राजनीति र सामाजिक अभियानमा निरन्तर…

केही पनि नबुझ्ने उमेरमा राजनीतिमा लागेर जीवनका साढे पाँच दशक बित्दासमेत निरन्तर राजनीतिमा सक्रिय भइरहेका थोरै व्यक्तित्वमध्ये शशी श्रेष्ठ एक हुन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय नेतृत्वमा रहेका थोरै महिलामध्ये उनी एक हुन् । त्यसअघि उनले लामो समयसम्म अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्ष रहेर समेत काम गर्दै आएकी हुन् । २०६४ मा उनले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएर पनि काम गरिसकेकी छन् ।

काभ्रेपलाञ्चोक जिल्लास्थित मंगलटारबजारमा एउटा सामान्य निम्न मध्यम वर्गीय व्यापारी परिवारमा पाँच छोरापछि २०१८ साल पुसमा जन्मेकी एक्लो (कान्छी) छोरी शशीका बुबाले आफूले शिक्षाको अवसर पाएनन्, तर पनि उनी व्यापारीका साथै शिक्षाप्रेमी मानिस थिए । उनको जन्मथलो बनेपा भए पनि जेठा बाजेचाहिँ मंगलटारमा डिठ्ठा थिए । ती बाजेले नै मंगलटारको बस्ती बसाएका थिए । शशी नजन्मिँदै एकपटक उनका जेठो दाजु बिरामी परेको बेला छेउछाउमा कुनै डक्टर उपलब्ध नभएकोले बुबा ठाउँसारी गरेरै भए पनि उपचार गर्नुप¥यो भनेर जेठा बा खोज्दै मंगलटार पुगेका थिए ।

पेसा व्यापार भए पनि परिवारमा पढाइमा कस्तो जोड थियो भने बुबाले बनारसबाट शिक्षक झिकाएरै भए पनि घरमा पढ्ने वातावरण बनाइदिएका थिए । गाउँमा तीन कक्षासम्म मात्र पढाइ हुन्थ्यो तर त्यो विद्यालय पुग्न पौने तीन घण्टा हिँड्नुपथ्र्यो । पछि, ठूलो दाइ जागिरको क्रममा सिन्धुली पुगेपछि शशीसमेत सबैजना उतै पढ्न गएका थिए । अन्य कक्षाको पढाइ शशीले सिन्धुलीमै गरिन् र एसएलसी परीक्षा भने बनेपा आएर दिएकी थिइन् । त्यो समयमा एक त आम रूपमा छोरीले नपढ्ने चलन व्यापक थियो भने अर्कोतिर येनकेन पढिहाले पनि एसएलसी दिएपछि त मनग्गे पुग्यो भन्ने सामाजिक सोच थियो । यस्तोमा हठ गरेरै भए पनि र राजनीति–सचेत दाइ–भाउजूहरूको सहयोगमा उनले अध्ययन अगाडि बढाइन् । यस क्रममा शशीले शिक्षा विषयमा स्नातक तह उत्तीर्ण गरे पनि राजनीतिक व्यस्तता र पछि पारिवारिकसमेतका कारणले स्नातकोत्तर तह पूरा गर्न सकिनन् ।

उनको राजनीतिक जीवन विद्यार्थी अवस्थाबाटै सुरु भएको हो । पहिले (सिन्धुली जानु अघिसम्म) उनको स्वभाव शान्त र सहनशील किसिमको थियो तर सिन्धुली गएपछि स्वभाव फेरियो । कुनै पनि दमन, अन्याय र थिचोमिचो सहन नसक्ने स्वभाव शशीमा विकसित भयो । अब त उनले कसैले कसैमाथि अन्याय वा थिचोमिचो गरेको देखेमा अगाडि सरेर तत्कालै प्रतिवाद गरिहाल्न थालिन् । तिनताका सिन्धुली भूमिगत कम्युनिस्टहरूको गढजस्तै थियो । हालका केन्द्रीय माओवादी नेता सिपी गजुरेलसमेत अनेक नेता सिन्धुलीका विभिन्न विद्यालयमा पढाउँदै राजनीतिक प्रचार–प्रसार पनि गर्थे । यही क्रममा सिन्धुली पुगेर ६ कक्षामा भर्ना भएकी शशी बिस्तारै कम्युनिस्ट नेताहरूसितको सम्पर्कमा पुगिन् । आफूभित्रको विद्रोही स्वभाव र कम्युनिस्ट नेताहरूको क्रान्तिकारी आदर्शका कुराले शशी पनि कम्युनिस्ट राजनीतितिर आकर्षित र समर्पित हुँदै जान थालिन् ।

२०२८–०२९ मा देशमा लागू भएको नयाँ शिक्षा प्रणालीसँगै पञ्चायत समर्थित नेपाल राष्ट्रवादी विद्यार्थी मण्डल गठन भएको थियो । विद्यालयका सिनियरहरूले ‘मण्डलेलाई गोद्न जाम’ भनेपछि शशी पनि उनीहरूसँगै ‘मण्डले गोद्न’ त्यतै जाने, फलानो शिक्षक मण्डले हो लखेट्नुपर्छ भने भने उनीहरूकै पछिपछि हिँड्ने गर्न थालिन् । शशी सम्झिन्छिन्, ‘किन पिट्ने ? किन गोद्ने ? किन लखेट्ने ? केही थाहा थिएन तापनि मण्डले पिट्न, गोद्न र लखेट्न कुदिहाल्थेँ । त्यसरी म नबुझेरै राजनीतिमा लागेकी थिएँ ।’

उनको संगठित राजनीतिक जीवनको सुरूआत २०३४ सालदेखि भएको हो जतिबेला उनी एसएलसी परीक्षा दिने क्रममा बनेपामा थिइन् । उनका काहिँलो दाइ श्याम श्रेष्ठ (हाल सभासद्) र काइँली भाउजु मुक्ता पनि त्यही बेला पार्टीको सम्पर्क–सम्बन्धमा थिए । राजनीतिक छलफल हुन्थ्यो । पारिजातको नेतृत्वमा अखिल नेपाल महिला संघ पुनर्गठनको तयारी भइरहेको थियो । त्यसकै सिलसिलामा शान्ता राईहरू सम्पर्क र संगठन विस्तार गर्नका लागि बनेपा र अन्य भेगतिर आउजाउ गरिरहन्थे । त्यही वर्ष साहित्यकार पारिजातकै नेतृत्वमा २०३४ मा अनेमसंघको पुनर्गठन भयो जसमा शशी पनि सदस्य भइन् । काठमाडौं आउँदा–जाँदा र एसएलसीपछि क्याम्पस (पद्म कन्या क्याम्पस) पढ्न नियमित राजधानी बस्न थालेपछि पारिजातको निवासमा पनि निकै भेटघाट र राजनीतिक छलफल हुन्थ्यो । त्यो बेला वेदना, संकल्प, झिसमिसे आदि पञ्चायतविरोधी अनेक वामपन्थी साहित्यिक पत्रिका निस्कन्थे । उनी भन्छिन्, ‘वेदना सांस्कृतिक परिवार नै थियो । त्यसमा काम गर्नेहरू दिलसुन्दर श्रेष्ठ, सुवासकाजी श्रेष्ठलगायतसित सम्पर्क, सम्बन्ध भयो । अनि त छलफल कुराकानी गर्दै अगाडि बढ्दै जाँदा त्यसपछि बल्ल बुझेर राजनीतिमा लागिएको हो ।’

Shashi 1

शशी विद्यार्थी र महिला संगठनमा सँगसँगै संगठित भएकी हुन् । त्यो बेला कम्युनिस्ट पार्टीहरूमध्ये नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) सबैभन्दा शक्तिशाली र प्रभावशाली थियो । साधारण सदस्यता लिएपछि त्यो पार्टीका गतिविधिमा संलग्न हुन पाइन्थ्यो । शशी २०३५ सालमा राष्ट्रिय प्रतिनिधि भएर काठमाडौं आइन् र ०३५–०३६ सालको विद्यार्थी आन्दोलनमा होमिइन् । २०३६ सालमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खुला भएपछि पद्म कन्या क्याम्पसमा नेपाल विद्यार्थी संघ प्यानलविरुद्ध अखिल पाँचौं र छैटौं मिलेर संयुक्त प्यानल उठ्दा सावित्रा भूसाल सभापतिमा र शशी सहसचिवमा उठेका थिए, जसमा अखिल संयुक्त प्यानल पराजित भएको थियो । पछि, ३०३७ सालको स्ववियु चुनावमा भने प्यानलसहित शशीले सभापति पद जितेकी थिइन् ।

अखिल छैटौंका तल्ला समितीहरूमा अलिअलि काम गर्दै उनी संगठनको सातौं राष्ट्रिय सम्मेलन आयोजक समितिमा सदस्यका रूपमा काम गर्न पुगिन् । शशीको राजनीतिक–सांगठनिक कामको जिम्मेवारी मूलतः महिला संघ र पार्टी कमिटीमा बढी रहँदै आयो । विद्यार्थी राजनीतिका क्रममा नै २०३६ सालमा भेट भएका प्रभावशाली वक्ता छात्र नेता लीलामणि पोखरेलसित २०४२ मा पारिजातको घरमा आयोजित एउटा सानो समारोहमा विवाह गरेकी शशीका अहिले दुई छोरा छन् ।

शशी भन्छिन्, ‘सबै परिवारमा आफ्नो छोराछोरीहरू राजनीतिमा सामान्य त लागोस् तर सक्रिय रूपले र जेलनेल जाने किसिमले होमिएरै चाहिँ नलागोस् भन्ने चाहना हुँदोरहेछ । बचेर राजनीति गर्नुपर्छ भन्ने आशय हुँदो रहेछ ।’

उनका बुबा विशुद्ध व्यापारी भए पनि राजनीतिमा झुकाव भएको र राजनीतिमा लागेकाहरूलाई सहयोग गर्ने स्वभावका थिए । उनी भन्छिन्, ‘मेरो बुबालाई राणाविरोधी आन्दोलनमा मुक्ति सेनालाई सहयोग गरेको, लुकाएको, आश्रय दिएको भनेर झण्डै राणाका सैनिकले मारेका थिए । सेनाकै कुनै जिम्मेदार तहको मानिस आएर नबचाएको भए बुबालाई तल्लो तहका राणासैनिकले मारिसकेका हुन्थे । तापनि, उहाँले पछिसम्म पञ्चायती शासनविरुद्धसमेत सहयोग गर्ने क्रम जारी राख्नुभएको थियो ।’

बुबा वा परिवारले शशीलाई  सक्रिय राजनीतिमा नलाग्न आग्रह गरे पनि हतोत्साहित गर्ने काम कहिल्यै गरेनन् । तिनताका नेपालमा निकै प्रचलित चिल्लो र बाक्लो कागजमा पाइने ‘चीन सचित्र’ पत्रिकामा चिनियाँ महिलाहरू कम्ब्याट ड्रेसमा स्मार्ट देखिने गरी सुन्दर तस्बिर हुन्थे । त्यो देखेर उनलाई निकै आकर्षण हुन्थ्यो, एक किसिमको ‘रोल मोडेल’जस्ता थिए ती महिलाहरू । त्यसैगरी हिन्दी र नेपालीमा अनुदित चिनियाँ पुस्तकहरू पढ्ने वातावरण थियो । चिनियाँ र कोरियन क्रान्तिकारी डक्युमेन्ट्रीहरू प्रंदर्शन भइरहन्थे । श्याम दाइ र मुक्ता भाउजूले पनि प्रेरणा दिइरहने, वातावरण पृष्ठभूमि जुटाइदिने गर्थे तर उनीहरू खुला राजनीतिमा थिएनन्, शिक्षण गर्दै लुकीलुकी पार्टीकाम गर्थे ।

छोरा र छोरीबीच समाजमा गरिने भेदभावको नमिठो प्रसंग शशीले घरमै महसुस गर्नुप¥यो । उनी सम्झना गर्छिन्, ‘पढाइमा कान्छो दाइभन्दा म तेज (सार्प) थिएँ तर दाइलाई डक्टर बनाउने भनेर बलजफ्ती गरेरै पनि त्रिचन्द्र क्याम्पसमा विज्ञान पढ्न भर्ना गरियो तर मलाई विज्ञानमा रुचि भए पनि ‘पर्दैन, किन पढ्ने ?’ भनेर रोकियो । यसरी घरमै अति माया गरे पनि पढ्ने सन्दर्भमा छोरा र छोरीमा विभेद थियो ।’

शशी सुरुदेखि खुला राजनीतिमा लागिन् । ललितपुर ठैबमा किसानहरूको काखमा अखिलको छैटौं राष्ट्रिय सम्मेलन सम्पन्न गरेको खुसी र जोशैजोशमा उनीहरूले ‘बीरे चोर, देश छोड्’ भन्नेजस्ता नारा लगाएका थिए । लगत्तै २०३६ को भदौमा उनी वारेन्टेड भइन् । ठैबनजिकै बाडेगाउँमा प्रहरी चौकी थियो । पक्राउबाट जोगाउन कमानसिंह लामा र श्याम दाइहरूले उनलाई भूमिगत बनाए । उनी भूमिगत भएको खबरले घरमा एकप्रकारको रुवाबासी नै चल्यो, मानौं उनले कुनै जघन्य अपराध गरेकी थिइन । जेठा र काइँला दाइहरू उदार र सहयोगी भएकोले सहज भयो । दाइहरूको नैतिक समर्थन उनलाई थियो ।

विद्यार्थी संगठनको सातौं राष्ट्रिय सम्मेलनको तयारी क्रममा २०३८ मा ‘फ्ल्याग डे’ मनाउने सन्दर्भमा एक टोलीको नेतृत्व शशीले गर्दै थिइन् । त्यत्तिकैमा प्रहरी आइपुग्यो । उनी अन्य साथीको कपडा मागेर आफूलाई नयाँ ‘गेट–अप’ दिएर भाग्न सफल भइन् । तर, क्याम्पसबाट भागे पनि न्युरोड पिपलबोटमा उनी पक्राउ परिन् र केही घण्टा जनसेवा चौकीमा राखेर उनलाई जेल चलान गरियो । त्यसअघि वारेन्टेड धेरैपटक भए पनि कहिल्यै पक्राउ परेकी थिइनन् । जेलबाट छुटेपछि फेरि सक्रिय राजनीतिमा नलागोस् भनेर घरबाट आर्थिक नाकाबन्दी भयो । जेल जान पढाएको होइन भन्ने कुरा उठ्यो । तर, जेल परेपछि त लालमोहर नै लागेजस्तो भयो र राजनीति नछोडेसम्म आर्थिक नाकाबन्दी जारी रहने भयो । उनी भन्छिन्, ‘त्यो बेला ईश्वरी कार्की भन्ने साथीले मलाई निकै हिम्मत र साहस दिएको म कहिल्यै बिर्सन्न ।’ वास्तवमा संगठनका सहकर्मीहरूले साथी सँगै लगेमा घरमा धेरै गाली गर्नुहुन्न भनेर एकजना साथी (ईश्वरी कार्की) लाई सँगै घर पठाएका थिए ।

त्यसपछि शशीले रसुवा–नुवाकोट प्रोजेक्टमा दैनिक ज्यालामा लगभग दुई–तीन महिना काम गरिन् तर ‘पब्लिक फिगर’ भएकाले गर्दा त्यहाँ टिकिरहने वातावरण रहेन । त्यसकारण निकालिनु पहिले नै उनले राजिनामा दिइन् । उनी यो बेला पनि पार्टीको पूर्णकालीन नेता÷कार्यकर्ता नै थिइन् । उनी २०४० सम्म पार्टीको युवा संघमा सक्रिय रहिन् । त्यही वर्ष नेकपा (चौम) फुटेर महिला संघ नेपाल कम्युनिस्ट पार्टी (मशाल) तिर गएकोले शशी पनि महिला संघमै निरन्तर लागिरहिन् ।

महिलाहरू राजनीतिमा किन धेरै आउन सक्दैनन् भने यो क्षेत्र नै चुनौतीपूर्ण छ । शशी भन्छिन्, ‘बहुदलीय लोकतन्त्रको स्थापना पहिलेको अवस्थामा पार्टी÷संगठनमा भएका महिलालाई जोगाउनुपर्छ, माया गर्नुपर्छ भन्ने थियो । सामाजिक एवं साँघुरो राजनीतिक वातावरणले गर्दा धेरै महिला राजनीतिमा नआउने, आएकालाई माया सम्मान गर्ने, संरक्षण गर्ने भावना थियो । अहिलेको जस्तो फोहोरी राजनीति थिएन, ‘मेरो’ नभएर ‘हाम्रो’ भन्ने चलन थियो । पार्टी भनेको आशाको केन्द्र थियो । पछि मात्र थाहा भयो– अलि चाकडी गर्नेहरूलाई धेरथोरै फरक त हुन्थ्यो । तापनि निष्ठा, त्याग र बलिदानको राजनीतिले स्वार्थलाई किचेको थियो । अहिलेको जस्तो छ्याङ्गै, केहीले पनि नछेकिने गरी देखिने स्वार्थ थिएन । अहिले निष्ठाको राजनीति गर्नेलाई गाह्रो छ ।’

उनको बुझाइमा– आफूले आफैसँग अन्तरसंघर्ष गर्न नसकेकाले महिलाहरू राजनीतिमा निरन्तर लाग्न नसकेका हुन् । धेरै महिला पहिले पलायन भएर पनि पछि आएर फेरि संगठनमा जोडिए तर धेरैजसो भने बीचबाटै पलायन भए । कम्युनिस्ट आन्दोलनले यो समस्यालाई सम्बोधन गर्न खोजे पनि महिला राजनीतिमा आउँदा उसित धेरै जिम्मेवारी, धेरै समस्या (लैङ्गिक समस्या, जस्तो– बच्चा जन्माउन र दूध चुसाउन आमाको भूमिका भए पनि हुर्काउने काम त बाबुले पनि गर्न सक्छ, बोटल फिडिङ गर्न, थाङ्ना धुन पनि सक्छ बाबुले) आदि सँगै आएको हुन्छ भन्ने बुझाइ कम छ ।

शशीको तर्क छ, ‘पार्टीले आन्दोलनमा संलग्न लोग्ने–स्वास्नीलाई साथै अगाडि बढाउन कुनै कार्यक्रम वा योजना ल्याउन सकेन, सकेको छैन । पुरुषले आफू अगाडि बढ्ने तर श्रीमतीले आफ्नो सेवा गरो्स् भन्ने सोच व्यापक छ । महिला आफैँ पनि घर र बच्चा भएपछि त्यसमै रमाएर बस्ने अनि आफूलाई त्यसमै समर्पित गरिदिने प्रवृत्ति छ । राजनीतिकर्मी महिलामा कठोर संघर्ष गरेरै भए पनि राजनीतिमा लागिरहन नखोज्ने प्रवृत्ति निकै आम छ ।’

उनलाई लाग्छ, महिलालाई खाँचो अवसरको हो । ‘परीक्षामा बस्नै नदिइकन महिला अक्षम भनेर भनिदिने ?’ शशीको प्रश्न छ ।

उनको अहिलेको ठम्याइ छ– उपरी संरचनामा सामन्तवादी व्यवस्था ढल्यो तर हाम्रो सामाजिक, सांस्कृतिक, मानसिक संरचना र परिवेशहरू, चिन्तन अझै पनि उही सामन्तवादी नै छन् । पुरुष मानसिकताले पुरुषहरू कौसीमा सुकाएको श्रीमतीको पेन्टी, पेटिकोट र साडीहरू उठाउन अप्ठ्यारो मान्छन् । समान क्षमता नभए पनि पुरुष भएकैले उ माथि पुगेको छ र महिला आफूले गर्न सक्ने भए पनि ठाउँ र अवसर नपाएपछि त्यो माथिको ठाउँसम्म पुग्न सकेको छैन ।

‘सिधै पार्टीमा काम गर्न आएकाहरूको दाँजोमा युवा विद्यार्थी राजनीतिक संगठनमा लागेर आउनेहरूमा बढी अनुभव, कार्यसम्बन्धी ज्ञान, कार्य सहजता बढी हुन्छ,’ शशीको अनुभव बोल्छ, ‘सिधै आएकाहरूले राजनीतिलाई कोरा नाराको रूपमा लिने र ग्राउन्ड रियालिटी हत्पति नबुझ्ने समस्या हुन्छ । युवा विद्यार्थी राजनीतिक आन्दोलनले देशको राजनीतिमा ठूलो सहयोग पु¥याएको छ ।’

शशीलाई लाग्छ, जुन खालको योगदान उनले दिँदै आएकी छन्, पार्टीभित्र त्यसको सही मूल्याङ्कन भएको छैन । उनकै शब्दमा, ‘सायद अहिलेको फोहोरी राजनीतिले गर्दा यस्तो भएको होला । मैले कहिल्यै पद खोजिन तर टप्प मानिसलाई टिपेर स्वाट्ट माथिल्लो तहमा पु¥याउने प्रवृत्तिले पीडाबोध हुने रहेछ । जसले योगदान दिएको छैन, नेताको चाकडी गरेको छ, अपराधको वैतरणी तर्नेहरू, पाखुरा खैँचनेहरू, गुटको फेरो समातेर, टेबल ठोकेको भरमा उँभो लागेको र सामाजिक प्रतिष्ठाका पदमा बसेको देख्दा पीडा हुन्छ । यो कुरा महिला पुरुष दुवैको सन्दर्भमा लागू हुन्छ ।’

शशी महिला अधिकारका लागि राजनीतिक संघर्ष मात्र नभै सामाजिक अभियानहरूमार्फत पनि लामो समयदेखि निरन्तर क्रियाशिल अभियन्ता हुन् । बेइजिङ सम्मेलन र त्यसपश्चात्का कदमहरू, अन्तरपार्टी महिला सञ्जाल आदि उनी सक्रिय अन्य मञ्च हुन् । निरन्तर संघर्ष र योगदानहरूको कदरस्वरूप उनी पारिजात संघर्षशील नारी सम्मान २०७३ लगायतबाट पनि सम्मानित भईसकेकी छन् ।

 प्रस्तुति : मञ्जु थापा

शनिबार, भदौ , २०७४ मा प्रकाशित 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*