मेड्रिड । स्वीडेनकी चर्चित जलवायु परिवर्तन अभियन्ता १६ वर्षीया ग्रेटा थनवर्गलाई टाइम पत्रिकाले ‘वर्ष व्यक्ति’ घोषणा गरेको छ । यी स्वेडिस वातावरण अभियन्ताले टाइम वर्ष व्यक्ति दौडमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिन नफिङ, फेसबुकका संस्थापक मार्क जुकरबर्क लगायतलाई पछि पारेकी हुन् ।
यी स्वेडिस किशोरीले जलवायु परिवर्तन र यसका असरबारे विश्वमा आवाज उठाउँदै आइरहेकी छन्।
टाइमको इतिहासमा पहिलो पटक सबैभन्दा कम उमेरको व्यक्तिलाई वर्ष व्यक्ति घोषणा गरिएको हो। टाइम म्यागेजिनले वर्ष भरीमा सबैभन्दा प्रभावकारी काम गर्नेलाई सन् १९२७ देखि वर्ष व्यक्ति घोषणा गर्दै आएको छ ।
ग्रेटा, ट्रम्प, सी, जुकरबर्ग, न्यूजल्याण्डकी पूर्व प्रधानमन्त्री जेसिन्दा एड्रिन, अमेरिकी फुटबलर मेगान रिपोनी, हङकङका आन्दोलनकारी, ट्रम्पका वकिल रुदी जिलिनी, दि ह्विसेल ब्लोअर र अमेरिकी सभामुख न्यान्सी पेलोसी वर्ष व्यक्तिको अन्तिम दस जनाको सूचीमा परेका थिए । उनी २०१९ को नोवेल शान्ति पुरस्कारको मनोनयनमा समेत परेकी थिइन् ।
मेड्रिडमा जारी जलवायु परिवर्तन सम्बन्धिको अन्तर्राष्ट्रिय सम्मेलनमा ग्रेटाले अब आउने दशकले विश्वको भविष्य निर्धारण गर्ने बताएकी छन्। ग्रेटाले गत सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन एक्सन सम्मेलनमा दिएको मन्तव्य विश्वभरी चर्चित बनेको थियो ।
उनले गत वर्ष स्वीडेनको सांसद भवन अगाडि वातवरणीय मुद्दा उठाउँदै चर्चा आएकी थिइन्। उनको ‘फ्राइडेज फर फ्यूचर’ ट्वीटरमा चर्चित बनेको थियो।
ग्रेटाले उक्त अभियान सन् २०१८ स्वीडेनको संसद भवनको प्रांगणबाट सुरु गरेकी थिइन्। त्यतिबेला उनले विद्यालय जान छोडिदिइन् र हातमा लठ्ठी लिएर धर्ना दिन थालिन्। उनको नारा हुन्थ्यो, जलवायुका लागि विद्यालय हड्ताल अर्थात् ‘स्कुल स्ट्राइक फर द क्लाइमेट’।
सुनिश्चित भविष्यको माग गर्दै उनले उक्त अभियान शुभारम्भ गरेकी थिइन्। विश्वभरका विद्यालयस्तरमा पढ्ने भावी पीढिलाई लक्षित गरी यो अभियान घोषणा गरिएको थियो। भविष्यका पुस्ताको भविष्य सुनिश्चित गर्न अहिले देखिएका जलवायुजन्य जोखिम र असर न्यून गर्ने तत्परता देखाउन ध्यानाकर्षण गराउनु यसको उद्देश्य हो।
जलवायु न्यायका पक्षमा गत वर्ष पोल्याण्डको क्याटावीसमा भएको २४ औं सम्मेलन (कोप २४) मा मन्तव्य दिएपछि एकाएक उनी चर्चामा आएकी हुन्। उनले त्यतिबेला जलवायु परिवर्तनले निम्त्याएका समस्या र भविष्यमा आफूजस्ता करोडौं बालबालिकाहरुले भोग्नुपर्ने समस्याबारे तार्किक र मन छुने भाषण गरेकी थिइन्।
स्वीडनको राजधानी स्टकहोममा सन् २००३ मा जन्मेकी ग्रेटा २०१८ मा स्कुल जान छोडेर स्वीडनको संसद भवन अगाडि धर्ना बसिन् । १५ वर्षको उमेरमा हातमा लठ्ठी लिएर धर्ना बसेकी ग्रेटाको नारा छ–स्कुल स्ट्राइक फर दि क्लाइमेट चेन्ज अर्थात् जलवायुका लागि विद्यालय हड्ताल ।
ओपेरा गायिका आमा र अभिनेता बाबुकी छोरी ग्रेटाले खासगरी हरित गृह ग्यास उत्सर्जन चाँडोभन्दा चाँडो कटौती गर्नुपर्नेमा जोड दिँदै आएकी छन् । हरित गृह ग्यास उत्सर्जनमा उनी यति प्रतिबद्ध छन् की सकेसम्म हवाईजहाज चढ्दिनन् । सम्भव भएसम्म उनी हरित गृह ग्यास उत्सर्जन नगर्ने सवारी साधनको प्रयोग गर्छिन् । (एजेन्सी)
बुधबार, मंसिर २५, २०७६ मा प्रकाशित
Leave a Reply