सम्झनाको क्षितिजमा ढाका

यात्रा–संस्मरण/जयदेव गौतम

त्यो बेला म ढाकामा थिएँ ।

अर्थात्, दक्षिण एशियाको सबैभन्दा कान्छो मुलुक बंगलादेशको राजधानीमा ।

ढाका आफैंमा धेरै लामो इतिहास बोकेको शहर हो, जसले आफूलाई आधुनिकताका नयाँ लहरहरूसँग हातेमालो गर्दै अगाडि बढाउन कुनै कसर बाँकी राखेको छैन । त्यो बंगभूमि जो आगन्तुक गैर–बंगलादेशीहरूको स्वागत गर्न मानौं हरपल, हरसमय मृदु मुस्कानसहित अँगालो फैलाएर बसिरहेको प्रतीत हुन्छ ।

अहिले सन् २०२१ हामीसित हातेमालो गर्दै अगाडि बढिरहेको छ । यो त्यस्तै करीब दुई दशक पहिलेको कुरा हो । आफुसित रहेको त्यो बेलाको डायरी–टिपोट कतै ‘मिसप्लेस’ भएकोले त्यो क्षणलाई म सम्झनाको क्षितिजबाट चियाउन विवश छु । आखिर सम्झनाहरू न हुन्– धुमिल हुन सक्छन्, तर हत्पत्ति हराइ त जाँदैनन् नि !

ढाका नटेकेको भए पनि त्यससित म परिचित थिएँ– इतिहासका पुस्तक, बलिउडका हिन्दी सिनेमा, काजी नजरूल इस्लामका कविता, विद्रोही अनि विवादास्पद महिला लेखक तसलिमा नसरिनका किताब, नेपाल–भारत–बंगलादेश भएर बग्ने हिमाली नदीहरूको पानीको सन्तुलित बाँडफाँडसम्बन्धी विवाद; जुट, गार्मेन्ट र छालाका सामान उत्पादनमा विश्वमै कहलिएको र केवल ५० वर्ष उमेर पुगेको एउटा सिङ्गो राष्ट्र जसमा निर्वाचित सरकारलाई अपदस्थ गरी लामो समय सैनिक शासन चलाइएका प्रसङ्गहरूले ।

अनि परिचित थिएँ शेख हसिना र खालेदा जिया दुई जनाको रूपमा, प्रधानमन्त्री पनि महिला र प्रमुख प्रतिपक्षी नेता पनि महिला नै भएको– विश्वकै एक मात्र देश भएकोले ।

चट्टग्राम वा कक्स बजारभन्दा निकै फरक ढाका शहर बादल चुम्ने आप्mना बग्रेल्ती भवनहरूका लागि प्रसिद्ध छ । त्यहाँका कालोपत्रे सडक र सधैं भइरहने सडकजामभन्दा त्यहाँ गुड्ने रिक्सा र भाडावाल टेम्पोहरूको निस्सासिंदो उपस्थितिले अझ चर्चामा आइरहने गरेको हो, ढाका शहर ।

ढाका मलाई स्वागत गरिरहेको थियो, म त्यहीं थिएँ, डाउनटाउन ढाकामा– कतै केही खोजिरहेको जस्तो, कतै केही हेर्दै त्यसै त्यसै टोलाइरहेको जस्तो । म त्यहीं थिएँ, रुचि भए पनि त्यो बेला देशाटन मेरो कार्यक्रममा थिएन ।

JDG Photo new

—– जयदेव गौतम

खासमा म त्यहाँ एउटा खेलकुद कार्यक्रम ‘बंगबन्धु अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता’ को समाचार संकलन गर्न खटिएको थिएँ । प्रतियोगितामा सहभागी हुन त्यहाँ पुगेको नेपाली टोली जता–जता जान्थ्यो, समाचारको लागि पछ्याउँदै हिंड्नु मेरो कार्यमूलक बाध्यता थियो ।

प्रतियोगिताको आयोजक बंगलादेश फुटबल संघ रहे पनि त्यसको आयोजना खर्चका लागि सबै रकम बंगलादेश सरकारले विनियोजन गरेको थियो । किनभने, जसको नाममा प्रतियोगिता हुँदैथियो, उनी– अर्थात्, शेख मुजिबर रहमान– बंगलादेशका संस्थापक हुन् र सारा बंगवासी उनलाई राष्ट्रपिताको आँखाले हेर्ने गर्छन् । शेख मुजिबर कुनै बेला पराधीन भारतमा अङ्ग्रेज उपनिवेशवाद विरुद्ध लडेका थिए, जेल पनि परेका थिए । त्यसताका उनी पाकिस्तानका संस्थापक मोहम्मद अलि जिन्नाले नेतृत्व गर्ने मुस्लिम लिगका सदस्य थिए । अविभाजित भारतमा जिन्नाले नै सर्वप्रथम मुसलमानहरूका लागि अलग राज्य ‘पाकिस्तान’ को माग अगाडि सारेका थिए ।

१५ अगस्त १९४७ मा भारतले अङ्ग्रेज साम्राज्यवादबाट स्वतन्त्रता पायो । त्यसको अघिल्लो राति, अर्थात् अगस्त १४ गते, भारतलाई विभाजन गरी एक नयाँ राष्ट्रको रूपमा पाकिस्तानको उदय भएको थियो ।

शेख मुजिबर पनि पाकिस्तानको पक्षमा थिए तर उनले के थाहा पाए भने पन्जाबी मुसलमानहरूको बसोबास धेरै रहेको पश्चिमी पाकिस्तानले बंगाली मुसलमानहरू धेरै भएको पूर्वी पाकिस्तानलाई धेरै हेप्ने र शोषण गर्ने गर्छन् । पाकिस्तान सरकारले उर्दू भाषालाई राष्ट्रिय भाषा घोषणा गर्दै बंगाली भाषालाई पूर्ण उपेक्षा गरेको मुजिबरलाई पटक्कै मन परेको थिएन । यस्तै यस्तै क्रममा पूर्वी पाकिस्तानका बंगाली मुसलमानको समर्थन गरेको र कराँची सरकारका नीतिहरूको आलोचना गरेको आरोपमा उनलाई धेरै वर्षसम्म बन्दी पनि बनाइयो ।

पछि समस्याको समाधानका निम्ति सन् १९७१ मार्च २४ मा शेख मुजिबर र पाकिस्तानका तत्कालीन सैनिक शासक जनरल याहिया खाँबीच वार्ता भयो । तर, त्यो निष्कर्षविहीन भयोे । पूर्वी पाकिस्तानीहरूमा डर र सन्त्रासको सनसनी व्याप्त भयो । कुनै अज्ञात भयको आशंकाले वातावरण बोझिल बनेको थियो । नभन्दै भोलिपल्ट, अर्थात् मार्च २५ तारिख, राति अचानक ढाकावासी ब्युँझे । ट्याङ्क र बख्तरबन्द गाडीमा सवार पाकिस्तानी सेनाले निशस्त्र बंगालीहरूमाथि अचानक युद्धको बिगुल फुकेका थिए ।

हत्या, लूटपाट, आगजनी, बलात्कार, घृणा र नृशंसताका सारा अध्याय पटकपटक लेखिए । त्यसको प्रतिरोधमा ‘बंगलादेश मुक्ति युद्ध’ पनि अगाडि बढ्यो । ‘मुक्तियोद्धा’हरूले २६ मार्चमा बंगलादेश स्वतन्त्र भएको एकतर्फी घोषणा गरे । पछि, इन्दिरा गान्धी प्रधानमन्त्रीत्वको भारत सरकारले बंगालीहरूको सहयोगमा हात बढायो ।

तेस्रोपटक भारत र पाकिस्तानबीच घमासान लडाईं भयो । झन्डै एकलाखभन्दा बढी पाकिस्तानी सैनिकले १६ डिसेम्बरमा भारतसमक्ष आत्मसमर्पण गरेपछि भारतको विजयसँगै त्यो युद्ध समाप्त भयो । त्यही वर्ष डिसेम्बरदेखि विश्व मानचित्रमा ‘बंगलादेश’ को नामले एउटा नयाँ राष्ट्र उदय भयो ।

मेरी बास्सै ! इतिहासको एउटा लघु कालखण्ड नै मानौं मेरा आँखा सामु आइदियो । वर्तमानको चश्मा पहिरेर भूतकालको सम्झना गर्नुमा पनि शायद आफ्नै किसिमको रोमाञ्च हुन्छ । मलाई करीब चालीस वर्ष पहिले बितिसकेको समयले आफुतिर बोलाएको थियो र म अनायासै त्यसतिर तानिएको थिएँ । म झसङ्ग हुन्छु र फेरि वर्तमानमा फर्किन्छु ।

नेपाली फुटबल टोलीका प्रमुख प्रशिक्षक एकजना अङ्ग्रेज थिए– स्टिफन कोन्सटान्टिन । उनी– अनुशासनप्रिय, कठोर र आफूले भनेको सम्बन्धित सबैले मान्नुपर्छ भन्ने सोचाइका थिए । उनको त्यो आग्रहलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्ण स्वीकार गरेको थियो । उनी खेलाडीलाई माया पनि गर्थे र राम्रो खेल्न सधैं प्रेरित पनि गरिहन्थे । थप के थियो भने उनलाई सघाउन सहायक प्रशिक्षकको रूपमा थिए, महेश्वर मुल्मी ।

मुल्मीलाई नेपाली फुटबलप्रेमीहरू एकहदसम्म ‘लक्की कोच’ पनि मान्छन् । त्यसको कारण छ । नेपाली फुटबलले पछिल्लो पटक, अर्थात् त्यसबेलासम्म, पाएको सबैभन्दा ठूलो सफलता सन् १९९३ मा त्यही ढाकामा भएको छैटौं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा थियो ।

त्यतिबेला नेपालले सिङ्गो प्रतियोगितामा केवल एउटै मात्र स्वर्ण पदक जितेको थियो । र, त्यो पदक फुटबलमा प्राप्त भएको थियो । त्यसबेला नेपाली टोलीका प्रशिक्षक धनबहादुर बस्नेत भए पनि सहायक थिए उनै महेश्वर मुल्मी । उनी कतिपय घरेलु क्लब फुटबलमा पनि बेलाबेला ‘भाग्यमानी’ कहलिंदै आएका छन् ।

तर यसपटक ‘बंगबन्धु अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता’ मा भने उनी भाग्यमानी साबित भएनन्, किनभने नेपालले आफूले खेलेका तीनवटा खेलमा पालैपालो पराजय व्यहोर्नु पर्‍यो । अझ, प्रशिक्षक स्टिफनको पहलमा एउटा मैत्रीपूर्ण म्याच पनि खेलिएको थियो, त्यसमा पनि पराजय नै व्यहोर्नु पर्‍यो । उल्लेखनीय के थियो भने रंगशालामा उपस्थित दर्शकले नेपाली टोलीलाई निकै माया र सम्मान दिएका थिए, नेपाली टोलीको पक्षमा हुटिङ गरेका थिए ।

म पत्रकार दीर्घामा अन्य बंगाली पत्रकारहरूसितै बसेर खेल हेरिरहेको थिएँ । उनीहरू मसित नेपाली टोलीको खेलबारे कुरा गरिरहन्थे र बंगालीमै भन्थे– ‘नेपालेर खेल अत्यन्त भालो, किन्तु लोक फेभोर करो ना… ।’ (नेपालको खेल निकै राम्रो थियो, तर भाग्यले तिम्रो टोलीलाई साथ दिएन) ।

मेरो बंगाली भाषा राम्रो नै त होइन तर अलि धेरै बुझ्ने र अलिअलि बोल्न पनि सक्ने हुँदा टुटेफुटेको बंगालीमै म पनि थपिदिन्थें– ‘आप्नार भालो बोल्छेन् । किन्तु बोन्धु, लोक बडो जिनिस नाइँ, जदि आप्नार विजय चाहि, तो गोल करी चाहि । मुख्खो प्वाइन्ट होच्छे– गोल ।’ (तपाईंले राम्रो कुरा भन्नुभयो । तर साथी, भाग्य मात्र ठूलो कुरा होइन । तपाईं जित्न चाहनुहुन्छ भने तपाईंको टीमले गोल गर्नैपर्छ । फुटबलमा मुख्य कुरा भनेकै गोल हो ।) मेरो नेपाली लबजको रैथाने बंगाली सुनेर उनीहरू रमाइलो मान्थे र मुसुमुसु हाँस्थे ।

बंगालीहरू पत्रकारलाई ‘संवादिक’ भन्छन् । मसँगै त्यहाँ भएकामध्ये कुनै पनि ‘संवादिक मोशाय’ अहिलेसम्म नेपाल आएका रहेनछन् । म तिनताका ‘कान्तिपुर’ राष्ट्रिय दैनिकमा थिएँ । पत्रिकाको उल्लेख गर्दै अब हुने कुनै पनि क्षेत्रीयस्तरको प्र्रतियोगितामा नेपाल आउन उनीहरूलाई निम्तो दिएँ ।

मलाई बंगालीहरूको फुटबल क्रेज थाहा थियो । खासगरी केही समय कलकत्ता छँदा र त्यसबाहेक पनि पढेर कलकत्ताका फुटबल क्लबहरू मोहन बगान, इष्ट बंगाल र मोहम्मडन स्पोर्टिङ आदिबारे सुने–जानेको थिएँ । कतिपय नेपाली फुटबल खेलाडी आकर्षक रकम पाएर ती क्लबबाट खेलेको पनि थाहा थियो । बंगलादेशको रहमतगन्ज क्लब त अनेक पटक नेपालमा आएर खेली पनि सकेको छ । गणेश थापा, राजु शाक्य, मणि शाह, बालगोपाल महर्जनसमेत अनेक नेपाली खेलाडी बंगलादेश आएर स्थानीय क्लबका लागि खेलेका छन् । खासगरी लामो कपाल पाल्न रुचाउने र ‘थ्रो’ गर्दा धेरै टाढासम्म फाल्ने गर्दा पनि होला, राजु शाक्यलाई धेरैले सम्झँदा रहेछन् ।

बंगलादेशका फुटबलप्रेमीहरूलाई चिन्ता पनि उत्तिकै रहेछ । त्यहाँ पनि दक्षिण एशियाका अन्य देश जस्तै क्रिकेट खेलप्रतिको उत्साह निकै बढेर गएको रहेछ । दर्शकहरू फुटबलभन्दा क्रिकेटतिर तानिन थालेका रहेछन् । दक्षिण एशियामा फुटबल वा अन्य कुनै खेलभन्दा क्रिकेटमा धेरै बढी पैसा र प्रायोजकहरू छन्, ग्ल्यामर पनि त्यत्तिकै छ । त्यहाँ क्रिकेटको आँधीले फुटबललाई कुन हदसम्म थचार्ने हो भन्ने चिन्ता बढेको रहेछ ।

एकजना प्रहरी थिए, नेपाली टोलीको सुरक्षामा खटाइएको सुरक्षा समूहको नाइके– शायद सईस्तरको । उनको नाम मोहम्मद रोसुल हो जस्तो लाग्छ । बंगबन्धु कप फुटबल प्रतियोगितामा सहभागी हुन आएका सबै टोलीलाई उच्चस्तरीय सुरक्षा प्रदान गरिएको थियो । ढाकाको ‘डाउनटाउन’ क्षेत्रमा अवस्थित पाँचतारे होटल शेराटनमा बसोबासको व्यवस्था थियो । होटलबाट मैदान र मैदानबाट होटल आवतजावत गर्दा उच्च सुरक्षासहित स्कर्टिङ हुन्थ्यो । स्कर्टिङमा हिंड्दा आफु ठूलै भीआईपी पो हो कि भन्ने महसूस भइरहन्थ्यो !

त प्रसङ्ग थियो त्यो एकजना सईको । लगभग सबैजना बंगाली लबजको हिन्दीमा कुरा गर्थे । उनी लागे–पुगेसम्म बंगाली र हिन्दी बोल्दैनथे, अंग्रेजी बोल्न खोजिरहन्थे । अवसर मिल्ने बित्तिकै उनी मेरो नजिक आएर बंगाली लबजको अंग्रेजी बोल्न शुरु गरिहाल्थे । अनेक कुरा सोधिरहन्थ्यो । शायद, विदेशबाट आएको पत्रकार पक्कै पनि अंग्रेजी बोल्छ भन्ने उसको लख थियो । उनी भन्थे, ‘मलाई तपाईंसित बोलेर आफ्नो अंग्रेजी सुधार्नु छ, किनभने अचेल बंगाली र हिन्दीको होइन, अंग्रेजीको जल्दोबल्दो मार्केट छ ।’

फुर्सदको समय मिलेमा म केही अन्य एन्फा पदाधिकारीसित बाहिर निस्कन्थें । एक साँझ हामी बसेको होटलभन्दा बाहिरतिर थियौं । अचानक दुई तीनजना मान्छे आए र नाकको दाहिने प्वालतिर हात राखेर भन्न थाले, ‘सर, चाहिन्छ ?’ बुझ्न धेरै समय लागेन, उनीहरूले हामीलाई यौन पर्यटनका लागि खुल्ला निम्तो गरिरहेका थिए । हाम्रो टोलीका एकजनालाई रमाइलो गर्न मन लागेछ, सोधे, ‘कति पर्छ ?’ निम्तो गर्नेमध्ये एक जनाले भन्यो, ‘तीन हजार टाका । अनि सर रातभरि पनि राख्न पाइन्छ तर त्यसको रेट पाँच हजार टाका ।’

त्यो दलाल टोली हामीसित कुरा गरेर दङ्ग पर्दै थियो, लागेको होला शायद यिनीहरूलाई मैले फसाएँ ! त्यत्तिकैमा अलिपर केही प्रहरी देखा परे । हाम्रा तिनै साथीले प्रहरीलाई डाके र ती दलालहरूले जबर्जस्ती हामीलाई ‘केटी भिडाउन खोजेको’ गुनासो गरे । प्रहरीले हाम्रो कुरा सुनेपछि ती दलालहरूलाई हप्काउँदै त्यहाँबाट धपायो ।

उखरमाउलो गर्मी हुने ठाउँ हो ढाका । संसारमै सबैभन्दा बाक्लो जनघनत्व र ‘ओभरक्राउडेड’ शहरमध्ये एक ढाकाका धेरैजसो दर्शनीय संरचनाहरू ब्रिटिश उपनिवेशकालकै देन हुन् । बंगलादेशको अभ्युदयपछि थप आधुनिकता र बंगाली वैशिष्ट्य थपिएका हुन् । तर आश्चर्य लाग्ने एउटा तथ्य के देखिन्छ भने ढाकाका फराकिला व्यस्त सडकमा अक्सर लामा–लामा जाम हुन्छ । अझ त्यसमा पनि ट्राफिक लाइटमा परेर रोकिनुपर्छ, खोइ कताबाट एक हूल मगन्ते सिल्टेको भाँडो नचाउँदै गाडीको छेउमा आइपुग्छन् । ती माग्नेहरूमा बालबालिका र महिला बढी देखिन्छन् । शायद त्यही भएर होला, ढाकामा गुड्ने गाडीका झ्यालहरू अक्सर बन्दै देखिन्छन् । आजभोलि यस्तो दृश्य काठमाडौंमै पनि देखिन थालिसकेको छ ।

‘शिव श्रेष्ठ चिन्छौ ?’ कुनै बंगवासीले सोधेको थियो । पहिले त आश्चर्य लागेको थियो, कसरी उनीहरूले नेपाली सिनेमाका एक स्थापित नायकलाई चिनेका रहेछन् ! खासमा तिनताका र त्यसअघिका वर्षहरूमा नेपाल–बंगलादेश संयुक्त लगानीमा केही फिल्म बनेका थिए । दुवै भाषा, अर्थात् नेपाली र बंगालीमा बनेका ती फिल्ममा शिव श्रेष्ठ, अरू केही नेपालीका साथै बंगलादेशी कलाकारले अभिनय गरेका हुन्थे । त्यसकारण अरूभन्दा शिव श्रेष्ठ बंगलादेशी दर्शकमाझ बढी प्रिय रहेछन् । ढाकाबाट करीब एक घन्टाको ड्राइभमा त्यहाँको चर्चित ‘शहीद स्मारक पार्क’ थियो । ठूलो इच्छा भए पनि त्यो ठाउँसम्म पुग्न पाइएन । त्यसरी केही खास ठाउँ घुम्न नपाए पनि हाम्रो टोलीका साथीहरूले किनमेल चाहिं धक फुकाएरै गरे । टोलीका एकजना सदस्य लालबहादुर भन्दैथिए, ‘अब लालेले कहिल्यै कपडा किन्न पर्दैन । उसले जीवनभरिलाई पुग्ने कपडा किन्यो ।’

अन्ततः प्रतियोगिताको अवधि सकियो । शायद कुनै अफ्रिकी टोलीले उपाधि जित्यो । अब सबैको घर फर्किने दिन आयो । त्योभन्दा एक दिन पहिले सहभागी सबैको सम्मानमा बिदाइ भोज थियो । नेपाली टोलीको प्रशिक्षक स्टिफनलाई मसित किन रिस उठेछ कुन्नि, उनले एउटा अत्तो थापेछन् हाम्रो टोली नेता अमिर घर्तीसित– ‘भोजमा हामी दुवैजना जान मिल्दैन । या त त्यो पत्रकार जान्छ, अथवा म ।’ किन यो बेमौसमको राग ? सबैजना छक्क परे तर उसले केही कारण भनेन । स्वाभाविक थियो, म एन्फाले लगेको ‘मिडिया पर्सन’भन्दा मुख्य प्रशिक्षकले प्राथमिकता पाउनै पर्ने हुन्थ्यो, र उनले पाए पनि ।

धेरैपछि बुझ्दा पो थाहा भयो सबै कारण– नेपाली टोलीले खेलेको मैत्रीपूर्ण खेलको बेला तालमेलपूर्ण खेल नखेलेको भन्दै स्टिफनले हरि खड्का, बालगोपाल महर्जन, अनन्त थापासमेत अनेक खेलाडीलाई नराम्ररी गाली गर्दै निर्देशन गरिरहेका थिए । प्रशिक्षकले खेलाडीलाई त्यसरी गाली गरेको प्रसङ्ग मेरा लागि नयाँ र अपाच्य थियो । त्यही कुरा मैले टोली नेता अमिरसित ‘सेयर’ गरेको थिएँ । भरे, मैदानबाट फर्केका स्टिफनसित अमिरले ‘खेलाडीहरूलाई निकै गाली गर्ने गरी कराउनुपर्‍यो रे नि’ भनेर कुराकानी गरेछन् । त्यसपछि पो स्टिफन सन्केका रहेछन्– एक त चार खेलमा लगातार हार, त्यसमाथि यस्तो कुराकटाइ । अनि त के चाहियो र !

घर फर्किने दिन थियो । ढाकाको बंगबन्धु अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘विमान बाङ्गलादेश’ले काठमाडौं लैजाने तर्खर गर्दैथियो । विमानस्थलमै आफैं अघि सरें र स्टिफनसित कुराकानी गरें । उनको रिस अझै मरेको रहेनछ । अमिरले मैले भनेको भन्दा अलि बढी नै कुरा गरेका रहेछन्, केही अङ्ग्रेजी भाषागत समस्या पनि परेको रहेछ अनि पो असमझदारी सिर्जना भएको रहेछ । उनले चित्त दुखाएकोमा मैले स्टिफनसित दुःख व्यक्त गरें । सबै कुरा सबैसँग गर्नुहुँदैन रहेछ भन्ने पाठ पनि मैले त्यही प्रसङ्गबाट सिकें ।

हामीलाई गर्भमा राखेर विमानले ढाकाको जमिन छोड्यो र माथि, झन्झन् माथि, उड्न थाल्यो । केही घन्टामै विमान काठमाडौंको आकाशमा पुगिसक्यो । तर संयोगवश काठमाडौंको मौसम निकै खराब थियो, सबैतिर कुहिरो मात्र । एक घन्टा जति विमान आकाशमा यताउता कावा खाँदै रह्यो । तर धेरै बेरसम्म पनि ‘भिजिबिलिटी’ राम्रो हुन नसकेपछि फेरि ढाका फर्कियो । त्यो राति हामीलाई एउटा तीनतारे होटलमा राखियो । हामी त्यहाँ बसेको बारे बंगलादेश फुटबल संघलाई जानकारी भयो, तुरुन्त केही पदाधिकारी हामीलाई भेट्न त्यहाँ आइपुगे ।

फेरि भोलि भयो । मौसम सफा थियो । माथि आकाशमा घाम हाँसिरहेको थियो, चराचुरुङ्गी फुर्फुर गरिरहेका थिए, टाढा नदीहरूमा एकनास पानी बगिरहेको थियो । सडकमा मानिसहरूको कोलाहल बढ्दो थियो । जीवनका अनेक बान्कीहरू दैनिक बँचाइको आपाधापीमा रंगमगिन थालेका थिए । फेरि एकपटक ढाकाबाट हामीलाई बोकेर विमान बाङ्लादेशले पखेटा फट्फटायो । यसपटक भने काठमाडौंको मौसम स्वच्छ र सफा थियो । विमानले काठमाडौंको रनवे छुनेबित्तिकै एकजना खेलाडी चिच्याए, ‘पशुपतिनाथकी…जय !’ खेलाडी मात्र होइन अरू सबै यात्रु नेपालीले पनि समवेत स्वर निकाले ।

अनायास मलाई आफ्नो मनमा उठिरहेको भाव बाहिर वातावरणमा तरंगिए जस्तो महसुस भयो, धीत मरुन्जेल घुम्न नपाई मेरो ढाका यात्रा सकिएको थियो तर जे जति घुमियो र देखियो, त्यो आफैंमा के कम थियो र ?

शनिबार, वैशाख १८, २०७८ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*