फरक भोगाइको उद्बोधनः ‘समय साक्षी’

पछिल्ला केही समयदेखि नेपाली पुस्तक बजारमा छाइरहेको कङल्याङकुङ्लुङबीच केही फरक शैली र केही पृथक् लेखाइसहित देखा परेको किताब हो, बबिता बस्नेतले लेखेको “समय साक्षी” । यो किताब लेखकले सन् १९९३ देखि हालसम्मका करिब तीस वर्ष लामो अवधिको विभिन्न समयमा गरी अठार देशको र त्यसमा पनि अमेरिका, थाइल्याण्ड र भारतको त पटकपटक भ्रमण गरेका विविध समय–सन्दर्भ अनि तिनैसँग गाँसिएका निजी अनुभव एवं अनुभूतिहरूलाई सरल भाषामा पस्किने जमर्कोकै सुखद प्राप्ति हो । पहिलोपटक वि.सं. २०६५ मा ‘सम्बन्धहीन सम्बन्धहरू’ नामक कथा–सङ्ग्रह छापेर साहित्यिक फाँटमा उदाएको चौध वर्षपछि बजारमा आएको बबिताको यो दोस्रो पुस्तक एक यात्रा–संस्मरण हो । यस किताबले उनको भ्रमणप्रेमलाई छताछुल्ल दर्शाएको छ ।

यो पुस्तक लेखेर बबिताले आफ्नो घुमन्ते विगत र भ्रमणकारी मन–मस्तिष्कमा थुप्रिएका अनेकानेक भाव–बिम्ब, सिकाइ एवं अनुभवहरूलाई सार्वजनिक गर्दै स्वयंमाथिको बोझ उतारेकी छन्, आफ्नो विगतलाई वर्तमान र भविष्यका निम्ति पस्किदिएर आफैँलाई उऋण पारेकी छन् । उनले एक ठाउँ लेखेकी छन्, “यात्रा र जीवन मलाई उस्तैउस्तै लाग्छ, दुबैमा कहिलेकाहीँ नसोचेका घटना हुन्छन् ।” यसो भनिरहँदा उनले चाहेर नचाहेर मानिसको भ्रमणशील जीवनको महत्ता औँल्याउन खोजेको प्रतीत हुन्छ किन पनि भने बित्दो प्रत्येक पछिल्लो पलमा व्याप्त अनिश्चितता नै त जीवन हो ।

भूमिकामा लेखिएको यो एउटा वाक्य “जीवन त्यति सहज छैन जति हामी ठान्छौँ र त्यति धेरै जटिल पनि छैन जति हामी

JayaDev-Gautam
 – जयदेव गौतम

बनाउँछौँ” नै, लाग्छ, बबिताको “समय साक्षी” को समग्र सारांश हो । यही तथ्यलाई अझ प्रस्ट पार्दै उनले अगाडि भनेकी छन्, “जहाँ गए पनि आकाश उस्तै छ, घाम, जुन र ताराहरू उस्तै छन् । मानिसलाई चाहिने कुरा पनि उस्तै छन् । हरेक मानिसलाई खुसी चाहिएको छ, सुख, शान्ति र आफ्नोपन चाहिएको छ । मानिसलाई आफन्तको अभाव छैन तर आफ्नोपनको अभाव छ । संसारभरका मानिसको जीवनमा कुनै न कुनै कुराको अभाव छ ।” यो शाश्वत सत्यलाई उनले कति सहज र सरल ढङ्गमा भनिदिएकी छन् ! यस्तै कुराहरू पुस्तकका पानाहरूमा भरिएका छन् । त्यसकारण उनको यस किसिमको भूमिका–लेखनले समेत पाठकमा पुस्तक पढ्ने उत्सुकता जागृत गर्न सहयोग पुर्याउँछ ।

बबिता आफैँमा एक स्थापित पत्रकार, कथाकार र सामाजिक अभियन्ता हुन् । यस क्रममा उनी धेरै ठाउँ घुमेकी छन् र बग्रेल्ती स्थानसम्म पुगेकी छन् । धेरैभन्दा धेरै र बढीभन्दा बढी मानिसलाई भेटेकी छन्, नानाभाँति रंग र ढङ्गका मनुवाहरूसित गफिएकी छन् । जल, जमिन र जङ्गलहरूमा जत्रतत्र जर्फराएकी छन् । उनकै शब्दमा पनि “यात्रामा धेरै थरी मानिस भेटिन्छन्, फरक अनुहार र रूप–रङ्गका, फरक भाषा–संस्कृतिका, फरक जीउडाल र प्रकृतिका यस्तै–यस्तै अनेक भिन्नता बोकेका” (पृ.१४७) । यसकारण समेत उनीसित विविध अनुभवका छेलोखेलो खानी छन् भन्ने छर्लङ्ग हुन्छ ।

विवेच्य कृति ‘समय साक्षी’ त्यसो त विधागत रूपले निख्खर यात्रा–संस्मरण हो तापनि यसमा विविध यात्रा–विवरणका साथै लेखकका निजी टिपोट पनि समाविष्ट छन् । आकारमा पुस्तक सानो छ, केवल २१५ पृष्ठ लामो तर उप–शीर्षक भने अत्यधिक छन्– समग्रमा ९४ वटा । यसै तथ्यले संकेत गरेझैँ सबै उप–शीर्षक अध्याय पनि सानोसानो आकारमा बिस्तारित छन् । सबैभन्दा ठूलो आकारको अध्याय भनेकै अधिकतम साढे पाँच वा छ पृष्ठ लामो छ भने सबैभन्दा साना अध्याय पन्ध्र वा सोह्र पंक्तिका मात्र छन् । थुप्रै अध्याय त केवल एक–एक पृष्ठ लामा मात्र छन् । केही अध्याय चार वा पाँच पृष्ठका भए तापनि औसत अध्याय दुई–तीन पृष्ठ मात्र लामा छन् । यसले गर्दा फरक–फरक स्वादका यात्रा–सन्दर्भबारे पढ्न त सुविधा हुन्छ तर पाठक विषयको अन्तरङ्गताभित्र भने पुग्न पाउँदैन, सक्दैन र त्यसकारण भ्रमण–वृत्तान्तको सम्पूर्ण रसस्वादन पनि प्राप्त हुँदैन ।

त्यसो त बबिताले गरिरहने वैदेशिक भ्रमणको शीघ्रता, निरन्तरता र फ्रिक्वेन्सी आफैँमा रोचक छ । यस तथ्यलाई दृष्टिगत गर्दा भन्न सकिन्छ, उनको एउटा खुट्टा नेपालमा र अर्को खुट्टा नेपालबाहिर हुने गर्दछ । उनी कहिले मास कम्युनिकेसन स्टडीका लागि त कहिले इन्टरनेसनल प्रेस इन्स्ट्च्यिुटको वल्र्ड कङ्ग्रेसका लागि, कहिले ह्युमानिटेरियन समिट स्पेसल सेसन अन मिडिया त कहिले ओपन गभर्नमेन्ट पार्टनरसिप समिट, कहिले साउथ एसियन एडिटर्स फोरम त कहिले राष्ट्र–प्रमुखको राजकीय वैदेशिक भ्रमण टोलीको सदस्यका रूपमा, कहिले सिड सेसन बैठक त कहिले इन्टरनेसनल पिस समिट, कहिले इन्टरनेसनल भिजिटर लिडरसिप प्रोग्राम त कहिले जेन्डर एन्ड क्लाइमेट चेन्ज प्रोग्राम, कहिले जेन्डर एन्ड द मिडियाः पिस कम्युनिकेसन प्रोग्राम त कहिले विमेन एडिसन प्रोग्राम अनि कहिले कुन देश त कहिले अर्को कुन देश गरी नियमित अन्तरालमा बोइङ विमानमा सवार भइरहेकी हुन्छिन् ।

यही कारणले गर्दा उनीसित पउल डायरी–टिपोट सङ्ग्रहित भएको देखिन्छ तर उनले धेरैजसो टिपोटलाई हलुकासँगै किताबमा पस्केको सन्दर्भ भने उस्तो रुचिकर महसुस हुँदैन । जस्तो– लेखकले नयाँ दिल्लीमा प्रसिद्ध भारतीय साहित्यकार अमृता प्रीतमसँग भेट गरेको उल्लेख गरेकी छन् तर यो लेखन कस्तो र कति छोटो छ भने अमृतालाई कमोबेस पढेकाबाहेक अन्य कसैले यो प्रसङ्ग नै बुझ्दैन । त्यसमाथि अमृताको आत्मकथात्मक कृति ‘रसीदी टिकट’ मा उम्दा सायर तथा बलिउड गीतकार साहिर लुधियानवीले छाडेका चुरोटका ठुटा सल्काएर अमृताले खाने गरेको छोटो प्रसङ्गको नेपाली अनुवाद दिइएको छ, जो अझ धेरैजनाका लागि अबुझ पहेली जस्तो हुने देखिन्छ । वास्तवमा अमृता र साहिरको सम्बन्ध अनाम तर अद्भुत साइनो थियो र साँचो अर्थमा असांसारिक (प्लेटोनिक) प्रेम थियो ।

यी केही उदाहरण मात्र हुन्, अन्यथा त किताबमा अनेक तीठामीठा र रमाइला प्रसङ्गहरू प्रसस्तै छन् । ‘हरिद्वारमा स्व. काकासँग संवाद’, ‘कहाँ राजपरिवारको नातेदार हुनु’, ‘युवराज आएनन्’, ‘अमेरिकामा पनि यस्तो हुन्छ र’, ‘सुटकेस खोल्दा पुरुषका लुगा’, ‘लबी विलिसेसले र टिप्स जङ्गबहादुरले’, ‘घरेलु हिंसा गर्ने पुरुष सेल्टरमा’, ‘माग्ने ठानेर पैसा दिएपछि’, ‘छुट्टी नबस्दा मन्त्रीको आलोचना’, ‘रानी ऐश्वर्यले मोती किन्ने पसल’ आदि कतिपय शीर्षक–रचना पठनीय पनि र उत्तिकै रमाइला पनि छन् । खासगरी बेलायत भ्रमण गएको बेला जङ्गबहादुर राणाले आफ्नो सम्मानमा बेलायती राजभवनमा राखिएको नाचगानसहितको विशाल रात्रिभोजको अवसरमा नर्तक–नर्तकीहरूलाई ‘बक्सिस’ दिँदै आफूले मञ्चमा फालेको पैसा “टिप टिप” भन्दै चिच्याएका थिए र त्यसरी आफू खुसी भएपछि अन्य व्यक्तिलाई नगद प्रदान गर्ने उनको त्यही क्रिया कालान्तरमा ‘टिप्स’ बनेर बेलायत हुँदै संसारभर प्रचलित हुन गएको चर्चा (पृ.८८–८९) ले पठनमा रोचकता थपेको छ, यद्यपि यो घटना–प्रसङ्ग कतै अभिलिखित रहेको भने पाइँदैन ।

यसै गरी लेखकले आफूले ‘एलजिबिटी’ (लेस्बियन, गे, बायोसेक्सुअल र ट्रान्स–सेक्सुअल) भन्ने शब्दावली सुन्दै–जान्दै आएकोमा ‘सिड सेसन’ का लागि न्युयोर्क पुगेको बेला नयाँ शब्दावली ‘सोगी’ (सेक्सुअल ओरियनटेसन एन्ड जेन्डर आइडेन्टिटी) पहिलोपटक सुनेको र आफूसँगै होटल–कक्ष साझेदारी गरेकी साथी पनि ‘बायोसेक्सुअल’ भएको तथ्य इमानदारीपूर्वक खुलाएकी छन् (पृ.१४८) । जेनेभामा नेपाली यौनकर्मीलाई भेटेको, लन्डननजिकै आयोजित ‘भिक्टोरिया डे’ अवलोकन र त्यहाँभन्दा केही घण्टा टाढा अवस्थित अल्डरसट भन्ने ठाउँमा रहेको बाक्लो नेपाली बस्तीमा देखिएको अग्घोर नेपालीपन, रमाइलो इस्तानबुल–जर्जिया–स्विडेन–ब्रसेल्स आदि भ्रमण रोचक छन् । स्विट्जरल्याण्ड घुमिरहँदा मनमा उठेका विचार पोख्दै उनले लेखेकी छन्, “कृषिमा निकै अघि रहेको यो मुलुक (स्विट्जरल्याण्ड) पुग्दा यदि यहाँ जस्तै विकास हुन र ‘सिस्टम’ मा चल्न पाएको भए हाम्रो देश प्राकृतिक रूपमा त योभन्दा के कम छ र जस्तो लाग्छ । उस्तै डाँडा, उस्तै हिमाल, चौरभरी चरिरहेका गाईबस्तु, बारीमा लगाएको खेती ।… संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय एजेन्सीमा काम गर्ने नेपालीको सङ्ख्या त्यहाँ पनि राम्रै छ ।”

किताबमा आएको एक संवेदनशील सन्दर्भ ‘बुबाआमासँग मास्कभित्रको यात्रा’ शीर्षकमा छ जसमा लेखकले अघिपछि आफू एक्लैएक्लै धेरैतिर यात्रारत रहेको भए पनि आफ्ना मातापितासित भने कहिल्यै सँगै भ्रमण गर्न नपाएको र त्यो धोको एकैपटक कोभिड–१९ को महासंक्रमणले पाखुरा फिँजाउनभन्दा केहीअघि मात्र सन् २०२० फेब्रुअरीमा बैंकक, थाइल्याण्डको एक साता लामो यात्रा (पृ.२०२) मा गएर पूरा गरेको उल्लेख छ । उनलाई लाग्छ, “सन्तानका पछि लाग्दालाग्दै जिन्दगीले यसरी डाँडो काट्दै जान्छ, बाबुआमाका बारेमा सोच्ने परिस्थिति आउँदा निकै ढिलो भइसकेको हुन्छ । अहिले आमा भएको भए म यसो गर्थें, उसो गर्थें भनेको मैले धेरैबाट सुनेकी छु तर हुनेहरूले चाहिँ खासै केही गर्न सकिएको हुँदैन । अन्ततः मैले यसो गर्न पाएको भए… भन्ने पश्चातापबीच आफ्नै जीवन सकिन्छ । … दौडधूपपूर्ण जीवनले हामीलाई अभिभावकका रुचि र चाहना बुझ्ने समय दिइरहेको हुँदैन ।”

किताबको सुरुआतमा बबिताले पहिलोपटक राहदानी बनाउन जाँदा पाएको सास्ती र परराष्ट्र मन्त्रालयका कर्मचारीबाट पाएको अपमानको सन्दर्भ कोट्याएकी छन् भने समापनमा तत्कालीन नेपाल पत्रकार महासंघका महासचिव रघुजी पन्तलाई पत्रकारिता तालिमका लागि स्विडेन जाने सोह्रजना पत्रकारको टोलीमा बबिता पनि मिसिन चाहेको र त्यसकै लागि भेटेर बुझ्न महासंघको कार्यालय पुगेको तर त्यहाँ रघुजी पन्तले “अलि इरिटेटिङ लवजमा ‘विदेश जान त्यति सजिलो ठान्नुभएको छ तपाईंले ? तपाईंलाई अङ्ग्रेजी आउँछ ? विदेशमा अङ्ग्रेजीमा कुरा गर्नुपर्छ भन्ने तपाईंलाई थाहा छैन ?” आदि–इत्यादि अनेक अनावश्यक कुराहरू भन्दै अत्यन्त हतोत्साहित (डिस्करेज) गरेको अनि “त्यसपछि रघुजीलाई हेर्ने दृष्टिकोण आकाशबाट जमिनमा” झरेको उल्लेख गरेकी छन् । किताबको अन्तिम पंक्तिमा उनी लेख्छिन्, “त्यतिबेला तालिममा विदेश पठाइदिनुस् न भन्न गएकोमा मलाई ठूलो पश्चाताप छ ।”

किताबमा ठाउँठाउँमा बबिताले उल्लेख गरेका कतिपय शब्दहरूको अङ्ग्रेजी उच्चारण भने अनौठो महसुस हुन्छ । जस्तो– आर्मस्टरडाम (हुनुपर्ने– एम्सटर्ड्याम), मेसेडोनिया (हुनुपर्ने– मेसिडोनिया), प्लेनभित्र एयरहोस्टेज (हुनुपर्ने– एयरहोस्टेस), कम्प्लिकेटेट (हुनुपर्ने– कम्प्लिकेटेड), फोल्क बेर्नाडोटे (हुनुपर्ने– फोल्के बेनाडोट), … रोमान्स त्यहाँ बोलिने भाषा (हुनुपर्ने– रोमन त्यहाँ बोलिने भाषा), राजधानी बेर्न (हुनुपर्ने– राजधानी बर्न) आदि आदि । यी केही उदाहरण मात्र हुन्, यस्ता बग्रेल शब्द र अन्य कतिपय भाषिक अशुद्धिसमेतले पठनमा ‘खीरमा ढुङ्गा’ रहेको अनुभूति दिन्छन् ।

अर्को एउटा खट्किने विषय हो– बबिताले ठाउँठाउँमा विभिन्न सन्दर्भमा आफूलाई ‘यो पंक्तिकार’ भनेर उल्लेख गरेकी छन् । हुनसक्छ, यो उनको दशकौं लामो पत्रकारिता जीवनानुभवको प्रत्यक्ष प्रभाव होला तर किताब लेख्दा त्यसमा ‘यो पंक्तिकार’ हुँदैन, लेखिँदैन । सोझै ‘लेखक’ वा ‘म’ लेख्ने गरिन्छ ।

बुकहिल पब्लिकेसन प्रालिद्वारा भदौ २०७९ मा प्रकाशित यो पुस्तक कुनै खास सिद्धान्त, आस्था, आग्रह वा पूर्वाग्रहबाट बिल्कुल पृथक् छ । त्यसकारण यसमा सङ्कीर्णता र नाटकीयता केही छैन, बरु निरन्तरता औ गतिशीलता छ । लेखकका अनुभवहरूको मिश्रित वर्णन छ । बबिताको भाषा सरल छ र कठिन वा दुर्बोध्य शब्दहरूको प्रयोग गर्नेतिर उनको रुचि देखिँदैन । त्यसो त सबै यात्रा–संस्मरण कृतिको भाषा र प्रस्तुति एउटै प्रकृति वा प्रकारको हुँदैन, हुन पनि सक्दैन । यात्रा–संस्मरण लेख्ने प्रत्येक लेखक अर्कोभन्दा भिन्न हुन्छ । अवलोकन, अनुभव र ग्रहणशीलता सबै अलग्ग हुन्छ । शैली पनि फरक हुन्छ । त्यसकारण स्वाभाविक रूपमा नै यो किताब अन्य भ्रमण–कृतिभन्दा भिन्दै छ । सुन्दर छपाइ र आकर्षक साज–सज्जासहित पाँच सय रुपैयाँ मूल्य राखिएको पुस्तक ‘समय साक्षी’ नितान्त अलग्ग प्रवाहमा अभिव्यक्त भएको भ्रमण–वृत्तान्त हो र यसले नितान्त मौलिक लेखनको आस्वादन पस्केको छ ।

(सोमबार, असोज १५, २०८० मा प्रकाशित)

०००

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*