शताब्दी वाङमय पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं । शताब्दी वाङमय पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आइतबार (३० असोज) निधन भएको छ ।

ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान ७:०९ बजे निधन भएको परिवारजनले जनाएका छन् ।

जोशीमा मुटु र प्रोस्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि गएको असोज ७ गते किस्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

वि.सं. १९७७ वैशाख ३० गते जन्मिएका उनी पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा बस्दै आएका थिए । संस्कृतिविद् जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुन् । उनका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।

Satyamohan Joshi 5

उनको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशित गरेको थियो । जोशी १०० वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक विदासमेत दिएको थियो । ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले जोशीलाई निःशुल्क गाडी र सुरक्षा उपलब्ध गराउने निर्णय गरेको थियो ।

२०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो । तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम र कानुनमन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइ बराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र र पाँच लाख नगदसहित शताब्दी पुरुष उपाधि प्रदान गरेका थिए ।

२०७० सालमा उनी पद्मश्री साधनाबाट सम्मानित भएका थिए । नेपाल सरकारले उनलाई २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’ मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो ।

Satyamohan Joshi 1

 

Satyamohan Joshi

उनी राष्ट्रिय समाचार समिति र चिनियाँ रेडियोमा समेत आबद्ध थिए ।

किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।

पछिल्ला वर्षमा उनका तीन नाटक देखाइएका थिए । मण्डला थिएटरले कर्णालीको लोककथामा आधारित ‘सुनकेशरी’ धेरै हप्तासम्म देखायो । थिएटर भिलेजले चारुमती, अनि शिल्पी थिएटरले प्रस्तुत गरेको महिपाः लाखे निकै चर्चामा रहे ।

प्रज्ञा प्रतिष्ठानमा सदस्य भएका बेला उनले नेपाली खस सभ्यताको व्युत्पत्ति थलो कर्णालीस्थित सिँजाखोलामा गएर अनुसन्धान थाल्ने निधो गरे । त्यहाँको भाषा, लोकजीवन, संस्कृतिलाई समाजशास्त्रीय, अर्थशास्त्रीय आँखाबाट चिहाए । कर्णार्ली विकट छ, गरिब छ भन्ने सबैलाई थाहा थियो, तर कर्णाली धनी छ भन्ने थाहा कमैलाई थियो । जोशीसहितका पाँच अनुसन्धाताको टिमले लामो समय दिएर अध्ययन गर्यो । यही अनुसन्धानको प्रतिफल २०२७ सालमा कर्णाली लोकसंस्कृति नामक पुस्तक पाँच भागमा प्रकाशित भयो ।

Satyamohan Joshi 3 Satyamohan Joshi 2

सत्यमोहनले पुरातत्व विभागको पहिलो डाइरेक्टरका रूपमा प्राचीन र मध्यकालीन नेपालका थुप्रै ऐतिहासिक सामग्री संरक्षणका लागि पहल लिएका थिए ।

सँस्कृतिकर्मीको रुपमा उनका धेरैजसो चिन्तनहरु मौलिक थिए । भूकम्प जाने बित्तिकै यो पंक्तिकार सत्यमोहनलाई भेट्न गएको थियो । भूकम्पले धरहरा ढलेकोमा धेरैको चासो थियो । मिडियाहरुमा पनि धरहराले नै प्राथमिकता पाइरहेको थियो । तर सत्यमोहनको चासो भने काष्ठमण्डपमा थियो । धरहरा भत्किएको भन्दा बढी काष्ठमण्डप भत्किएकोमा चिन्तित थिए उनी । हाम्रो मौलिक सम्पदा धरहरा होइन, काष्ठमण्डप हो भन्थे उनी । धरहरा ढल्दा धेरै मानवीय क्षति भएकोमा भने उनी दुःखी थिए ।

सत्यमोहनले रेडियो पेकिङ चीनमा छ वर्ष बिताए । नेपाली भाषामा समाचार प्रसारण गर्ने र चिनियाँलाई नेपाली भाषा सिकाउने काम गरे । चीनका केही साहित्यिक कृति नेपालीमा उल्था पनि गरे । उनले नेपाली र नेवारी भाषामा सम्पादन गरेका, संकलन गरेका र लेखेका सबै पुस्तकको संख्या जोडा ६० नाघ्छ ।

सत्यमोहनको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

Satyamoha Joshi 7

वाङ्मय शताब्दी पुरुष जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरपालिका परिसरमा पुगेका थिए ।

आइतबार किस्ट अस्पतालमा निधन भएका जोशीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा ल्याइएको थियो । प्रधानमन्त्री देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए ।

जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रियसभा सदस्य बामदेव गौतम, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यक्तित्व र सर्वसाधारण पनि पुगेका थिए ।

सत्यमोहनप्रति श्रद्धाञ्जली दिन ललितपुर महानगरको सेवा बन्द

जोशीको निधनप्रति शोक जनाउँदै र उनीप्रति श्रद्धाञ्जली दिनका लागि ललितपुर महानगरपालिकाले आइतबार सेवा बन्द गरेको थियो ।

जोशीको शवलाई श्रद्धाञ्जलीका लागि महानगरपालिकाको प्राङ्गणमा राखिएकाले महानगरबाट प्रवाह हुने सबै सेवा बन्द गरिएको सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले जानकारी दिए ।

सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक बिदा दिने

जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्ने बताए । यद्यपि सरकारले निर्णय गरिसकेको छैन ।

आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मन्त्री श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा आफूले एक दिन बिदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताए ।

‘भर्खरै मैले सम्माननीय प्रधानमन्त्रीज्यूसँग समन्वय गरें । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रस्ताव बनिसकेको छ’ उनले भने, ‘शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको निधनमा सरकारको तर्फबाट शोकको रुपमा एक दिन राष्ट्रिय बिदा दिने निर्णय भएको छ, यसको आधिकारिक सूचना सरकारी माध्यमबाट आउनेछ ।’

जन्मकुण्डली जलाएर गरियो जोशीको अन्त्येष्टि

१०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएका वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको जन्मकुण्डली जलाएर अन्त्येष्टि गरिएको थियो।

आफ्नो शव अध्ययन निम्ति किष्ट अस्पताललाई बुझाउने जोशीको अन्तिम इच्छा थियो। त्यसैअनुसार अस्पताललाई शव दान गरेपछि जोशीका जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराजले आइतबार साँझ ६ बजेर १४ मिनेटमा शंखमूलस्थित बागमती घाटमा जन्मकुण्डली जलाएर अन्त्येष्टि गरेका थिए।

Satyamohan Joshi 6

पिताको इच्छाबमोजिम शरीर अस्पताललाई दान दिएपछि सत्यमोहन जोशीको जन्मकुण्डली शंखमूलस्थित बागमती घाटमा बेलुकी ६.१४ बजे जलाउॅदै जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराज जोशी। तस्बिर स्रोत: गिरीश गिरीको ट्विटरबाट

 

जोशीका आत्मकथा लेखक गिरीश गिरीले आफ्नो ट्विटरमार्फत् अन्त्येष्टिको तस्बिर सार्वजनिक गरेका थिए।

उनका अनुसार जन्मकुण्डली जलाएपछि कागजको खरानी र जोशीका लुगाफाटा बागमती नदीमा सेलाइएका थिए। उक्त क्षण जोशीका दुई छोरा र आफू गरी तीन जना मात्र उपस्थित रहेको गिरीले उल्लेख गरेका थिए।

‘पुरानो कागज असाध्यै पक्का किसिमको भएकाले बाल्न कठिन भएको थियो,’ गिरीले ट्विटरमा लेखेका छन्, ‘खरानीलाई बागमती नदीमा सेलाइएको थियो।’

अन्त्येष्टि निम्ति जन्मकुण्डली जलाउनुअघि त्यसका प्रतिरूप निकालेर सुरक्षित राखिएको उनले लेखेका छन्।

उनले २०७७ माघ ३० गते नै ललितपुर महानगरपालिकाको रोहवरमा आफ्नो शरीर अध्ययनका लागि किष्ट अस्पताललाई दिन सम्झौता गरेका थिए।

उक्त कार्यक्रममा जोशीले भनेका थिए, ‘संस्कृतमा एउटा श्लोक छ जीवेम शरदं शतम्’ भन्ने, सोहीअनुसार पनि म १०० वर्ष त बाँचिसकेँ। यति समयसम्म मेरो फोक्सोको अवस्था कस्तो थियो? मुटुको अवस्था कस्तो छ? सबै जानकारी चिकित्सा क्षेत्रका विद्यार्थीहरूले अध्ययन गरेर पत्ता लगाऊन् भन्ने उद्देश्यले मरणोपरान्त अरू सबै संस्कार गरिसकेपछि शरीर दान गर्न लागेका हौं।’

आइतबार उनको निधन भएपछि बुवाको शरीर अस्पताल प्रशासनले के-कसरी राख्ने हो भन्नेबारे उनका छोराहरूले चिन्‍ता पनि व्यक्त गरे। अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यले आफूहरूले सत्यमोहनको शरीर संरक्षण तथा अध्ययन गर्ने ढाँचा पहिल्यै तयार पारिसकेको बताएपछि परिवार विश्वस्त भएको थियो।

अस्पतालले जोशीको शव सुरक्षित राख्न इन्जेक्सनमार्फत् नसाबाट रसायन हालेको छ। उक्त रसायन शरीरमा पसेपछि २५-३० वर्षसम्म केही नहुने अस्पतालले जनाएको छ। त्यसका लागि चिस्यान पनि चाहिँदैन।

किस्ट अस्पतालका निर्देशक बज्राचार्यले जोशीको शव संरक्षण गरेर प्रदर्शनका लागि नराखिने बताएका छन्।

‘राजनीतिक व्यक्तिको शव राखेजसरी राख्ने होइन। हाम्रो उद्देश्य भनेको उहाँको शरीर अध्ययन गर्ने हो,’ उनले भने, ‘हामीले संरक्षण गरिसकेका छौं। संग्रहालयमा राखेर अरूलाई देखाउने भन्ने होइन।’

शवलाई अस्पतालले सदाका लागि संरक्षण गरेर राख्ने पनि होइन। अध्ययन गर्नुका कारणहरू पत्ता लागेपछि दाहसंस्कार आफ्नै हिसाबले गरिने अस्पतालले जनाएको छ। ( स्रोत- विभिन्न अनलाइन समाचार पोर्टल)

आइतबार, असोज ३०, २०७९ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*