गायिका रेखा शाहले गरिन् छात्रवृत्ति प्रदान

काठमाडौं, ३ असार । आफ्नै नाममा एउटा छुट्टै फाउण्डेसन खोलेर केही वर्षदेखि शिक्षा तथा समाजसेवामा समेत सक्रिय रहँदै आएकी चर्चित गायिका रेखा शाहले विभिन्न कक्षामा पढ्ने १० जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरेकी छिन्।

शुक्रवार आयोजित एक समारोहमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा रहेको जोन एकेडेमी इङ्लिस स्कुलमा एल केजी देखि कक्षा १० सम्म अध्ययन गर्दै आएका छात्रछात्राको वार्षिक, मासिक तथा परीक्षा शुल्क समेत गरी नगद रु १ लाख ३९ हजार प्रदान गरेकी हुन्। विद्यालय प्राङ्गणमा आयोजित एक समारोहमा गायिका शाहले एकेडेमीका प्रिन्सिपल घमेन्द्र भट्टराई र सञ्चालक गोपालकृष्ण रिजाललाई चेक हस्तान्तरण गरेकी थिइन्। झोला तथा अन्य पाठ्य सामग्री भने सम्बन्धित विद्यार्थीहरुलाई नै प्रदान गरिन्।

गरीब तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग गर्ने तथा कला, साहित्य र सामाजिक गविविधिमा समेत योगदान पु¥याउने उद्देश्य सहित गायिका शाहले ३ वर्ष अघि आफ्नै नाममा रेखा शाह फाउन्डेसन खोलेकी थिइन्। यस मार्फत उनले यस अघि पनि विभिन्न विद्यालयका छात्रछात्रालाई सहयोग गर्दै आएकी छिन्। यस वर्ष छात्रवृत्ति पाउने विद्यार्थीहरुमा एल केजीका एलिसा सुब्बा र कुसुम तामाङ, कक्षा १, २ र ४ का क्रमशः सागर कार्की, दीपेन भण्डारी र सुमित्रा लामा छन्।

यसै गरी कक्षा ८ का बालकृष्ण आचार्य, जेनिसा लिम्बू र दीपा विष्ट तथा ९ र १० का राज खत्री र रविन तिमल्सिना रहेका छन्। गायिका शाहका हातबाट छात्रवृत्ति तथा पाठ्य सामग्री पाएकोमा विद्यार्थीहरू निकै खुसी देखिन्थे। गायिका शाहले सिमसिमे पानीमा लगायतका आफ्ना केही गीतहरू गुन्गुनाउदै राम्रोसंग पढ्न र कलासाहित्यलाई सधैँ माया गर्न विद्यार्थीहरुलाई प्रोत्साहित गरिन्।

छात्रवृत्ति प्रदान गर्न आफ्नो विद्यालय र त्यहाँका विद्यार्थीहरूलाई प्राथमिकता दिएको भन्दै जोन एकेडेमीका प्रिन्सिपल घमेन्द्र भट्टराई र सञ्चालक गोपालकृष्ण रिजालले प्रसन्नता व्यक्त गरे। उनीहरूले आगामी दिनमा पनि यस्ता सत्कार्य जारी राख्न र यी विद्यार्थीहरुलाई पछि पनि विशेष सहयोग पुर्याउन गायिका शाहसंग आग्रह गरे।

निकै खुसी र उत्साही देखिएकी गायिका शाहले रेखा शाह फाउन्डेन मार्फत वा व्यक्तिगत रुपमै पनि सक्नेहरुले भविश्यका यी कर्णधारहरुलाई माया गर्न र दिल खुला पार्न आग्रह गरिन्। त्यही खुसीका बीच शाहले फाउण्डेसनलाई आर्थिक रुपले बलियो बनाएर समाजसेवाका थप कामहरु गर्दै जान र अर्थ सङ्कलनको प्रयोजनकै लागि आफूले छिट्टै विशेष सांगीतक कार्यक्रम गर्न चाहेको पनि बताइन्।

पछिल्ला दिनमा गायिका शाहले गर्दै आएको समाज सेवाको कामले कलाकारहरू भावुक मात्र हुदैनन्, उनीहरु समाज र सामाजिक आवश्यकताका क्षेत्रमा पनि चिन्तित छन् भन्ने देखिएको छ।

     असार ३, २०७४ मा प्रकाशित 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*