स्थानीय शासन प्रक्रियामा महिलाहरूको नेतृत्व र प्रतिनिधित्व सबलीकरणको माग गर्दै राष्ट्रिय सम्मेलन सम्पन्न

 

‘विश्वको आधा आधा हिस्सा : स्थानीय शासन प्रक्रियामा महिलाहरूको नेतृत्व र प्रतिनिधित्व सबलीकरण  सम्बन्धी राष्ट्रिय सम्मेलन’ विभिन्न १४ बुँदे प्रतिबद्धता जारी गर्दै सकिएको छ । २०७४ बैसाख ७ र ८ गते काठमाडौंको अन्नपूर्ण होटलमा सम्पन्न उक्त सम्मेलनमा ७५ जिल्लाबाटै विभिन्न राजनीतिक दल सम्बद्ध महिला, विभिन्न संघ संस्था मार्फत सामाजिक आन्दोलनमा क्रियाशील अभियन्ता र पत्रकारहरू तथा सरकारी प्रतिनिधि गरी ३ सयभन्दा बढी महिला पुरुषहरूको सक्रिय सहभागिता रहेको थियो । सम्मेलन नेपालस्थित संयुक्त राष्ट्रसंघीय निकाय, निर्वाचन आयोग र स्थानीय चुनावमा महिला सहभागिताका लागि साझा अभियानको संयुक्त आयोजनामा भएको थियो ।

प्रमुख अतिथी सम्माननीय सभामुख ओनसरी घर्ती मगरले उद्घाटन गर्नुभएको उक्त सम्मेलनको उद्घाटन समारोहमा निर्वाचन आयोगका सचिव गोपिनाथ मैनाली, साझा अभियानका संयोजक दुर्गा घिमिरे, अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष प्रतिभा राणा, संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधी भ्यालेरी जुलिल्याण्ड, प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादव र सभामुखले मन्तव्य राख्नुभएको थियो । दुइ दिनभरी अलग अलग सत्रमा धेरै जना वक्ताहरूले स्थानीय निर्वाचनका विभिन्न पक्षहरूमा आफना भनाई राख्नुभयो भने सहभागीहरूले सक्रियतापूर्वक प्रश्न सोध्ने, जिज्ञासा राख्ने र आफना अनुभवहरू साटासाट गर्नुभयो । छलफलका क्रममा सहभागीहरूबाट मूलतः केही आशंका र प्रश्नहरू बारम्बार उठेका थिए । जस्तोः संवैधानिक कानुनी व्यवस्था तथा तिनको मनशाय जेसुकै भए पनि अहिलेका राजनीतिक दलहरू महिलालाई स्थानीय तहको प्रमुखअध्यक्ष वा मेयरमा नउठाई उपप्रमुखमा मात्र उम्मेदवार बनाउन चाहन्छन्, महिलालाई हार्ने स्थानमा मात्र उम्मेदवारी दिइन्छ, उम्मेदवार बन्न इच्छुक महिलालाई उनीसँग चुनावमा खर्च गर्न चाहिने आर्थिक रकम अन्य क्षमता छैन भनेर निरुत्साहित गरिन्छ, पार्टिभित्र लामो समयसम्म योगदान गरेका महिलालाई नभै नातावाद चाकरी गर्ने महिलालाई उम्मेदवारीको मौका दिइन्छ, उम्मेदवार चयन गर्दा महिलाभित्र समावेशी बनाउन ध्यान दिइदैन जस्ता विषयहरू सहभागीले आ–आफना व्यक्तिगत अनुभवको व्याख्या गर्दै धेरैपटक उठाएका थिए । निर्वाचनपूर्व र निर्वाचन अवधीमा महिला उम्मेदवारहरूले अपनाउनुपर्ने व्यवहारिक रणनीतिका सम्बन्धमा पनि व्यापक छलफल भएको थियो ।

सहभागीहरूले जाहेर गरेका प्रतिबद्धतालाई समेट्दै सम्मेलनको अन्त्यमा १४ बुँदे प्रतिबद्धता जारी गरिएको छ । ती प्रतिबद्धताहरू निम्नानुसार छन् ।

१. स्थानीय तहको निर्वाचनमा महिलालाई उम्मेदवार बनाउन र जिताउन आफ्नो क्षेत्रबाट सहयोग गर्न पूर्ण प्रतिबद्ध छौ ।

२. दलित महिलाहरूको सीट सुनिश्चित गर्दै, आदिवासी जनजाति, मुस्लिम मधेसी, सीमान्तकृत,अपाङ्गता भएका र लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका महिलालाई जिताउन हाम्रो पूर्ण सहयोग रहनेछ ।

३. निर्वाचनमा हुन सक्ने हिंसालाई नियन्त्रण गर्दै महिला उम्मेदवार र मतदाताको सुरक्षा दिन दिलाउन हामी प्रतिबद्ध छौं ।

४. निर्वाचनलाई महिलामैत्री बनाउन तथा मतदातालाई भोटको महत्व बुझाउन हामी र हाम्रो निकाय लाग्नेछ ।

५. महिला उम्मेदवारहरूलाई उनीहरूका कुरा राख्न हामी आवद्ध संचारमाध्यममा बढी भन्दा बढी ठाउँ दिनेछौं । महिला नै जिताउनुपर्छ भन्ने सन्देश दिने गरी सूचना सामग्री सम्पे्रषण गर्न हामी प्रतिवद्ध छौं ।

६. चुनावका बेला महिला उम्मेदवारलाई आवश्यक सहजीकरण गर्न र स्थानीय तहमा आउने महिला नेतृत्वको क्षमता विकासमा सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्दछौं ।

७. महिला सशक्तिकरण र समावेशीमूलक समाज निर्माणका लागि हामी प्रतिबद्ध छौं । हाम्रो परिवार र हाम्रा साथी सहकर्मीमार्फत पनि पहल गर्नेछौं ।

८. महिला उम्मेदवारहरूको राजनीतिक जीवन र संघर्षलाई सामाजिक संजालहरूमार्फत पनि सार्वजनिक गर्दै महिला उम्मेदवार जिताउने मेरो अभियानमा साथ दिन अरुलाई पनि प्रतिबद्ध गराउने छौं ।

९. ‘एक घरः महिला उम्मेदवारलाई एक भोट’अभियान चलाउँदै हामी भोट महिला उम्मेदवारलाई दिन प्रतिबद्ध छौं ।

१०. गर्भवती तथा सुत्केरी, अपांगता भएका महिला एवं जेष्ठ नागरिकलाई भोट दिलाउन सहज सूचना प्रवाह गर्नेछौं भने मतदानस्थलमा पनि सहज व्यवस्था गर्नेछौं ।

११. यो ऐतिहासिक निर्वाचन भएकाले महिला उम्मेदवारलाई जिताउन राजनीतिक दलभन्दा माथि उठेर सहकार्य गर्न हामी प्रतिबद्ध छौ ।

१२. महिलालाई जिताउन नागरिक समाज, सञ्चार माध्यमबीच सहकार्य गर्न साझा संयन्त्र बनाएर अगाडी बढ्न हामी प्रतिवद्ध छौं ।

१३. स्थानिय चुनावपछि पनि समानुपातिक समावेसी सहभागिताका लागि निरन्तर वकालत गर्नेछौं ।

१४. निर्वाचन आचारसंहिताको पालना गर्न र गराउन हामी प्रतिबद्ध छौ । चुनावका बेला मनोवैज्ञानिक हिंसामा परेका, दवाव, अभाव र प्रभावमा रहेका महिला उम्मेदवारका पक्षमा वकालत गर्नेछौं ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*