राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’, सामाजिक सञ्जालमा चर्को बहस

संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी वर्षका लागि सरकारको नीति र कार्यक्रमलाई संसदमा बाचन गरिरहँदा बाहिर भने त्यसको खुवै चर्चा चलिरहेको छ । विशेषगरी सामाजिक सञ्जालमा राष्ट्रपति भण्डारीले सम्बोधनका क्रममा उच्चारण गरेको वाक्यले सामाजिक सञ्जाल तातेको हो ।

राष्ट्रपतिले आफ्नो सम्बोधनमा बारम्बार ‘मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरेकी छन् । जसका कारण सामाजिक सञ्जाल तातेको हो । यसबाट राजतन्त्रकालको झल्को आएको धेरैले टिप्पणी गरेका छन् । लोकतन्त्रमा यस्तो अभ्यास नभएको उनीहरुको ठम्याई छ ।

राजतन्त्रकालमा ‘श्री ५ को सरकार’ भन्ने गरिन्थ्यो । त्यसैले तत्कालीन श्री ५ अर्थात् राजाले यसलाई ‘मेरो सरकार’ भन्ने गर्थे । गणतन्त्र स्थापनापछि ‘श्री ५ को सरकार’ को ठाउँमा ‘नेपाल सरकार’ भन्न थालियो । त्यसपछि राष्ट्रपतिले सम्वोधन गर्दा ‘मेरो सरकार’ भन्ने गरेका थिएनन् ।

प्रथम राष्ट्रपति डा. रामवरण यादव र त्यसपछि विद्या भण्डारीले पनि अघिल्लो वर्षसम्म ‘यस सरकार, संघीय सरकार वा नेपाल सरकार’ भन्ने गरेका थिए । तर, यसपाली नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले पहिलोपटक ‘मेरो सरकार’ भनेकी हुन् ।

‘मेरो सरकार’ अन्तर्राष्ट्रिय अभ्यासकै निरन्तरता : प्रधानमन्त्रीका सल्लाहकार

यसैवीच, राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा प्रयोग गरेको ‘मेरो सरकार’ शब्दप्रति सामाजिक सन्जालमा नकारात्मक चर्चा भइरहेका बेला सरकारले सोच बिचार गरेरै सो शब्द सम्बोधनमा राखेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताएका छन् ।

संवैधानिक राष्ट्रपति हुने छिमेकी भारतदेखि कार्यकारी राष्ट्रपति हुने अमेरिका लगायतका देशको अभ्यासलाई समेत हेरेर मेरो सरकार भन्ने ‘कस्मेटिक शब्द’ राखिएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. भट्टराईले अनलाइनखबर लाई बताए । उनले सामाजिक सन्जालमा ‘नबुझी टिप्पणी गर्ने’हरुलाई अन्तर्राष्ट्रिय अभ्यास हेर्न आग्रह गरे ।

उनले भने- राष्ट्र प्रमुखले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन पनि हामीले अन्तर्राष्ट्रिय अभ्यासहरुबाटै लिएका हौं । संवैधानिक हुन् वा कार्यकारी राष्ट्र प्रमुखले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा (माइ गभर्मेन्ट) मेरो सरकार भन्ने प्रचलन छ । हामीले ती सबै अभ्यास हेरेर सोच बिचार गरेरै सो शब्द राखेको हो ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले पछिल्लो पटक त्यहाँको संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा हिन्दीमा ‘मेरी सरकार’ र अंग्रेजीमा माइ गभर्मेन्ट भनिएको छ । प्रधानमन्त्री कार्यालयको टिमले अमेरिका, भारत, बेलायत र जापान लगायत अन्तर्राष्ट्रिय प्रचलन हेरेर सो शब्द राखिएका भट्टराईले बताए ।

 

शुक्रबार, वैशाख २०, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*