लाइसेन्सका लागि पाँच किलोमिटर लाइन !

बिहे सार्ने कि लाइसेन्स लिने, अन्योलमा युवा !

विराटनगर, १३ कात्तिक ।

मोटरसाइकलको लाइसेन्स बनाउन निवेदन दिनुपूर्व लिनुपर्ने टोकनका लागि कोसी अञ्चल यातायात व्यवस्था कार्यालयमा आइतबार बिहानैदेखि हजारौँ मानिस लाइनमा बसे । भिड व्यवस्थापन गर्न प्रहरीले लाठीचार्जसमेत गर्नुपर्यो । प्रहरीको लाठीबाट मोरङ बुढीगंगा– १ का टीकाराम निरौलासहित अन्य दुईजना घाइते भए ।

नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापति कृष्ण अधिकारी आफन्तहरूले धेरै गुनासो गरेपछि केही सहयोग गर्न सकिन्छ कि भनेर आइतबार यातायात व्यवस्था कार्यालय पुगे । तर, त्यहाँको अवस्था देखेर उनी पनि चकित भए । पाँच किलोमिटर लामो लाइन । लाइसेन्सको प्रक्रियाका लागि टोकन लिन आएकाको मोटरसाइकलको ताँती र लाइन व्यवस्थापन गर्न प्रहरीले दिइरहेको दबाब देखेर उनी दिक्क भए ।

उनले मोबाइलबाट केही फोटो र भिडियो खिचे अनि फेसबुकमा स्टाटस लेखे, ‘अपराधीले मानव अपहरण गरेर फिरौती लिएकोभन्दा राज्यले नागरिकलाई यातना दिएर ठूलो अपराध गरिरहेको छ । ए प्रतिपक्षका नेताहरू हो नागरिकले पाएको यस्तो सास्तीबारे चाहिँ तिमीहरूले बोल्न पर्दैन ? हे सरकार विधि बनाएर रेगुलर लाइसेन्स दिने व्यावस्था मिलाउँदा के बिग्रन्छ ?’

– नौ महिनापछि खुलेको सवारी यातायातको लाइसेन्स बनाउने प्रक्रियाका लागि आइतबार करिब २० हजार सेवाग्राही यातायात कार्यालयमा भेला भएका थिए ।

– हजारौँ मानिस लाइनमा बसेका वेला बिचौलियाहरूले निःशुल्क पाइने टोकन ९फारम दर्ता गराउने मिति लेखेको चिट० पाँच सयदेखि १५ सय रुपैयाँसम्म बिक्री गरेका थिए ।

– कोसी अञ्चल यातायात व्यवस्था सवारी अनुमति कार्यालयका प्रमुख श्यामकुमार सिंहले सोचेभन्दा बढी सेवाग्राही आएकाले भिड व्यवस्थापन गर्न समस्या भएको बताए ।

१५ सयको लाइसेन्स बनाउन १५ हजार खर्च
टोकन लिने हजारौँ भएकाले लाइसेन्स लिन महिनौँ लाग्न सक्छ । सो समयमा लाइसेन्स लिनकै लागि कतिले तोकिएको बिहे सार्नुपर्ने, विदेश जाने मिति बदल्नुपर्नेसमेत हुन्छ । आइतबार घन्टौँ लाइनमा बसेर टोकन लिएका एक युवाले आफ्नो मंसिर अन्तिम साता बिहे परेकाले बिहे छाड्ने कि लाइसेन्स छाड्ने भन्ने दोधारमा परेको बताए ।

‘बिहे छाडौँ जीवनको कुरो छ, लाइसेन्स छाडौँ फेरि कहिले पाइएला थाहा छैन । फारम दर्ता गराउने मिति पनि त्यही समयमा परेको छ, के गर्ने के नगर्ने अन्योलमा परेको छु,’ उनले भने । पटकपटक धाउनुपर्ने झन्झटले बन्द व्यापार र पेसाकर्मीहरूले पाउने सास्ती त छँदै छ, खाने–बस्ने समस्या र आतेजाते यातायात खर्चको बोझले १५ सय रुपैयाँ राजस्व तिरेर प्राप्त गर्न सकिने लाइसेन्स १५ हजारभन्दा महँगो पर्न जान्छ ।  – नयाँ पत्रिकाबाट

सोमबार, कात्तिक १३, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*