‘लालटिनको उज्यालोमा’ सरस्वतीहरूका वास्तविक अनुहार

पुस्तक-समीक्षा/बिन्दा पाण्डे
लालटिनको उज्यालोमा पुस्तक बजारमा आएको छ । सरस्वती ज्ञवालीले आफ्नो जीवनको भोगाइका मुख्य अनुभव र अुनभूतिलाई शव्दमा उतार्दै तयार गर्नुभएको प्रकाशन हो लालटिनको उज्यालोमा । २०३० को दशकमा पाल्पा जस्तो सुगम जिल्लामा शिक्षित परिवारमा जन्मदासमेत छोरीले विद्यालय जाने अवसर पाउने कुरा कति कठिन थियो भन्ने कुरा यस पुस्तकले उजागर गरेको छ । मामाघरवाट विद्यालय शिक्षा शुरु गर्नुभएको सरस्वती पछि घरको नजिकको विद्यालयमा कक्षा छ सम्म अध्ययन गर्दै गर्दा विवाहको कुरा आएपछि घरवाट विद्रोह गरेर चिनजानको दाइ–भाउजुकोमा जाने आट गर्न सकेको कारण मात्र उहाले विद्यालय शिक्षालाई निरन्तरता दिन सक्नुभयो । योे सत्य घटनाले आजभन्दा ३०–३५ वर्ष अगाडीसम्म पनि सुगम ठाउ र शिक्षित परिवारको त्यो अवस्थाले नेपाली समाजमा महिला शिक्षाको विषय कति गाहे थियो भन्ने कुरा अन्दाज गर्न सकिन्छ ।

विद्यालय पढ्दै गरेकी केटी विवाहको कुरा आएपछि विद्रोह गरेर अन्त कतै गएर काम गर्दै पढ्दै गर्न थालेकी सरस्वती क्रमश परिवर्तनको उज्यालो पछ्याउँदै पार्टीमा आबद्ध हुन थाल्नुहुन्छ । प्रगतिशिल गीत, कविता र साहित्यवाट प्रभावित हुँदै अगाडि सरेको एउटा महिला एसएलसी दिएर काममा लाग्दै गरेका अवस्थामा परिवारवाट फेरि पनि विवाहका लागि आउन थालेको दवाववाट जोगाउन पार्टीकै तर्फवाट विवाहको प्रस्ताव त आउँछ । तर, त्यसलाई अस्वीकार गरेमा हुन आउने परिणामको जिम्मा लिन नसकिने दवावपूर्ण भनाइ पनि संगै आउँछ । यो परिदृश्य तत्कालीन अवस्थामा पार्टीमा लागेका महिलालाई निर्णय अधिकार दिएजस्तो पनि गर्ने र भनेको कुरा नमानेमा परिणामको भागीदार आफै हुन पर्ने दवावपूर्ण अवस्थामा पर्ने गरेका अवस्थालाई देखाउँदछ । पारिवारिक दवाववाट मुक्ति पाउनका लागि पार्टीवाट आएको प्रस्तावलाई विना सोधखोज र विना विस्तृत बुझाइ अनिश्चित जीवन लिएर हिडेका भूमिगत कार्यकर्तासंग विवाह गर्नुपर्ने कुरालाई स्वनिर्णयको स्वतन्त्रता मान्नु पर्ने त्रासदीपूर्ण दिनहरुलाई महिलाले जोखिमपूर्ण रुपमा स्वीकार गर्नुपर्ने परिवेश थियो । मान्छे राम्रो परिदिँदा त ठिकै भयो । यदि त्यस्तो व्यक्ति खराव भइदियो भने “न जन्म घरले स्वीकार गर्ने, न त कर्मघरमा नै सामाजिक र कानुनी रुपमा लडाइ गर्न सक्ने“ जोखिम मोल्न तयार हुने त्यस समयका अनगिन्ती सरस्वतीहरुको आँटलाई कुन शव्दले सम्बोधन गर्न सकिन्छ वा मिल्छ ? भन्न गाह्रो छ ।

binda pandey

                  बिन्दा पाण्डे

यसरी हेर्दा यो पुस्तक सरस्वतीजीको कथा मात्र नभएर एउटा पुस्ताको प्रतिनिधि पात्र भएर तत्कालीन अवस्थामा पार्टीको विश्वास र भरोसामा जीवन छाडिदिने सैयौ पार्टी कार्यकर्ताको कथा र संघर्षको कथा हो भन्ने अनुभूत हुन्छ । र, आज भूमिगत जीवन विताएर शक्ति र सत्तामा भएका त्यस पिढीका सैयौ पुरुष कमरेडहरुको जीवन सहज बनाउन, परिवारिक अवस्थालाई निरन्तरता दिन र व्यवस्थापन गर्न नेपथ्यमा रहेर गरेका संघर्षका पाइला अनि सफलताका लागि भरथेग गर्ने हात र साथको कथा र व्यथाको संगालो हो, लालटिनको उज्यालोमा । लालटिनको उज्यालोमा वास्तवमा पूर्णिमाको चन्द्रमा झै कसैलाई चम्काउन पछाडिबाट समर्पित शक्ति र सानको कथा हो भन्दा सायद अन्यथा नहोला । जसको अस्तित्वलाई सामाजिक न्यायका पक्षको वोलीमा लोली मिलाउनेहरुले पनि सायदै सूक्ष्म ढंगबाट बुझ्न र न्याय गर्न सकेका छन् ।

राजनीतिक नेताको आड र भरोसामा परिवारले अवसरै मात्र लियो भन्नेहरुका लागि लालटिनको उज्यालोमा एउटा जीवन्त उदाहरण हो । आफै खरानी हुने गरी पिल्सने अवस्थामा पनि आँशुका धाराले मनभित्रको तापमानलाई घटाउँदै मुलुक र जनताका पक्षमा लागेका नेताहरुप्रति परिवारले गरेको कुर्वानीको कथा पनि हो भन्दा फरक नपर्ला यो पुस्तकलाई । जसले यो भोगेको छ र नजिकवाट नियाल्ने अवसर पाएको छ, उनीहरुले मात्र अनुभूत गर्न सक्छन् यी कथाका हरेक शव्द र वाक्यहरुले उजागर गर्न खोजेका ती पीडा, अभाव, डर र भयपूर्ण पलहरुलाई । यसअर्थमा यो सैयौ भूमिगत कार्यकर्ताको परिवारको मात्र होइन, उनीहरुलाई जोगाउन सेल्टर दिने सैयौ सेल्टरदाताहरुको कथा पनि जोडिएको छ यस पुस्तकमा ।

हो, पद र प्रतिष्टाको आडमा दुरुपयोग गर्ने जमात पनि छ हाम्रो समाजमा । तर, कोही कसैले गरेको शक्तिको दुरुपयोगका आधारमा सवैलाई एउटै डालोमा राखेर हेर्ने दृष्टिकोणले न्याय गर्दैन । विना आग्रह–पुर्वाग्रह यो पुस्तकलाई एकपटक धैर्यतापूर्वक पढ्ने हो भने मुलुक रूपान्तरणको अभियानमा निरन्तर लाग्नेहरुको परिवार कसरी चलेको छ भन्ने कुराको गहिराई चिनाउँछ यो पुस्तकले । र, कसैलाई हेरेर सवै व्यक्तिलाई एउटै डालोमा राखेर व्यवहार गर्न मिल्दैन भन्ने कुराको अनुभूत पनि गराउनेछ भन्ने अपेक्षा गर्न सकिन्छ । यो मुलुकमा निरंकुशतको अन्त्यका लागि हिजो जीवनका सारा कुरा छाडेर हिड्ने परिवर्तनकारीहरुको स्वाभिमानपूर्वक लाग्ने एउटा परिवारको पृष्ठभूमिमा उभिएको प्रतिनिधिमूलक जीवन्त कथा हो यो ।

laltin ko ujyaloma

कामको खोजीको सन्दर्भमा पाएको हण्डर, दुख र संघर्षको वजन ११ वर्षमा १२ वटा जागिर खान पुगेको गणनाले नै बताउँछ । तर, जस्तै दुख र पीडामा पनि अन्याय र अत्याचारका विरुद्ध सतिसाल झै ठिंग उभिएको स्वभिमानको उचाइ पद–प्रतिष्ठाले दिने सुख–सुविधाको भन्दा धेरै अग्लो हुन्छ भन्ने कुरा यो पुस्तक पढ्दै गर्दा अनुभुत हुन्छ । अनि ती अनगिन्ती पीडाको बीचबाट आएर सांसद, मन्त्री वा यस्तै अरु पदमा बसेपछिको उचाइ मात्र हेरेर गरिने टिप्पणीले के ती समर्पणपूर्ण दिनहरुप्रति न्याय गर्न सक्छ ?

राजनीतिक चेतना, परिवर्तनप्रतिको प्रतिबद्धता र विश्वास मानव जीवनको सवैभन्दा ठुलो शक्ति हो । जसले कस्तै कठिनाइमा पनि किनारा लागेर दर्शक बन्न र पिठ्युँ फर्काएर भाग्नुभन्दा स्वाभिमानपूर्वक मृत्यु स्वीकार गर्न उत्प्रेरित गर्दछ ।

महिलाहरु कमजोर हुन्छन् भन्ने मान्यता राख्ने यो समाजमा सरस्वतीको संघर्ष कुनै पनि पुरुषको भन्दा कम छैन । जीवनभित्र अर्को जीवनलाई बोकेर होस् वा काखे बच्चा काखीमा च्यापेर, आन्दोलनको मैदानमा निर्वाह गरेको भूमिका, कुनै बहादुर पुरुषको भन्दा कम भन्न मिल्छ ? यसको एउटा उदाहरण सरस्वतीजीको २०४६ को आन्दोलनको अनुभव हो । पार्टीलाई जोगाउने क्रममा अपांगता भएको एउटा छोरीलाई व्यहोरिसकेकी सरस्वती भारी शरीर बोकेर फेरि पनि प्रजातन्त्र र स्वतन्त्रता प्राप्तिको सपना साँच्दै बन्दुक बोकेका प्रहरी विरुद्ध जुझ्न डाँडामाथि ढुंगा बटुल्दै हुनुहुन्छ र कल्पना साँच्नुहुन्छ “मलाई केही भइहाल्यो भने पेटको बच्चा निकालेर बचाइयोस् र शहिदको बच्चा भनेर पालियोस्“ । यो सत्य घटना हो । जसले राष्ट्रियताका लागि नालापानीमा लड्ने महिलाहरुको वीरताको झल्को दिन्छ ।

तत्कालीन पार्टीगत विवाह पद्धतिअनुसार सरस्वतीजीलाई विवाहको समय संगै वाँच्ने मात्रै होइन, क्रान्तिमा निरन्तर लाग्ने र एकअर्कालाई सहयोग गर्ने सपथसंगै थप जिम्मेवारी पनि दिइयो । गाउँमा सवैलाई दुख दिँदै गरेकी एउटी महिला “पालिकी“ लाई तह लगाउनुपर्छ भनेर । यो प्रसंगले पूर्वीय दर्शनमा “देवी“ भनेर पुज्न थालिएका तत्कालीन साहसी महिलाहरुको याद दिलाउँछ । समाजमा नराम्रा काम गर्ने “असुर“ चरित्रका पुरुषहरुसंग लडाइ गर्दा विजय गर्न गाहे भएका “देवता“ भनिएका पुरुषहरुले अन्तमा “देवी“ गुहारे झै पालिकी भनिने सरस्वती गौतमले सारा गाउँका मानिसलाई दिएको दुखको सजाय दिन पनि सरस्वती ज्ञवालीलाई उक्त गाउँ जानु पूर्व नै उनलाई तह लगाउने जिम्मेवारी दिइन्छ । अन्ततः सरस्वतीजीले उक्त जिम्मेवारी पूरा गर्नुहुन्छ । पालिकीबाट पीडित धार्मिक व्यक्तिहरुले सरस्वतीजीलाई त्यही पौराणिक कथाका “देवी“ लाई झै सम्मान प्रकट गर्दछन् । महिलालाई कमजोर ठान्ने हाम्रो समाजमा यो कसरी सम्भव भयो ? सोचपूर्ण विषय हो यो ।

महिलावादी दृष्टिकोणवाट विश्लेषण गर्दा यो पुस्तक माक्र्सवादी महिलावादी दृष्टिकोणमा आधारित एउटा महिला क्रान्तिकारी महिलाको कथा हो । जहाँ महिलाहरु आर्थिक उपार्जनमा लाग्छन । आफ्नो खुट्टामा उभिन्छन । परिवार व्यवस्थापन गर्दछन् । र, बचेको समयमा सामाजिक रुपान्तरणका पक्षमा सार्वजनिक गतिविधिमा लाग्दछन् । नेपालको लोकतान्त्रिक अधिकार प्राप्तिको आन्दोलनमा धेरै सरस्वतीहरु त्यही भूमिकामा रहे । पुरुषहरुले घरपरिवारको दायित्व छाडे । र, लोकतन्त्र पछाडि पनि राजनीतिमा निरन्तरता दिए । आज उनीहरु सिनियर नेता बने । राज्यसत्ताको वागडोर सम्हाले । संगै आन्दोलनमा लागेका महिलाहरु परिवारको व्यवस्थापनका कारण मूलधारबाट पाखा लागे । सार्वजनिक जिम्मेवारीमा सहयोगी मात्र बन्न थाले । फेरि मैदानमा नयाँ पिढीका महिला देखा पर्दै गए । पुराना पाखा लाग्दै गए । अनि, महिला सहभागिताको कुरा गर्दा खै ? सिनियर महिला भन्ने प्रश्नचिन्ह लागि रह्यो । यसको ज्वलन्त उदाहरण हेर्न ‘लालटिनको उज्यालोमा’ नियाल्न सकिन्छ ।

हाम्रो आन्दोलनले समाजवादी महिलावादी दृष्टिकोण अनुसार अगाडि बढ्न र व्यवहार गर्न सकेको भए सायद सरस्वतीजी र उहाँका सहयात्री धेरै महिलाहरु पनि राजनीतिक अभियानमा निरन्तर लाग्न सक्थे । सिनियर महिला अभियन्ताका रुपमा मैदानमा सहभागिता देखिन्थ्यो । आज राज्य सत्ता सञ्चालन र राजनीतिको वागडोर अगाडि बढाउने ठाउँमा ‘खै महिला’ भन्ने प्रश्नले सहज उत्तर पाउने थियो । महिला क्षमतालाई नाप्ने मापदण्ड समाजवादी महिलावादी आधारमा बनेको हुन्थ्यो, जसमा परिवर्तिन जेण्डर भूमिका स्थापित भएको हुने थियो । महिला र पुरुषमा रहेको फरक दायित्वका आधारमा फरक आवश्यकतालाई फरक रुपमा सम्बोधन गरिएको हुन्थ्यो । र, महिला–महिला बीचमा रहेको विविधितालाई आत्मसात् गरिएको हुन्थ्यो । पुस्तक पढिरहँदा दिमागमा यस्तै–यस्तै कुरा खेलिरह्यो र अन्तमा दुईवटा कुरामा टक्क रोकियो ।

पहिलो, अबका दिनमा मात्र पनि हाम्रो रूपान्तरणको आन्दोलनले जेण्डर दृष्टिकोणलाई रूपान्तरण गर्न सक्यो र समाजवादी महिलावादी दृष्टिकोण अनुसार व्यवहार गर्न सक्यो भने सायद आजको पुस्ताका सरस्वतीहरुले केही दशकपछि लेख्ने “लालटिनको नयाँ उज्यालोमाू उनीहरुको फरक भविष्य र भूमिका पढ्न पाइनेछ । दोस्रो, यही कथावस्तुमा उभिएर यदि सरस्वतीजीको ‘उनी’ ले पुस्तक लेख्नुभयो भने त्यो पुस्तक कस्तो हुन्थ्यो होला ?

सरल भाषामा आफ्ना अनुभव र अनुभूतिलाई आम मानिसको बीचमा पस्कनुभएकोमा सरस्वतीजीलाई फेरि पनि हार्दिक बधार्इ ।

(पहिलोपटक लेखकको निजी ब्लग https://bindapandey.wordpress.com मा २०७४ चैत्र १० गते प्रकाशित यो पुस्तक–समीक्षा पठनीय ठानिएकाले सधन्यवाद यहाँ साभार गरिएको छ ।)

बुधबार, चैत २१, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*