‘ए’ डिभिजन लिग फुटबल मंसिरमा

खेल संवाददाता । काठमाडौं, १ भदौ ।

कहिले भूकम्प, कहिले भारतीय नाकाबन्दी त धेरैजसो स्वयम् एन्फाभित्रकै आन्तरिक विवाद आदि विविध कारणले लामो समयदेखि आयोजना हुन नसकेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी मंसिर १४ गतेदेखि सञ्चालन हुने भएको छ ।

बुधबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठकले चार वर्षसम्म गर्न नसकेको उक्त प्रतियोगिता मंसिरमा गर्ने निर्णय गरेको हो । यो लिग प्रतियोगिता पछिल्लोपटक विसं २०७० मा भएको थियो ।

एन्फा कम्प्लेक्स सातदोबाटो र एपिएफको हलचौक मैदानमा संचालन गरिने बताइएको यो लिग योजना राउन्ड रोबिन डबल लिगका आधारमा झण्डै ६ महिनासम्म चल्नेछ ।

एन्फा बैठकले एसियन क्लब च्याम्पियनसिपको प्लेअफ गुमाएको थ्रीस्टार क्लब पाटनलाई क्षतिपूर्ति दिने निर्णय पनि गरेको छ । क्षतिपूर्तिको विषयमा थप अध्ययन गर्नका लागि वरिष्ठ उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा गणेशबहादुर चन्द र दिनेश ब्यञ्जन्कार सदस्य रहेको तीन सदस्यीय कमिटी गठन गरिएको छ । समितिलाई १० दिनको समय दिइएको छ ।

त्यसैगरी, विधान संसोधनका लागि असोज २३ मा विशेष साधारणसभा गर्ने र पुस २३ गते नयाँ नेतृत्व चयनका लागि चुनाव गर्ने प्रस्ताव पनि एएफसीसामु पठाउने निर्णय एन्फा बैठकले गरेको छ ।

बैठकमा एसियाली फुटबल महासंघ (एएफसी) को विकास कार्यक्रमअन्तर्गत काठमाडौं, मकवानपुर र नवलपरासीमा एक एक फुटबल मैदान बनाउने निर्णयसमेत गरेको छ ।

       बिहीबार, भदौ १, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*