एमाले केक बैठक असोज ६–८ सम्म, उम्मेदवारीबारे रणनीति बनाइने

संवाददाता । काठमाडौं, ३० भदौ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको रणनीति बनाउन नेकपा (एमाले)ले आगामी असोज ६ देखि ८ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेले केन्द्रीय कमिटी बैठकमा सातै प्रदेशका स्थानीय तह निर्वाचन परिणामको समेत समीक्षा गर्ने भएको छ ।

काठमाडौंमा हुने बैठकमा स्थानीय निर्वाचनको समीक्षा तथा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका बारेमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

एमालेमा लामो समयदेखि केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । यसअघि वैशाखमा तय गरिएको बैठक पहिलो चरणको स्थानीय तहको निर्वाचनका कारण स्थगित भएको थियो ।

“स्थानीय तहको पहिलो चरणको निर्वाचन अगाडि बैठक बस्ने तयारीमा थियौँ तर व्यस्तताले बस्न सकेनौं”, उनले भने, “अब तीन चरणको स्थानीय निर्वाचन सकिएपछि केन्द्र र प्रदेशको निर्वाचनका लागि बैठक बस्न थालेको हो ।”

असोज अन्तिम साता समानुपातिक उम्मेवदवारको बन्द सूची पेस गर्नुपर्ने भएकाले पनि यो बैठक बोलाइएको हो । कात्तिक ४ गते प्रत्यक्षतर्फ मनोनयन गर्नुपर्ने भएकाले बैठकले सबै विषय टुंगो लगाएर स्थायी कमिटीलाई जिम्मा लगाउने सम्भावना रहेको बुझिएको छ ।

बैठकले दुवै संसद्का समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारको मापदण्डसमेत तय गर्नेछ ।

एमालेले निर्वाचन सम्पन्न भएका ६ प्रदेशमध्ये १ र ३ नम्बर प्रदेशमा बहुमत स्थानीय तह जितेको छ भने ६ र ७ मा सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश २ मा ठूलो दल बन्ने दावी नेकपा (एमाले) को छ ।

      शुक्रबार, भदौ ३०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*