साग पौडीमा नेपाललाई पहिलो एकल स्वर्ण

पाँचौं दिन (बिहीबार) नेपालको स्वर्ण पदक सङ्ख्या ३६

काठमाडौं । राजधानी काठमाडैं समेत देशका विभिन्न सहरमा आयोजना भइरहेको १३औं दक्षिण एसियाली खेलकद (साग) को पाँचौं दिन बिहीबार आयोजक राष्ट्र नेपालका लागि उल्लेखनीय रहृयो । यो दिन साग खेलकुदको इतिहासमा एकै संस्करणमा सर्वाधिकदेखि विभिन्न विधामा पहिलो पटक स्वर्णको कीर्तिमान कायम भएको छ ।

पाँचौ दिनको समाप्तिमा नेपालले ३६ स्वर्ण जितिसकेको छ जसमध्ये ७ स्वर्ण बिहीबार मात्र जितेको हो । र, थपिएको ७ मध्ये पाँच त चेलीहरुले मात्रै जितेका छन् । त्यसमा पनि तीन स्वर्ण ऐतिहासिक महत्वका छन् ।

यसअघि सन् १९९९ मा आफैंले आयोजना गरेको आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।

यस क्रममा बिहीबार पौडीकी गौरिका सिंह, उसुकी नीमा घर्ती मगर र भारोत्तोलनकी सञ्जु चौधरीले इतिहास रचेका छन् ।

गौरिका सिंहले दुई सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जित्दै पौडीको व्यक्तिगत विधामा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेकी छन्।

उनले उक्त दूरी २ मिनेट ०५:०६ सेकेन्डमा पूरा गरेकी हुन्।

 

Gourika Singh

यसअघि नेपालले आठौँ सागमा टिम इभेन्ट्स स्वर्ण जितेकी थिइन्। स्वर्ण पदक जित्ने उक्त टोलीका खेलाडीहरू नयना शाक्य, रुना प्रधान, रुबिना प्रधान र स्तुति सिंह हुन्।

चार गुणा एक सय मिटरको मिड्ले रिलेबाट प्राप्त भएको उक्त स्वर्णमा खासमा नेपाली टोली तेस्रो स्थान हात पारेको थियो।

तर पहिलो र दोस्रो स्थान हात पारेको दुवै टोली अयोग्य भएपछि नेपाल भाग्यमानी बन्दै स्वर्ण पाएको थियो।

तर गौरिकाको हकमा त्यस्तो भएन। लन्डनमा कडा मेहनत गरेर नेपाल आएकी उनले सबै प्रतिद्वन्द्वीलाई उछिनेर स्वर्ण जितिन्।

तेह्र वर्षको उमेरमा ओलिम्पिक खेलेर चर्चा बटुलेकी गौरिकाले भारतको गुवाहटीमा भएको १२ औँ सागमा पनि २०० मिटर मिड्लेमा रजत पदक जितेकी थिइन्।

दुई सय मिटर ब्रेस्ट स्ट्रोकमा दुवाना लामाले रजत पदक जितेकी छिन्।

भारोत्तोलनमा इतिहास

सञ्जु चौधरीले ५९ केजी तौल समुहमा स्वर्ण पदक जितेपछि महिला भारोत्तोलनमा अर्को इतिहास रचेकी छिन्।

उनले कुल स्न्याच तर्फ ७४ केजी र क्लिन एण्ड जर्कमा ९७ केजी सहित कुल १ सय ७१ केजीको भार उठाएपछि उनि भारोत्तोलनमा स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्।

sanju-wightliftin

सागमा भारोत्तोलनबाट नेपालको यो दोस्रो स्वर्ण हो भने सञ्जु भारोत्तोलनबाट सागमा स्वर्ण जित्ने पहिलो महिला बनेकी छन् । श्रीलंकामा २००६ मा भएको १०औं सागमा कमल बहादुर अधिकारीले भारोत्तोलनमा स्वर्ण जितेका थिए ।

तेक्वान्दो र उसुमा थप एक स्वर्ण, साइक्लिङमा दुई स्वर्ण

बिहीवार भएको तेक्वान्दोको ग्यारोगीतर्फ ८७ केजीमुनि तौल समूहमा नेपालका भुपेन श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेका छन्।

फाइनलमा उनले भारतका अक्षय होडालाई २९.२६ स्कोरले पराजित गरेका हुन्।

आशा गरिएकी भेट्रान खेलाडी मनिता शाही भने फाइनलमा रोकिन पुगिन्।

 

Tkd 13th saag aa Tkd 13th saag

उसुमा सान्सौं तर्फ जुनी राईले स्वर्ण जितेकी हुन्। ५६ केजी तौल समुहको फाइनलमा उनले श्रीलंकाकी मधुमालीलाई २-० ले हराएर स्वर्ण जितेकी हुन्।

क्रस-कन्ट्री साइक्लिङको पुरुषतर्फको स्पर्धामा नेपालले सबै पदक जितेपछि नेपालको स्वर्ण पदक सङ्ख्या ३२ पुगेको हो। सबैभन्दा पछिल्लो स्वर्ण पदक बुद्धिबहादुर तामाङले क्रस-कन्ट्री साइक्लिङमा जितेका हुन्।

यसअघि क्रस-कन्ट्री साइक्लिङको महिलातर्फ लक्ष्मी मगरले स्वर्ण पदक जितेकी थिइन्। नेपालकै उषा खनालले उक्त विधामा रजत पदक जितिन्।
निमा घर्तीमगरको दोस्रो स्वर्ण

निमा घर्तीमगर लगातार दुईवटा दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण जित्ने पहिलो उसु खेलाडी बनेकी छन् । उसुको थाउलोअन्तर्गत नान्दौमा बिहीवार उनले बङ्ग्लादेशकी मोर्जिना अख्तरलाई पराजित गरेकी हुन्।

घर्तीमगरले भारतमा भएको १२औँ सागमा पनि उसुमा स्वर्ण जितेकी थिइन्।

उनले १८.१९ अङ्क प्राप्त गरिन् भने अख्तरले १६.३ अङ्क जोडिन्। श्रीलङ्काकी सञ्जु कुमारीले कांस्य पदक जितिन्।

आफ्नै भूमिमा, त्यो पनि आमाबुवासामू स्वर्ण जित्दा खुसी देखिएकी निमा भारतीय खेलाडी नआएकोमा भने खिन्न देखिइन् । ‘भारत आएको भए अझ प्रतिस्पर्धा हुन्थ्यो र स्तर जाँच्न पाइन्थ्यो’ उनले भनिन् ।

Nima Ghartimagar

उसुमै नेपालले सान्डा इभेन्टतर्फ अर्को स्वर्ण थप्यो । सान्सौको महिला ५६ केजी जुनी राईले श्रीलंकाली खेलाडीलाई हराउँदै स्वर्ण जितिन् ।

बिहीबार उसुमा १७ स्वर्णका लागि भएको प्रतिस्पर्धामा भारतले सर्वाधिक ११ जितेको छ भने नेपाल, पाकिस्तान र श्रीलंकाले पनि २-२ स्वर्ण जित्यो ।

नीमा घर्ती मगरले १३औं दक्षिण एसियाली खेलकुदमा बिहीबार स्वर्णका लागि प्रतिस्पर्धा गर्दा उनका आमा-बुवा दर्शकदीर्घामा थिए ।

लगातार दुई सागमा स्वर्ण जितेपछि नीमाले आफूले पाएको सफलताको श्रेय प्रशिक्षकसँगै अभिभावकलाई दिइन् । ‘सफलताको श्रेय अभिभावकलाई दिन चाहन्छु किनकी उहाँहरूले मलाई कहिल्यै (खेल्न) रोक्नुभएन,’ उनले भनिन् ।

पदक वितरण समारोह भयो, निमाले स्वर्ण पदक लिइन् । राष्ट्रिय झण्डा ओढेकी निमा आमा-बुबा भएको ठाउँमा पुगिन् । र, आफ्नो गलाबाट स्वर्ण पदक झिकेर आमालाई लगाइदिइन् ।

त्यो क्षण नीमा घर्ती मगर निकै भावुक बनिन् । पत्नीकै छेउमै उभिरहेका बुवा मनसुर घर्ती मगर भने हाँसिरहे ।

नीमाका आमा-बुवा दुवैले छोरीले पाएको सफलतामा आफूहरु निकै खुसी रहेको प्रतिक्रिया दिए ।

पिकअप चलाउने बुबा मनसुर बालकुमारीबाट हिँडेर लगनखेलस्थित नेपाली सेनाको प्रशिक्षण तालिम केन्द्रसम्म पुगेका थिए भने आमा मुना घर्ती मगर छोरासँग स्कुटी चढेर ।

परिवारका अरु सदस्यहरुलाई लिएर आएका उनीहरु छोरीले पाएको सफलतामा खुसी देखिन्थे । ‘राष्ट्रले जुन लक्ष्य लिएको थियो, त्यसलाई सफल बनाउन मेरो नानीले सहयोग गरेकोमा बाबु आमालाई खुसी लागेको छ’ मनसुरले हाँस्दै भने ।

१३ औं सागमा पाँचौं दिन (बिहीबार) सम्म नेपालका लागि स्वर्ण पदक विजेताहरु :

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल

२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की

३०. उसु (थाउलो-नान्दौ) – निमा घर्तीमगर

३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ

३२. साइक्लिङ (क्रस कन्ट्री)-बुद्धिबहादुर तामाङ

३३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह

३४. तेक्वान्दो (८७ केजी) – भुपेन श्रेष्ठ

३५.. भारोत्तोलन (५९ केजी) – सन्जु चौधरी

३६. उसु (सान्सो ५६ केजी) – जुनी राई

(* बोल्डमा आज जितेका स्वर्ण पदक)

बिहीबार, मंसिर १९, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*