‘रत्यौली खेल्न संसद् चाहिएन, बिजनेस थिएन, सरकारले रोक्यो’ : मन्त्री अर्याल

ललितपुर । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले बिजनेस नभएका कारण चालु संसद् अधिवेशन बन्द गरिएको प्रट्याएकी छन् । ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसका सन्दर्भमा शनिबार राष्ट्रिय सहकारी महासंघ लिमिटेडले ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले संसद्को बिजनेस नभएका कारण बन्द गरिएको बताएकी हुन् ।

संसद् अधिवेशन बोलाउने र बन्द गर्ने कुरा सरकारको भएको उल्लेख गर्दै मन्त्री अर्यालले संसद् रत्यौली खेल्नका निम्ति चलाइरहने संस्था नभएको बताइन् । ‘रत्यौली खेल्न संसद् चाहिएन, बिजनेस थिएन । सरकारले रोक्यो । कुनै कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक र यसको कहीं मेल थिएन’, उनले भनिन् ।

बाँकी विधेयकहरुमाथि सहमति जुटिएकाले पनि संसद्‌ बिजनेसविहीन बनेको मन्त्री अर्यालको भनाइ थियो । ‘हामीले बजेट ल्याउनुपर्ने थियो । यस्तो महामारीमा पनि अधिवेशन बोलाउनुपर्‍यो बोलायौं । बजेट पास भयो । केही-केही विधेयकहरु थिए, त्यो विधेयकमाथी छलफल गर्नुपर्ने थियो । सहमति जुट्यो ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार अपरान्ह ५ बजेदेखि लागू हुनेगरी संघीय संसद्को बजेट अधिवेशन अन्त्य गरेकी थिइन् ।

सत्तारुढ नेकपाभित्रको विवादले कुनै दुर्घटना ननिम्तिने उनले दाबी गरिन् । भनिन्, ‘यो समस्याको समाधान गर्नका निम्ति कम्युनिष्ट पार्टी सक्षम छ, योग्य छ । विगतमा पनि यस्तो हुन्थ्यो । भएरै समाधान गर्दै, छलफल गर्दै यो उचाइमा आएको हो ।’ पार्टीभित्र नेताहरुका बीचमा छलफल, बहस, भनाभन हुने सामान्य कुरा भएको भन्दै उनले नेताहरु आपसमा बसेर निष्कर्ष निकालेर अगाडि बढ्ने विश्वास व्यक्त गरिन् ।

उनले सहकारीको संख्या अत्यधिक भएका कारण राज्यले मात्रै अनुगमन, नियमन गर्न कठिन रहेको बताइन् । स्वनियमनका कार्यलाई पनि अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । (कान्तिपुरबाट)

शनिबार, असार २०, २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*