– कविता/मोना शेर्पा
औंला ठड्यायौ तिमीले
अधुरो सत्यको साक्षी बनेर ।
बात लगायौ तिमीले
बहाना अनौठो अनेकन लिएर ।।
टुक्र्याउन खोज्यौ जीवन तिमीले
टीठलाग्दो औजार बनेर ।
छिर्के हाली ढाल्यौ तिमीले
छछल्किएको क्रोध लिएर ।।
आधारहीन तिम्रा बहानाहरू
शंकालु तिम्रा सोचहरू ।
घृणा बोकेका लहरहरू
झुठले बुनेका जालहरू ।।
जिएर त हेर मेरो जीवन
केवल एकपल्ट ।
अनि महसुस गर्थ्यौ सायद
तिम्रा बेबुनियाद भ्रमको अस्तित्व
अधुरो सत्यको अर्थ ।।।
सोमबार, असोज २, २०७४ मा प्रकाशित
Leave a Reply