कला–इतिहासकार डिना वाङ्देलको निधन

अस्मिता संवाददाता । काठमाडौं, ११ साउन ।

वरिष्ठ कलाकार डिना वाङ्देलको संयुक्त राज्य अमेरिकाको भर्जिनियामा मंगलबार निधन भएको छ ।

मेनेन्जाइटिस कारण ५५ वर्षको उमेरमा नेपाली समयअनुसार बिहान ११:३० बजे उनको निधन भएको वाङ्देलका नेपालस्थित आफन्त प्रज्ज्वल शाक्यले जानकारी दिएका छन् । रुघाखोकी बिग्रिएपछि वाङदेलको शल्यक्रिया गरिएको थियो ।

भर्जिनिया कमन वेल्थ युनिभर्सिटीमा सह–प्राध्यापक वाङ्देल कलाको इतिहास विषयमा करिब दुई दशकदेखि अध्यापन गराउँदै आएकी थिइन् । जापानको ओडियो स्टेट विश्वविद्यालयबाट पिएचडी गरेकी वाङदेलले बुद्ध धर्म सम्बन्धी थुप्रै खोजमूलक ऐतिहासिक पुस्तक लेखेकी छिन्।

उनको अनुसन्धान विशेषगरी बुद्ध धर्मको नेवारी सभ्यतासँग सम्बन्धित थियो। वाङदेलका आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्।

नेपालमा आधुनिक कलाका प्रणेता तथा यथार्थवादी उपन्यास एवं यात्रा साहित्यका एक अगुवा लैनसिंह वाङ्देलकी एक्ली सन्तान छोरी डिनालाई कला विभागको प्रमुख बनाएर सोही युनिभर्सिटीको दोहा कतारस्थित शाखा कलेजमा प्रमुख बनाएर पठाएको थियो । यसले गर्दा उनी पछिल्ला पाँच वर्षदेखि कतारमा कार्यरत थिइन् ।

नेवारी परम्परागत कलाका साथै समकालीन कलाको विकासमा ठूलो योगदान पुर्याएकी वाङ्देलले अन्तर्राष्ट्रिय तहमा नेपालको कला प्रवद्र्धन गर्दै आएकी थिइन् । वाङ्देलका श्रीमान् र दुई छोरा छन् । सबैजना अमेरिकामा नै बसोबास गर्दै आएका छन् ।

कम उमरमै भएको डिना वाङ्देलको असामयिक निधनले नेपाली कला क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ ।

      बुधबार, साउन ११, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*