लामो कानुनी लडाईपछि आमाको नामबाट नागरिकता

बाँके, चैत्र ३०, २०७३ । लामो कानुनी लडाईपछि बागेश्वरी २ खजुराकी १९ बर्षीया रुथ घर्ति मगरले आमाको नामबाट नेपाली नागरिकता पाएकी छन् । जिल्ला प्रशासन कार्यालयबाट मंगलबार नागरिता पाएपछि उनी खुसीले दंग परिन । आफ्नो नामबाट छोरीलाई नागरिकता दिलाउन पाएकोमा आमा कमला पनि खुसी थिइन ।

‘लामो लडाईपछि छोरीले मेरै नामबाट नागरिकता पाएकी छन् । अब उसलाई पढ्न र जागिर गर्न सहयोग पुग्नेछ,’ उनले भनिन् ।

नागरिकता नहुँदा रुथ जागिर गर्न बन्चित हुँदै आएकी थिईन । स्थानीय निजी बिद्यालयमा शिक्षण गर्ने उनलाई नागरिकता ल्याउन दबाब थियो । तर, स्थानीय प्रशासनले बुबाको राष्ट्रियता नखुलेको भन्दै दिन इन्कार गर्दै आएको थियो । उनका बुबा लोकराजको मृत्यु भइसकेको छ । नागरिकताका लागि उनलाई करिव ९ महिना दौडधुप गर्नुपर्‍यो । करिव दुई महिनासम्म गाविस र स्थानीय प्रशासनमा आउजाउ गरिरहेकी थिईन । नपाएपछि गत असोज ४ गते अदालतको सरणमा पुगिन् । ‘नागरिक हुन निकै तनाव झेल्नु पर्‍यो । आज भने नागरिकता बन्दा निकै खुसी लागेको छ,’ रुथले भनिन्,‘अब जागिर गर्ने कार्यालयमा नागरिकता पेश गर्छु । बैंक खाता खोल्छु ।’

प्रशासनले नागरिकता दिन इन्कार गरेपछि उच्च अदालत नेपालगन्ज इजलासमा रिट निवेदन दर्ता गरेकी थिईन । अदालतले आमाको नामबाट बंशजको आधारमा १५ दिनभित्रै नागरिकता दिन प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले अदालतको आदेशलाई कार्यान्वयन गरी नागरिकता दिएका हुन् ।

रुथकी सहोदर दिदी निर्मलाले जिल्ला प्रशासन कार्यालबाट ०६३ माघ १९ गते नै आमा कमलाको नामबाट बंशजको आधारमा नागरिकता पाएकी थिईन । तर, रुथले नागरिकता बनाउन खोजेपछि प्रशासनले बुबाको राष्ट्रियता नखुलेको भन्दै दिन ईन्कार गरेको थियो । आमा कमलाले पनि बंशजको आधारमा नागरिता पाएकी छन् । एउटै आमाका सन्तान दिदीलाई नागरिकता दिने तर बहिनीलाई बञ्चित गरिएपछि रुथ अदालत पुगेकी थिईन । आमा र जेठी छोरीले बंशजको आधारमा नागरिकता पाइसकेको भन्दै अदालतले रुथलाई नागरिकता दिन प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको थियो ।

रुथलाई नागरिकता दिलाउन कानुनी सहयोग गरेका अधिवक्ता सुनिल श्रेष्ठले अदालतको आदेशलाई प्रशासनले कार्यान्वन गरी नागरिकता दिनु सकारात्मक भएको बताए । ‘नागरिकताका लागि उनले अनावश्यक दु:ख पाईन,’ उनले भने, ‘आमा र जेठी छोरीले पाएको नागरिकताको आधारमा पहिले नै दिएको भए यतिका दिनसम्म दौडधुप गर्नुपर्ने अवस्था आउने थिएन ।’

नेपालको संविधान २०७२ को धारा १० र १२, नेपालको नागरिकता ऐन २०६३ को ३ (१) ले कुनै पनि नेपालीलाई नागरिकताबाट बञ्चित गर्न नमिल्ने व्यबस्था गरेको छ । त्यस्तै, बुबा, आमा, नेपाली नागरिक हो भने निजका सन्तानले बंशजकै आधारमा नागरिकता लिन सक्ने व्यवस्था छ ।
(कान्तिपुर )

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*