विश्वकप छनोटमा नेपाल : ३५ खेलमा ११६ गोल खाँदा २६ हार

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको दोस्रो चरणको छनोट र सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपको पहिलो चरणको छनोट प्रतियोगिता अहिले स्थगित छन्।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण एसियाली फुटबल महासंघले छनोट खेलहरु स्थगित गरेको हो।

छनोटमा नेपालले खेल्ने २ वटा खेल स्थगित भएका छन्। नेपालले अस्ट्रेलिया चैत तेस्रो साता र चाइनिज ताइपेइसँग चैत दोस्रो साता दशरथ रंगशालामा खेल्ने खेलहरु स्थगित भएका हुन्।

दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा छ। समूहमा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्।

नेपालले आफ्नो ५ खेल खेल्दा अहिलेसम्म एक खेलमा मात्र जित निकालेको छ। नेपालले पहिलो लेगमा चाइनिज ताइपेइलाई उसैको मैदानमा २-० ले पराजित गरेको थियो। कुवेतसँग पहिलो लेगमा ७-० ले पराजित भएको नेपाल दोस्रो खेलमा १-० ले हारेको थियो। यस्तै नेपाल अस्ट्रेलियासँग पहिलो लेगमा ५-० र जोर्डनसँग ३-० ले हारिसकेको छ।

समूहमा अस्ट्रेलिया ४ खेेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा छ भने दोस्रो स्थानको कुवेतको ५ खेलबाट १० अंक छ। १० अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा छ। नेपाल ३ अंकसहित चौथो र पाँचौ स्थानको ताइपेइले अंक जोड्न सकेको छैन।

४० टिमलाई ८ समूहमा विभाजन गरिएको छनोट प्रतियोगिता भइरहेको छ। प्रत्येक टिमले दोस्रो चरणमा होम एन्ड अवे गरी एक वर्षको अवधिमा ८ खेल खेल्नेछन्।

नेपालले विश्वकप छनोट प्रतियोगिता खेल्न लागेको यो आठौं पटक हो। यसपटक फिफा वरीयताको आधारमा दोस्रो चरणमा पुगेको नेपाल सन् २०१४ को विश्वकप छनोटमा पनि दोस्रो चरणमा पुगेको थियो। पाँच वटा छनोट प्रतियोगितामा भने नेपाल समूह चरणबाटै बाहिरिएको छ।
९ वटा संस्करणको छनोटसहित नेपालले अहिलेसम्म ३५ खेल खेलिसकेको छ। ३५ मध्ये नेपालले ५ खेलमा जित र ४ खेलमा बराबरी खेलेको छ। २६ खेलमा भने नेपाल पराजित भएको छ।

मकाउलाई २ पटक र इस्ट टिमोरलाई २ पटक हराउनु नेपालको विश्वकपमा उपलब्धि हो। जारी विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेइलाई पनि २-० ले पराजित गर्दै ९ वर्षपछि जित हात पार्‍यो। अन्य टिमविरुद्धको प्रदर्शन भने नेपालको खराब छ।

३५ खेलमा ११६ गोल खाएको नेपालले २४ गोल गरेको छ। विश्वकप छनोटमा नेपालका लागि बढी गोल गर्ने खेलाडी निराजन रायमाझी हुन्। उनले एक ह्याट्रिकसहित ५ गोल गरेका थिए।

नेपालले सन् १९८६ को मेक्सिको विश्वकपदेखि छनोट खेल्न थालेको हो। नेपालले पहिलो पटक विश्वकप छनोट प्रतियोगिता खेल्दा दक्षिण कोरिया र मलेसियासँग प्रतिस्पर्धा गरेको थियो।

मार्च १९८५ मा काठमाडौंमा भएको पहिलो खेलमा कोरियाले नेपाललाई २-० गोलले हराएको थियो। कोरियाविरुद्धको दोस्रो खेल्न सिउल पुगेको नेपाल ४-० ले पराजित भयो। नेपालले मलेसियालाई घरेलु मैदानमा गोलरहित बराबरीमा रोके पनि दोस्रो खेल भने २-० ले गुमाएको थियो। यसरी पहिलो विश्वकप छनोटमा नेपाल ४ मध्ये ३ खेलमा पराजित हुँदा ११ गोल खाएर बाहिरियो।

सन् १९९० को विश्वकपका लागि भएको छनोटमा नेपाल रहेको समूहमा दक्षिण कोरिया, मलेसिया र सिंगापुर थिए। १९८९ को मे र जुनमा भएको छनोटमा नेपाललाई दक्षिण कोरियाले ४-० र ९-०, मलेसियाले ३-० र २-० र सिंगापुरले दुवै लेगमा ३-० ले हराएको थियो। सो खेलमा नेपालले ६ वटै खेल हार्दा २८ गोल खाएको थियो।

सन् १९९४ को विश्वकप छनोटमा भने नेपालले भाग लिएन।

सन् १९९८ को विश्वकपका लागि भएको छनोटमा नेपालको समूहमा एसियाको पावर हाउस जापानसहित ओमान थिए। यो विश्वकप छनोटमा पनि नेपालले जित निकाल्न सकेन। ६ मध्ये ५ खेलमा पराजित भएको नेपालले माकउविरुद्धको पहिलो खेलमा १-१ को बराबरी खेलेको थियो। बराबरीसँगै नेपालले विश्वकप छनोटमा पहिलो गोल गर्न सफल भएको थियो। ओमानको मस्कटमा भएको खेलमा नेपालका लागि खेलको २३ मिनेटमा हरि खड्काले गोल गरेका थिए। जससँगै खड्का विश्वकप छनोटमा नेपालका लागि गोल गर्ने पहिलो खेलाडी बने।

दोस्रो खेलमा भने नेपाललाई मकाउले २-१ ले हरायो। त्यतिबेला नेपाललाई जापानले पहिलो खेलमा ६-० र दोस्रो खेलमा ३-० ले पराजित गरेको थियो। यस्तै ओमानले पहिलो खेलमा १-० र दोस्रो खेलमा ६-० ले हराएको थियो। यो छनोटमा नेपालले २ गोल गर्दा १९ गोल खाएको थियो।

सन् २००२ विश्वकपका लागि छनोट २००१ को मार्चमा भयो। सुरुमा काठमाडौंमा छनोट प्रतियोगिता हुने भनिएको थियो। तर नेपालले प्रतियोगिताको आयोजनाबाट हात झिक्यो। फलस्वरुप खेल इराकको बागदादमा भयो। नेपाल समूह-६ मा परेको थियो। सो समूहमा नेपालसहित इराक, काजकिस्तान र मकाउ थिए। नेपालले काजकिस्तानविरुद्धको पहिलो खेल ६-० ले गुमाएको नेपाल दोस्रो खेलमा ४-० ले पराजित भयो। यस्तै नेपाललाई इराकले ९-१ र ४-२ गोलले पराजित गर्यो।

मकाउसँगको पहिलो खेलमा भने नेपालले जित हात पार्यो। १६ अप्रिल २००१ मा इराकको बगदादमा भएको खेलमा नेपालले मकाउलाई ४-१ गोलले पराजित गरेको थियो। यो नै नेपालले विश्वकप छनोटमा हात पारेको पहिलो जित हो। नेपालका लागि निराजन रायमाझीले १८ र ६१ मिनेटमा गोल गरेका थिए। यस्तै बसन्त थापाले ३१ र हरि खड्काले ७४ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।

मकाउविरुद्धको दोस्रो खेलमा पनि नेपालले ६-१ को जित हात पार्‍यो। नेपालका लागि निराजन रायमाझीले ह्याट्रिक गरेका थिए। उनी विश्वकप छनोटमा नेपालका लागि ह्याट्रिक गर्ने पहिलो खेलाडी बने। उनले खेलको ३८, ४९ र ५६ मिनेटमा गोल गरेका थिए। खेलमा बालगोपाल महर्जनले ५२, दिपक लामाले ६७ र बसन्त थापाले ९० मिनेटमा गोल गरेका थिए। छनोटमा नेपाल समूहमा तेस्रो भयो। तर अघिल्लो चरणमा पुग्न पर्याप्त हुन सकेन। त्यति बेला नेपालले ६ मध्ये २ खेलमा जित हात पार्दा १३ गोल गरेको थियो भने २५ गोल खाएको थियो।

सन् २००६ को विश्वकप छनोटमा भने नेपालले भाग लिएन। सन् २००३ मा भएको पहिलो चरणको छनोटमा नेपालले गुआमसँग खेल्ने तय थियो। तर नेपालले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो।

किनकी नेपाल २००३ मै भएको एसिया कप छनोट खेलमा दक्षिण कोरियासँग १६-० गोलले पराजित भएको थियो। यो हार नेपालले बेहोरेको अहिलेसम्मकै ठूलो हार हो। त्यतिबेला नेपाली टिमका स्टार खेलाडीत्रय तीन खेलाडी शुक्र तामाङ, दीपक लामा र नारायण मानन्धर कोरियामै लुकेका थिए। इतिहासकै ठूलो हार र खेलाडी पलायनले स्तब्ध नेपालले विश्वकप छनोटमा भाग लिने आँट गरेन।

नेपालले सन् २०१० विश्वकपका लागि २००७ को अक्टोबरमा छनोट खेल्यो। पहिलो चरणमा नेपालको प्रतिद्वन्द्वी मकाउ थियो। दुवै खेलमा मकाउले नेपाललाई २-० ले हरायो।

२०१४ को विश्वकपका लागि नेपालले इस्ट टिमोरसँग पहिलो चरणको छनोट खेलेको थियो। सन् २०११ जुनमा भएको छनोटका दुवै खेल काठमाडौंको दशरथ रंगशालामा भयो।

नेपालले पहिलो खेलमा इस्ट टिमोरलाई २-१ गोल अन्तरले पराजित गरेको थियो। नेपालका लागि अनिल गुरुङले १५ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्दा दोस्रो गोल जुमानु राईले ७० मिनेटमा गरेका थिए।

दोस्रो खेलमा भने नेपालले ५-० को जित हात पार्‍यो। नेपालका लागि अनिल गुरुङले चौथो मिनेटमा गोल गर्दा, भोला सिलवालले ५६, जुमानु राईले ५९, जगजित श्रेष्ठले ८९ र सुजल श्रेष्ठले ९० मिनेटमा गोल गरेका थिए। नेपाल समग्रमा ७-१ को नतिजासहित पहिलो पटक दोस्रो चरणमा पुग्यो।

दोस्रो चरणमा नेपालले बलियो प्रतिद्वन्द्वी जोर्डनसँग प्रतिस्पर्धा गरेको थियो। जोर्डनको घरेलु मैदानमा भएको पहिलो लेगमा नेपाल ९-० गोलले पराजित भएको थियो। फराकिलो हारले बिक्षिप्त नेपालले एक सातापछि घरेलु मैदानमा भएको खेलमा जोर्डनलाई १-१ गोलको बराबरीमा रोक्यो। तर समग्रमा १०-१ ले पराजित हुँदै दोस्रो चरणबाट बाहिरियो।

सन् २०१८ को विश्वकपका लागि नेपालले मार्च २०१५ मा पहिलो चरणको छनोट खेल्यो। नेपालको प्रतिद्वन्द्वी छिमेकी मुलुक भारत थियो। पहिलो खेलमा नेपालमाथि भारतले घरेलु मैदानमा २-० गोलको जित हात पारेको थियो। दशरथ रंगशालामा भएको दोस्रो लेग गोलरहित बराबरीमा सकियो। जसले नेपाल २-० ले पछि पार्दै पहिलो चरणबाटै बाहिरियो। (सेतोपाटी)

बिहीबार, चैत २७, २०७६ मा प्रकाशित 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*