राजनीतिले पहिचान, अधिकार र स्वतन्त्रताका लागि लड्न सक्ने बनायो

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की नेता अञ्जना बिसङ्खे लामो समयदेखि राजनीतिमा सक्रिय छन् । ललितपुर जिल्लाको पार्टी इन्चार्ज र स्वास्थ्य संगठनको फ्र्याक्सन इन्चार्जसमेत रहीसकेकी उनले निरन्तर राजनीतिमा सक्रिय भइरहने सोच राखेकी छन् । उनले स्नातक (बिए) पढ्दै गर्दा तिनताका निकै प्रचलित ‘बुर्जुवा शिक्षा बहिस्कार को कम्युनिस्ट नीतिलाई पछ्याउँदै क्याम्पसको पढाइ छोडेकी थिइन् । यो त पछिको एउटा पाटो थियो । खासमा उनलाई राजनीतिमा लाग्न विशेषतः छोरा र छोरीबीच रहेको पुर्नै नसक्ने सामाजिक–सांस्कृतिक खाडलले धेरै काम गरेको थियो । मलामी जान छोरा चाहिने, जन्ती जान छोरा चाहिने, कुलपुजामा भाले काट्न छोरा चाहिने आदिजस्ता सामाजिक संरचनालाई भत्काउने ठूलो रहरले उनलाई राजनीतिमा धकेल्यो ।

बामपन्थी आन्दोलनबाट प्रभावित उनको परिवार निम्न मध्यम वर्गीय दलित जाति हो जसको पारिवारिक व्यवसाय छालाको जुत्ता बनाउने हो । उनी भन्छिन्, “‘हामी सार्की जातका हौँ, सामाजिक–सांस्कृतिक रूपमा भन्दा कथित अछुत र पानी नचल्ने जात !”

उनको जीवन आर्थिक रूपमा खासै कष्टकर रहेन । बुबाआमा अशिक्षित र राजनीति–असचेत होइनन् । एसएलसी पास गरेका उनका बुबा जुत्ता कालिगढ (डिजाइनर) का रूपमा अहिले पनि प्राइभेट कम्पनीमा कार्यरत छन् । बाँसबारी छालाजुत्ता कारखाना सञ्चालनमा रहँदा मजदुर संगठनमा सक्रिय भएबापत बुबालाई जागिरबाटै हात धुनुपरेको थियो । उनले निरन्तर बाम राजनीतिक आन्दोलनलाई सहयोग गर्दै आएका छन् ।

अञ्जनाले राजनीतिक कामको सुरुआत गर्दा देशमा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) र विद्यार्थी फाँटमा अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियन (छैटौं) को प्रभाव धेरै थियो । उनी पनि यही धारमा समाहित हुन पुगिन् । सुरुमा कक्षा १० मा पढ्दै गर्दा विद्यार्थी संगठनको सदस्यता लिएर उनले सांगठनिक राजनीतिको सुरुआत गरिन् । पछि महिला संघको इकाइ कमिटीमा बसेर संगठित रूपमा काम अगाडि बढाइन् । यसै क्रममा उनी पद्म कन्या क्याम्पसमा २०४८ मा इकाइ कमिटीको उपाध्यक्ष थिइन् ।

उनले महिला संघको काठमाडौं जिल्ला कमिटीमा काम गरेपश्चात् महिला संघको केन्द्रीय सदस्य भएपछि पूर्णकालीन सक्रिय राजनीतिको सुरुआत गरेकी हुन् । अञ्जना भन्छिन् , “सक्रिय राजनीति सुरु गर्दा म सानै उमेरमा आमा भैसकेकी थिएँ । त्यतिबेला म शिक्षिका जागिरमा थिएँ । त्यहीबेला एकैचोटि आर्थिक आर्जन, परिवार र बच्चाको रेखदेख गर्नुपर्ने दायित्वलाई पन्छाएर म सक्रिय राजनीतिमा हिँडेँ । त्यसरी हिँड्नुपर्दा आर्थिक एवं पारिवारिक असहयोगका साथै मानसिक तनाव सबैभन्दा बढी ब्यहोर्नु प¥यो । पार्टी काममा हिँड्दा साथमा खर्च नहुने, घरभित्र पस्दा गालीगलौज र घोचपेच सहनुपर्ने, त्यससँगै बच्चा हेर्नुपर्ने अवस्था आदि सन्दर्भ त व्यक्त गर्नै नसकिने समस्याका रूपमा खडा थिए ।”

उनले अहिलेसम्मको राजनीतिक यात्रामा खातका खात आरोपहरूको सामना गर्नुपरेको छ । उनकै शब्दमा, “विवाहपछि परिवारभित्र परिवारको जिम्मेवारी वहन नगरेको र गैरजिम्मेवार भएको आरोप, आफन्तहरूबाट अनुत्पादक काममा लागेको आरोप, साथीहरूसँग हुँदा अनावश्यक दुःखको चपेटामा आफैँ होमिन गएको आरोप, समाजमा सामाजिक कुसंस्कारविरुद्ध लड्नुपर्दा असामाजिक तत्वको आरोप र संगठनमा ठीक कुरा बोल्दा अराजकताको आरोप र यस्तै अरूअरू पनि । मुख्यतः परिवारमा श्रीमती र बुहारीको भूमिका निर्वाह गर्न नसकेको आरोप थियो । सकेसम्म घरबाट बाहिर कसरी निस्कन नदिने भन्ने योजना परिवारमा हुन्थ्यो । बरु पढेर ठूलो ठाउँमा जागिरे भए हुन्थ्यो भन्ने परिवारको आशा थियो । मैले यी सबैविरुद्ध ठूलै संघर्ष गर्नुपर्यो सक्रिय राजनीति गर्दा ।”

उनको समस्या थियो– आफन्तले सक्रिय वामपन्थी राजनीतिमा भविष्य देख्दैनथे । त्यसैले माया र आँसु (इमोसनल ब्ल्याकमेलिङ) मार्फत पछि हटाउन खोज्थे । यो उनका निम्ति ठूलो आत्मसंघर्षको विषय बन्थ्यो । परिवार एकातिर थियो, साथीहरू पनि सुरुसुरुमा उनी सम्बद्ध आन्दोलनलाई त्यति सम्मानित तरिकाले हेर्दैनथे । यी जुलुस सडकछाप मात्र हुन् भन्ने तरिकाले बुझ्थे । मात्र विद्रोहीको रूपमा बुझ्थे र त्यो कुरा बुझाउन उनलाई कठिन हुन्थ्यो ।

संगठन र पार्टीमा महिलाहरू रातदिन पुरुष कमरेडका वरिपरि सँगसँगै हिँड्दा सांस्कृतिक विषयमा नै बढी चर्चा परिचर्चा हुन्थ्यो । उनी सम्झना गर्छिन्, “‘हामीलाई अलि फरक ग्रहबाट आएकोजस्तो व्यवहार हुन्थ्यो । अझ महिला अधिकार र दलित अधिकारबारे गाउँघरमा संघर्ष र संगठन चलाउँदा त हामी समाज भँडुवाको आरोपमा पथ्र्यौं । संगठनभित्रै पनि पुरुष सहकर्मीसँग हिँड्दा कहिले अलि असुरक्षितजस्तो महसुस हुन्थ्यो । त्यस्तै, कहिले हीनताबोध गराउने पाराले राजनीतिक नीति एवं सिद्धान्तविरुद्ध जिम्मेवार कमरेडले बोल्दा र व्यवहार गर्दा सबैभन्दा पीडाको विषय बन्ने गथ्र्यो । हामी उपल्लो जात र पुरुष लिङ्ग भएका कमरेडहरूसँग आप्mनो अधिकारबारे सधैँ बैठक वा कार्यक्रममा संघर्ष गरिरहन्थ्यौँ ।’

उनलाई कहिलेकाहीँ उपल्लो तहका सबैसँग संघर्ष गर्दा आफूभित्र पनि निजी व्यवहार, सुखभोग, सामान्य जीवनमा फर्कने चाहना र सधैँको आर्थिक अभाव आदि कारणले गर्दा सक्रिय राजनीतिबाटै विदा लिने हो कि भन्ने आन्तरिक द्वन्द चल्थ्यो । अनि फेरि उनले त्यसविरुद्ध पनि अन्तरसंघर्ष गर्नुपथ्र्यो ।

Anjana 3

अहिले उनी भन्छिन्, “‘संगठनभित्र पुरुष, महिला दुवैसँग मेरो कमरेडली व्यवहार हुन्छ । पार्टी काममा लाग्दा मैले महिला पुरुषमा खासै भिन्नता राख्दिन । म  ‘मात्र एक कमरेड’हुँ भन्ने सम्झन्छु । पुरुष साथीहरू संगठनभित्र संकीर्ण, पुरुषवादी चिन्तन, बुर्जुवा एवं पुरानो चिन्तन भएका प्रशस्त पाइन्छन् । नकारात्मक र सकारात्मक सोचाइ भएका दुवै थरी कमरेडहरूको अनुभव छ मसँग । कतिपय अवस्थामा कतिपय महिला कमरेड अलि संकीर्ण भएका हुन् कि भन्ने भान पनि हुन्छ तर सबै होइन ।’

उनलाई अहिलेको परिवर्तित परिस्थितिमा राजनीतिक काम गर्न सहजै महसुस हुन्छ तर त्यो पार्टी पद्धति र प्रक्रियामा रहेर गनुपर्दछ भन्ने उनको सोच छ । अहिले विद्रोह र आन्दोलनभन्दा पनि सरकार र सदनको प्रसंग हावी छ । उनलाई लाग्छ, ‘शान्तिकालमा पनि पार्टी संगठनप्रति इमान्दार महिलाहरूलाई सक्रिय राजनीतिमा सहभागी हुन निकै कठिन पर्दछ किनभने आर्थिक व्यवस्थापन अनि अन्य सबै खालका मानिससँगको उठ–बसजस्ता कुरा महिला कमरेडहरूका निम्ति त्यति अनुकूल हुँदैन । यस्तो बेला आप्mनो राजनीतिक व्यक्तित्व बचाउनै महिलाहरूलाई मुस्किल पर्छ।’

अञ्जना बिसङ्खेको अनुभवमा, निर्दलीय पञ्चायती व्यवस्था ढलेर मुलुकमा बहुदलीय लोकतन्त्र स्थापना भएको साढे दुई दशकभन्दा बढी समय भइसक्दा पनि पार्टी–संगठनहरूभित्र महिलाहरूको हैसियत केवल समावेशितामा मात्र सीमित छ । अलि माथि गए ‘उप’, ‘सह’ जस्ता सहायक पदमा सीमित हुनुपर्दछ महिलाहरूले । कतिपय अवस्थामा क्षमतावान सक्रिय महिलाहरूलाई पनि संगठन र समाजमा हैसियत दिन चाँहदैनन् पुरुषहरू । अहिले समाजमा महिलाको स्थान भनेको पहिचानको मात्र भएको छ, अधिकार र स्वतन्त्रताको होइन । यस आधारमा हेर्दा, संगठन वा दलको वातावरण सर्वप्रथम महिला–मैत्री हुनुपर्दछ । त्यसैगरी सदियौंदेखि पितृसत्तात्मक सामाजिक संरचनाले थोपरेको विभेदलाई पार्टी संगठनमा लैङ्गिक सवालका रूपमा होइन, पार्टीको सैद्धान्तिक विषयको र समाजको सामाजिक विषयको रूपमा बहस, छलफलको मैत्रीपूर्ण वातावरण सिर्जना हुनुपर्दछ । बदलिँदो परिवेशमा महिला अधिकार, स्वतन्त्रताका विषयहरू फराकिलो हुँदै आएका छन् । त्यस विषयमा पनि पार्टी संगठनभित्र छलफलको वातावरण सिर्जना हुनुपर्दछ । पुरातन शैलीले अबको महिला आन्दोलन अगाडि बढ्न सक्दैन । सिर्जनात्मक र नयाँ प्रविधिसहितको विश्वलाई महिलाको आँखाबाट व्याख्या गर्ने वातावरण सिर्जना हुनुपर्दछ ।

उनले विशेषतः वर्गीय, लैङ्गिक र जातीय मुद्दाहरू उठाउने गरेकी छन् । यससम्बन्धमा उनको अनुभव भन्छ, “कमिटीमा महिला कमरेडले महिलाका मुद्दा बढी उठाउँदा बैठक हलमा हाँसोका पर्राहरू छुट्ने गरेका हुन्छन् । खासखास खुसखुस गर्ने र कसैले त ‘यो पार्टी बैठक हो महिला बैठक होइन’भन्नेसम्मका प्रतिक्रिया पनि व्यक्त गर्छन् । के महिलाको मुद्दा पार्टीको मुद्दा होइन र ? के यो मुद्दा पुरुषले उठाइदिएको भए हामीले उठाइरहनु पथ्र्यो र ? हामीलाई सीमित बनाउने त आखिर तिनै पुरुष मित्रहरू न हुन् ।’

उनको विचारमा, राजनीतिक पार्टीका नेता र कार्यकर्ता उत्पादन गर्ने भट्टी भनेकै विशेषतः युवा र विद्यार्थी फाँट हो । ती क्षेत्रमा महिला सहभागिता कम भयो भने भोलि पार्टीमा पनि महिला सहभागिता कम हुन जान्छ । त्यसो त महिलाहरू लामो समय राजनीतिक आन्दोलनमा टिक्न नसक्नुको मुख्य कारण देशको राज्य संरचना हो । आफूलाई जतिसुकै पाको र बलियो भने पनि यदि वातावरण आप्mनो प्रतिकूल भयो भने मान्छेले धेरै दिन संघर्ष गर्न सक्दैन । वातावरण भनेको सर्वप्रथम उसको घरपरिवार, समाज, उसको पार्टी, अर्थ राज्य–व्यवस्था हुन् । यति चार कुराहरू उसको अनुकूल रहेनन् र संघर्ष गर्ने वातावरण भएन भने महिला सक्रिय राजनीतिमा टिकिरहन सक्दैनन् ।

उसो भए महिलाहरूलाई राजनीतिक संगठनमा निरन्तर सक्रिय बनाइराख्न के गर्नुपर्ला त ? अञ्जनाका शब्दमा, ‘सर्वप्रथम महिलालाई राजनीतिक सामाजिक चेतनाले लेस पार्दै वर्गीय संघर्षको भट्टीमा खार्न लाउनुपर्दछ । हरेक संघर्षमा उसको सहभागिता सुनिश्चित गर्नुपर्दछ । त्यस्तै, महिलाहरू टिक्ने भनेको संस्थागत प्रणालीमा हो । पार्टी संगठनलाई संस्थागत रूपमा चलाइयो भने महिलाहरू त्यो संस्थागत प्रक्रियाका बफादार सिपाही बन्दछन् । महिलाहरू धेरै टिक्छन्, छलछाम जान्दैनन् । पार्टीभित्रको लाभको पददेखि नेतृत्व तहसम्म र सामाजिक प्रतिष्ठा र सम्मानका पदहरूमा सहभागिता गराउने र नीति निर्माणमा महिलाहरूको पनि सहभागिता सुनिश्चित गर्दा पनि महिलाहरू निरन्तर सक्रिय राजनीतिमा क्रियाशील भइरहन्छन् । लैङ्गिक उत्पीडनको मुद्दालाई व्यवस्थित गर्दा पनि महिला सक्रियता र निरन्तरतामा वृद्धि हुन्छ । यसैगरी, पार्टी संगठनले अहिलेको परिवेशमा महिलाहरूको व्यवस्थापनको पाटोमा ध्यान पु¥याएर योजना बनाउँदा पनि सक्रिय महिला सहभागिता वृद्धि हुन्छ । जस्तो– बालबच्चा, विवाह, यौन, प्रेम आदि विषयका साथै आर्थिक व्यवस्थापनको पाटो आदि ।’

उनलाई राजनीतिमा लागेर पार्टी संगठनले आफ्नो पहिचान, अधिकार र स्वतन्त्रताको यात्रामा एक्लै लड्न–भिड्न सक्ने स्व–परिचयसहितको सिङ्गो मान्छे बनाएको छ भन्ने लाग्दछ । उनका लागि, ‘यो नै मेरो जीवनको सुखदायी अनुभव हो ।’

प्रस्तुति : शान्ता भण्डारी/भरत अधिकारी

मंगलबार, असोज २४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*