ऐतिहासिक विरासत जोगाउनै हम्मे, पर्वतको ज्यामरुककोट

बेनी (म्याग्दी), १६ असोज ।

बाइसेचौबिसे राज्यको अन्त्य नहोउञ्जेलसम्म पर्वत राज्य अन्तर्गतको अत्यन्त महत्वपूर्ण र शक्तिशाली मानिने ज्यामरुककोट आफ्नो ऐतिहासिक विरासतलाई गुमाउँदै गएपछि अहिले आएर अस्तित्वविहीन जस्तै बन्दै जान थालेको छ ।

ऐतिहासिक, सामरिक, पुरातात्विक, जैविक, धार्मिक र प्राकृतिक दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण मानिएको ज्यामरुककोटले आफ्नो मौलिकता र पहिचान मात्र गुमाएको छैन, यहाँ रहेका ऐतिहासिक सम्पदा पनि नामेट हुँदै जान थालेका छन् ।

सम्पन्न, विद्वान र राजनीतिक रुपले सक्रिय व्यक्तिको बसोबास रहेको भए तापनि ज्यामरुककोटका ऐतिहासिक सम्पदाको संरक्षण र समग्र ज्यामरुककोटको विकासका लागि कसैले केही पनि पहल नगर्दा जिउँदो जाग्दो ऐतिहासिक विरासत बोकेको ठाउँ बत्तीमुनिको अँध्यारो बनेको स्थानीयवासीले बताएका छन् ।

तत्कालीन राजा भर्तिबम मल्लले आफू र आफ्ना राज्यमा बसोबास गर्ने जनताको सुविधाका लागि बनाएको सात्लेपानीको कुवा १६औँ शताब्दीदेखिको एउटा जिउँदोजाग्दो ऐतिहासिक सम्पदा भए तापनि त्यसको संरक्षणमा समेत कसैको ध्यान नपुग्दा अहिले सो सम्पदा अन्य सम्पदा झैँ इतिहासकै गर्भमा लोप भएर जाने अवस्थामा पुगेको छ ।

बेनी नगरपालिका–२ को वडा कार्यालयकै तल्लोपट्टि बाटोको छेउमा नै रहेको सो कुवाको संरक्षणमा कसैले पनि चासो नदिँदा अहिले पुरिने अवस्थामा रहेको स्थानीयवासी रामबहादुर दर्जीले जानकारी दिनुभएको छ । तत्कालीन ज्यामरुके राजा भर्तिबम मल्लले आफू र आफ्ना जनताले पानी खानका लागि एकै ठाउँमा दुईवटा अलग–अलग कुवा बनाई एउटा कुवा आफूले मात्र प्रयोग गर्ने र अर्को कुवा जनताका लागि खुला राखिदिने गरेको किंवदन्ती रहेको छ ।

सो कुवा कहिले निर्माण भएको हो भन्ने विषयमा कुनै अभिलेख नरहेको भए तापनि ज्यामरुककोटको डाँडामा रहेको आफ्नो दरबार नजिकैको कुवा पहिरोले पुरेपछि सात्लेपानीमा कुवा बनाएको स्थानीय बूढापाकाको भनाइ छ ।

ज्यामरुककोट कोटडाँडाका ७६ वर्षीय गजवीर किसानका अनुसार, अन्यत्र खानेपानीका मुहान नहुँदा सात्लेपानीमा रहेको सो कुवामा ज्यामरुककोटका बासिन्दा पानी भर्नका लागि रातिदेखि नै लाइनमा बस्ने गर्दथे । “तामाका गाग्री लिएर टाढाटाढाबाट पनि मानिस पानी भर्न सोही कुवामा आउने गरेका मैले पनि थाहा पाएको हुँ”, किसानले भने, “त्यसअघि सोही कुवामा भन्ने किवदन्ती रहेको छ ।” रासस

     सोमबार, असोज १६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*