सिक्कामा वाङ्मय शताब्दी पुरुष सत्यमोहनको तस्बिर

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको तस्बिर अंकित सिक्का सार्वजनिक भएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको चित्रांकित तीन थरी सिक्का  मंगलबार सार्वजनिक गरे।

शताब्दी पुरुष जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक टक्सार विभागले उनको तस्बिर अंकित सिक्का निष्काशन गरेको हो।

ललितपुर महानगरको आग्रहमा राष्ट्र बैंकले रु १०० का १० हजार थान र चाँदीबाट बनेका १००० का २५ हजार थान सिक्का निष्कासन गरेको हो। त्यसैगरी २५ सयको सिक्का १० हजार थान निष्कासन भएका छन्।

रु दुई हजार पाँच सय र रु एक हजारका सिक्का पूर्णरुपमा चाँदीद्वारा तथा रु एक सयको सिक्का चाँदी र तामालगायत अन्य वस्तुको मिश्रणबाट निर्माण भएको बताइएको छ ।

Satyamohan Joshi Sikka

 

ललितपुर महानगरपालिकाले मंगलबार जोशीको जन्मोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्रीले उक्त सिक्का लोकार्पण गर्दै नेपालका १० कार्यकालका गभर्नर पाइसकेका जोशीजस्ता व्यक्तिलाई सम्मान गर्न पाउनु देशको ठूलो अहोभाग्य भएको र सिक्का पूरै ललितपुरको स्मरण गराउने एक विशेष माध्यम बन्ने बताए ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य पम्फा भुसालले उक्त सिक्कालाई आगामी पुस्ताले अध्ययन र अवलोकन गर्न पाउने भएकामा खुशी व्यक्त गरे । महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जोशीको चित्रांकित उक्त सिक्का रु दुई हजार पाँच सयका २५ हजार थान, रु एक हजारका २५ हजार थान र रु एक सयको १० हजार थान नेपाल राष्ट्र बैँक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट छापिएकोे जानकारी दिए ।

“वाङ्मय शताब्दी पुरुष जोशी जीवित इतिहास भएकाले उहाँको सिक्कालाई स्मारिकास्वरुप सदैव कदर गरी राख्नेछौँ”, महर्जनले भने, “उक्त तीन थरिका सिक्कालाई तुरुन्तै नेपालभर प्रचारप्रसार गर्ने लक्ष्य महानगरपालिकाको छ ।”

महानगरपालिकाले ती सिक्कालाई सर्वसाधारणको हातमा सजिलै पुर्‍याउन महानगर-३ का वडाध्यक्ष श्रीगोपाल महर्जनको संयोजकत्वमा एक सदस्यीय टोली गठन गरी वितरण गर्ने भएको छ । सो अवसरमा जोशीका नाममा एक अक्षय कोष स्थापना, हुलाक टिकट प्रकाशन, सडक नामकरणलगायत जोशीद्वारा लिखित ‘सेतो चैत्य’ पुस्तक अङ्ग्रेजीमा तथा ‘चारुमती’ र ‘कात्तिक नाच’ पुस्तक नेपालीमा प्रकाशन गरिने जानकारी दिइएको छ । -रासस

मंगलबार, भदौ २४, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*