नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो

मंगलबारमात्रै ११ थपिए  ।  

नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश ! 

विज्ञ भन्छन्, ‘परीक्षणको दायरा बढाउने र कडा लकडाउनको पालना गर्ने’

काठमाडौं । नेपालका कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबारमात्रै थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा ३ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार थप संक्रमितहरु उदयपुरमा यसअघि संक्रमण पुष्टि भएका १२ जनाको संसर्गमा आएका व्यक्तिहरु हुन्।

संक्रमण पुष्टिपछि कोसी अस्पतालमा उपचार गराइरहेका १२ जनाको संसर्गमा आएका २६० जनाको नमुना काठमाडौंमा परीक्षण गर्दा ३ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका भुल्केका रहेको नुरी मस्जिद वरपरका अन्य ६९ जनाको नमुना परीक्षणका लागि सोमबार नै कोसी अस्पताल विराटनगर पठाइएको थियो।

कोसी अस्पतालका परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएपछि पुनर्पुष्टिका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। धरानमा पनि कोरोना पोजिटिभ देखिएपछि उनीहरुलाई थप उपचारका लागि कोसी अस्पताल पठाइएको मन्त्रालयले जानकारी दिएको छ।

थप संक्रमित ११ जनामा १८, १८, २०, ३३, ४०, ४१, ५२, र ५८ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला र एक जना उमेर नखुलेकी महिला रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ। संक्रमण पुष्टि भएकामध्ये ४ जना निको भएर घर फर्किइसकेका छन् भने ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’मा प्रवेश

udayapur-swab-sankalan

यसैबीच एक अर्को समाचारअनुसार,  उदयपुरको त्रिगायु नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको संक्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’मा प्रवेश गरेको छ ।

भुल्केको नुरी मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ र विराटनगर–१७ का एकजनामा गत शुक्रबार नै कोरोना संक्रमण रहेको पुष्टि भइसकेको थियो भने विराटनगरका थप एकजनामा शनिबार संक्रमण भेटिएको थियो। यस्तै, मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी कुल ६९ जनाको थ्रोट स्वाबको नमूना शनिबार संकलन गरिएकोमा ८ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

नेपाली सेनाको चिकित्सकीय टोलीले आइतबार २५१ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याएकोमा हालसम्म भएको परिक्षणमा तीनजनाको रिपोर्ट पोजिटिभ आएको हो। योसँगै उदयपुरमा मात्रै संक्रमितको संख्या २४ पुगेको छ।

मस्जिदमा बसेकाहरु गाउँबस्तीका बासिन्दाको सम्पर्कमा आएको हुनसक्ने भन्दै गाउँलेको नमुना संकलन गरेर परीक्षण गर्दा ११ जनामा पोजिटिभ देखिएको हो। उदयपुरमा समुदायमै संक्रमण देखिएसँगै विज्ञले नेपालमा कोरोना संक्रमणको तेस्रो चरण देखिएको संकेत गरेका हुन्।

वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार विदेशबाट आएका व्यक्तिमा मात्र देखिनु पहिलो चरण हो भने उनीहरुको आफन्त तथा छिमेकीमा सर्नुलाई दोस्रो चरण भनिन्छ। त्यसैरी समुदायमा नै फैलिनु तेस्रो चरण हो। उनको अनुसार नेपालमा तेस्रो चरण आउनु भनेको खतराको घण्टी हो।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले पनि उदयपुरमा देखिएका संक्रमितहरुको संख्याले नेपालमा भाइरसको संक्रमण समुदाय स्तरमै पुगिसकेको पुष्टि हुने बताए।

‘यदि सुरुमा पोजिटिभ देखिएका ११ जना भारतीयहरुको बयानलाई सही मान्ने हो भने पनि उनीहरुलाई नेपालमा नै संक्रमण भएको देखिन्छ,’ उनले भने, ‘यस्तोमा त्यो क्षेत्रमा संक्रमितहरुको संख्या ठूलो हुनसक्छ। कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउनुपर्ने देखियो।’

जनस्वास्थ्य विद् डा. वन्तका अनुसार पनि उदयपुरमा भेटिएका २४ जनामा कोरोना पोजिटिभ कहाँबाट आयो भनेर खोज्न एकदमै जरुरी छ। ‘उनीहरुमा कहाँबाट संक्रमण भएको हो त्यसको खोजी गर्न एकदम जरुरी छ,’ उनले भने, ‘ती संक्रमित बाहिर नै संक्रमित भएर आएका हुन् वा नेपालभित्रै संक्रमित भएका हुन् त्यो पनि सोचनीय विषय हो।’

विज्ञहरुका अनुसार समुदायमा संक्रमण फैलिएको अवस्थामा झन् सतर्क रहन जरुरी हुन्छ। लकडाउन, सामाजिक दुरीको अलावा सम्भावित संक्रमितको खोजी कार्यलाई पनि तीव्रता दिनुपर्छ।

‘सरकारले मुख्यतः खोजी प्रणाली चुस्त बनाउनुका साथै सम्भावित संक्रमित समुदायलाई परीक्षणको दायरामा ल्याउनै पर्छ,’ उनले भने, ‘अब त झन् पीसीआर परीक्षणलाई बढाउनुपर्ने देखिन्छ।’ तेस्रो चरणसम्म आइपुग्दा एउटाबाट अर्कोमा मात्र होइन यसको संख्या अझ बढ्दै जाने भएकाले पनि थप सतर्क हुन आवश्यक रहेको उनको विचार थियो।

स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले ट्रयाकिङ र ट्रेसिङको जिम्मा लिएको छ। महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमित व्यक्तिको खोज्ने र परीक्षणको दायरामा ल्याउने काम भइरहेको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २२ गते नेपालमा कोभिड–१९ भाइरस व्यक्तिबाट व्यक्तिमा सरेको पुष्टि गर्दै संक्रमण दोस्रो चरण, ‘लोकल ट्रान्समिसन’मा प्रवेश गरेको जानकारी गराएको थियो। नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको ठिक १८ दिनपछि तेस्रो चरणमा पनि प्रवेश गरिसकेको पुष्टि भएको छ।

चैत २२ गते संक्रमित भएको पुष्टि भएकी महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त थिइन्। त्यससँगै पहिलोपटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण सरेको पुष्टि भएको थियो।

नेपालमा देखिएका संक्रमितमध्ये पहिलोपटक विदेशबाट आएका संक्रमित व्यक्तिबाट उनको परिवारमा अर्को सदस्यमा सरेपछि नेपालमा कोरोनाभाइरसको संक्रमणलाई दोस्रो चरण अथवा ‘लोकल ट्रान्समिसन’ भनिएको थियो।

दोस्रो चरण देखिएसँगै यसअघि विज्ञले नेपालमा कोरोना भाइरसको तेस्रो चरण पनि आउन सक्ने भनेर आंकलन गरेका थिए।

मंगलबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४२पुगेको छ भने ती मध्ये ५ जना निको भएर घर फर्किसकेका छन्। परीक्षणको दायरा बढाइएसँगै संक्रमितको संख्या पनि बढेको देखिन्छ। नेपालमा मंगलबारसम्म आरडीटी र पीसीआर विधिबाट ३६ हजार ७ सय १९ जनाको परीक्षण भइसकेको छ। (स्रोत : कान्तिपुर)

मंगलबार, ९ वैशाख २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*