विपत्तिको उच्च जोखिममा काठमाडौंसहित एसिया–प्रशान्त क्षेत्रका २६ सहर

काठमाडौं, १४ कात्तिक ।

भूकम्प, सुनामी, आँधीबेहरी, खडेरी, बाढीपहिरो, हिमपात, हिमपहिरो, मनसुनी वर्षालगायत विपत्तिको उच्च जोखिममा एशिया–प्रशान्त क्षेत्र रहेको पाइएको छ ।

आज पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको एशिया–प्रशान्तका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप) को उपक्षेत्रीय प्रतिवेदनले प्राकृतिक एवं मानवनिर्मित विपत्तिको उच्च जोखिममा एसिया–प्रशान्त क्षेत्रका २६ शहर रहेको चेतावनी दिएको छ ।

इस्क्यापको विपत्ति न्यूनीकरण विभागका प्रमुख सञ्जय श्रीवास्तवले प्रतिवेदनका मुख्य बुँदा प्रस्तुत गर्दै काठमाडौँ, नयाँदिल्ली, ढाका र कराँची विपत्तिको उच्च जोखिममा रहेको बताएका हुन् ।

प्राकृतिक तथा मानव सिर्जित विपत्तिले दिगो विकासका लक्ष्य हासिल गर्न कठिनाइ हुने वास्तविकता औँल्याउँदै उनले विश्वका अति निर्धन र अधिक जनसंख्या भएको एशिया–प्रशान्त क्षेत्रमा नै जोखिमको भय उच्च हुनु चिन्ताको विषय भएको बताए ।

प्राकृतिक विपत्तिका कारण विगत ४६ वर्षमा एशिया प्रशान्त क्षेत्रमा २० लाख मानिसले ज्यान गुमाएको र एक खर्ब तीन अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको तथ्यांक प्रस्तुत गर्दै प्रतिवेदनमा विपद् व्यवस्थापनको पूर्वतयारी, राष्ट्र–राष्ट्रबीच सूचना आदान–प्रदान तथा प्रविधि हस्तान्तरण, क्षेत्रीय क्षमता अभिवृद्धि र सहकार्यलाई विपत्तिबाट जोखिने उपायका रुपमा सुझाइएको छ ।

श्रीलंका, मालदिभ्स, बंगलादेश, म्यान्मा र भारतले सामुद्रिक एवं वायुमण्डलीय सूचना आदानप्रदान गर्दा चक्रवातजस्ता विपत्तिबाट बच्न र पूर्वतयारी गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । सन् १९७० मा बंगलादेशमा चक्रवातका कारण तीन लाख मानिसले ज्यान गुमाएका थिए भने विज्ञान, प्रविधि र सूचना आदानप्रदानको परिणामस्वरुप त्यस्तै विपत्तिबाट सोही मुलुकमा गत वर्ष नौ जनाको मात्र मृत्यु भएको दृष्टान्तसमेत प्रतिवेदनमा समेटिएको छ । रासस

मंगलबार, कात्तिक १४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*