‘सबैभन्दा बृद्ध’ चिम्पान्जीको जन्मोत्सव

नयाँ दिल्ली, २९ मङसिर ।

भारतको राजधानीमा रहेको एउटा चिडियाखानाको ‘सबैभन्दा बृद्ध’ चिम्पान्जीको जन्मोत्सव मनाइएको छ ।

रीता नामको चिम्पान्जी यही डिसेम्बर १५ देखि ५८ बर्ष लागेको र उनी नै सबैभन्दा बृद्ध भएको चिडियाखानाले जनाएको छ ।

दिल्ली चिडियाखानामा राखिएकी उनको जन्मोत्सव समारोहमा केक, फलफुल र मह खुवाइएको थियो ।

जन्मोत्सव मनाउनका लागि विद्यालयका बालबालिकाहरुलाई पनि बोलाइएको चिडियाखानाका निर्देशक रेनु सिंहले बताइन् ।

यो चिडियाखानामा यसरी जन्मोत्सव मनाइएको पहिलो पटक होइन । यसै बर्षको जुलाईमा विजय नामक सेतो बाघको दशौं जन्मोत्सव मनाइएको थियो ।

रीता नामक चिम्पान्जी सन् १९६४ मा नेदरल्याण्डमा जन्मेकी हुन् । उनलाई चार बर्षको उमेरमा भारत ल्याइएको थियोे ।

उनले धेरै समय दिल्ली चिडियाखानामा बिताएकी छन् । चिम्पान्जीको औसत आयु ४० वर्ष भए पनि त्योभन्दा धेरै लामो उमेरसम्म उनी बाँचेकी हुन् । (एजेन्सी)

शुक्रबार, मंसिर २९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*