‘म्युजिक पाइरेसी हाम्रो ठुलो समस्या हो’

गायक दिपेशकिशोर भट्टराई
सन् दुई हजारको दशकदेखि नेपाली संगीतप्रेमीहरूमाझ रुचाइन थालिएका युवा गायक दिपेशकिशोर भट्टराईले खासगरी आधुनिक पपगीत संसारमा आफ्नो बेग्लै पहिचान बनाएका छन् । सानो गोरो शरीर र ओजिलो स्वर पाएका दिपेशले आफ्नो गायन यात्राको सुरुतिरै गाएको गीत ‘होस हराए पनि मायालु…’ कतिविधि लोकप्रिय भएको थियो भने मिडियाले उनलाई उल्लेख गर्दा ‘होस हराए पनि भट्टराई’ भन्ने उपनाम नै दिएका थिए । पिता मुकुन्दकिशोर र आमा स्वर्गीय भुवन भट्टराईका एकमात्र सन्तानको रूपमा २३ मार्च १९७३ मा काठमान्डुको लाजिम्पाटमा जन्मेका दिपेशले सहिद स्मारक माविबाट एसएलसी र सरस्वती क्याम्पसबाट बीकमसम्मको अध्ययन गरेका हुन् । संगीतमा दुई वर्ष सिलाबहादुर मोक्तानसित तालिम लिएपछि उनले सांगीतिक छात्रवृत्तिमा भारतको नयाँ दिल्लीस्थित गन्धर्व महाविद्यालयबाट बेचलर्स इन म्युजिक कोर्स पढे । सन् १९९४ देखि गीत–संगीत क्षेत्रमा पूर्ण सक्रिय भएको बताउने दिपेशले हालसम्म डेढ सयभन्दा बढी स्टेज शो गरिसकेका छन् । भगवानको देन भनेर आफ्नो एकमात्र सन्तान छोराको नाम देन भट्टराई राखेका दिपेशले सन् २००२ मा चन्दासित विवाह गरेका हुन् ।
विभिन्न स्टेज शोका क्रममा बेलायत, अस्ट्रेलिया, जर्मनी, बेल्जियम, दक्षिण कोरिया, कुवेत, कतार, दुबई र हङकङसमेत अनेक देश पुगिसकेका दिपेश केही वर्षपहिले तीन महिना लामो सांगीतिक कोसेली ‘डेस्टिनेसन युएसए २००७’ कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका थिए । त्यही कार्यक्रमको अन्तिम समयतिर भर्जिनियामा दिपेशकिशोर भट्टराईसित जयदेव गौतमले कुराकानी गर्नुभएको थियो । त्यो अन्तर्वार्ताका अंशहरू हाल पनि उस्तै सान्दर्भिक हुने देखिएकाले यहाँ प्रस्तुत गरिएको छ……….

दिपेशकिशोर भट्टराई भनेको को हो ?
सांगीतिक क्षेत्रमा डेडिकेटेड हँुदै आएको र आफ्नो समय संगीतमा बिताउँदै आइरहेको एकजना गम्भीर संगीतप्रेमी मानिस हो दिपेशकिशोर भट्टराई ।

कति वर्ष भयो त यसरी सांगीतिक क्षेत्रमा लागेको ?
झन्डै डेढ दशक पुग्न लाग्यो होला । यी सत्र–अठार वर्ष कसरी बिते, केही हेक्का नै हुन सकेन ।

जानेर, सोचेर, सम्झेर यही क्षेत्रमा लाग्छु भनेर सांगीतिक क्षेत्र रोजेको हो कि अरू कसैले हात समातेर यसमा डो¥याएको हो ?
सायद सबैको सन्दर्भ फरक–फरक हुन्छ होला । मेरो सन्दर्भमा के छ भने म आफैँलाई पनि थाहा थिएन, मभित्र गीतसंगीत कला निकै बलियो गरी भरिएको छ । भयो के भने विशेषगरी २०४६ सालपछिको नेपालमा गीतसंगीतको क्षेत्रमा एक किसिमले क्रान्ति नै आयो । नयाँनयाँ गायक कलाकारहरू नयाँनयाँ शैलीका गीतहरू लिएर देखा पर्न थाले । त्यही ताका म पनि साथीहरू माझ हल्काफुल्का गीतहरू गाउने गर्थेँ । मलाई सुन्नेहरूले ‘ए, तेरो पनि आवाज त राम्रो छ है !’ भनेर उत्साहित गरे, निकै अप्रिसियट गरे । साथीहरूको हौसलामा एल्बमहरू निकाल्न थालेँ । मैंले गाएका गीतहरू चल्न पनि थाले । सुरुमा मैंले गायनतिर हेल्चेक्रयाइँ गर्थेँ, गम्भीर थिइन । तर एल्बमहरू निकालेपछि र धेरैतिरबाट प्रशंसा पाउँदै गएपछि म आफैँलाई बोध भयो– गीतसंगीतको क्षेत्र भनेको हेल्चेक्रयाइँ गर्ने क्षेत्र होइन रहेछ, यो जिस्किने चीज होइन रहेछ, बरु यो त जिम्मेवारीको काम रहेछ, यसमा गम्भीरता चाहिने रहेछ ।

गायक कलाकारहरू र संगीतकारहरू समाजप्रति कत्तिको उत्तरदायी हुन्छन् अथवा कत्तिको उत्तरदायी हुनुपर्छ जस्तो लाग्छ ?
मलाई के लाग्छ भने गायक कलाकार अथवा संगीतकार अथवा गीत रचनाकारहरू जोसुकै भए पनि समाजप्रति उत्तरदायी हुनुभन्दा पहिले आफ्नो खास कलाक्षेत्रप्रति उत्तरदायी हुनुपर्छ । समाजलाई केही दिनुअगाडि सम्बन्धित कलाकार आफ्नो प्रोफेसनप्रति उत्तरदायी र इमानदार हुन सक्नुपर्छ । समाजलाई गर्ने भन्ने कुरा पछिको हो, पहिलो आफ्नो प्रोफेसनप्रति कत्तिको इमानदार छ भन्ने हो । म त्यसलाई काउन्ट गर्छु । भनाइको अर्थ के भने, समाजलाई केही राम्रो दिनका लागि गीत संगीतका सबै पक्षहरू मिल्नु जरुरी छ । मैले नेपालमा पहिले पनि देखेको र अहिले पनि देख्नु परिरहेको तथ्य के छ भने जुनियर र सिनियर कलाकारहरूबीचको खाडल पुर्न परेको छ । एकले अर्कालाई सम्मान नगर्ने परम्पराको पुल छ, त्यसलाई पनि टुटाउनु जरुरी छ । त्यसरी गीतसंगीत क्षेत्रका सबै कलाकर्मीहरूबीचको जुटपछि बल्ल समाजप्रतिको र समाजप्रति उत्तरदायित्वको कुरा गर्ने हो ।
कलाक्षेत्र भनेको कस्तो हो भने यसमा एक्लैले मात्र गर्छु भनेर हँुदैन, यसमा समन्वय चाहिन्छ । गीतकारले गीत रचना गरेर मात्र पुग्दैन, गायक चाहिन्छ । गायन भएर मात्र भएन, संगीत पनि चाहिन्छ । यसरी सबै पक्ष मिलेपछि समन्वय स्थापित हुन्छ र त्यसपछि मात्र मिलेर समाजप्रति वास्तवमै केही गर्न सकिन्छ ।

नेपाली गीतसंगीत क्षेत्रमा सिनियर–जुनियरबीच खाडल छ र एकअर्कालाई सम्मान नगर्ने परम्परा छ भन्ने कुरा उठ्यो । यसको अर्थ के हो ?
यसमा मैले आफूले देखेको र भेटेको कुरा के हो भने, लामो समयदेखि गीतसंगीत क्षेत्रमा लागिरहेको भए पनि पुराना अर्थात् सिनियरहरूलाई नयाँ अर्थात् जुनियरहरूले उचित सम्मान नगर्ने, चिने पनि नचिनेजस्तो गर्ने, सिनियरहरूले जुनियरहरूलाई उचित कदर नगर्ने अवस्था छ । मैले कतिपयको गुनासो सुनेको छु ‘हामीले पनि यति धेरै समय गीतसंगीत क्षेत्रमा लगानी ग¥यौँ तर सिनियरहरूले हामीहरूलाई नचिनेजस्तो गर्छन्’ भनेर । खासमा जसरी जुनियरले सिनियरलाई सम्मान गर्नु उनीहरूको कत्र्तव्य हो, त्यसरी नै सिनियरले जुनियरलाई के छ कसो छ भनेर कदर गर्नु उनीहरूको दायित्व हो । यो पक्षमा मैले हामी नेपाली कलाकारहरूमा समन्वयको अभाव देखेको छु ।

नेपालमा गीतसंगीत क्षेत्रको स्थिति कस्तो छ ?
हेर्नुस, म भनेको एकदम खुला किसिमको स्वभाव भएको मानिस हुँ । कुनै कुरालाई बढाएर–चढाएर भन्ने र गर्ने स्वभाव मेरो छैन । जे छ, जस्तो छ म त्यसलाई त्यही रूपमा त्यही अवस्थामा छ भन्छु । अब नेपालको गीतसंगीत क्षेत्रको अवस्था केही वर्षपहिलेको दाँजोमा अहिले त्यति राम्रो छैन भन्ने मलाई लाग्छ किनभने सांगीतिक क्षेत्रको अवस्था राम्रो हुन पनि देशको सिङ्गो अवस्था राम्रो हुनुपर्छ । देशको अवस्था राम्रो भयो भने सबै क्षेत्रको अवस्था राम्रो हुँदै जान्छ । तर पछिल्ला केही समय यता नेपालमा कहिले के बन्द, कहिले के आन्दोलन, कहिले कुन भाषाका गीत सुन्न सुनाउन र बजाउन प्रतिबन्ध आदि–इत्यादि अनेक कुराहरूले गर्दा हामी कलाकारहरू काठमान्डुबाहिर गएर आफ्ना कार्यक्रम गर्न नपाइरहेको स्थिति छ भने म कसरी हाम्रो कलाक्षेत्रको स्थिति राम्रो छ भन्न सक्छु ? हाम्रा क्यासेटहरू खुला रूपमा देशभरि जान पाइरहेका छैनन् भने कसरी कलाक्षेत्रको स्थिति राम्रो भन्न सकिन्छ ?

भनेपछि नेपाली गीत–संगीत क्षेत्रका मानिसहरूका लागि वातावरण राम्रो भएन । यसबाट उनीहरूले निकास पाउने कसरी त ?
हो, कलाकारहरूका लागि अहिले नेपालको वातावरण राम्रो छैन । यसबाट उनीहरूले निकास कसरी पाउने भन्ने हो भने मैले भर्खर पनि भनेँ, सबैभन्दा पहिले देशको स्थिति सुध्रिनुपर्छ । देशको राजनीतिक–सामाजिक अवस्थामा स्थिरता आयो भने कला मात्र होइन सबै पक्षहरूले आआफ्नो अनुकूलको वातावरण पाउँछन् । सबै क्षेत्रको विकास हुनका लागि खुलापन चाहिन्छ ।
फेरि, नेपालको सन्दर्भमा अर्को कुरा पनि छ– म्युजिक पाइरेसीको । नेपाल सानो ठाउँ भए पनि म्युजिक पाइरेसी निकै ठुलो छ, धेरै छ । धेरै मानिसहरूमा गीत–संगीत किनेर सुन्ने बानी छैन । यस कुराले पनि नेपाली गीत–संगीतको विकासमा निकै हानि पु¥याइरहेको छ । अब भन्नुस् न, गीत–संगीतलाई नै आफ्नो जीवन व्यवसाय बनाएर बसिरहेका कलाकारहरूलाई यसरी उनीहरूको मौलिक सिर्जना धमाधम चोरी भएर जान थाले भने उनीहरूले कसरी आफ्नो जीवनयात्रा अगाडि बढाउने त ? पक्कै पनि स्थिति कठिन नै हुन्छ ।

अनि अहिलेसम्म आफ्ना कतिवटा एल्बम रिलिज गर्नुभयो त ?
अहिले मेरा छवटा एल्बम रिलिज भइसकेका छन् । मेरो पहिलो एल्बम थियो ‘होस हराए पनि’, त्यसपछि दोस्रो ‘शुभकामना’, तेस्रो ‘मौसम’, चौथो ‘फरएभर’, पाँचौँ ‘फरच्युन’ र छैटौँ ‘भोकल’ । मेरो पछिल्लो एल्बम ‘भोकल’ निस्केको एक वर्ष जति भयो । पहिलो एल्बम ‘होस हराए पनि..’ सन् १९९९ मा निस्केको थियो । करिब एक–डेढ वर्षको अन्तरालमा म नियमित तवरले एल्बमहरू निकाल्दै जाने प्रयास गर्दै आइरहेको छु ।

तपाईंले रिलिज गरेका छवटा एल्बममध्ये कुन चाहिँ बढी चलेको छ ?

जहाँसम्म मलाई लाग्छ, एल्बमहरूमध्ये सबैभन्दा बढी गीतहरू चलेको मेरो एल्बम ‘फरएभर’ नै हो । यस एल्बममा रहेका गीतहरू क्रमशः ‘भेडाको ऊनजस्तो…’, ‘के म तिम्रो साथी बन्न सक्छु…’, ‘माया मलाई गर या नगर…’, ‘तिम्रो सम्झनामा..’ लगायत धेरै गीतहरू थिए । यस एल्बमका गीतहरूका लागि धेरै भिडियो पनि मैले निकालेँ । बिक्रीको हिसाबले हेर्दा मेरो पहिलो एल्बम ‘होश हराए पनि’ र चौथो एल्बम ‘फरएभर’ नै सबैभन्दा बिक्री भएका होलान् जस्तो लाग्छ ।

एउटा प्रश्न गरिहालौँ न त भन्न अप्ठेरो लाग्दैन भने, अहिलेसम्म गीत गाएर र एल्बमहरू बेचेर कति पैसा कमाइयो होला ?
एक्जेक्ट्ली यत्ति नै भनेर त म भन्न सक्दिन, तर एउटा साँचो कुरा के हो भने मैले जतिबेलादेखि प्रोफेसनली गीत गाउन सुरु गरेँ, त्यसबेलादेखि नै अरू कुनै काम गरेको छैन, गीत–संगीतमा समय बिताउनुबाहेक अरू कुनै जागिर खाएको पनि छैन । यही पेसाबाट नै मैले आफ्नो परिवार चलाइरहेको छु । परिवारमा मेरो बुबा हुनुहुन्छ, मेरा श्रीमती र छोरा छन् । मैले आफ्नो गीत–संगीत पेसाबाट परिवार राम्रैगरी चलाइरहेको छुजस्तो लाग्छ । पछि हेर्दैं जाउँ के हुन्छ । कत्तिको एनर्जी आइरहन्छ, मेरो सांगीतिक निरन्तरता त्यसमै भर पर्छ ।

अब फेरि नयाँ एल्बमको तयारी भइरहेको छ कि ?

ए अँ । मैंले आफ्नो नयाँ एल्बमका लागि गीतहरू त लगभग सबै नै तयार गरिसकेको छु । त्यसका भिडियोहरू बनाउन बाँकी छ । सबै परिस्थिति मिल्दै गयो भने आउँदो दसैँदेखि तिहारको बीचमा मेरो सातौँ एल्बम निस्कन्छ होला । मलाई लाग्छ, तिहारका आसपास श्रोताहरू मेरो नयाँ एल्बमका गीतहरू सुन्न र दर्शकहरूले हेर्न पाउनुहुनेछ ।

तपाईंको गीत–संगीतको यात्रा कसरी सुरु भएको हो ?
सुरुमा मलाई थाहा थिएन मेरो जीवन पेसा नै गीत–संगीत हुनेछ भनेर । तर मलाई गीत गाउन मन पथ्र्यो, साथीहरूले राम्रो छ भन्थे । त्यही क्रममा केही गीतहरू बजारमा निस्केर राम्रै गरी चल्न पनि थाले । तर मेरो गीतिजीवनमा टर्र्निङ प्वाइन्ट चाहिँ सन् १९९५ तिर गोपाल योन्जनज्यूलाई भेटेपछि आयो, त्योबेला ‘शुभकामना नौलो युगलाई…’ भन्ने गीतको सिलसिलामा मैले उहाँलाई भेट्न पाएँ । त्यो गीत पनि मैले गाएँ । त्यहीबेला उहाँले मलाई आफूलाई अझ माझ्नुपर्नेसमेत थुप्रै सल्लाहहरू दिनुभयो । त्यसको केही समयपछि सन् १९९७ मा भारतीय दूतावासमार्फत छात्रवृत्ति पाएँ र क्लासिकल भोकल म्युजिक अध्ययन गर्न तीन वर्षका लागि भारतको नयाँ दिल्लीस्थित गन्धर्व महाविद्यालयमा भर्ना भएँ । त्यसपछि त मेरो गीत–संगीत यात्रा अझ सक्रियतासाथ अगाडि बढ्दै गयो र अहिलेसम्म पनि जारी नै छ ।
भारतमा त्यसरी क्लासिकल भोकल पढ्न जानुपहिले, नेपालमै पनि, मैले सिलाबहादुर मोक्तानसित दुई वर्षसम्म गीत–संगीतको तालिम लिएको थिएँ । यसरी सबै मिलाउँदा मैले पाँच वर्ष जति तालिम लिइसकेको छु । तर मेरो रुचि गम्भीर क्लासिकभित्र गहिरिनुभन्दा हल्काफुल्का र सबैले बुझ्ने किसिमका गीतहरूमा भएकोले म त्यतातिर बढी ध्यान केन्द्रित गर्छु । रियाज चाहिँ सबै गरे पनि मेरो रुचि आधुनिक पप गायनतिरै छ । लाइट म्युजिकको आफ्नो रुचिलाई मैले मेन्टेन गरिरहेको छु ।

उसो भए दिपेशकिशोर भन्या कुन स्टाइल, कुन विधाको गायक हो त ?

कुनै एक खास स्टाइल, कुनै एक खास विधाभन्दा पनि म आफूलाई एक सम्पूर्ण गायकका रूपमा चिनाउन चाहन्छु । मैले आफूले निकालेका एल्बमहरूमा हरेक प्रकारका गीतहरू गाएको छु । मैले रक गीतहरू गाएको छु, रेगीहरू पनि गाएको छु, लोकगीतहरू गाएको छु, आधुनिक गीतहरू र पप गीतहरू गाएको छु । म एउटै विधामा बाँधिएर बसेको छैन । त्यसकारण म आफूलाई गायक मात्र भन्न रुचाउँछु ।
गायक दिपेशकिशोर भट्टराईले आफूलाई फिट राख्न दिनमा कति समय रियाजमा खर्च गर्छ, भन्न मिल्छ हाम्रा पाठकहरूलाई ?
जहाँसम्म मैले सिकेको र मेरा गुरुहरूले भनेको कुरा छ, सबै कुरा आफूलाई कति फिट हुन्छ भनेर रियाज गर्नुपर्छ । म कहिले दिनमा आधा घन्टा, कहिले बीस मिनेट मात्र पनि रियाज गरिरहेको हुन्छु भने कहिलेकाहीँ दिनमा एक–दुई घन्टा पनि रियाजमा बिताउने गर्छु । रियाज भनेको मनले गर्नुपर्छ । कतिपय मानिसहरू अरूलाई सुनाउन रियाज गर्छन् तर म आप्mनै स्टाइलले गर्छु । बेसिक चीजहरू गर्नुपर्ने हुन्छ जुन कुरा मलाई मेरा गुरुहरूले सिकाएका छन् । मनले ग¥यो भने बीस मिनेटको रियाज पनि एनफ हुन्छ । होइन, हा हू गरेर गर्ने हो भने पाँच घण्टा गरे पनि केही हँंदैन ।

मनले मतलब के मनमनै रियाज गर्ने भनेको त होइन ?
होइन, होइन (हाँसो) । मनले रियाज गर्ने भनेको इमानदार भएर, लगनशील भएर तन्मयतासाथ अभ्यास गर्ने भनेको हो । अरूलाई सुनाउँछु, टोललाई सुनाउँछु भनेर चिया खाँदै रियाज गर्न थाल्यो भने दस घन्टै गरे पनि त्यसले स्तर बढ्दैन । लगनसाथ गर्दा बीस मिनेट मात्रै पनि पर्याप्त हुन्छ ।

एउटा राम्रो गायक बन्न के आवश्यक छ
?
हेर्नुस्, गायक बन्ने कुरा मलाई हार्ड वर्क हो जस्तो लाग्छ । हामीले बिहान साँझ खाना खाएजस्तै गायक कलाकारले दिनहुँ परिश्रम गर्नुपर्छ । ठाउँठाउँबाट विभिन्न थरिका गीत गाउन प्रस्तावहरू आउँछन् भने ती सबै थरिका गीत गाउन आफूलाई तयार राखिरहन पर्छ । गायकले आफूलाई गायक हुँ भनेर आफूमा निखार ल्याउन एक्सरसाइज गर्नु जरुरी छ, रियाजको एक्सरसाइज । ज्ञान पनि लिँदै रहनुपर्छ । सिम्पली भनुँ, गायक भएपछि हरेक किसिमका गीतहरू गायन सक्नुपर्छ ।

पहिलेका नारायणगोपाल, गोपाल योन्जन, तारादेवी, अरुणा लामासमेतका पुरानो पुस्ताका गायकहरूले गाएका गीत स्थायी किसिमका हुने तर अचेलका पप पुस्ताका गायकहरूले गाएका गीत अस्थायी मात्र हुने गर्छन् भन्ने भनाइ छ । तपाईंलाई कस्तो लाग्छ ?
त्यसो होइन । किनभने उही पुराना पुस्ताका गायकहरूले गाएका नयाँ गीतहरू, पप गीतहरू पहिलेका गीतहरूको अनुपातमा चलेका छैनन् । जबकि नयाँ पुस्ताका गायकहरूले गाएका नयाँ गीतहरू बरु राम्रैगरी लामो समयसम्म चलेकै छन् । पहिले मिडिया कम थियो, मानिसहरूसित समय पनि धेरै थियो, एउटै गीतहरू धेरै समयसम्म लगातार बजिरहन्थे । तर अहिले समय फेरिएको छ, मिडिया त्यसमा पनि एफएम रेडियो र टीभीहरूको भरमार छ । गीत पनि फेरिफेरिकन हरेक किसिमका सुन्न पाइन्छ । पहिले गायक कम थिए, अहिले उनीहरूको सङ्ख्या राम्रै गरी बढेको छ । अहिले पनि सबै त होइन तर थुप्रै गीतहरू राम्रा पनि कम्पोज भएका छन् । बरु मानिसहरू गीत सुन्ने कुरामा अलि अल्छी पनि भएका हुन् कि जस्तो पनि लाग्छ मलाई त ।

प्रसङ्गवश, भन्नुस् न तपाईंलाई आफ्नो अहिलेसम्मका गीतमध्ये कुन गीत कालजयी होला जस्तो लाग्छ ?
मेरा कति गीत कतिजनाले सुने, मलाई त्यो थाहा छैन । मेरा अरू कुन गीत पछिसम्म रहलान् र पछिल्ला पुस्ताहरूले पनि मन पराउलान् भनेर पनि म भन्न सक्दिन । तर मलाई के कुरामा गर्व छ भने मैले पुरानो पुस्ताका आदरणीय गोपाल योन्जनसित मिलेर गाउन पाएको थिएँ । उहाँसँग मिलेर गाउन पाएको ‘शुभकामना नौलो युगलाई…’ भन्ने गीतप्रति म सधैँ गर्व गरिरहनेछु ।

मनपर्ने गायक–गायिका ?
म कुनै एकजनाको डाइहार्ड फ्यान होइन, म आफूलाई गीत राम्रो लाग्यो भने सबैलाई सुन्छु ।

फुर्सदको समयमा के गर्नुहुन्छ ?
घुम्न मन पराउँछु । सधैँभरि गीत–संगीत भन्यो, सधैँ व्यस्त । त्यसैले फुर्सदको समय मिल्यो भने साथीभाइहरूसित शान्त एकान्त ठाउंमा घुम्न र चिया खाँदै रमाउन मन लाग्छ ।

जिन्दगीमा के मन पर्छ ?
सबैजना खुसी भएर बाँचेको ।

दुःख कतिबेला लाग्छ ?
जब कसैले आफूलाई बुझिदिँदैन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*