कांग्रेसभित्रको कचिङ्गल : लोकतान्त्रिक पार्टीभित्रै लोकतन्त्रको खोजी !

विचार/जयदेव गाैतम

मुलुकको पुरानो र हालको प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेस (नेका) पछिल्ला केही सातादेखि तीव्र आन्तरिक कचिङ्गलले भरिएको छ । सत्तापक्षले गर्ने हरेक कार्य एवम् गतिविधिको निरन्तर आलोचना गर्ने अघोषित स्वउत्तरदायित्व निर्वाह गर्दै आइरहेको लोकतान्त्रिक पार्टीभित्र आन्तरिक दलीय लोकतन्त्रकै खडेरी परेको देखिँदै छ । साना–ठूला अनेक गुट रहँदै आएको भए पनि यसपटक पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एवं कृष्णप्रसाद सिटौला समूहहरूबीच प्रस्ट मतभेद सतहमा देखा परेको मात्र नभई सार्वजनिक नै भएको छ ।

पार्टीमा संस्थापन पक्ष र असन्तुष्ट पक्ष भनेर कित्ताकाट भएको छ । आन्तरिक मनमुटाव पहिलेदेखि नै रहेको भए पनि गत मंसिर २६ गतेबाट सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकलाई असन्तुष्ट समूहले निरन्तर बहिष्कार गर्दै गइरहेपछि स्थिति झन्झन् जटिल बन्दै गएको थियो । यस्तैमा देउवा पक्ष अर्थात् संस्थापन समूहले पुस ११ गते शुक्रबारका दिन असन्तुष्ट पक्ष उपस्थित नरहेको बैठकबाट बहुमतका आधारमा ‘केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गर्ने र आगामी १४औँ महाधिवेशन २०७७ फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा गर्ने’ निर्णय गरेको थियो । त्यो निर्णयले स्थितिलाई थप असहज पारिदियो ।

JDG Photo new

—— जयदेव गाैतम

पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले ‘कांग्रेसको इतिहासमा नै पहिलोपटक बहुमतका बलमा केन्द्रीय समितिको कार्यकाल थप गरेको र यसले पार्टीलाई दुर्घटनातर्फ लैजाने’ भन्दै निर्णयप्रति असन्तुष्टि जनाउँदै त्यो निर्णय फिर्ता लिन माग पनि गरिरहेका छन् । लगत्तै त्यो निर्णयविरुद्ध रणनीति बनाउन पार्टी महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा असन्तुष्ट समूहको बैठक नै बसेको थियो । पत्रकारहरूसित कुराकानी गर्दै पौडेलले भने– ‘बहुमतको निर्णय देखाएर पार्टीलाई धरापमा पारियो । गलत मनसायबाट निर्णय भएको छ, यसलाई सच्याउनु पर्दछ । निर्णय नसच्चिए देशभरका कार्यकर्तामाझ जान्छौं ।’

के कति कारणले गर्दा सभापति देउवाले केन्द्रीय समितिको सर्वसहमति नखोजेर वा त्यसको पूर्ण बेवास्ता गर्दै केवल बहुमतको एकलौटी निर्णय अगाडि सारेका हुन् ? उनले पार्टी विभागको संख्या पनि थपेर २८ बाट ४७ पुर्‍याएका छन् भने क्रियाशील सदस्यतासम्बन्धी विधानका केही दफा समेत निलम्बन गरेका छन् । असन्तुष्ट पक्षलाई असहमतिको अर्को आधार दिएका देउवाको यो बलमिच्याइँ हो भन्न नमिल्ने तर्क के हुन सक्छ ? यसलाई देउवाको असन्तुष्टजतिलाई पेलेर अगाडि बढ्ने मानसिकता नभनेर अरू के भन्न मिल्छ ? असन्तुष्टहरू सबैजना उनै देउवाको कार्यशैलीलाई नै किन दोष दिइरहन्छन् ?

यहाँ उल्लेख गर्नैपर्ने एउटा प्रसङ्ग पनि छ । त्यो के हो भने, नेपाली कांग्रेसको पार्टी राजनीतिप्रति जानिफकारहरूलाई हेक्का हुनुपर्छ, कांग्रेस नेतृ सुजाता कोइरालाले हालै नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा भनेकी थिइन्, ‘पार्टीको विवाद र झगडा देखेर त मलाई पनि अर्को चुनावमा भोट हाल्दा मेरो हात काँप्छ जस्तो लाग्न थालिसक्यो ।’ उनले अझ अगाडि भनिन्, ‘म पार्टीमा यति समय लागेँ, त्यत्रो मानेको नेता गिरिजाप्रसाद कोइरालाकी छोरी, मलाई नै कांग्रेसको शैलीप्रति चित्त बुझेको छैन, जनतालाई कसरी चित्त बुझ्छ होला ?’

सुजाता कोइराला तहका नेताको यो भनाइ उनको आफ्नै अक्षमताको उद्बोधन हो अथवा पार्टी केन्द्रीय नेतृत्वप्रति रहेको संशय र अविश्वास ? अथवा नेतृत्व निरंकुश र अधिनायकवादी भयो भने त्यसलाई कसरी लोकतान्त्रिक ढङ्गले नियन्त्रणमा राख्ने भनेर निरुपाय बन्दा निस्केको हताशाको अभिव्यक्ति ?

सवाल फेरि पनि उठ्छ, जुन लोकतन्त्रको वकालत गरेर कांग्रेस कहिल्यै थाक्दैन, त्यही लोकतन्त्र खोइ त अन्तर–पार्टी सञ्चालनमा ? हरेक पछिल्लो नेतृत्वको पालामा किन यही सवाल उठिरहन्छ ? दोहोरिइरहन्छ ? अनुभव भन्छ– यो त्यही पार्टी हो जसले आफ्नो स्थापनाकालदेखि नै घात, प्रतिघात र अन्तरघातको अविच्छिन्न विरासत बोकेर आएको छ । यो विरासत तुलसी गिरी, विश्वबन्धु थापा, सूर्यबहादुर थापा, परशुनारायण चौधरी प्रभृति नेताहरू हुँदै उहिल्यैदेखि जन्मिएर हुर्कंदै अगाडि बढ्दै आएका हुन् । विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्वले अन्य सबैलाई जितेको हुँदा उनीविरुद्ध अथवा उनको समयमा पार्टीभित्रै चाहिँ असन्तुष्टिका लहरहरू देखा पर्न सकेका थिएनन्, भलै असन्तुष्ट अथवा अत्यधिक महत्वाकांक्षीहरू पार्टीबाटै पलायन भएका थिए ।

Nepali Congress

आफू नरहने अवस्थामा पार्टी समस्यामा पर्ने सम्भावना देखेरै विपीले आफ्नो शेषपछि गणेशमान सिंह–कृष्णप्रसाद भट्टराई–गिरिजाप्रसाद कोइराला (सर्वमान्य नेता–पार्टी सभापति–महामन्त्री) का रूपमा ‘नेता त्रय’ को नेतृत्व–अवधारणा स्थापित गरिदिएका थिए । पञ्चायतकाल रहँदासम्म अर्थात् राजनीतिक दलहरू प्रतिबन्धित अवस्थामा रहँदासम्म नेता त्रयको अवधारणाले काम गरिरह्यो तर छयालीस सालमा जनआन्दोलनको सफलतापश्चात् दलहरूमाथिको प्रतिबन्ध फुकुवा भएपछि स्थिति फेरिँदै गयो र कांग्रेस पार्टीभित्र गिरिजाप्रसादका रूपमा नयाँ अधिनायकवादी पार्टी सञ्चालकको उदय एवम् विकास हुन गयो ।

वि.सं. २०४८ सालको आमनिर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पराजय नेकाभित्र घात–प्रतिघात–अन्तरघातको चरम विद्रूपता मानिन्छ । पछि गएर समय कस्तोसम्म विकसित भयो भने पहिले नेका सर्वमान्य नेता गणेशमान सिंहले र पछि स्वयम् कृष्णप्रसाद भट्टराई दुवैजनाले (आफ्नो जीवनका अन्तिम वर्षहरूमा) केही वर्षको फरकमा पार्टी सम्पूर्ण रूपले परित्याग गरे ! कस्तो विडम्बना थियो यो जसले गर्दा आफैले जन्माएको, हुर्काएको र आफ्नो सर्वस्व समर्पित गरेको प्रिय पार्टी नै त्यसरी परित्याग गर्न बाध्य भएथे उनीहरू ! आत्मसम्मान, प्रतिष्ठा र निष्ठाको राजनीतिको स्खलन टुुलुटुलु हेरेर बस्न उनीहरूले सकेनन् सायद !

अहिलेको नेकामा गणेशमान–कृष्णप्रसादहरू छैनन् । उनीहरूका अनुयायी पनि छैनन्, भएका पनि नेपथ्यमा धकेलिएका छन् । अहिले देउवा प्रभृतिको राज छ । उनी निर्वाचित पार्टी सभापति हुन् । उनलाई आफ्नो ढङ्गले पार्टी हाँक्ने अधिकार छ तर यो अधिकार भनेको अधिनायकवादी अथवा निरंकुश अधिकार होइन । केन्द्रीय समिति मात्र होइन, समग्र नेतृत्व पंक्तिलाई नै आफ्नो विचारअनुसार सहमत गराएर पार्टीलाई सही दशा र दिशा निर्देश गर्नु उनको सभापतीय उत्तरदायित्व हो । यस विपरीत भइरहेको के छ भने पार्टीका अनेक वरिष्ठ नेताहरू नै देउवाको कार्यशैलीबाट अप्रसन्न छन्, वैचारिक एवम् सहमतीय नेतृत्व दिन नसकेको आरोप उनीविरुद्ध व्यापक छ । देउवा यो अप्रसन्नतालाई, यो असन्तुष्टिलाई र यो आलोचनालाई कुनै महत्व दिन तयार छैनन् । बरु आफूसित भएको बहुमतलाई एकाकी ढङ्गले निजी इच्छाअनुसार चलाउन उद्यत देखिइरहेका छन् ।

खासमा देउवा अत्यन्त आँटिला नेता हुन् । विगतले साबित गरिसकेको छ– देउवामा पार्टी फुटाउने र एक्लै पनि अगाडि बढ्न सक्ने हिम्मत छ । तर अब भने देउवाले बुझ्नु पर्दछ, समयले उनीमाथि गम्भीर दायित्व सुम्पेको छ । उनले ‘एक्ला चलो रे’ भन्ने रवीन्द्र–गीत गाउन मिल्दैन, हुँदैन । बृहत् दृष्टिकोण एवम् फराकिलो सोच अपनाउनु उनको पदीय आवश्यकता हो । यसरी अगाडि बढ्न सकेमा उनी विगतका आफ्ना तमाम कमी कमजोरीका बाबवुद भावी इतिहासमा एक नायकका रूपमा स्थापित हुन सक्नेमा कुनै द्विविधा रहने छैन ।

दोष सबै देउवाको मात्र पनि होइन । जुन पक्ष वा नेताहरू असन्तुष्ट भनेर अगाडि देखा परिरहेका छन्, उनीहरू स्वयम् नै पनि त कति दूधले पखालिएका छन् भनेर प्रश्न त उठ्छ नै । रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौला र अन्य तमाम नेताहरू –जो देउवाको विपक्षमा उभिन रुचाउँछन्– ले पनि त कांग्रेस पार्टीको सर्वतोमुखी हितका लागि कुनै नयाँ विचार र संरचना प्रस्तावित गर्न सकेका छैनन् । उनीहरूमा पनि आफूले भनेको कुरा मान्य हुने भएसम्म सबैसँग मिल्न सक्ने तर आफ्नो कुरा मान्य भएन अथवा आफ्नो आलोचना हुन थाल्यो भने असन्तुष्ट खेमामा मिसिन जाने रवैया देखिइरहेको छ । यसै क्रममा हालै मात्र पौडेल र अन्य असन्तुष्ट नेता समर्थक ४७ जिल्लाका सभापतिहरूको राष्ट्रिय भेला आयोजना गरेर केन्द्रीय समितिको कार्यकाल थप्ने र महाधिवेशन सार्ने निर्णय सच्याउन दबाब दिने रणनीति बनाउने प्रयास पनि नगरिएको होइन । यसको अर्थ, पार्टीमा आफ्नो पकड बलियो बनाउने प्रयास मात्र हो त यो सब ?

आम कार्यकर्तालाई जनतामाझ जान अभिप्रेरित गर्ने, उनीहरूलाई आउँदो महाधिवेशनका लागि तदारुक बनाउने र आगामी निर्वाचनलाई दृष्टिगत गर्दै उनीहरूलाई सक्रिय तुल्याइराख्न के कस्ता नीति एवम् कार्यक्रम ल्याउनुपर्ने हो र ल्याउन सकिन्छ भनेर कसले सोच्ने ? लामो इतिहास बोकेको पार्टी हो नेपाली कांग्रेस । दलीय व्यवस्था अन्तर्गत मुलुकमा सबैभन्दा धेरै समय शासन गरेको पार्टी पनि हो नेपाली कांग्रेस । देशमा खुला बजार र उदार अर्थतन्त्र प्रणालीको श्रीगणेश गर्ने पार्टी हो नेपाली कांग्रेस । राजनीतिक विश्लेषकहरू भन्छन्– यो पार्टीमा नेताहरू छन् तर एक्लो विशेषता बोकेका, एक्लो क्षमता बोकेका, एकल नेतृत्व–गुणले भरिएका । एक्ला–एक्लैको झुण्डजस्ता । आवश्यकता छ, ती नेताहरूमा सामूहिकता र सामूहिक नेतृत्व भावनाको समुचित विकासको । अनि मात्र नेपाली कांग्रेस साँचो अर्थमा एउटा जिम्मेवार र लोकतान्त्रिक पार्टीका रूपमा स्थापित हुन सक्नेछ ।

नेपाली कांग्रेसको अहिलेको अवस्था भनेको लोकतान्त्रिक पार्टीभित्र नै लोकतन्त्रको खोजी गर्नुपर्ने अवस्था छ । यो जस्तो विडम्बनापूर्ण स्थिति अरू के हुन सक्छ ? तापनि यथार्थ एउटै हो– जतिसुकै आलोचना र वादविवाद भए पनि यसको समाधान खोज्ने र गर्ने दायित्व स्वयम् उनै देउवासमेत तमाम नेताहरूकै हो । यो जिम्मेवारीबाट कोही पनि पन्छिन मिल्दैन । (केन्द्रबिन्दुबाट)
सोमबार, माघ ६, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*