एसिसी यू-१९ एसिया कप क्रिकेट : नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग पराजित

खेल संवाददाता । काठमाडौं, १ मंसिर ।

नेपाल हाल मलेसियामा जारी एसिसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार सेमिफाइनलमा अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

समग्रमा, अफगानिस्तानविरुद्धको म्याचमा नेपालको न त ब्यटिङ चल्न सक्यो न बलिङ नै । दुवै पक्षमा नेपाल औसत मात्र देखियो ।

२०११ मा आायरल्याण्डमा भएको यू-१९ को ग्लोबल छनोटयता नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन । तीन महिनाअघि विश्वकप छनोटमा भएको दुबै भेटमा पनि नेपाल हारेको थियो ।

यो पटक नेपालले समूह चरणमा बंगलादेशविरुद्ध सम्मानजनक प्रदर्शन गर्नुका साथै भारतलाई हराएको थियो । त्यसैले यसपटकको भिडन्तलाई ६ वर्षयता ब्यहोरेको हारको एकमुष्ट बदला लिने अवसरका रुपमा लिइएको थियो । तर यो अनुमान पूरा हुन सकेन ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २८ ओभरमा १०३ रन जाड्दा अलआउट भएको थियो । यो विजय लक्ष्य अफगानले ३ विकेट गुमाएर केवल २०।३ ओभरमा भेट्टायो । उसलाई जितका लागि मात्र १० रन चाहिएको बेला वर्षाले खेल झण्डै दुर्इ घन्टा रोकिएको थियो ।

अफगानिस्तानका लागि ओपनर रमानुल्लाह गुर्वाज ७१ रन बनाएर सन्दिप लामिछानेको बलमा आउट भए । पवन सर्राफले इक्रम अलीलाई १८ रनको स्कोरमा आउट गरे ।

यसअघि नेपालका लागि २ रन जोड्दा पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्केका थिए । नेपालले थप ७ रन जोड्दा अर्का ओपनर जितेन्द्र सिंहलाई गुमायो । तेस्रो नम्बरमा आएका अनिलकुमार साहले क्रिजमा टिके पनि उनलाई साथ दिन कोही भएनन् ।

अनिलले कप्तान दिपेन्द्र सिंह ऐरीसँग तेस्रो विकेटका लागि २३ रनको साझेदारी गरे । तर, दिपेन्द्र व्यक्तिगत ६ रनमा आउट भए । रोहितकुमार पौडेल ४ रनमै आउट भए । पाचौं विकेटका लागि भीम सार्कीसँगै ३० रनको साझेदारी गरे । भीम पनि ६ रनमै आउट भए ।

अनिलसँग १४ रनको साझेदारी गरेका पवन शर्राफ ८ रनमा आउट भए । अनिल सातौं विकेटका रुपमा व्यक्तिगत ५० रन बनाएर आएट भए ।

अनिलका अतिरिक्त अन्य कुनै नेपाली ब्याट्सम्यानले दोहोरो अंकको निजी स्कोर छुन सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा मुजिबउर रहमान एक्लैले ६ विकेट लिएका थिए ।

शुक्रबार, मंसिर १, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*