लिपुलेकमा भारत र चीन दुवैले पुर्याए सडक, नेपालको अझै पुगेन

संवाददाता । काठमाडौं । भारतले नेपालीभूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने ७८ किलोमिटर सडक मार्ग संचालनमा ल्याएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिङ्क रोड उद्घाटन गरेका हुन् ।

सन् २००८ बाट निर्माण सुरु भएको यो सडक भारतले चीनको सीमासँग जोड्ने गरी निर्माण गरेको पहिलो सडक हो । भारतको बोर्डर रोड अर्गनाइजेसनले हिरक आयोजना नाम दिएर यो सडक निर्माण गरेको हो । यो सडक निर्माण भएसँगै दिल्लीबाट लिपुलेक दूरी ७५० किलोमिटर रहेको छ ।

नेपालको हुम्ला हुँदै कैलाश जाने रुटभन्दा लिपुलेक छोटो र सस्तो पर्ने भारतीय अनलाइनहरुले जनाएका छन् । बिक्रमसंवत २०७२ मा भारत र चीनले लिपुलेकबाट दुई देशबीच व्यापार गर्ने सम्झौता गरेका थिए । यसबारे नेपाललाई कुनै जानकारी दिइएको थिएन । कुटी, कालापानी, नाभीढाङ हुँदै लिपुलेक क्षेत्र नेपाली भूमि हो ।

चीनले भने यस अघि सन् २००८ मै लिपुलेकसम्म सडक पुर्‍याएको थियो । तर, नेपालले विसं २०६५–०६६ देखि निर्माण शुरु गरेको दार्चुला –टिंकर सडक हालसम्म ४० किमी मात्रै ट्रयाक खुलेको छ । हालै मात्र नेपाल सरकारले दार्चुला–टिंकर सडकको ७८ किमी सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ ।

नेपालतर्फ सडक निर्माण हुन नसकेका बेला भारतले एकतर्फी सडक निर्माण गरेकोमा दार्चुलावासीले समेत विरोध जनाएका छन् । नेपालीभूमी माथि भारतले एकतर्फीरुपमा सडक उद्घाटन गरेपछि जनस्तरमा ब्यापक विरोध र असंतुष्टि चुलिएको छ । सरकारले पनि एक विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ।

यसअघि भारतले सो भूभागलाई आफ्नो क्षेत्रमा गाभेर नक्सा सार्वजनिक गरेपछि नेपाल सरकारले वार्ताका लागि पत्र पठाएको थियो । तर पत्रको कुनै जवाफ नपठाइ भारतले सडक विस्तार गरी सवारी चलाएको छ ।

नेपाल र भारतबीच सन् १८१६ मा भएको सुगौली सन्धिको धारा ५ मा नेपालको पश्चिममा कालीनदी भारतसँगको सिमाना भएको उल्लेख छ । तर, भारतले सन् १८६० सम्म लिम्पियाधुराबाट निस्किएको नदीलाई नै कालीनदी मानेको भएपनि सन् १९६२ यता उसले लिपुलेकबाट बग्ने नदीलाई कालीनदी भन्दै आएको छ ।

भारतले कालापानीमा ब्यारेक स्थापना गरी इन्डो–टिबेटियन बोर्डर पुलिस (आइटिबिपी) समेत राखेको छ । नेपाल सरकारले भने लिपुलेक क्षेत्रमा बिओपी स्थापना गर्ने निर्णय गरेको ८ महिना वित्दा पनि कार्यान्वयन गर्न सकेको छैन । (केन्द्रबिन्दु)

शनिबार, वैशाख २७, २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*