युएर्इसँग पराजित हुँदै नेपाल डिभिजन–२ को उपविजेता

काठमाडौं, ३ फागुन ।

आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनलमा बिहीबार नेपाल संयुक्त अरब इमिरेट्स (युएर्इ) सँग पराजित हुँदै उपविजेतामा सीमित बनेको छ ।

नामिबियास्थित विन्डहोकस्थित वन्डरर्स क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएर्इसँग सात रनले पराजित भएको हो । दुई सय ७८ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभर पूरै खेल्दै आठ विकेट क्षतिमा २७० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट पारी गर्दै शतक पूरा गरे पनि त्यो जीतका लागि पर्याप्त भएन । पारसले ११२ रनको योगदान दिए । एक सय तीन बल खेलेका पारसले आठ छक्का र ३ चौकाको मद्दतमा अविजित ११२ रन बनाए ।

त्यसैगरी उपकप्तान ज्ञानेन्द्र मल्लले २४, दिलीप नाथले १३, दीपेन्द्रसिंह ऐरीले ३५, शरद् भेषवाकरले ३०, आरिफ शेखले ७ र रोहितकुमार पौडेलले २३ रन जोडे भने करण केसीले ३, सोमपाल कामीले ६ तथा वसन्त रेग्मीले ५ रन जोडे ।

कप्तान पारस खड्का
          कप्तान पारस खड्का

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएर्इले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै २७७ रन बनाएको थियो । युएर्इका लागि शुरुआती ब्याट्सम्यान अस्फाक अहमदले शतकीय पारी खेले । एक सय २३ बल खेलेका उनले तीन छक्का र १० चौकाको मद्दतमा ११४ रन जोडे । यस्तै कप्तान रोहन मुस्तफाले ५१, साइमन खनवरले ४० तथा रमिद शहजादले अविजित ४१ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सोमपाल, वसन्त र सन्दीप लामिछानेले १–१ विकेट लिए । लिग चरणको खेलमा नेपालले युएइलाई ४ विकेटले पराजित गरेको थियो । सो जीतसँगै युएर्इले लिग चरणमा नेपालसँग हारेको बदलासमेत लिएको छ ।

फाइनलमा युएईसँग हारेसँगै विश्वकप छनोटमा नेपाल तुलनात्मक रुपमा कठिन समूहमा परेको छ । नेपाल समूह बीमा परेको छ ।

यो समूहमा अफगानिस्तानसँगै जिम्बाब्वे, स्कटल्याण्ड र हङकङ छन् ।

समूह एमा आयरल्याण्ड, नेदरल्याण्ड्स, पपुवा न्यूगिनी र युएई परेका छन् ।

विश्वकप छनोट प्रतियोगिता अर्को महिना जिम्बाब्वेमा हुनेछ । मार्च ४ देखि २५ सम्म हुने प्रतियोगिताबाट दुई टिमले विश्वकप २०१९ मा स्थान बनाउनेछन् ।

प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक जिम्बाब्वेसँग मार्च ४ मा खेल्नु पर्नेछ । दोस्रो खेल मार्च ८ मा स्कटल्याण्डसँग हुनेछ भने मार्च १० मा अफगानिस्तान र १२ मा हङकङसँग खेल्नुपर्नेछ ।

प्रत्येक समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

सन्दिप लामिछाने म्यान अफ द सिरिज

आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई प्रतियोगितामा नेपाली बलर सन्दिप लामिछाने म्यान अफ द सिरिज भएका छन्।

प्रतियोगितामा सर्वाधिक विकेट लिँदै शीर्ष बलर भएका नेपाली बलर सन्दीप लामिछानेले १७ विकेट लिए।

ओमानका बिलाल खानसँगै सर्वाधिक १७ विकेट लिएका सन्दीप राम्रो इकोनोमीका कारण अगाडि आएका हुन्। सन्दीपले युएई विरुद्ध फाइनलमा १ विकेट मात्र लिएका थिए।

उनले लिग चरणमा नामिबिया विरुद्ध ४, ओमान विरुद्ध २, युएई विरुद्ध ३, केन्या विरुद्ध ५ तथा क्यानडा विरुद्ध २ विकेट लिएका थिए।

Player-of-the-Tournament-Sandeep-Lamichhane

सन्दीपले प्रतियोगिताभर ५२.२ ओभर बलिङ गर्दा ९ मेडन राख्दै १७६ रन खर्चेका थिए। उनको एभरेज १०.३५ तथा इकोनोमी ३.२३ रह्यो।

ओमानका बिलाल खानको एभरेज १०.७६ तथा इकोनोमी ३.५३ थियो।

उनले समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउन महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई म्यान अफ द सिरिज दिएको हो।

आइसिसीले कुनै पनि ठूला प्रतियोगिताका हरेक म्याचमा दुई टिमबाट गरी तीन जना उत्कृष्ट खेलाडी छान्छ। सबैभन्दा धेरै अंक पाउनेलाई म्यान अफ द म्याचसहित ३ अंक, त्यसपछि दोस्रो हुनेले २ अंक तथा तेस्रो हुनेले १ अंक पाउँछ।

यसरी हरेक प्रतियोगिताको सबै अंक मिलाएर धेरै अंक पाउने खेलाडीलाई म्यान अफ दि सिरिज दिने चलन छ।

यो प्रतियोगितामा लिग चरणमा खेलिएका खेलहरुबाट मात्रै म्यान अफ द सिरिज छानिएको थियो। सन्दिप लामिछाने लिग चरणमा खेलेका ५ खेलमध्ये २ खेलमा म्यान अफ दि म्याच भएर १६ विकेट लिएका थिए।

बिहीबार, फागुन ३, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*