आचारसंहिता पालनामा कडा नीति अपनाइने

काठमाडौं, १७ भदौ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता पालनामा कडा नीति अवलम्बन गर्ने बताएका छन् ।

स्थानीय तहको आगामी असोज २ गते हुने निर्वाचनमा अनुगमनमा खटिने सरकारका सचिव एवं सहसचिवका लागि आयोजना गरिएको अभिमुखीकरणमा उनले भने, “आचारसंहिता पालनाविरुद्धको विषयमा शून्य सहनशीलताको नीति अपनाइनेछ ।’’

उम्मेदवारबीच जसरी पनि निर्वाचन जित्ने मनसाय हुन्छ, अहिले राहतका नाममा आचारसंहिता उल्लंघनको घटना भइरहेका छन्, समन्वयको अभावले हुने कमीकमजोरीलाई हटाउनेतर्फ अनुगमनकर्ताले विशेष भूमिका निर्वाह गर्नुपर्छ, डा यादवले भने ।

आयुक्त सुधीरकुमार शाहले आयोग निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन तथा पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्ध रहेको बताए ।

उनले भने, “सरकारबाटै सबैभन्दा बढी आचारसंहिताको उल्लंघनका घटना भएका छन्, संवैधानिक आयोगका रूपमा रहेको निर्वाचन आयोगलाई विभाग सरहको रूपमा व्यवहार गरिएको छ, आचारसंहिताको पूर्ण पालना गरेर हुने निर्वाचनले मात्र गणतन्त्र र लोकतन्त्रको जग बलियो तुल्याउनेछ ।”

तेस्रो चरणमा हुने प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तह निर्वाचनका लागि आयोगले दुई सचिवसहित १८ जनालाई अनुगमनमा खटाएको हो । उनीहरु यही भदौ १९ गतेदेखि कार्यस्थलमा खटिनेछन् ।

रणनीति र संयन्त्रको विकास गरिएको छ – आयुक्त शाह

निर्वाचन आयोगमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयुक्त सुधीरकुमार शाहले आचारसंहिता नैतिकता र मर्यादासँग जोडिएको प्रश्न भएकाले मर्यादा नमान्नेलाई कानूनी दायरामा ल्याइने बताए ।

विगतमा आचारसंहिता पालना गराउन निर्वाचन आयोगबाट सशक्त र प्रभावकारी भूमिका हुन नसकेको स्वीकार गर्दै उनले अघिल्ला निर्वाचनमा पनि उपप्रधानमन्त्री र मन्त्रीलाई समेत आचारसंहितका बारेमा जानकारी माग गरिएको घटनाको स्मरण गराए ।

निर्वाचन आचारसंहिता पालनका सम्बन्धमा पूर्वप्रधानमन्त्री माधव नेपालबाट लिखित रूपमा प्रस्तुत भएको प्रतिबद्धताप्रति आयोगका तर्फबाट आयुक्त शाहले आभार व्यक्त गरे ।

पूर्वप्रमुख आयुक्तसँग परामर्श

यसैगरी प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा पूर्वप्रमुख निर्वाचन आयुक्तद्वय सूर्यप्रसाद श्रेष्ठ र नीलकण्ठ उप्रेतीसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतपत्रको विषयमा शुक्रबार परामर्श गरेका छन् ।

सो अवसरमा पूर्वप्रमुख निर्वाचन आयुक्तद्वयले छोटो समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले मतदातालाई सहज हुने किसिमले मत्रपत्रको डिजाइन गर्न आयोगलाई सुझाव दिए ।

भेटघाटमा आयोगका आयुक्त इला शर्मा र नरेन्द्र दाहाल तथा आयोगका सचिव शंकरप्रसाद अधिकारी उपस्थित थिए । रासस

      शनिबार, भदौ १७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*