२०१८ मा विश्वको ध्यान तानेका प्रमुख समाचार

 कोरियाली प्रायाद्विपको विवादले लियो सकारात्मक मोड 

 

फेब्रुअरी  ९ मा दक्षिण कोरियाको पियोङच्याङमा शितकालीन ओलम्पिक खेल सुरु भयो । खेलमा दक्षिण कोरियाले उत्तर कोरियाका खेलाडीसँग संयुक्त रुपमा खेलमा सहभागी हुने प्रस्ताव राख्यो, जसलाई उत्तर कोरियाले स्वीकार गर्यो ।

त्यसपछि बढेको उत्तर र दक्षिण कोरियाबीचको भेटघाट र वार्ताले सकारात्मक परिणाम दिदैं अप्रिल २७ मा किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति किम जाए–इनबीच कोरियालाई छुट्टाउने स्थानमा भेट भयो । उक्त भेटमा किम जोङ उनले दुई कोरियालाई छुट्टयाउने डिमिलिटराइज जोन नाघेर दक्षिण कोरियामा प्रवेश गरे । सन् १९५३ मा दुई कोरियाको विभाजनपछि पहिलो पटक उत्तर कोरियाली नेताले दक्षिणको भूमिमा टेकेका थिए ।

भेटवार्तामा दुई जनाले भेटलाई दिगो शान्तिको प्रस्थान बिन्दू बनाउने बाचा गरे । सन् १९५० देखि १९५३ सम्म दुई कोरियाबीच भीषण युद्ध भएको थियो । यस युद्धको अन्त्यमा एकीकृत कोरिया टुक्रिएर उत्तर र दक्षिण कोरिया बनेको थियो । उक्त समयमा दुई कोरियाबीच युद्धबिराममात्रै गरिएको, तर युद्ध समाप्तीको कुनै घोषणा गरिएको थिएन ।

यसैले अहिले पनि दुई कोरिया प्राविधिक रुपमा युद्धको अवस्थामा छन् । किम र मूनबीचको भेटले जून १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको भेटको लागि बाटो खोल्यो । सिंगापुरको भेट अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको ऐतिहासिक पहिलो भेट वार्ता थियो । दुई नेताले कोरियाली प्रायद्विपमा दिगो शान्तितर्फ अघि बढ्ने प्रतिबद्धता जनाए ।

एक वर्षअघि मात्र युद्धको धम्की दिइरहेका अमेरिका र कोरियाली नेताको भेटले कोरियाली संकटमा वार्ता मात्र सुरु गराएन, त्यो क्षेत्रमा दिगो शान्तिको आशा समेत गरिन थालिएको छ ।

विश्वविख्यात वैज्ञानिक स्टिफन हकिङको निधन

यो वर्ष विश्वविख्यात वैज्ञानिक स्टिफन हकिङको निधन भयो । हकिङको मार्च ४ मा ७६ वर्षको उमेरमा निधन भयो । हकिङको जन्म सन् १९४२ जनवरी ८ मा अक्सफोर्ड (ब्रिटेन) मा भएको थियो । उनले ‘ब्ल्याक होल’ र रिलेटिभिटी (सापेक्षता) को क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका छन् । उनको किताब ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ ले भौतिक विज्ञानको जटिल विषयहरुलाई आम मानिसहरुले बुझ्न सकिने बनाएको छ ।

सी जिनपिङलाई जीवनकालभर शासन गर्ने बाटो खुल्यो


मार्च ११ मा चिनियाँ सरकारले एक संवैधानिक परिवर्तन पारित गर्यो, जसबाट अब त्यहाँ राष्ट्रपतिको कार्यकालमा रहेको सीमा हटाइएको छ । यसअघि त्यहाँ राष्ट्रपतिले दुई कार्यकाल मात्र शासन गर्न पाउने व्यवस्था थियो । यो व्यवस्थासँगै अब वर्तमान राष्ट्रपति सी जिनपिङले जीवनकालभर शासन गर्न पाउने बाटो खुलेको छ । यो संवैधानिक परिवर्तनसँगै चीनमा अब सी जिनपिङ माओपछिका शक्तिशाली नेता भएका छन् ।

इरानी आणविक सम्झौताबाट अमेरिका बाहिरियो, इरानमाथि प्रतिबन्ध पुनःसुचारु

मे ८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानी आणविक सम्झौताबाट बाहिरिने आफ्नो मनसायको घोषणा गरे । उनको सोही घोषणा अनुरुपनै अक्टोबर २ देखि लागू हुनेगरी इरानविरुद्ध नयाँ प्रतिबन्ध लागू भयो ।

सन् २०१५ मा अमेरिकाको नेतृत्वमा अन्य विश्वशक्ति राष्ट्रहरू चीन, रूस, बेलायत, जर्मनी र फ्रान्सको समेत सहभागितामा इरानले लिएको आणविक लक्ष्य त्याग्ने र त्यसबापत उनीबिरूद्ध लगाइएका प्रतिबन्धहरु क्रमैसँग फुकुवा गर्ने सम्झौता भएको थियो । उक्त सम्झौतालाई इरानी आणविक सम्झौता नाम दिइएको थियो । तर डोनाल्ड ट्रम्प राष्ट्रपति भइसकेपछि उनले अमेरिकालाई उक्त सम्झौताबाट बाहिर निकालेर इरानमाथि पहिलेको भन्दा पनि कडा खालको प्रतिबन्ध लगाउने भनेका छन् ।

ट्रम्पले इरानले मध्यपूर्व क्षेत्रमा अस्थिरता तथा हिंसा सिर्जना गर्न सघाएकाले उसलाई छुट दिइन नहुने बताउँदै आएका छन् । तर आलोचकहरुले यस प्रतिबन्धमा मध्यपूर्व क्षेत्रमा अमेरिकाको पुरानो सहयात्री साउदी अरबको दबाबमा परेर अमेरिकाले उक्त कदम चालेको आरोप लगाएका छन् । साउदी अरब र इरान उक्त क्षेत्रका क्षेत्रीय प्रतिद्वन्दी हुन् ।

अमेरिकाको कदमपछि सम्झौतामा सहभागी बाँकी विश्वशक्तिले उक्त सम्झौतालाई कायम राख्ने वाचा गर्दै काम गरिरहेका छन् ।

थाईल्याण्डको एक गुफामा फसेका १२ किशोर प्रेरणादायी उद्दार अभियान


जुन २३ छिमेकी गाँउमा फुटबल खेल्न गएका १२ किशोर र तिनका २५ वर्षे कोच खेल सकिएर फर्किदा बाटोमा पर्ने एक गुफामा पसे । उनीहरु गुफामा रहेको बेला बाहिर ठूलो वर्षा भयो । वर्षालगत्तै गुफाभित्र भल पसेपछि उनीहरु झन् गुफाभित्र जानुपर्यो ।

उनीहरु गुफामा पसेको कुरा गुफा बाहिर रहेको उनीहरुको साइकल र अन्य सरसमानले गर्दा आशंका गरिएको थियो । भोलिपल्टनै उनीहरुको उद्धारको लागि गएको टिमले गुफामा पानीको स्तर बढेपछि फर्किनुपरेको थियो । जुन २५ मा किशोरहरुको हातको छाप भित्तामा पाइएपछि थाइल्याण्डको सेनाले पानी बाहिर निकाल्ने पम्प जडान गर्यो । त्यसको दुई पछाडि खोज अभियानमा संलग्नहरुको संख्या हजार जना पुगिसकेको थियो ।

यो खबरले विश्वको ध्यान तानिसकेको थियो । तर अझै पनि किशोरहरु गुफाभित्रै रहेको पुष्टि भइसेको समेत थिएन । पानीको स्तर केही कम भएपछि भित्र गएका गोताखोरको समुहहरुमध्ये एक समुहका ब्रिटिश गोताखोरले जुन २ मा किशोरहरुलाई गुफाको मुखबाट २.५ माइलभित्र भेटे ।

किशोरहरु पौडी खेल्न नजान्ने भएकाले उनीहरुको लागि खाना र सुत्ने व्यवस्थासहित एक थाई टिम भित्र गयो । विभिन्न विकल्पहरुबारे सोचिसकेपछि जुन ८ मा उद्दारकर्मीहरुले ११ घण्टाको प्रयास पछि ४ बालकहरुलाई बाहिर निकाल्न सफल भए । जुन ९ मा थप ४ किशोरहरुलाई बाहिर निकालियो । जुन १० मा बाँकी ४ किशोर र एक कोचलाई पनि गुफाबाट निकालियो । सन् २०१८ मा यो घटनाले विश्वको ध्यान तानेको थियो ।

चीन र अमेरिकाबीच व्यापार युद्व 

चीनले आफूहरुसँगको व्यापारमा असमान अभ्यास गरिरहेको कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनाव अभियानकै क्रममा उठाएका थिए । उनले आफू राष्ट्रपति भए यस अभ्यासलाई निरुत्साहित गर्नको लागि कदम चाल्ने बाचा गरेका थिए ।

उनी आफू राष्ट्रपति भएपछि आफ्ना चुनावी वाचा अनुरुपनै यही वर्षको मार्च ९ मा अमेरिका आयात हुने स्टिलमा २५ प्रतिशत र अलमुनियममा १० प्रतिशत भन्सार कर लगाए । हुन त यो कदमबाट चीनमात्र प्रभावित भएको थिएन तर उनको मुख्य लक्ष्य चीनबाट आयातित हुने स्टिलनै थियो । जवाफमा चीनले ३ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी निर्यातमा भन्सार कर लगायो ।

त्यहाँबाट सुरु भएको व्यापार युद्धले हाल अमेरिकाद्वारा चीनबाट आयात हुने २२० अर्ब अमेरिकी डलरमाथि भन्सार र चीनद्वारा अमेरिकाबाट आयात हुने ११० अमेरिकी डलर बराबरको सामाग्रीमा करका साथ अघि बढिरहेको छ ।

अर्जेन्टिनामा भएको जी ट्वान्टी सम्मेलनका क्रममा अमेरिका र चीनका राष्ट्रपतिबीच डिसेम्बर १ मा व्यापार युद्धलाई सल्टाउनको लागि ९० दिनको समय लिने र सो समयमा कुनै नयाँ भन्सार नलगाउने बाचा गरे । तर यो आशामा तब चिसो पस्यो जब चीनको प्रमुख टेलिकम कम्पनी ह्वावेइकी उच्च पदाधिकारी मङ्ग वान्जू क्यानडामा पक्राउ परिन् । मङ्ग वान्जूलाई डिसेम्बर १ को दिननै क्यानाडास्थित भ्यान्कुभर विमानस्थलबाट पक्राउ गरिएको थियो ।

ह्वावेइ सञ्चार सामग्री र सेवा प्रदान गर्ने संसारकै सबैभन्दा ठूलो कम्पनी हो र मङ्ग वान्जू कम्पनीकी आर्थिक मामिला प्रमुख र सोही कम्पनीका संस्थापककी छोरी हुन् । मङ्गको पक्राउले सम्झौतामा अमेरिकाको इमान्दारितामा चीनले प्रश्न उठाएको छ ।

हालसम्म उनको पक्राउको विस्तृत कारण खुलाइएको छैन । अमेरिकामा सुपुर्दगीको अनुरोधको आधारमा उनलाई क्यानाडाको भ्यान्कुभरबाट समातिएको थियो ।

मलेसिया र माल्दिभ्समा अप्रत्यासित रुपमा शक्तिशाली सरकार निर्वाचनमार्फत अपदस्त

मे ९ मा भएको निर्वाचनमा मलेसियाका सत्तारुढ दल बरिसन नेसनल गठबन्धन पराजित । सन् १९५७ मा स्वतन्त्रता भएदेखि मलेसियामा शासन गरिरहेको बरिसन नेसनललाई कुनै बेला सोही गठबन्धनबाट सबैभन्दा लामो शासन गरेका महाथिर मोहम्मदले हराएका थिए । ९३ वर्षे महाथिर विपक्षीहरुको गठबन्धन पकाटन हरपनको नेतृत्व गरिरहेका थिए ।

यस पराजयमा निवर्तमान प्रधानमन्त्री नाजिव रजाक ठूलो भ्रष्ट्राचार मुद्धामा फस्नुलाई प्रमुख जिम्मेवार मानिएको थियो । महाथिरले आफूले शासन गर्ने मत पाए । रजाकमाथि अनुसन्धान गर्ने वाचा गरेका थिए । सोही वाचा अनुरुप पूर्व प्रधानमन्त्री रजाकलाई सेप्टेम्बर २० मा २५ वटा भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।

निर्वाचनबाट शक्तिशाली शासक अपदस्थ हुने उदाहरण हामीहरुकै दक्षिण एसियामा पनि देखियो । सेप्टेम्बर २३ मा भएको निर्वाचनमा सत्तारुढ दल प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्सका अब्दुल्ला यामिन विपक्षी गठबन्धनको नेतृत्व गरिरहेका पूराना कानूनकर्मी इब्राहिम मोहमद सोलिहबाट पराजित भएका थिए ।

मलेसियामा जस्तै यहाँ पनि यामिन विभिन्न भ्रष्ट्रचार मुद्धामा जोडिएका थिए । सत्तामाथि बालियो पक्कड बनाउनको लागि विपक्षीहरुमाथि विभिन्न नियन्त्रणात्मक कदम चलाएका यामीनले धाँधली गरेर निर्वाचन जित्ने आशंका गरिएको थियो । तर अन्तत निर्वाचनमा उनी पराजित भए ।

हिन्द महासागरको पारवहन मार्ग नजिक रहेकाले भू–राजनीतिक रुपमा महत्वपूर्ण रहेको माल्दिभ्स पछिल्लो समय एसियाका दुई शक्ति चीन र भारतको जुँगाको लडाईमा फसेको मानिन्छ । यो निर्वाचनमा भने चीन पक्षधर मानिएका यामीनको पराजय भएपछि भारतको हात माथि परेको मानिएको छ ।

वासिङ्गटन पोष्टका स्तम्भकार खशोग्गीको साउदी वाणिज्यदूतावासमा हत्या, हत्यामा साउदी युवराजको संलग्नताको आशंका

अक्टोबर २ मा साउदी पत्रकार जमाल खशोग्जीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा हत्या भयो । टर्कीले सुरुमै हत्यामा साउदी अरबको संलग्नता रहेको आरोप लगायो ।

जसलाई उसले तत्काल अस्वीकार गर्यो तर त्यसपछिका अनुसन्धानले साउदी तर्फनै औंला सोझिन थालेपछि आनाकानी गर्दै साउदी प्रशासनले हत्या भएको स्वीकार्यो । उसले यसलाई आफ्नो गुप्तचर संस्थाको एक हिस्साले ‘आफूखुसी गरेको कारबाही’ को संज्ञा दियो । तर बाहिर आएजस्तो हत्यामा साउदी युवराज सलमान बीन साउदको संलग्नता भने उसले अस्वीकार गरेको छ ।

वासिङ्टन पोष्ट पत्रिकामा मासिक रुपमा स्तम्भ लेख्ने पत्रकार खशोग्जी आफ्नो विवाहका लागि कागजातहरू लिन गएका बेला इस्तानबुलस्थित साउदी महाबाणिज्य दूतावासमा प्रवेश गरेयता बेपत्ता भएका थिए । वाणिज्य दूतावासबाहिर रहेको सीसीटिभीमा उनी भित्र पसेको देखिएको भए पनि बाहिर ननिस्केपछि उनको हत्या भित्रनै भएको आशंका गरिएको थियो ।

साउदी युवराजका कट्टर आलोचक खशोग्गीको हत्याका लागि साउदी अरबको शासनको उच्च तहबाटै निर्देशन आएका आरोपहरुले विश्वभरका मिडिया तात्यो । साउदी अरब यो अवधिमा रक्षात्मक अवस्थामा रह्यो । यस आलोचनामा साउदी अरबको अन्तर्राष्ट्रिय प्रतिष्ठामा ठूलो चोट पुगेको आशंका गरिन्छ ।

वर्षको अन्त्यतिर खसोग्गीलाई चर्चित अमेरिकी पत्रिका ‘टाइम’ ले ‘वर्ष व्यक्ति’ घोषणा गर्यो । टाइमले खासोग्गीसहित अन्य पीडित पत्रकारहरू फिलिपिन्सका मारिया रेसा, म्यानमारमा थुनामा रहेका रोयटर्सका वालोन र क्वासोएलाई उक्त सम्मान दियो ।

‘टाइम’ ले सन् १९२७ देखि वर्षभरि महत्वपूर्ण काम गर्ने व्यक्तित्वलाई ‘वर्ष व्यक्ति’ले सम्मानित गर्दै आएको छ । यद्यपि, यस प्रतिष्ठित पत्रिकाको आवरणमा समेत आउने ‘वर्ष व्यक्ति’को सम्मान मरोणोप्रान्त प्राप्त गर्ने खसोग्गी पहिलो व्यक्ति हुन् ।

श्रीलंकामा संवैधानिक संकट

अक्टोबर २६ का दिन श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसदमा बहुमत रहेका रनिल विक्रमसिंघेलाई प्रधानमन्त्रीबाट हटाएर महिन्द्रा राजापाक्षलाई प्रधानमन्त्री चुने । त्यसपछि त्यहाँ दुईवटा प्रधानमन्त्रीको शासनको अवस्था निम्तियो ।

विक्रमसिंघे प्रधानमन्त्री निवासबाट निस्कन नमानिरहेकै अवस्थामा सिरिसेनाले राजापाक्षलाई प्रधानमन्त्रीको सपथ खुवाए । यसले गर्दा त्यहाँ राजनीतिक संघर्षको अवस्था निम्तिने हो कि भन्ने अवस्था पनि देखियो ।

सिरिसेनाले विक्रमसिंघेलाई कमजोर बनाउको लागि नोभेम्बर ९ मा संसद भंग गर्ने प्रयास गरे तर त्यहाँको सर्वोच्च अदालतले डिसेम्बर १३ मा संसदले साढे चार वर्ष अघि भंग गर्नु असंवैधानिक घोषित गर्यो । त्यस निर्णयको भोलिपल्ट महिन्द्रा राजापाक्षले आफूले प्रधानमन्त्री पद छाड्ने घोषणा गरे । डिसेम्बर १५ मा राजापाक्षले प्रधानमन्त्रीको रुपमा राजीनामा दिएपछि यो राजनीतिक संकटले पार पायो ।

फ्रान्समा एल्लो भेस्ट मुभमेन्टद्वारा देश ठप्प

डिसेम्बर १ देखि ८ सम्म फ्रान्समा सन् १९६८ यताकै ठूलो विरोध प्रर्दशन भयो । प्रर्दशनका क्रममा प्रर्दशनकारीले लगाएको पहेँलो भेस्टका आधारमा विरोधलाई एल्लो भेस्ट मुभमेन्ट भनियो । विरोधको केन्द्र फ्रान्सको राजधानीबाट सुरु भएको थियो । विरोधको सुरुवात त्यहाँको सरकारले पेट्रोलियम पदार्थहरुमा बढाएको करबाट भएको थियो ।

सरकारले कर बढाएर उक्त रकम वैकल्पिक उर्जाको लागि अनुसन्धान गर्ने आदि विभिन्न योजना ल्याएको भएपनि करको भार मध्यमवर्ग र कामकाजी वर्गमा पर्ने भन्दै यसको व्यापक विरोध भयो । यसलाई मुख्यत त्यहाँको समाजमा बढिरहेको आर्थिक असमानताको अभिव्यक्तिको रुपमा हेरियो ।

विशाक्त राजनीतिलाई प्रतिनिधित्व गर्ने ‘टक्सिक’ अक्सफोर्डको ‘वर्ड अफ द इयर’
अंग्रेजी भाषाको सबैभन्दा लोकप्रिय मध्ये एक शब्दकोश अक्सफोर्ड डिक्सनरीले यो वर्षको लागि ‘टक्सिक’ शब्दलाई ‘वर्ड अफ द इयर (वर्ष शब्द)’ घोषणा गर्यो । नेपालीमा विशालु वा विशाक्त जनाउने यो शब्द ‘ग्यासलाइटिङ’, ‘इन्सेल’ र ‘टेकल्यास’ जस्ता राजनीतिक झुकावका शब्दहरुलाई उछिनेर सन् २०१८ को वर्ष शब्दमा छानिएको हो ।

अक्सफोर्ड डिक्स्नरीको अमेरिकी शाखाकी प्रमुख क्याथरिन कोनर मार्टिनले वर्षभरी आफ्नो वेबसाइटमा ‘टक्सिक’ शब्दलाई धेरै खोजिएको र त्यसको साथै अघिल्लो वर्ष विविध प्रयोजनको लागि यो शब्दको प्रयोग बढेको बताइन् । पछिल्लो समय ‘टक्सिक’ शब्द वातावरणीय प्रदूषणको बहसदेखि आजको विशाक्त राजनीतिक संवादलाई जनाउन प्रयोग गरिन्छ । अझ मीटु अभियानको बहसमा ‘टक्सिक म्यासकुलिनिटी (विषाक्त पुरुषत्व)’ को विषय बारम्बार दोहोरिन्छ ।

अक्सफोर्डले ‘वर्ड अफ द इयर(वर्ष शब्द)’ कुनै निश्चित वर्षको ‘प्रकृति, मुड वा चिन्ता’ लाई झल्काउनको लागि चुन्ने गर्छ । यसका साथै अक्स्फोर्डका अनुसार यसको उदेश्य अंग्रेजी भाषाको परिवर्तनशिलतामा प्रकाश पार्नु पनि हो । यसअघि सन् २०१७ मा ‘युथक्वेक’ र सन् २०१६ को लागि ‘पोष्ट ट्रुथ’ शब्द चुनिएको थियो । (रातोपाटी)

मंगलबार, पुस १७, २०७५ मा प्रकाशित (Published on Tuesday, Jan 1, 2019)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*