साग खेलकुदमा नेपालको स्वर्ण पदक सय पुग्यो

खेल संवाददाता

काठमाडौं । हाल राजधानी काठमाडौं समेत अन्य तीन सहरमा जारी १३औं साग खेलकुद प्रतियोगिताको तेस्रो दिनको खेल जारी रहँदा नेपालले आफ्नो समग्र पदक संख्या १०० पुर्याएको छ ।

बुधबार मंसिर १८ गते तेक्वानदोको ८७ केजी माथिको तौल समूहमा ग्यारोगी (फाइट) तर्फ नेपालका सक्षम कार्कीले पाकिस्तानका वकार अलीलाई पराजित गर्दै फाइनल जितेसँगै नेपाललाई जारी संस्करणको २९औं र समग्रमा आफ्नो सयौं स्वर्ण  पदक प्राप्त भएको हो ।

काठमाडौंमा ३५ वर्षअघि भएको पहिलो सागमा म्याराथन धावक बैकुण्ठ मानन्धरले नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए।

नेपाललाई यसरी साग खेलकुदमा १०० स्वर्ण पदक जित्न प्रतियोगिताकका १३ संस्करण कुर्नु पर्यो । प्रतियोगिताको पहिलो संस्करण सन् १९८४ मा काठमाडौं मै भएको थियो । पहिलो संस्करणमा दक्षिण एसियाली खेलकुद महासंघ (साफ) खेलकुदको नामबाट अगाडि बढेको यो प्रतियोगिताले सन् २००४ मा पाकिस्तानमा भएको नवौं संस्करणबाट साग खेलकुदको नयाँ पहिचान बनाएको हो ।

पहिलो सात संस्करणमा नेपालले १५ वटा स्वर्ण पदक मात्र जित्न सकेको थियो। १९९९ मा काठमाडौंमा भएको सागको आठौं संस्करणमा नेपालले एउटै संस्करणमा सर्वाधिक ३१ स्वर्ण जितेको थियो। त्यसयताको ४ संस्करणमा नेपालले २५ स्वर्ण जितेको थियो।

जारी सागमा नेपालले मंगलबारसम्म २३ स्वर्ण जितिसकेको थियो र १ सय स्वर्णको आँकडालाई छुन ६ स्वर्ण बाँकी थियो। बुधबार करातेमा अनुपमा महर्जन, उसुमा दीपक हमाल, तेक्वान्दोमा संगिता बस्याल र सक्षम तथा साइक्लिङमा राजेश मगर र निष्मा श्रेष्ठले सफलता हात पारेपछि नेपालको साग इतिहासमा स्वर्ण संख्या १ सय पुगेको हो।

नेपालले साग तेस्रो पटक आयोजना गरिरहेको छ, त्यसमा ६१ स्वर्ण नेपालले घरेलु मैदानमा जितेको छ।

भारतले १३ औं साग सुरु हुनुअघि नै १ हजार ८८ स्वर्ण जितिसकेको छ। २०१६ मा गुवहाटी र सिलोङमा भएको पछिल्लो सागमा भारतले घरेलु मैदानको फाइदा उठाउँदै अहिलेसम्मकै सबैभन्दा बढी १ सय ८८ स्वर्ण जितेको थियो। १३ औं साग सुरु हुनुअघि पाकिस्तानले २ सय ६७, श्रीलंकाले २ सय १२, बंगलादेशले ६७ भुटानले २ स्वर्ण जितेको छ। माल्दिभ्सले अझै स्वर्ण जित्न सकेको छैन।

नेपालबाट तेक्वान्दोका दीपक विष्टले लगातार चार स्वर्ण जितेका छन्। त्यस्तै बैकुण्ठ मानन्धर र आयशा शाक्यको नाममा समान ३ स्वर्ण रहेको छ। आयशाले २ रजत र बैकुण्ठले १ कास्य पदक पनि जितेका छन्।

त्यस्तै दुई-दुई  स्वर्ण जित्नेमा स्व. दलबहादुर रानामगर (बक्सिङ), राजुकाजी शाक्य र उमेश प्रधान (फुटबल), दीपक श्रेष्ठ (कराते), संगिना वैद्य (तेक्वान्दो), रेनुका मगर (तेक्वान्दो) र मण्डेकाजी श्रेष्ठ (कराते) छन्। मण्डेकाजीले जारी सागमा दुई जितेका हुन्। एक-एक स्वर्ण जित्नेमा बक्सिङका प्रकाश थापामगर र रामचन्द्र थापामगर तथा तेक्वान्दोका निर्मल र निरञ्जन श्रेष्ठ सहोदर दाजु भाइ हुन्।

एक सय स्वर्णमा नेपालले मार्शलआर्टबाट मात्रै ७७ स्वर्ण जितेको छ। त्यसमा तेक्वान्दोले सबैभन्दा बढी ३५, करातेले ३०, उसुले ८ र जुडोले ४ स्वर्ण नेपाललाई दिएका छन्।

 
बुधबार, १८ मंसिर २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*