कैथर कलाका नारीहरू

– गोरख पाण्डे

GORAKH PANDEY

 

तीज–व्रत बस्दै कुटानी–पिसानी गर्दथिए
गरिबकी जोई
गाउँभरिकै भाउजू हुने गर्दथिए
कैथर कलाका नारीहरू ।
गाली जति सबै रगत पिउँदै सहने गर्दथे
कालो अक्षर
भैंसी बराबर सम्झन्थे
रातो फेटा देखेमा घरभित्र
लुक्न दौडिन्थे
चुरा लगाउँथे
ओंठ सिलाएरै बस्तथे
कैथर कलाका नारीहरू ।
अत्याचार बढ्दै थियो
गरिब गुरुवा एकजुट हुँदै थिए
विद्रोहको लहर चल्दै थियो
यसैबीच एक दिन
नक्सलीहरूलाई धरपकड गर्न आएको
प्रहरीसित भिड्न पुगे
कैथर कलाका नारीहरू ।
आम्मई ! यो के भयो ? के भएको यस्तो ?
त्यति विधि सोझा–सुधा थिए गऊप्राणी जस्ता
ज्याति विधि अबला थिए
कसरी खोसे होलान् बन्दुकहरू
कसरी सके होलान् प्रहरी भगाउन ?
केबाट के हुन पुगे
कैथर कलाका नारीहरू ।
यो त विद्रोह हो
राम राम, घोर कलियुग पो आयो त
नारी अनि लडाईं ?
त्यही देशमा जहाँ भरिभराउ सभामा
द्रोपदीका वस्त्र हरण गरियो
सबै महारथीहरू मौन चुपचाप बसिरहे
त्यही देशमा
पुरुषको सानविरुद्ध यस्तो साहस ?
जेहोस्, यो जुन अहिले भर्खरभर्खर
कैथर कलामा सानो सानो महाभारत
लडियो र जसमा
गरिब पुरुषहरूसँगै काँधमा काँध
मिलाएर
लडेका थिए कैथर कलाका नारीहरू ।
यो कुरा याद राख्नुस्
उनीहरू जो इतिहास बदल्न चाहन्छन्
अनि उनहरू पनि
जो इतिहासलाई पुनः पछाडि नै मोड्न चाहन्छन्
यो कुरा याद रहोस्
किनभने आउने समयमा
जब कसैमाथि जोर जबर्जस्ती गर्न
सकिँदैन
अनि जब सबैजना स्वतन्त्र हुने छन्
र खुसहाल
तब
सम्मानित गरिने जसलाई
स्वतन्त्रताको तर्फबाट
त्यसको पहिलो पंक्तिमा
हुनेछन्
कैथर कलाका नारीहरू ।
(भारतका युवा साहित्यकर्मी गोरख पाण्डेको जन्म उत्तर प्रदेशको देवरिया जिल्लामा सन् १९४५ मा भएको थियो । २४ वर्षको उमेरमा किसान आन्दोलनसित जोडिएर आजीवन त्यसमै आबद्ध रही २९ जनवरी १९८९ मा आत्महत्या गरेर आफ्नो जीवनलीला समाप्त पारेका पाण्डे हिन्दी भाषाका प्रथम कवि हुन् जसले आत्महत्या ग¥यो । चर्चित भारतीय समीक्षक÷साहित्यकार डा.नामवर सिंहका शब्दमा, ‘यो कुरा कसैले थाहा पाउन सकेन अथवा थाहा पाउन पनि सक्दैन, उनले आत्महत्या किन गरे ? आत्महत्या एउटा यस्तो रहस्य हो जो आफ्नो रहस्यात्मकतामा पनि अत्यन्त भयानक हुन्छ ।…उनले आफ्नो प्राण आफै लिए, यो एक असाधारण कुरा हो ।’ स्व. पाण्डेका लागि माक्र्सवाद, अस्तित्ववाद, इतिहास र आम जनमानस अत्यन्त प्रिय विषय थिए ।
केवल ४४ वर्ष बाँचेका साहित्याचार्य गोरख पाण्डेले आफ्ना सबै रचना (कविता, वैचारिक लेख र नाटक आदि) हिन्दी र केही रचना भोजपुरी भाषहरूमा लेखेका थिए । उनका ‘भोजपुरी के नौ गीत’, ‘जागते रहो सोने वालों’, ‘स्वर्ग से बिदाई’, ‘समय का पहिया’ र ‘लोहा गरम हो गया है’ गरी पाँच कविता संग्रह र एउटा वैचारिक गद्य कृति ‘धर्म की माक्र्सवादी व्याख्या’ प्रकाशित छन् । उनका कविताहरू नक्सलबाडी किसान आन्दोलनको काखबाट प्रस्फुटित भएका मानिन्छन् । प्रस्तुत कविता उनको सर्वाधिक चर्चित कविता संग्रह ‘स्वर्ग से बिदाई’ बाट अनुवाद गरिएको हो ।)
अनुवाद ः जयदेव गौतम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*