दुबै पद्धति बुझ्नु नितान्त आवश्यक हुन्छ । मेरो गणित सम्बन्धी ज्ञान पनि मेरा सबै अनुसन्धानका लागि सहयोगी भएको छ । यस्तो ज्ञानले विभिन्न तथ्यांकले के देखाएको हो त्यो कुरा बुझ्न सघाउँछ । मैले धेरै प्रकाशनहरूमा तथ्यांकले के भन्दै छन् भन्ने नबुझिकनै त्यसको प्रयोग ठाउँ कुठाउँ भएको देखेकी छु । यी कुरा खास गरेर महिला सम्बन्धी लेखनमा देखिन्छन ्।

अन्तमा, ध्यान दिनुपर्ने कुरा के छ भने, आपूmले अध्ययन–अनुसन्धानबाट पत्ता लगाएको कुरा भन्न डराउनु हुँदैन, त्यो परिणाम स्थापित मान्यताले स्विकार्ने प्रकारको भए पनि नभए पनि । तपाईंको निष्कर्षलाई तत्काल स्वीकार गरिन्छ अथवा गरिँदैन भन्ने कुरा महत्वपूर्ण होइन बरु तपाइँलाई आफ्नो निष्कर्षमा पूर्ण विश्वास हुनुपर्छ अनि त्यसलाई ठोस प्रमाणहरूले प्रमाणित गरेको हुनुपर्छ । मानिसहरू चलनचल्तीका कुरा बाहेक नयाँ कुरालाई हम्मेसी विश्वास गर्दैनन् । त्यसले असर पार्दैन । तपाईंका निष्कर्षहरू यदि सत्य हुन् भने त्यसलाई पछि गएरै पनि स्वीकार गरिन्छ । यस्तो कुरा नेपालमै भएका थुप्रै उदाहरण म आफै पनि दिन सक्छु । जस्तै– सन् १९९५ मा सर्वांगीण विकास अध्ययन केन्द्र (आइआइडिएस) ले ग्रामीण सेवा प्रणालीमा लामो अध्ययन पश्चात् निष्कर्ष निकाल्यो– स्कुल र हेल्थपोस्टको सामुदायिक व्यवस्थापन सर्वोत्तम उपाय हो । तर, सरकार र दातृ निकायलाई यो सुझाव स्वीकार गर्न १० वर्ष लाग्यो । सन् ’८० को दशकदेखि नै मैले भन्दै आएको कुरा हो– नेपालको रोजगारीको समस्या आवश्यकताभन्दा बढी श्रमशक्ति भएर भन्दा अशिक्षा र श्रमशक्तिमा सीपको कमीसँग सम्बन्धित छ, र तालिम कार्यक्रमहरूले सीपको खाँचो अनुभव भइरहेका समुदायहरूलाई समेट्न सकेका छैनन् । तर, नीति निर्माताहरू र दातृनिकायहरू मेरा भनाइमा विश्वस्त भएनन् । अहिले आएर मात्र यो तथ्यलाई सबै पक्षबाट स्वीकार गरिएको छ । जसलाई आवश्यक छ तिनका लागि सीपमूलक तालिमको खाका निर्माण गरिँदैछ ।

अन्त्यमा, कुनै पनि स्तरीय अनुसन्धान विचारमा नौलो हुनुपर्दछ । पूर्ण विश्वासका साथ प्रस्तुत गरिएका सुझाव र तिनलाई समर्थन गर्ने पर्याप्त सूचनाहरू दिइएको हुनुपर्दछ । अझ ठोस कुरा त तत्कालीन समयका जल्दाबल्दा मुद्दालाई सम्बोधन गरिएको हुनुपर्दछ ।

(स्रोत– ‘अस्मिता हाम्रो’ असोज–कार्तिक अंक, २०७१)

         जेठ १४,२०७४ मा प्रकाशित । 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*