काठमाडौँदेखि ललितपुरसम्म भानु–पहिरनमा साहित्यिक दौड हुने

साहित्यकार र संस्कृतिकर्मी गीताकेशरी र डा जगमान गुरुङलाई रथारोहण गराइने

काठमाडौं, २६ असार । भानु प्रतिष्ठानले यस वर्षको भानुजयन्तीमा साहित्यकार र संस्कृतिकर्मी गीताकेशरी र डा जगमान गुरुङलाई रथारोहण गराउने भएको छ ।

प्रतिष्ठानका तर्फबाट यस वर्ष विशेष आकर्षणका रुपमा साहित्यकार लक्ष्मण सापकोटालाई यही असार २८ गते राष्ट्रकवि माधव घिमिरेको निवास लैनचौर, काठमाडौँदेखि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निवास बखुंबहाल, ललितपुरसम्म भानुको पहिरनमा साहित्यिक दौड गराउने, असार ३० गते भानु सङ्गीत लहरी र असार ३१ गते विशेष कविगोष्ठी कार्यक्रम राखेको प्रतिष्ठानका महासचिव ऋषभ घिमिरेले जानकारी दिनुभयो ।

प्रतिष्ठानले नेपाली जनकल्याण समिति कोलकाता र असम साहित्य सभाका पदाधिकारीलाई पनि भानुजयन्तीका अवसरमा निमन्त्रणा गरेको छ ।

समितिले १८ वर्षदेखि कोलकातामा भानुजयन्तीका साथ ‘बिहानी’ साहित्यिक पत्रिका प्रकाशन गरिरहेको छ । समितिका अध्यक्ष बद्रीविक्रम थापा, सचिव रामबहादुर थापा र नृत्यनिर्देशक दिलीप थापाले भानुजयन्तीका कार्यक्रममा सहभागिता जनाउने समितिका प्रमुख सल्लाहकार धर्मराज बरालले जानकारी दिएको राससले सम्प्रेषण गरेको छ ।

     असार २६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*