कलामा लैङ्गिक भेदभाव हुँदैन

  – स्वर्गीय अम्बर गुरुङ

धेरै दशकको मेरो सङ्गीत यात्राको बुझाइमा म कलामा लैङ्गि भेदभाव देख्दिन । यो एउटा यस्तो क्षेत्र हो जहाँ महिला वा पुरुषभन्दा पनि तिनका कृतिको महत्व हुन्छ । कला भन्ने कुरा त प्रतिभासित जोडिएको हुन्छ र प्रतिभा पुरुषसित पनि हुन्छ र महिलासित पनि। यसै सन्दर्भमा केही विश्वविख्यात नारी प्रतिभाहरूलाई सम्झिन सक्छौं, जसले सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान दिएका छन् । उदाहरणका लागि, विश्वविख्यात नादिया बलोँजा नामकी फ्रान्सेली सङ्गीतकारको ठूलो नाम छ । उनको साङ्गीतिक प्रतिभा ज्यादै प्रखर थियो । विश्वका ठूला ठूला सङ्गीत सर्जकहरूले पनि उनीबाट सङ्गीत कला सिकेका थिए । त्यस्तै अन्य महान प्रतिभाहरूमा इगोर मार्केभिक, एरोन कोपल्याण्ड आदि छन् ।

यता पूर्वीय सङ्गीतको फाँटमा सम्झिनु पर्दा एक फारसी महिला सङ्गीतकार सरस्वती देवीको ख्याति निकै देखिन्छ । उनका जीवन्त साङ्गीतिक रचनाहरू बेजोडका छन् । अन्तिम मुगल सम्राट बहादुर शाह जफरले लेखेको ‘लगता नही जी मेरा चमन में’ भन्ने गीतको बोलमा उनले रचेको यशस्वी सङ्गीत म आज पनि तमन्यतापूर्वक सुन्ने गर्छु । यस्तै, उस्ताद अलाउद्दिन खाँकी छोरी अन्नपूर्णा यस शताब्दीकी अर्की महान कलाकार हुन् । शास्त्रीय सङ्गीतका महारथी उस्ताद अल्लाउद्धिन खाँले आफ्नी छोरी अन्नपूर्णालाई ुतिम्रो विवाह सङ्गीतसित गरिदिन्छुु भनेर सङ्गीत दीक्षा दिई सङ्गीतकलामा निपूर्ण पारेका थिए । पछि उनले प्रसिद्ध सितारवादक रवि शंकरसित विवाह गरिन् । भनिन्छ, उनी आफ्नो कलाको सार्वजनिक प्रर्दशन गर्दिन थिइन् । मेरो भेट उनीसित भएको छैन तर उनलाई सुन्न पाउनेहरू भन्छन्, उनको सितारवादन पण्डित रविशंकरको भन्दा पनि उत्कृष्ट छ । हुन त फिल्मी सङ्गीतलाई उत्कृष्ट कलाको मर्यादा प्राप्त छैन तर पनि यसै शताब्दीकी प्रखर सङ्गीत प्रतिभा लता मङ्गेशकरलाई कसले चिन्दैन रु लतामा रहेको प्रतिभा नै थियो, जुन निरन्तर साधनाले अरुभन्दा चम्किलो, प्रखर र टिकाउ बन्यो ।

महिलाहरू राम्रा कलाकार बनेका छन् तर संख्यात्मक रूपले पुरुषहरूको दाँजोमा कम देखिन्छन् । यो प्रवृति पूर्व पश्चिम जहाँ पनि छ । मेरो विचारमा, नेपालको सन्दर्भमा महिला प्रतिभाहरू नभएका होइनन् । अवसर विशेषमा गाइने हाम्रा कतिपय गीतहरू छन् जुन मात्र महिलाहरूले गाउँछन् । जस्तै– तीजका गीत, सङ्गीनी, भैलो । यस्ता परम्परागत सङ्गीतहरूमा, भलै त्यो मौसमी रूपले कुनै खास समयमा मात्र किन नहोस्, महिलाहरू सक्रिय भएको देखिन्छ । दोहोरी, जुवारी जस्ता तत्कालै मौलिक रूपमा शब्द कथ्ने र गाउने प्रतिस्पर्धामा कहिलेकाहीँ महिलाहरूले पुरुषहरूलाई पनि सजिलै परास्त गरेको देख्न सकिन्छ । त्यसैले यस हिसाबले महिलाहरूमा प्रतिभा नभएको होइन, तर नेपाली महिलाका लागि वातावरण अझै बनिसकेको छैन ।

हाम्रा धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराहरूले महिलाहरूलाई सङ्गीतको क्षेत्रमा पनि अगाडि आउन दिएको छैन । हाम्रो समाज संकीर्ण छ । मैले आफ्नो जीवनमा धेरै महिलाहरू देखेँ जो राम्रो गाउँथे, प्रतिभावान थिए तर तिनलाई घरपरिवारले गाउन प्रतिबन्ध लगाएको हुन्थे । यसले गर्दा तिनमा रहेको प्रतिभा फल्नफुल्न नपाई त्यसै नष्ट भएर गए । कतिपय मेरा शिष्याहरू आफ्ना घरेलु समस्याहरूले गर्दा सङ्गीतमा पूर्ण ध्यान, अध्ययन, चिन्तन, सरयाज गर्न असमर्थ हुन्छन् । अझ विवाह पश्चात् त जिम्मेवारीले गर्दा तिनलाई सङ्गीतलाई निरन्तरता दिन अझै गाह्रो भएको पाएको छु ।

अर्कोतर्फ अर्केष्ट्रा वाद्यतर्फ पनि शून्यको स्थिति छ । मेरो व्यक्तिगत सोचाइमा, ताजबाजा, जस्तै ड्रम सेट महिलालाई त्यति सुहाँउदैन । महिलाले तबला बजाएको हेर्नु त्यति रोचक नलाग्नुको केही सामाजिक मनोवैज्ञानिक कारण पनि हुनसक्छ वा हामी यसप्रति त्यति सारो अभ्यस्त नभएर पनि हो कि रु तर महिलाले सितार बजाएको राम्रो देखिन्छ । नेपालमा एकसय भन्दा बढी महिलाहरू सितारबादक छन् कि भन्ने मलाई लागेको छ । महिलाले भ्वायलिन सिक्न सके राम्रो हुन्थ्यो ।

aruna lama

                                             अरुणा लामा

गायनको क्षेत्रमा केही महिला प्रतिभाहरू देखिए । मेरा केही गीतहरू तारादेवीले गाइन्, मालती–मङ्गले गीति नाटक र अरू केही गीतहरू । केही गीत अरू महिला गायीकाहरूले पनि गाएका छन् । तर अन्य गायिकाहरूभन्दा अरुणा लामाले मेरा धेरै गीतहरू गाएकी छन् । “नौ लाख तारा उदायो” भन्ने गीतपछि मैले ६ वटा गीत रेकर्डिङको कोटा पाउँदा अरुणाले नै “घाम जुन पञ्च”, “ए कान्छा मलाई सुनको तारा खसाइदेऊ”, तथा भूपी सेरचनको गीत रचना “किन यौवन उदास छ ” गाएकी थिइन् । दुईचार वटा गीतहरू निकै लोकप्रिय बने । ”पोहर साल खुसी फाट्दा”, “सबैले भन्थे लयालु फुल भर्इ”, “फेसर कलि फुलेर” तथा नारायण गोपालसितको युगल गीत । केही समयअघि एउटा चलचित्रको लागि अरुणा र मैले एक गीत गाएका थियौं । तर दुर्भाग्यवश चलचित्र बनेन र गीत त्यसै हरायो ।

अरुणाको स्वरमा प्राकृतिक मिठास थियो , सरयाज गरेर बनाएको स्वर होइन । अरुणाको “पोहर साल खुसी फाट्यो” भन्ने गीत रेडियो टेप मात्र थियो, रेकर्डिङ थिएन । रेकर्डिङ गर्दा भनेजस्तो बाजाहरूमा हाल्न सकिन्छ, समय पनि हुन्छ । तर रेडियो टेप गर्दा त्यहीँको तोकेको निर्धारित समयमा जेजति सीमित बाजाहरू छन् त्यसैबाट काम चलाउनुपर्छ । “पोहर साल खुसी फाट्यो” गीत एउटा मेन्डोलिन, एउटा भ्वायलिन र तबलाको भरमा काम चलाएर रेकर्ड गरिएको थियो । यो गीत निकै लोकप्रिय भयो ।

मेरो विचारमा गीत लोकप्रिय हुनु एउटा कुरा हो, सदाबहार बन्नु अर्को कुरा हो । यो कसरी हुन्छ म आफैँ पनि भन्न सक्दिन । तर मलाई लाग्छ, जुन गीतमा कला छ, गीतलाई थेग्ने ठोस कुरा छ, कलात्मकता छ भने त्यो पछिसम्म बाँचिरहन्छ, अन्यथा बाँच्दैन ।

सङ्गीत सर्जकका रूपमा त जम्न सकेका कोही नेपाली महिला देखिएका छैनन्, विशेषगरी मेरो युगमा । उहिले राणाहरूको समयकी मेलवादेवीलाई सम्झिन सकिन्छ । कोइलीदेवीको सङ्गीत रचना त्यति रुचाइएको देखिएन । सङ्गीत सिर्जना लोग्नेमान्छेले गरोस् चाहे स्वास्नीमान्छेले त्यो सिर्जना सार्थक हुनुपर्छ । जनसमुदायले रुचाएको हुनुपर्छ । आलोचक, समालोचक र स्रोताले मन पराएको हुनुपर्छ । वास्तवमा यस्तो सिर्जनशील सङ्गीतको जन्म हुन गाहारो हुन्छ । सिर्जनशील सङ्गीत जन्माउने कलाकारमा बहुतै ठूलो साधना हुनुपर्छ । मानवीय भावना र संवेदनशीलता हुनुपर्छ । त्यो आउनलाई कलाकारले जानेको, भोगेको र वर्षौं अध्ययन र साधना गरेको हुनुपर्छ । सङ्गीत सर्जक स्वयम्को अनुभूति गहिरो छैन भने त्यो सङ्गीत सिर्जनशील र जीवन्त हुन सक्दैन ।

जे होस्, प्राणी जगतमा नारी र पुरुष दुवै प्रकृति प्रदत्त उत्पादन हुन् र एक बिना अर्काको अस्तित्व छैन र हुँदैन पनि । नारीत्वको जो कोमलता छ, त्यो बिना पुरुषको पौरुषताको केही महत्व छैन । यदि पुरुष बाहिरी तत्व हो भने नारी भित्री तत्व हो । भित्री तत्वको रक्षा बाहिरी तत्वले गर्छ भने भित्री तत्वले बाहिरी तत्वको संपोषण गर्छ । नारीको आफ्नो विशिष्ट स्थान छ । कुन पुरुषले मातृत्वलाई इन्कार गर्न सक्छ रु उदाहरणका लागि, नारी मात्र प्रेरणा भए त्यो पनि पर्याप्त छ । नत्र यति विघ्न राम्रा गीत, कविता, चित्रकला तथा अन्य कलाहरू मानव मनोभावनाका र अन्तर अभिव्यतिका सभ्य प्रतीकहरू हुने थिएनन ।

(प्रस्तुत लेख सङ्गीत–साधक वरिष्ठ सङ्गीतकार अम्बर गुरुङसित भएको कुराकानीका आधारमा सुसन मास्केद्वारा तयार गरिएको हो र ‘अस्मिता’, अंक ५०, २०५६ मा पूर्वप्रकाशित हो)

बिहीबार, असोज १२, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*