राजधानीमा चंगा चेट प्रतियोगिता, विप्लव च्याम्पियन

खेल संवाददाता । काठमाडौं, १० असोज ।

बडादशैँको अवसरमा राजधानीमा भएको चंगा चेट प्रतियोगितामा विप्लव डंगोल च्याम्पियन भएका छन् । मंगलबार गौशलास्थित कैलाश डाँडामा नेपाल तरुण दल काठमाडौँ महानगरपालिका वडा नम्बर–८ इकाइको आयोजनामा भएको प्रतियोगितामा विप्लवले अर्का प्रतिस्पर्धी विकास श्रेष्ठलाई दोस्रोमा सीमित गरीदिएका थिए ।

समर्पन दवाडी तेस्रो स्थानमा रहे ।

च्याम्पियन विप्लवले नगद पुरस्कार रु.८ हजार, दोस्रो स्थान हासिल गर्ने विकासले रु.५ हजार र तेस्रो स्थानमा रहेका समर्पनले रु.२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतियोगितामा विजेता खेलाडीलाई प्रमुख अतिथि कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ का सभापति राजु श्रेष्ठ, कामपा वडा नम्बर ८ का अध्यक्ष दिनेशकुमार डंगोल, तरुण दलका पूर्वअध्यक्ष राधा घले, वरिष्ठ समाजसेवी नरोत्तम वैद्य, कामपा–८ का इकाई सभापति आशामन डंगोल र तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालगायतले पुरस्कृत गरे ।

त्यस अवसरमा प्रमुख अतिथि कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ का सभापति राजु श्रेष्ठले दशैँको अवसरमा चंगा खेल्ने देशको संस्कृति लोप हुँदै गएकोमा यस्तो खालको कार्यक्रमले संस्कृति संरक्षणमा ठुलो टेवा पुग्ने बताए ।

उनले भने, ‘प्रतियोगितामा सहभागी हुने सबैलाई धन्यवाद छ । तपाईहरूले खेलका लागि मात्र नभएर देशको संस्कृति संरक्षणमा समेत योगदान पुर्याउनुभएको छ ।’

प्रतियोगितामा कुल ३८ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक हरिओम वैद्यले बताए ।

    मंगलबार, असोज १०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*