मेरो आँसु मेरो शक्ति

–रमा थापा
मलाई सरोकार छैन
अरूले तिम्रा बारेमा के सोच्छन्
तिमी मेरो शक्ति हौ
केवल तिमी मात्र मेरो सच्चा साथी हौ
मेरो आँसु
मेरो प्रिय
मेरो अन्तरंग साथी ।

म सम्झिन्छु
एयरपोर्टको सुरक्षा जाँचसँगै तिमी मसँग हिँड्यौ
जहाजमा तिमी मसँगै उड्यौ
जतिखेर म फगत एक्लै थिएँ
मेरो धर्ती र मेरा प्रिय आफन्तहरूलाई छाडेर ।

अँध्यारो सडकमा तिमी मसँगै कुद्यौ
बस बिसौनीमा पनि तिमी मसँगै उभियौ
जतिखेर म फगत एक्लै थिएँ
चिसा रातहरूमा बस पक्रिने कोसिस गर्दै ।

म सम्झिन्छु,
जब मैले आफूलाई कमजोर महसुस गर्थें, तिमीले मलाई ऊर्जा दियौ
जब म सुस्तरी पाइला चाल्थेँ, तिमीले मलाई उत्प्रेरित ग¥यौ
तिमी म सँगसँगै थियौ मेरा पीडाहरूमा
तिमी म सँगसँगै थियौ मेरा रिक्तताहरूमा
मेरो आँसु
मेरो प्रिय
मेरो अन्तरंग साथी ।
केवल तिमी मात्र मेरो सच्चा साथी हौ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*