श्रीमतीको सम्झनामा सालिक

वाग्मती ।

खेतका गएकी विकमाया माझीलाई वाग्मतीको भेलले बगाएर लग्यो । विकमायाको खोजीमा दिनरात नभनी तिलकले पाइतला खियाए । कतै अत्तोपत्तो लागेन । ‘खेतमा साथै गइएको भए सायद उनलाई वाग्मतीले लैजादैन्थ्यो,’ उनको मनमा यही कुरा किलाझैं गढ्यो ।
रातहरू अनिदोमै बित्न थाल्यो । भोक, तिर्खा र निद्रा सबै मायासँगै हरायो । एक्लै टोलाएर बस्ने थाले । बेपत्ता भएको १६ औं रातमा घरनजिकै सालिक बनाएको तिलकले सपना देखे । त्यही सपनालाई तिलकले विपनामा उतारे ।

त्यो सपना छोरा, छोरीज्वाइँ र छरछिमेकलाई सुनाए । उनीहरूको सुझाव थियो, ‘पत्नीको पीरले दुब्ल्याउँदै गएका छौ । बिहान बेलुका देखिरहने र पीडा भुलाउन सालिक बनाउँदा हुन्छ । तिमी त्यहीं गएर भुल्न पनि सक्छौ ।’

तिलकले छतिवनकै दशबहादुर माझीलाई भेटे । उनलाई आफ्नो योजना सुनाए । ‘तिमीले आफ्नै घरनजिकको जग्गामा सालिक बनाए हुन्छ । बाबुलाल वाइबा कलिगढमा नामी छ,’ दानबहादुरले बाटो देखाइदिए । वाइबाको घर खोज्दै तिलक छतिवनमै गए । वाइबाले कुँदेका मूर्तिहरू घरमा मिलाएर राखेका थियो । त्यो देखेर तिलक दंग भए । ‘मेरो श्रीमतीलाई वाग्मतीले बगाएर बेपत्ता पार्‍यो । उनको अर्धकदको सालिक बनाइदिन चाहन्छु । सकिन्छ त ?’ उनले भने । वाइबाले विकमायाको फोटो मागे ।

त्यतिखेर फोटो बोकेको थिएन । घरमा आएर खोज्दा तिलकले नागरिकता बनाउँदा खिचेको पुरानो फोटो मात्रै भेटे । त्यही लगेर वाइबालाई बुझाए ।

‘बनाउन सकिन्छ । दुई तीन महिना भने समय लाग्छ,’ वाइबाले समय मागे । तिलकलाई २ महिना बिताउन निकै गार्‍हो भयो । वाइबाले भनेकै समयमा अर्धकदको सालिक तयार गरिदिए । उनलाई विकमायाको अर्धकद देख्दा आफ्नो पीडा हराउन थालेको महसुस हुन थाल्यो । सालिक त आयो । तर कहाँ र कसरी राख्ने ? उनलाई अर्को चिन्ता थपियो । सालिक राख्ने स्थान छनोट गर्न गाउँलेको भेला बोलाए । गाउँलेले नै आफ्नो जग्गामा राख्न उपयुक्त हुने सुझाव दिए । उनले आफ्नै ठाउँ वाग्मती गाउँपालिका ५, देउराली रोजे । यो जिल्लाको पूर्वी भेग हो ।

आधा कठ्ठा जमिनमा विकमायाको अर्धकदको सालिक स्थापना गरे । यसलाई सार्वजनिक स्थलको रूपमा विकसित गरे । करिब ७ लाख रुपैयाँ सकियो । ०७१ माघ १५ गते उनले अनावरण गरे । सालिक स्थलको तल्लो भागमा वाग्मती निमावि र सालिकको अघिल्लो भागमा सडक छ ।

अलिपर काभ्रोको ठूलो रूख र बाँसका झ्याङसँगै बस्ती छ । वरिपरि पार्क बनाए । सालिकलाई वरिपरि फलामले घेरिएको छ । पानीका घडाहरू राखिएका छन् । बत्ती बाल्न एक सय ८ वटा दिया छन् । सालिकको घाँटीमा ठूलो तिलहरीसहितको पोते लगाइदिएको छ । चिटिक्क परेको कपालमा काँटा लगाएदिएको छ । ‘उनीसधैं ठूलो तिलहरीसहितको पोते लगाएर हिँड्ने गदर्थिन् । कपाल चिटिक्क पारेर कोरीबाटी गरेर काँटा लगाउँथिन् । त्यही झझल्कोलाई सधैं देखियोस्जस्तो लागिरहन्थ्यो,’ उनले भने । ‘सालिक ठ्याक्कै भाउजूजस्तै छ,’ वडाध्यक्ष बुद्धिबहादुर माझीले भने, ‘तिलक दाइ दिनको एक पटक यहाँ आएर भाउजूको सालिक हेरेरमात्र काममा जाने गर्छन् ।’

घर र सालिक स्थल करिब चार सय मिटरको दूरीमा छ । ‘कम्तीमा पनि दिनको एक पटक यहाँ आएर उनको सालिक हेरेर काममा निस्कने गरेको छु,’ तिलकले भने, ‘सुरुसुरुमा सालिक देखेपछि आँखाबाट आँसु झर्थ्यो । अहिलेचाहिँ त्यस्तो हुँदैन । दिनमा एक पटक नहेरी चित्त बुझ्दैन ।’

सालिक बनेयता आमा खुवाउने औंसीका दिन गाउँका सबै माझी परिवार जम्मा भएर श्रद्धाञ्जली दिने गर्छन् । औंसीको दिन बिहान सालिकमा फूलमाला र रातो टीका लगाइदिने गरेका छन् । बेलुका एक सय ८ दीप प्रज्ज्वलन हुन्छ । बगेरी गाउँमा माझी समुदायको मात्र बस्ती छ । वाग्मती बगरमा मकै र धान खेतीको सुरुवात गर्ने अभियन्ता हुन् तिलक । २०७१ साल असोज ८ गते बिहान वाग्मतीपारिको बगरमा धानका बाला झुलिरहेका थिए ।

‘चराचुरुंगीले धान खान्छ भनेर ४५ वर्षीय विकमाया हतारिएर एक्लै वाग्मती खोला तर्न लाग्दा माथिबाट बगाएर ल्याएको मुढाले उनलाई खोलामा लडायो । अनि उनलाई बेपत्ता हुने गरी खोलाले बगाएर लग्यो,’ तिलकले गहँभरि आँसु पार्दै सम्झिए । चार दिनसम्म गाउँका मानिस गएर वाग्मती खोलामा उनको खोजी गरियो । फेला पार्न सकेनौं । वाग्मती खोला तर्दा माझी दम्पतीसगै हुन्थ्यो । त्यो दिन राँगालाई भ्याक्सिन दिन पशुसेवा कार्यालय प्राविधिक घरमा आउने भएकाले तिलक उनीसँगै जान पाएनन् । जुन दिन उनी एक्लै गएकी त्यही दिन उनलाई बगाएर बेपत्ता पार्‍यो ।

‘उनीहरू परेवाको जोडीजस्तै थिए,’ स्थानीयवासी मंगलसिंह माझीले भने, ‘छिटै विछोड हुनु रहेछ । त्यसै भएर होला यस्तो मिलेको जोडी गाउँमा कसैको थिएन ।’ श्रीमती मरेपछि काजकिरिया गर्न नसकिँदै अधिकांश लोग्ने मानिसले अर्को विवाह गर्ने गर्छन् । श्रीमतीलाई वाग्मती खोलाले बेपत्ता पार्दाको अवस्थामा तिलक ४८ वर्ष टेकेका थिए । ‘तर उनले अर्को विवाह गर्न चाहेनन्,’ स्थानीय शिक्षक दलबहादुर लामाले भने, ‘पत्नीलाई उनले सधैं अमर बनाउने काम गरे, तिलक दाइको यो अनुकरणीय कर्म हो ।’ ५ वर्षअघि पत्नीको मृत्यु भएको १० दिन बित्न नपाउँदै बगेरीका एक अधबैंसेले विवाह गरेका थिए । त्यतातिर कल्पना नै गरेनन् तिलकले ।

काभ्रेको डाँडागाउँ गाविस जगथलीकी विकमायालाई तिलकले २०४५ सालमा मागी विवाह गरेका हुन् । ‘विवाह गरेदेखि एक दिन ठाकठुक्क परेन,’ तिलकले भने, ‘मीठो मसिनो पकाएको दिन उनको भागको मैले एक टुक्रा मासु होस् वा माछा खानै पर्थ्यो ।’

५ वटा छोराछोरीका बाबु तिलकले छोरा र विवाह गरेकी छोरीलाई अंश दिएका छन् । २०५१ सालदेखि तिलक वाग्मती बगरमा हिउँद महिनामा मकै र धान खेती गर्दै आएका छन् । बगरको खेतीबाट उनले बर्सेनि १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन् । सुरुसुरुमा बगरमा मकै खेती गर्दा सबैले उनलाई जिस्काउने गरेका थिए । अहिले सबैले वाग्मती बगरमा मकै र धान खेती गर्छन् ।

‘उनी गाउँका अगुवा मान्छे हुन्’, वडाध्यक्ष माझीले भने । हेटौंडाबाट करिब ४५ किलोमिटरको दूरीमा वाग्मतीको बगेरी देउराली पर्छ । कच्ची मोटरबाटो छ । पानी परेपछिसवारीसाधनहरू आवतजावत गर्न समस्या छ । – प्रताप विष्ट/कान्तिपुरबाट

शुक्रबार, वैशाख २०, २०७६ मा प्रकाशित 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*