सकियो १३औं साग, १४औं दुई वर्षपछि पाकिस्तानमा

खेल संवाददाता

काठमाडौं । राजधानी उपत्यका, पोखरा र जनकपुरमा गरी दस दिन चलेर १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दशरथ रंगशालामा मंगलबार समापन भएको छ।

नेपाल र भूटानबीच पुरुष फुटबलको फाइनल भएपछि आयोजित भव्य समारोहमा उपप्रधान तथा रक्षा मन्त्री र्इश्वर पोखरेलले १३‍औं साग समापन भएको घोषणा गरेका थिए।

त्यसअघि सातै देशका खेलाडीहरुले मार्च पास गरेका थिए। नेपालको तर्फबाट पौडीमा एक्लै ऐतिहासिक चार पदक जितेकी गौरिका सिंहले झण्डा बोकेकी थिइन्।

समापन समारोहको अन्त्यमा नेपालले १४औं सागको आयोजनाका लागि पाकिस्तानलाई सागको झण्डा हस्तान्तरण गरेको थियो। अब पाकिस्तानले दुई वर्ष पछि १४औं साग आयोजना गर्नेछ।

Saag 13th- closing-ceremony

औपचारिक कार्यक्रमपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सांस्कृतिक प्रस्तुती दिएका थिए। यस्तै विद्यार्थीले पनि नेपालका विभिन्न राष्ट्रिय गीतको धुनमा नृत्य प्रस्तुत गरेका थिए।

यस्तै ड्रोनबाट लाइटको साहराले आकासमा नेपालको झण्डा,नक्सा बनाएर पनि देखाइएको थियो । त्यसका लागि आकासमा एकै पटक १५० भन्दा बढी ड्रोन उडाइएको थियो।

१० दिनसम्म काठमाडौं, पोखरा र जनकपुरमा २६ खेलमा सात सार्क राष्ट्रका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।

यस १३औं सागमा समग्रमा भारतले सबैभन्दा बढी १७४ स्वर्ण, ९३ रजत र ४५ कास्य गरी कुल ३१२ पदक जित्यो र पदक तालिकामा पहिलो स्थान हासिल गर्यो।

नेपाल पदक तालिकाको दोस्रो स्थानमा रह्यो। नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी कुल २०६ पदक जित्यो।

तेस्रो स्थानको श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ कास्य गरी कुल २५१ पदक हात पार्यो।

चौथो स्थानको पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ कास्य गरी कुल १३१ पदक हात पार्‍यो।

पाँचौ स्थानको बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कास्य गरी कुल १३८ पदक जित्यो। माल्दिभ्सले १ स्वर्ण र ४ कास्य गरी ५ पदक हात पार्‍यो गर्दै छैटौं हुँदा स्वर्ण पदकविहीन भुटान ७ रजत र १३ कास्य गरी २० पदकका साथ पुछारमा रह्यो।

SAAG-2019_Closing-Ceremony

स्मरणीय छ, दुईपटक मिति सारिसकिएको साग तेस्रोपटक घोषित मितिमा सम्पन्न हुन सक्नेमा अन्योल थियो । नियमित कार्यतालिकाअनुसार १३ औं साग सन् २०१८ मै नेपालले आयोजना गर्नुपर्नेमा भूकम्पपछिको पुननिर्माणले गति लिन नसक्दा सम्भव भएन र २०१९ को मार्चमा गर्न मिति तोकियो ।

तर, सो मितिमा पनि सम्भव नभएपछि १–१० डिसेम्बरका लागि सारिएको थियो । यो मितिमा पनि साग हुन नसक्ने आधारहरु प्रशस्त थिए । अन्तिम समयसम्म पनि पूर्वाधारहरु लठिबज्र अवस्थामा थिए । व्यवस्थापकीय तयारी पनि सुस्त थियो । अभ्यासमा जुटिरहेका खेलाडी नै साग हुनेमा अन्तिम समयसम्म विश्वस्त थिएनन् ।

पूर्वाधारतर्फ तीनवटा प्रमुख चिन्ता थिए । एउटा दशरथ रंगशाला, दोस्रो पोखरा रंगशाला र तेस्रो सातदोबाटो पौडी पोखरी । उद्घाटनको दुई दिनअघिसम्म दशरथ रंगशालाको प्याराफिटमा छानो हालिएको थिएन । तीन दिन अगाडिसम्म पौडी पोखरीमा पानी थिएन । पोखरा रंगशालाको अवस्था उस्तै थियो । यस्तोमा धेरैले आशंका गरेका थिए, कतै सागले नेपालको अन्तर्राष्ट्रिय बेइज्जत गराउने होइन रु

तर ‘नेपाली शैली’ अनुसार अन्तिम समयमा जिम्मेवार व्यक्ति र निकायहरुले जुझारुपन देखाए । हतार–हतार काम भयो । भाग्यले पनि साथ दियो भनौं, हतारको काम लतरपतर भएन ।

७२ सालको भूकम्पले भत्काएका दशरथ रंगशाला र पोखरा रंगशालाको पुनर्निर्माण चित्तबुझ्दो भएको छ । खेलकुदमन्त्री जगत विश्वकर्मा आफैं दशरथ रंगशालामा अहोरात्र खटिएका थिए ।

झण्डै मन्त्री पद गुमाएका विश्वकर्मालाई सम्भवतः यही खटाईले जोगायो । र, सागको आयोजना पश्चात उनले यसको यथोचित जस पाउने नै छन् ।

यसैगरी, पौडीपोखरी पनि अन्तर्राष्ट्रियस्तरको बनेको छ । नेपालकी कीर्तिमानी पौडिवाज गौरिका सिंहले यो पौडी पोखरी आफूले बेलायतकै स्तरको पाएको भन्दै प्रशंसा गरेकी छन् । यसअघि नेपालमा हिटिङ सिस्टमसहितको पौडी पोखरी नै थिएन ।

जारी १३औं सागमा अन्तिम दिन मंगलबार दिउँसो भुटानविरूद्धको फुटबलमा नेपालले स्वर्ण जितेपछि स्वर्णको संख्या ५० कटेको हो। आजै ६० केजी तौलको बक्सिङ फाइनलमा नेपालका सनिल शाहीले भारतका वरिन्दर सिंहलाई हराएर स्वर्ण जितेका थिए।

Sanil Shahi 13th saag box

सागको ३५ वर्षे इतिहासमा नेपालले स्वर्णमा अर्धशतक कटाएको यो पहिलो पटक हो। सन् १९९९मा नेपालमै भएको भएको सागमा नेपालले ३१ स्वर्ण जितेको थियो।

 कसले कसले जिते स्वर्ण–

कराते
मण्डेकाजी श्रेष्ठले ( व्यक्तिगत काता पुरुष
निर्मला तामाङ, संगिता मगर र सरु कार्की – महिला टिम काता
मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविण कार्की – पुरुष टिम काता
लक्ष्मण तामाङ – ५५ केजी समूह फाइट
विप्लवलाल श्रेष्ठ – ८४ केजी माथि फाइट
कुसुम श्रेष्ठ – ४५ केजी फाइट
अनु अधिकारी – ५५ केजी फाइट
नविन रसाइली – ६७ केजी फाइट
सुनिता महर्जन – ६८ केजी फाइट
अनुपमा मगर– ६८ केजी फाइट

तेक्वान्दो
सिना मादेन लिम्बू – पुम्से महिला १७-२३ वर्ष
कमल श्रेष्ठ – पुम्से पुरुष २४-२९ वर्ष
पार्वती गुरुङ – पुम्से महिला २४-२९ वर्ष
आयशा शाक्य– पुम्से महिला २९ वर्ष माथि
आयशा शाक्य र सञ्जिवकुमार ओझा – पुम्से जोडी २९ वर्षमाथि
निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना – पुम्से महिला टिम १७-२३ वर्ष
निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई – पुम्से महिला टिम २३ वर्षमाथि
काजल श्रेष्ठ– ४६ केजी फाइट
वीरबहादुर महरा – ६८ केजी फाइट
संगिता बस्याल – ६२ केजी फाइट
सक्षम कार्की – ८७ केजीमाथि फाइट
भूपेन श्रेष्ठ– ८७ केजी मुनि फाइट

ट्रायथलन
सोनी गुरुङ
हिमाल टमाटा

उसु
विजय सिञ्जाली – थाउलो छानछ्वान
सुस्मिता तामाङ– थाउलो छानछ्वान
दीपक हमाल– ‍थाउलो नानछ्वान अलराउन्ड
निमा घर्तिमगर – ‍थाउलो नानछ्वान अलराउन्ड
जुनी राई – सान्सौ ५६ केजी फाइट

एथ्लेटिक्स
सन्तोषी श्रेष्ठ – १० हजार मिटर दौड
गोपीचन्द्र पार्की – ५ हजार मिटर दौड
किरणसिंह बोगटी – म्याराथन

साइक्लिङ
राजेश मगर – डाउनहिल
निस्मा श्रेष्ठ – डाउनहिल
लक्ष्मी मगर– क्रस-कन्ट्री
बुद्धिबहादुर तामाङ – क्रस-कन्ट्री

पौडी
गौरिका सिंह – २ सय मिटर फ्री स्टाइल
गौरिका सिंह – २ सय मिटर ब्याकस्ट्रोक
गौरिका सिंह – ४ सय मिटर फ्री स्टाइल
गौरिका सिंह – सय मिटर फ्री स्टाइल

भारोत्तोलन
सञ्जु चौधरीले – ५९ केजी
विकास थापा – ८९ केजी

गल्फ
सुवास तामाङ– व्यक्तिगत
शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवास तामाङ र निरज तामाङ – टिम स्पर्धा

कुस्ती
संगीता धामी – ५५ केजी

जुडो
देविका खड्का– ५२ केजी
पुनम श्रेष्ठ – ७८ केजी

बक्सिङ
मिनु गुरुङ – ५४ केजी
भूपेन्द्र थापामगर – ६४ केजी

सनिल शाही (६० केजी

फुटबल

पुरूष फुटबल टोली

…………………………….

मंगलबार, मंसिर २४, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*