गोसाइँकुण्ड : पुराण, इतिहास र वर्तमान

रसुवा, १२ साउन ।

‘साढे तीन करोड तीर्थ जति छन् सम्पूर्ण संसारमा
बस्छन् गईकन नीलकण्ठ दहमा आएर जनैपूर्णेमा
मेला लाग्दछ भव्य वर्ष दिनको यद्यपि यही कुण्डमा
जान्छन् सज्जन ती नुहाउन सबै विश्वास लिई धर्ममा’

जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड स्नान गर्ने हजारौँ भक्तजन नीलाद्रि पर्वत पुगेका छन् । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार यस पटक नागपञ्चमीमा पर्ने जनैपूर्णिमा गोसाइंँबाबा अर्थात् शिव विराजमान रहनुभएको गोसाइँकुण्डमा स्नान गरी नयाँ जनै फेर्न र रक्षाबन्धन बाँध्न अहिले ठूलो संख्यामा भक्तजन आइरहेका छन् ।

समुद्री सतहदेखि १४ हजार एक सय फिटको उचाइमा पर्ने गोसाइँकुण्डमा प्रत्येक वर्ष गंगादशहरा र जनैपूर्णिमामा मेला लाग्छ । संसारका देवदेवताले जनैपूर्णिमाको दिन गोसाइँकुण्डमा बास लिने र सो दिन कुण्डमा स्नान गर्नाले ती देवताको दर्शन पाइने धार्मिक मान्यता रहेको समाजसेवी दावाफिन्जो तामाङले बताउनुभयो ।

पुराणमा वर्णन भएअनुसार सत्ययुगमा समुद्रमन्थनपछि उत्पन्न हलाहल कालकूट विषले संसार दग्ध गर्न लागेकाले शिवले त्यसलाई सेवन गर्दा डाह भई जिउ शान्त बनाउन पत्नी पार्वतीको माइत हिमालयतर्फ लागेको तथा पहिले वेत्रावती र पछि नीलाद्रि पर्वतमा त्रिशूल गाडी पानी पिएका थिए । त्यतिले पनि शान्त नभएपछि उनी त्रिशूल रोपिएको तीनधारेबाट बगेको पानीबाट निर्मित कुण्डमा शयन गरेका थिए । कुण्डमा अझै पनि शिव लेटिरहेको अवस्थामा देख्न सकिने विश्वास छ । गोसाइँबाबाको दर्शनबाट मनोकांक्षा पूरा हुने भएकाले जिन्दगीमा एक पटक भए पनि गोसाइँकुण्ड पुग्नैपर्ने बताइन्छ ।

नेपाल अंग्रेज युद्धपछि भएको सुगौली सन्धि नेपालको हितमा नभएको भन्दै छट्पटिन पुगेका अमरसिंह थापाले गोसाइँस्थानमा देह त्याग गरेका थिए । कुण्डको दक्षिणतर्फ अप्ठ्यारो भिरमा अझै पनि सिंहले आश्रय लिएको गुफा रहेको धैबुङका पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो ।

जिल्लाका प्रहरी प्रमुख फणीन्द्र प्रसाईँका अनुसार जनैपूर्णिमामा यथेष्ट यात्रु आउने अपेक्षा गरिए पनि यस पटक एक हजार छ सयको हाराहारीमा आउने अनुमान गरिएको छ । मेलालाई ध्यानमा राखी सुरक्षा व्यवस्था राम्रंो बनाइएको बताउँदै उहाँले यात्राका क्रममा कोही बिरामी परे तत्काल उद्धार गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । प्रजिअ चोमेन्द्र न्यौपानेले भन्नुभयो, “आगन्तुक भक्तजनको स्वागतार्थ स्थानीय प्रशासन तल्लीन छ ।”

बर्सेनि १० हजारको हाराहारीमा भक्तजन आउने सो क्षेत्रमा यही साउन २३ गते चन्द्रग्रहण लाग्ने भएकाले यस वर्षको जनैपूर्णिमा यही साउन १३ गते नागपञ्चमीका दिन तोकिए पनि भक्तजनको आगमन साउन २३ गतेसम्म नै हुने विश्वास गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले व्यक्त गर्नुभयो ।

गोसाइँकुण्डमा डुबुल्की मारेपछि शरीरको रोगव्याधि हट्ने र घरपरिवारमा सुखशान्ति बढ्ने विश्वास छ । गोसाइँकुण्डमा स्नानपछि भगवान् शंकरको पूजा र वरदान माग्न कुण्डबाट अलिकति माथि निलाद्री पर्वत पुग्ने परम्परा रहेको पुरोहित टंकप्रसाद ढकालले बताउनुहुन्छ । जनैपूर्णिमाका दिन संसारमा विराजमान हुँदै आउनुभएका विभिन्न स्थानका देवी–देवता गोसाइँथान पुग्ने र पूर्णिमाको दिन कुण्डमा पूजा गर्दा सम्पूर्ण तिनको दर्शन पाइने धार्मिक मान्यता छ ।

विगतमा गोसाइँथान पुगी घर फर्कन छ महिनासम्म लाग्ने गरेकामा अहिले यातायातको सुविधाले गर्दा काठमाडौंदेखि धुञ्चेसम्म बस र धुन्चेबाट दुई दिनको पैदल यात्रापछि गोसाइँकुण्डमा सहज रुपले पुग्न सकिने अनुभवी यात्रु बताउँछन् । काठमाडौँ सुन्दरीजलको अर्काे बाटो तथा नुवाकोटकै समुद्रटार हुँदै गोसाइँकुण्ड जाने बाटो पनि छ ।

गोसाइँकुण्डको यात्रा गर्नुपूर्व घरका कुलदेवतासँग बिदा माग्ने र वेत्रावतीको उत्तरगयाधाममा केश मुण्डन गरी गंगापूजा गरेर साथीहरूका साथ ॐ नमो शिवायः जप्दै सुलाद्री पर्वत(लौरीविना)को आरोहण गरी लौरीसमेत चढाउनुपर्ने मान्यता छ ।

काठमाडौँबाट मोटरमा हिँडेपछि धैबुङको दहीचिउरा र धुञ्चेको बासले सबै यात्रुमा उत्साह छाउने गर्छ । धुञ्चेबाट हिँडेपछि मनोरम दृश्यले थप रमाइलो हुने चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले बताउनुभयो ।

लौरी विनायकभन्दा माथि वनस्पति नभएका कारण लेक लाग्ने भएकाले ग्लुकोज पानी प्रशस्त पिउने, चिकित्सकको परामर्शअनुसार औषधिलगायत अदुवा, लसुन, कागती सेवन गर्दै जाँदा सहज रूपले पुग्न सकिन्छ । गोसाइँकुण्ड, चोलाङपाटी र लौरीविना क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको र बासस्थानका लागि होटेलका साथै अस्थायी छाप्रोसमेत बनाइएको छ ।

बिरामी परेका यात्रुको प्राथमिक उपचारका लागि हिमालय उद्घार संघ, जिल्ला जनस्वास्थ्य कार्यालय र लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजंग गण, जिल्ला रेडक्रस सोसाइटी र स्काउटसमेतले संस्थाले सहयोग गर्नेछन् । उद्धार संघले गोसाइँकुण्ड र नेपाली सेना कालीजंग गणले चोलाङपाटीमा स्वास्थ्य शिविरको व्यवस्था मिलाएका छन् ।

भक्तजनको आवश्यक सुरक्षाको व्यवस्था पनि मिलाइसकिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिनुभयो । भक्तजनलाई आइपर्ने समस्यामा सहयोग गर्न स्थानीय प्रशासन तयार रहेको प्रजिअ न्यौपानेले बताउनुभयो । –ज्ञानेन्द्र न्यौपाने /रासस

       बिहीबार, साउन १२, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*